सुरज वैद्यसहितको समूहले बालमन्दिरको सहयोगार्थ अन्नपूर्ण होटलमा ‘होप ९३’ फेसन शो गरेको थियो, त्यहीं आएकी थिइन् मिस इन्डिया–१९९१ ऋतु सिंह । फेसन शोलगत्तै चिनजान भयो ।
मर्यादा र विश्वासको कसिमा प्रेम सदैव सम्मानित छ ।
What you should know
काठमाडौँ — गत २५ माघको दिउँसो १ बजेतिर गोपीकृष्ण पुल (चाबहिल) पारि आनन्दनगरस्थित वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्री एन्ड ट्रेडिङ हाउसेसमा कान्तिपुर पुग्दा प्रबन्ध निर्देशक ऋतु सिंह वैद्य कार्यालयको आन्तरिक काममा व्यस्त थिइन् । उनलाई भेटेर ‘तपाईंहरूको प्रेम कथा लेख्नुपर्यो’ भन्नासाथ जोडले हाँसिन् र भनिन्, ‘हाम्रो प्रेम कहानी त पुरानो भइसक्यो ।’
कार्यालयको माथिल्लो तलामा थिए उनका पति सुरज वैद्य । ऋतुले सुरजकै कार्यकक्षमा पुर्याइन् । त्यसपछि उनीहरूले हामीलाई पुर्याए सन् १९९३ तिर ।
त्यो बेला सुरज काठमाडौंस्थित बालमन्दिरको कोषाध्यक्ष थिए । बालमन्दिरको आर्थिक अवस्था नराम्रो थियो । १ सय २५ हाराहारी बालबालिका त्यहाँ थिए तर खानेबस्ने ठाउँ राम्रो थिएन । पानी ट्यांकरमा ओसार्नुपर्थ्यो । नुहाउने बाथरुम थिएन ।
बालमन्दिरमा रहेका बालबालिकाका लागि सहयोग पुग्ने गरी केही गर्ने भन्ने छलफल भयो । भारतमा त्यो बेला फेसन शो नयाँ थियो, निकै राम्रो चलेको पनि थियो । यसैले नेपालमा पनि फेसन शो गर्ने सल्लाह भयो । बालमन्दिरका नाममा ‘होप ९३’ नाम राखेर अन्नपूर्ण होटलमा फेसन शो आयोजना गर्ने टुंगो लाग्यो । फेसन शोका लागि ऋतुसहित २० जनाको टोलीलाई नेपाल बोलाइयो । ऋतु सन् १९९१ मै मिस इन्डिया भइसकेकी थिइन् ।
हवाई जहाजको टिकट पाइएन भनेर सुरजले ऋतुलाई केही दिन यतै अड्याए । ऋतु दिल्ली फर्किएपछि सुरजले राति–राति फोन गर्न थाले, कहिले त बोल्दाबोल्दै उज्यालो हुन्थ्यो ।‘ऋतुलाई नदेख्दासम्म कतै नलागी काममा मात्र केन्द्रित हुन्छु भन्ने मनमनै प्रतिबद्धता गरेको थिएँ तर जब फेसन शोमा ऋतुलाई प्रत्यक्ष देखें, मनले जानैपर्छ, भेट्नैपर्छ, गफ गर्नैपर्छ भनिरह्यो,’ सुरजले सुनाए, मैले मनलाई रोक्नै सकिनँ ।’
फेसन शो सकिएपछि सुरज र ऋतुको चिनजान भयो । ‘देख्नेबित्तिकै उहाँको लुक्स र स्वभाव एकदमै राम्रो लाग्यो, उहाँ मलाई एकतर्फी मन पर्न थाल्यो,’ सुरजले थपे । ऋतु भारत फर्कंदै थिइन् । तर सुरजले उनलाई यतै अड्याउने उपाय निकाले ।
त्यो बेला नेपालमा हवाई जहाज समयमै आउँदैनथियो, उडान रद्द भइरहन्थ्यो । सुरजले टिकट पाइएन भनेर केही दिन नेपालै बस्न ऋतुलाई आग्रह गरे । ऋतुसँगै आएका अरूलाई भने टिकट काटेर आयोजकले पठाइदिए ।
‘ऋतुलाई काठमाडौंमा बस्दा बोर होला, फेरि यहाँ केही गर्नु पनि छैन भनेर नगरकोट घुमाउन लगें,’ सुरजले सुनाए, ‘उहाँले बुझ्नुभयो/भएन तर मैले उहाँलाई मन पराइसकेको थिएँ ।’
केही दिनपछि ऋतु दिल्ली फर्किइन् । ‘त्यसपछि उहाँ मेरो एकदमै नजिकको सम्पर्कमा रहनुभयो,’ ऋतुले भनिन् । त्यो बेला अहिले जस्तो मोबाइल फोन थिएन, टेलिफोनमा गफ हुन्थ्यो । हरेक दिन सुरजले फोन गर्थे । ‘राति साढे ९ देखि १० बजेको बीचमा आउने फोन सुरजकै हुन्थ्यो । घण्टौं बोल्थ्यौं, कहिलेकाहीं त बिहान भएको पनि थाहा हुँदैनथियो,’ ऋतुले सुनाइन् ।
सुरज आफैं पनि दिल्ली गइरहन्थे । सुरजले थपे, ‘हामी दूरीको हिसाबले टाढा थियौं, म नेपाल, ऋतुजी भारत, अफिसमा राति अबेरसम्म काम हुन्थ्यो, फेरि अफिसको कामले भन्दै ऋतुजीलाई भेट्न बेला–बेला दिल्ली जान्थें ।’
टेलिफोनको बिल धेरै उठेपछि बुबाले सुरजलाई ‘यो के भइरहेको छ ?’ भनेर केरकारै गरे । ‘त्यसपछि हाम्रो प्रेम सम्बन्धबारे सुरजजीको घरपरिवारमा थाहा भयो, पछि मेरो बुबाले पनि थाहा पाउनुभयो,’ ऋतुले भनिन् ।
सुरज र ऋतुबीच उमेरको अन्तर कति छ ? यसको जवाफ सुरजले नै दिए, ‘उहाँ मभन्दा सात वर्ष जेठी हो, हेर्दा मात्र कान्छी । मलाई जेठी मनपर्ने त, के गरूँ ?’ दुवै एकअर्कालाई हेर्दै मुस्कुराए ।
प्रेम सम्बन्ध भएको तीन वर्षपछि विवाह भयो । ऋतुलाई नेपाली भाषा सिक्न सजिलो भए पनि नेपाल बसाइमा अभ्यस्त हुन सहज भएन । ‘दिल्लीमा मेरो छुट्टै जीवनशैली थियो, मेरो परिवार, मेरा आफन्त, मेरो काम, सामाजिक प्रतिष्ठा थियो, फेसन शो, टीभीमा निम्तो आइरहन्थ्यो । चौबिसै घण्टा जस्तो व्यस्त हुन्थें,’ उनले भनिन्, ‘नेपाल आएपछि ती सबै कुरा हराए । मेरा लागि विवाहपछिको एक वर्ष एकदमै कष्टपूर्ण रह्यो । दिनभर घरमा बस्थें, सुरजजीहरू बिहानै अफिस जानुहुन्थ्यो, दिल्ली जाऊँ भन्ने लागिरहन्थ्यो । मेरो अवस्था सुरजजीले बुझ्नुभएको थियो, सहजीकरण गर्दै लानुभयो ।’
ऋतुले नेपालमा केही नयाँ काम गर्ने सोच बनाइन् । ‘म फेसन डिजाइनर पनि हो । त्यसैले मैले कपडाको वर्क सप सुरु गरें, त्यसमा ७ वर्षसम्म काम गरें । तर खासै प्रगति हुने देखिएन,’ उनले भनिन्, ‘त्यो बेला सुरजजीको बुबा बिरामी हुनुभयो, उहाँ बुबालाई उपचार गराउन कहिले लन्डन, कहिले सिंगापुर जानुपर्ने भयो, उहाँ त्यता व्यस्त हुनुभयो । त्यसपछि उहाँले गरिरहेको काममा म संलग्न हुँदै गएँ ।’
ऋतुको नेपाल बसाइको असजिलोबारे सुरजले थपे, ‘दिल्लीमा राति १२ बजे खाँदा पनि हुन्थ्यो, राति १ बजे किताब पढ्यो, सुत्यो गरे हुन्थ्यो । यता समयमै खाने, सुत्ने हुन्छ । यहींको समयअनुसार उहाँलाई खाने, बस्ने र सुत्ने बानी लाग्न समय लाग्यो ।’
वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्री एन्ड ट्रेडिङ हाउसेसको सुरुवात सुरजका बुबा विजय गजानन्द वैद्यले गरेका हुन् । अहिले उक्त कम्पनीमा अध्यक्ष सुरज, प्रबन्ध निर्देशक ऋतु र निर्देशक छोरा सुर्यांश हुन् ।सुरजको नजरमा ऋतु कस्ती छन् त ? सुरज भन्छन्, ‘जीवनमा समय परिवर्तन हुँदै जान्छ तर एकअर्कालाई हेर्ने दृष्टिकोण पहिला जस्तै रहन्छ ।’ ऋतुले सुरजको स्वभाव सुनाइन् । ‘सुरुमा भेट्दा शान्त स्वभाव, कुनै हतार नभएको राम्रो मान्छे लाग्थ्यो । पहिला बिस्तारै गाडी चलाउँदा खुसी हुन्थें, अहिले किन बिस्तारै गाडी चलाएको होला, अलि छिटो चलाए हुने भन्ने लाग्छ । यो समयअनुसारको कुरा होला ।’
सुरज र ऋतु दुवै अत्यन्तै व्यस्त छन् । ऋतु नेपाल अटोमोबाइल इम्पोर्ट्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) की अध्यक्ष हुन् । सुरज नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन् । अहिले उनी आफ्नै व्यवसायमा बढी सक्रिय छन् । ‘अहिले हामी एक्ला–एक्लै हिँडिरहेका हुन्छौं, एउटै अफिसमा पनि उहाँ एउटा फ्लोरमा, म अर्को फ्लोरमा हुन्छु,’ ऋतु भन्छिन्, ‘हाम्रो भेट त कहिलेकाहीं साँझ घरमा मात्र हुन्छ । आवश्यक पर्दा अफिसमै पनि फोनमा गफ हुन्छ ।’
वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्री एन्ड ट्रेडिङ हाउसेसको सुरुवात सुरजका बुबा विजय गजानन्द वैद्यले गरेका हुन् । अहिले उक्त कम्पनीमा अध्यक्ष सुरज, प्रबन्ध निर्देशक ऋतु र निर्देशक छोरा सुर्यांश हुन् ।
घर बुढानीलकण्ठमा छ । सुरज बिहानै अफिस आइपुग्छन् । प्रायः खाना अफिसमै खान्छन् । ऋतु बिहान उठेर शारीरिक व्यायाम गर्छिन् । घरको काम सकेर खाना खाइवरि अफिस आइपुग्छिन् । परिवारका तीन जनाको कार्यालय आउनेजाने समय एउटै हुँदैन । ‘दिल्ली, मुम्बईतिर हेर्ने हो भने आधा जिन्दगी ट्राफिक जाममै बित्छ,’ ऋतु भन्छिन्, ‘यहाँ २० मिनेटमा कार्यालय पुग्छौं, दिनभरि आफ्नो काम गर्छौं, बेलुका परिवारका सबै घरमा हुन्छौं ।’
जति नै व्यस्त भए पनि एकअर्काका लागि समय निकाल्न दुवैले प्रयास गर्छन् । समय हुँदा सुरजले खानाका नयाँ–नयाँ परिकार पकाएर परिवारलाई चखाउँछन् । ऋतुले नेपाली र भारतीय परिकार पकाउँछिन् । बिदामा घुम्न निस्कन्छन् । ‘विवाह गरेपछि एकअर्कालाई समय दिनुपर्छ, त्यो हामीमा छ र त हाम्रो सम्बन्ध बलियो छ,’ सुरज भन्छन्, ‘हामी धेरै कुरा एकअर्काको आँखा नियालेरै थाहा पाउँछौं ।’
