कविता : भ्यालेन्टाइन्स डेको गुलाब

गुलाब अब पेसमेकर बनेर धड्किन्छ—ब्याट्री हाल्नुपर्ने, चार्जर जोड्नुपर्ने गुलाब ।

फाल्गुन २, २०८२

चूडामणि भट्टराई

मर्यादा र विश्वासको कसिमा प्रेम सदैव सम्मानित छ ।

चूडामणि भट्टराईको कविता :

सामाजिक सञ्जाल आज गुलाबमय बनेको छ,

यता फुल्छन् रातो, उता फक्रिन लागेका छन् ।

नओइलियोस् भनेर पचास नाघेका बूढाहरू

मुट्ठी बनाएर खिस्स हाँस्छन्, बोकेर कृत्रिम मुस्कान ।

हाँसोमा मिसिएको छ— गुलाबको रङ,

कर्मकाण्ड जस्तै लतारिएको यो प्रेमको खेल ।

सुख–दुःख सोध्न छाडेको कति वर्ष भयो,

माया साटासाट त उहिल्यै हरायो ।

रातो मन पराउनेहरू, मुटु साट्ने सपना देख्नेहरू,

रगतको नाता खोज्नेहरूले के पत्याउँछन् र गुलाब ?

आज यो केवल फेसन बनेर बजारमा उभिएको छ,

साँझ पर्नै लाग्दा रङ उड्छ, सुकेर जान्छन् ओठहरू

हाँस्न खोज्दा भाव बहकिन्छ,

लुकीछिपी निस्कन्छ रुन्चे अनुहार बाहिर ।

कृत्रिम मुटु खोज्ने हातहरूमा

गुलाब अब पेसमेकर बनेर धड्किन्छ—

ब्याट्री हाल्नुपर्ने, चार्जर जोड्नुपर्ने गुलाब ।

सुन्दरता छाडेर अर्काको बलमा उभिएको यो फूल,

क्षणिक उन्माद बोकेर परापूर्वका सन्त जिस्क्याउँछ,

भ्यालेन्टाइनको नाममा दुनियाँ झुक्याउँछ

तर, दोष कसको ?

जसको हातमा पर्छ, ऊ उस्तै बन्छ—

केस्रा–केस्रा झरेर, ओइलिएर लल्याकलुलुक,

लज्जित भएर भुइँमा लुट्पुटिन्छ ।

त्यसैले मनभित्रै एउटा नओइलाउने गुलाब फुलाउन सकौं,

जो ब्याट्रीबिना पनि सधैं रहोस् रातो,

जो हावामा पनि नउडोस्, वर्षामा पनि नभिजोस् ।

के भेटिन्छ होला त्यस्तो अमर गुलाब ?

कि अब साँच्चै गुलाबहरू ओइलाउँदै गए ?

ब्याट्रीले तताएको यो प्रेम–बजारमा

गुलाबहरू अब चार्जरको पर्खाइमा बसेका छन् ।

चूडामणि

Link copied successfully