गुलाब अब पेसमेकर बनेर धड्किन्छ—ब्याट्री हाल्नुपर्ने, चार्जर जोड्नुपर्ने गुलाब ।
मर्यादा र विश्वासको कसिमा प्रेम सदैव सम्मानित छ ।
चूडामणि भट्टराईको कविता :
सामाजिक सञ्जाल आज गुलाबमय बनेको छ,
यता फुल्छन् रातो, उता फक्रिन लागेका छन् ।
नओइलियोस् भनेर पचास नाघेका बूढाहरू
मुट्ठी बनाएर खिस्स हाँस्छन्, बोकेर कृत्रिम मुस्कान ।
हाँसोमा मिसिएको छ— गुलाबको रङ,
कर्मकाण्ड जस्तै लतारिएको यो प्रेमको खेल ।
सुख–दुःख सोध्न छाडेको कति वर्ष भयो,
माया साटासाट त उहिल्यै हरायो ।
रातो मन पराउनेहरू, मुटु साट्ने सपना देख्नेहरू,
रगतको नाता खोज्नेहरूले के पत्याउँछन् र गुलाब ?
आज यो केवल फेसन बनेर बजारमा उभिएको छ,
साँझ पर्नै लाग्दा रङ उड्छ, सुकेर जान्छन् ओठहरू
हाँस्न खोज्दा भाव बहकिन्छ,
लुकीछिपी निस्कन्छ रुन्चे अनुहार बाहिर ।
कृत्रिम मुटु खोज्ने हातहरूमा
गुलाब अब पेसमेकर बनेर धड्किन्छ—
ब्याट्री हाल्नुपर्ने, चार्जर जोड्नुपर्ने गुलाब ।
सुन्दरता छाडेर अर्काको बलमा उभिएको यो फूल,
क्षणिक उन्माद बोकेर परापूर्वका सन्त जिस्क्याउँछ,
भ्यालेन्टाइनको नाममा दुनियाँ झुक्याउँछ
तर, दोष कसको ?
जसको हातमा पर्छ, ऊ उस्तै बन्छ—
केस्रा–केस्रा झरेर, ओइलिएर लल्याकलुलुक,
लज्जित भएर भुइँमा लुट्पुटिन्छ ।
त्यसैले मनभित्रै एउटा नओइलाउने गुलाब फुलाउन सकौं,
जो ब्याट्रीबिना पनि सधैं रहोस् रातो,
जो हावामा पनि नउडोस्, वर्षामा पनि नभिजोस् ।
के भेटिन्छ होला त्यस्तो अमर गुलाब ?
कि अब साँच्चै गुलाबहरू ओइलाउँदै गए ?
ब्याट्रीले तताएको यो प्रेम–बजारमा
गुलाबहरू अब चार्जरको पर्खाइमा बसेका छन् ।
