पुतली र लाउरासँग जंगबहादुरको त्यो प्रेम

पुतलीमैयाँ राजदरबारमा एक सुसारे थिइन् । जंगबहादुर सैन्य अफिसर भई राजदरबार प्रवेश गरेपछि पुतलीमैयाँसँग उनको माया–पिरती बस्यो । त्यही पिरतीले उनलाई देशकै सर्वोच्च स्थानमा मात्रै पुर्‍याएन, उनैले सुरु गरेको जहाँनियाँ राणा शासन १०४ वर्ष टिक्यो ।

फाल्गुन २, २०८२

राजकुमार दिक्पाल

मर्यादा र विश्वासको कसिमा प्रेम सदैव सम्मानित छ ।

What you should know

एक जना तिलस्मी पुरुष थिए, जंगबहादुर राणा । उनको इतिहास पढ्दा पनि उनी एक दन्त्यकथाका नायक हुन्जस्तो लाग्छ । ‘दुई जोईकी पोइ कुना पसी रोई’ भन्ने नेपाली उक्ति लागू भएन उनको जीवनमा । राज्य सञ्चालनको गम्भीर जिम्मा, आफूविरुद्ध सम्भावित विद्रोह र षड्यन्त्रप्रति हरबखत सचेत भइरहनुपर्ने अवस्था आदिका बावजुद उनले घोषित ४२ जना आफ्ना रानीहरूलाई मिलाएरै राखेका थिए । उनले रचना गरेको इतिहास जति रोचक छ, उत्तिकै रोचक छन्, उनका प्रेम प्रसङ्ग पनि ।

 सातै वर्षको उमेरमा बस्नेत काजी खलककी छोरी प्रसादलक्ष्मीसँग जंगबहादुरको बाल विवाह भयो । प्रसादलक्ष्मी पृथ्वीनारायण शाहकालीन प्रसिद्ध योद्धा शिवरामसिंह बस्नेतका जेठा छोरा केहरसिंह बस्नेतका नाति काजी प्रसादसिंह बस्नेतकी छोरी हुन् । तर, असमयमै उनको देहान्त भएपछि साली सिद्धिगजेन्द्रलक्ष्मीलाई माग्न जाँदा ससुराबाट नमीठोसँग हप्काई खाएका जंगबहादुरले आफू शक्तिमा आएपछि विवाहिता सालीलाई जबरजस्ती घरैबाट उठाए र त्यो समयको प्रचलनअनुसार जारीसमेत तिरे (पुरुषोत्तमशमशेर जबरा, ‘श्री ३ हरूको तथ्यवृत्तान्त’ भाग १–२०६५ः१०८) ।

पछि उनले राजा सुरेन्द्रलाई लमी बनाएर आफूलाई चौतरियासरह बनाउन कोतपर्वमा हत्या गरिएका प्रधानमन्त्री फत्तेजंग शाहकी बहिनी हिरण्यगर्भकुमारीसँग विवाह गरे । आफ्नै दाजुलाई मार्ने जंगबहादुरसँग विवाह गर्ने मन उनलाई थिएन । विवाह गर्नुपरे पनि ‘आफ्नो दाजुको हत्या गर्नेलाई सुहागरातकै दिन हत्या गर्छु’ भन्ने कबोल आफ्ना इष्टदेवसँग गरेकी थिइन् ।

इतिहासकार प्रमोदशमशेर राणाले ‘राणा शासनको वृत्तान्त’ (२०७०ः६३) मा उल्लेख गरेअनुसार, विवाहमण्डपमा बस्ने बेला उनले एउटा धारिलो छुरा आफ्नो कपालमा बाँधेर राखेकी थिइन् । तर, यज्ञमण्डपमा पण्डितहरूले मन्त्रोचारण गरी जंगबहादुरले उनको सिउँदोमा सिन्दुर हालेपछि उनको मन पग्लियो र ‘यस्तो पापकर्म गर्दिनँ, बरु प्रायश्चित गर्छु’ भन्ने अठोट गरिन् । संयोगवश ढोगभेटका क्रममा त्यो छुरा भुइँमा खस्यो । उनी जंगबहादुरकी पटरानी बनिन् । नारीको मन पगाल्ने यतिसम्मको खुबी थियो जंगबहादुरमा ।

कामशक्ति बढाउने काइदा

कमल दीक्षितले ‘जंगगीता’ (२०४०ः९८) मा प्रकाशमा ल्याएको दरबारका तत्कालीन सैन्य अफिसर खड्गसिंह गुरुङको बयानमा ‘जंगबहादुरको हात्तीमा, जुवामा, पहलमानको तमासामा, मैथुनमा ज्यादा शोक थियो पछि उनलाई अफिमको लत लागेको थियो । त्यसैले हुकुम भयाको कुरा पनि भनेको छैन भन्या हुकुम हुने ३२ सालदेखि रिसानी मात्र भैबक्सने’ भन्ने उल्लेख छ । यसबाट उनको आनीबानी तथा लत–कुलतबारे थाहा हुन्छ ।

लाउरा बेलसँग भेट भएपछि जंगबहादुर असाध्यै खुसी भए, निकै बस–उठ र रस–बस भयो । बेलायत बस्दा सार्वजनिक स्थलमा जंगबहादुरले कहिल्यै मदिरा पिएनन्, तर लाउरा बेलजस्ती युवतीसँगको बस–उठमा पिए ।इतिहासकार रामजी उपाध्यायले युवराज त्रैलोक्यविक्रम शाहको सेवा गर्ने धाई नानी चन्द्रवदनसँग भेट गर्दा जंगबहादुरसम्बन्धी एक सूचना पाएका रहेछन् । 

२००१ सालमा उपाध्यायले काशीमा भेट गर्दा चन्द्रवदन ९४ वर्षको वृद्धावस्थामा पुगिसकेकी थिइन् । चन्द्रवदनको भनाइअनुसार, जंगबहादुर गोत्र, वंश, सन्तान, ब्राह्मण, यवन, म्लेच्छ, हाडनाताको विचार राख्दैनथे । उनी आफ्नो यौनशक्ति बढाउन भाङ, गाँजा, चरेस, धतुरो, हर्रोलगायतका रस मिसाएर बनाइएको मिश्री हरखबत सुपारी खाएजसरी चपाइरहन्थे ।

(रामजी उपाध्याय, ‘नेपालको इतिहास अर्थात् दिग्दर्शन’–२००७ः२९५–९६) ।

जंगबहादुरले विभिन्न महिलालाई आफ्नो रानी बनाउने क्रममा बस्नेत, शाह, बाहुन, कार्की, विष्ट, नेवार, तामाङ आदि जात खुलेका र दुई भारतीय महिलालाई पनि प्रेमको पासोमा बाँधेर रानी बनाएका थिए (जबरा, २०६५ः१८९–९८) । ‘जंगबहादुरका १२ सय जति पटके श्रीमती (प्रेमिका) थिए रे’ (दीक्षित, २०४०ः१४०) ।

जंगबहादुरको प्रेम र वैवाहिक जीवनमा आएपुगेका यति धेरै महिलामध्ये दुई जना पुतलीमैयाँ र लाउरा बेलबारे अब केही चर्चा गरौं :

सुसारेबाट शक्तिशाली नारी

मुलुकमा जंगबहादुरले जुन अवस्थाको शक्ति आर्जन गरे, त्यसमा उनकी प्रेमिका पुतलीमैयाँको सबैभन्दा महत्त्वपूर्ण योगदान छ । उनी राजदरबारमा एक सुसारे थिइन् । जंगबहादुर एक सैन्य अफिसरका रूपमा राजदरबारमा प्रवेश गर्दा उनको पुतलीमैयाँसँग माया–पिरती बस्यो । यही माया–पिरतीले उनलाई देशको सर्वोच्च स्थानसम्म मात्रै पुर्‍याएन, उनैले सुरु गरेको जहाँनियाँ शासन १०४ वर्षसम्म टिक्यो ।

पुतलीमैयाँ रानी राज्यलक्ष्मीलाई मन परेकी सुसारे थिइन् । उनी राजदरबारमा भइरहेका सबै वृत्तान्त आफ्नो सूचनामा राख्थिन् । तीमध्ये राज्यलक्ष्मीले काजी वीरध्वज बस्नेत र गगनसिंहका छोरा वजिरसँग मिलेर जंगबहादुरको सफाया गर्न लागेको षड्यन्त्रको छनक पाइन् । उनले हत्तपत्त यो गोप्य कुरा दरबारका पूजाकोठे विजयराज पाण्डेलाई सुनाइदिइन् । विजयराजले जंगबहादुरलाई सविस्तार यो कुरा सुनाइदिएपछि सबै कुराको भण्डाफोर भयो (राणा, २०७०ः४३) ।

वि.सं. १९०३ कात्तिक १७ गते भएको भण्डारखाल पर्व नामले चर्चित त्यो काण्डमा वीरध्वजलगायत मारिए । रानीलाई काशी पठाइँदा राजा राजेन्द्र पनि रानीको पछि लागेर काशीतिरै हिँडे । त्यसपछि नेपालमा जंगबहादुरको हालीमुहाली सुरु भयो ।

राजा र रानी देश छाडेर हिँडेपछि पुतलीमैयाँलाई जंगबहादुरले हनुमानढोका राजदरबारबाट आफ्नो थापाथली दरबारमा ल्याई पुतली रानीको दर्जा दिए । उनीबाट बबरजंग नामका छोरा जन्मे (जबरा, २०६५ः१९०) ।

पुतली रानी ल्याइता भए पनि उनीबाट जन्मिएका छोरा बबरजंगलाई रोलक्रममा हाल्न जंगबहादुरले बिर्सिएनन् । किनकि आफ्नी प्रेमिका पुतलीमैयाँबाट राजदरबारका गोप्य सूचनाहरू जंगबहादुरले नपाएका भए उनी यस अवस्थासम्म आइपुग्ने नै थिएनन् । पुतली पनि पति परायण थिइन्, जंगबहादुरको देहान्तमा उनी पतिको सिरपोश टोपी र खराउ काखमा लिई सती गइन् ।

लाउरा बेलसँग चर्चित सम्बन्ध

जंगबहादुर सत्तामा आउनासाथ आफ्ना एक कर्मचारीलाई लेखेको पत्र पाइएको छ । त्यहाँ उनले आफूलाई अङ्ग्रेज महिलाजस्तै राम्री केटी उपलब्ध गराए राम्रो पुरस्कार दिने उल्लेख गरेका छन् ।

जंगबहादुरले आफ्नो बेलायत भ्रमणका क्रममा अङ्ग्रेज महिलासँग रोमान्स गर्ने पहिल्यैदेखिको आफ्नो इच्छा पूरा गरेरै छाडे । उनलाई साथ दिइन्, लाउरा बेलले ।

जंगबहादुरलाई बेलायतमा भव्य स्वागत गर्ने क्रममा नाचगानको आयोजना गरिएको थियो । त्यही नाट्यशालामा उनको भेट भयो, लाउरा बेलसँग । उनलाई देख्नासाथ जंगबहादुर मोहित भइहाले ।

जंगबहादुरभन्दा पहिल्यै बेलायत पुगिसकेका मोतीलाल नामका नेपालीले लाउरा बेलसँगको भेटमा दोभाषेको काम गरेका थिए । सुरुमा जंगबहादुर र लाउरा बेल आँखाको भाकाले बोलेका थिए । मोतीलालले लाउराबारे सोधीखोजी गरी जंगबहादुरलाई थप सूचनाहरू दिए ।

मोतीलालले लेखेको संस्मरण लेखमा जंगबहादुरको लाउरा बेलसँगको पहिलो भेटको प्रसङ्ग उल्लेख छ । उनले जंगबहादुर र लाउरा बेलको पहिलो भेट वा आँखा जुधाईबारे यस्तो लेखेका छन्, ‘नाट्यशालामा मन्त्री

(जंगबहादुर) र उनका भाइहरू महिलाहरू आफूनजिकै आएर घेर्दा आनन्द मान्छन् । यिनीहरूमध्ये कामदेवकै छोरीजस्ती लाग्ने एउटीले सबैको ध्यानाकर्षण गर्छिन् । हामीहरू दोभाषे साहिवलाई उनी को होलिन् ? भनेर सोध्छौं । तर उनी आफू भर्खरै मात्र बेलायत फर्केकाले दोभाषेले तिनलाई चिन्न सकेनन् । मलाई सोधपुछका लागि पठाइन्छ र म ‘बक्स किपर’ सँग गएर जिज्ञासा राख्दा उनको नाम लोरा बेल (लाउरा बेल) भएको पत्ता लगाउँछु । यो महामहिम मन्त्री (जंगबहादुर) लाई बताएपछि उनको अनुहार हँसिलो हुन्छ । त्यसपछि खुसी भएर उठ्दै उनी आफ्नो हातमा भएको नीलो र सिन्दुरे किनारा भएको रुमाल त्यो गोरीतिर फर्काएर हल्लाउँछन् । आफ्ना मोतीजस्तै चम्किला दाँत देखाई ती परीले प्वाँखजडित पंखालाई हल्लाउँदै आफ्ना प्रशंसकप्रतिको प्रसन्नताको भाव र स्वीकृतिको अभिव्यक्तिमा धेरै पटक टाउको हल्लाउँछिन्’ (डा.कृष्णप्रसाद अधिकारी, ‘बेलायतको पहिलो नेपाली मोतीलाल सिंहको रहस्यमय जीवन र उनको ऐतिहासिक आलेख’–२०६९ः३०–३१) ।

लाउरा बेल त्यसबेला बेलायतमा नाम चलेकी सुन्दरी थिइन्, पुरुषहरूलाई पट्याउन उत्तिकै माहिर । जंगबहादुरलाई भेट्नुअघि डब्लिनका कवि ओस्कर वाइल्डका बुवा डा. विलियम वाइल्डसँग लाउराको राम्रै उठबस थियो । उनी आयरल्यान्डमा जन्मेकी थिइन् । उनी जंगबहादुरभन्दा १२ वर्ष कान्छी थिइन् । उनी जति सुन्दरी थिइन्, उति नै फुर्मासिली र सोखिन पनि । जंगबहादुरलाई भेट्नुअघि उनी वेलफास्ट र डब्लिनमा काम गरेर भर्खरै लन्डन आइपुगेकी थिइन् । उनी घोडा चढ्न सिपालु थिइन् । बिहानै घोडा चढेर हाइड पार्कको राटन रोमा जान्थिन् । ठूलाबडाको आँखा उनको सुन्दरतामाथि गड्थे । उनी २१ वर्षकै उमेरमा धनी भएकी थिइन् । उनले शक्तिशाली मानिससँग पहुँच बढाएकी थिइन् । जंगबहादुर स्वदेश फर्केको दुई/तीन वर्षपछि उनको एक खान्दानी क्याप्टेन थिसल्ध्वायेटसँग विवाह भएको थियो । सन् १८८७ मा उनको पतिको निधन भएपछि उनी प्रधानमन्त्री ग्ल्याडस्टोनको घनिष्ठ साथी भएकी थिइन् । पछि उनी ‘फ्री चर्च’ को रिभाइभल सर्भिसमा प्रवचन दिन थालिन् । सुरुमा त उनलाई लिएर पादरीहरूले नाक खुम्च्याएका थिए । तर उनी स्टार थिइन्, उनलाई हेर्न र सुन्न पनि मानिसहरू आउँथे (विश्व पौडेल, ‘हिमाल’ वर्ष १९ अङ्क १५–मंसिर २०६६ः८०) ।

लाउरा बेलसँग भेट भएपछि जंगबहादुर साह्रै खुसी भएका थिए । लाउरासँग उनको निकै बस–उठ र रस–बस भयो । लाउराको सम्बन्ध भारतसँग पनि भएकाले उनी टाकटुक हिन्दी पनि बोल्न सक्थिन् । बेलायतमा हिन्दीमा कुरा गर्ने केटी भेटेपछि जंगबहादुर झन् खुसी भए र उनीसँग मित्रता बढ्यो । बेलायत बस्दा सार्वजनिक स्थलमा त उनले मदिरा कहिल्यै पिएनन्, तर लाउरा बेलजस्ता केटीसँग बस–उठ गर्दा मदिरापान पनि गरे (राणा, २०७०ः५५–५६) ।

बेलायत यात्राका क्रममा सन् १८५० जुलाई २५ र २६ मा जंगबहादुरले लाउरा बेललगायत केही मन परेका र युरोपियन मित्रलाई समेत आफू बस्ने रिचमन्ड टेरेस निम्त्याई त्यहाँ पुनः नाचगानको आयोजना गरी सुरापान र भोजसमेतको आयोजना गरेका थिए । केही दिन जंगबहादुरलाई सन्चो भएन । उनीसँग समय व्यतीत गरेर उनको न्यास्रोपन हटाउन बीच–बीचमा लाउरा बेल उनीकहाँ जाने गर्थिन् । रानी भिक्टोरियासँग बिदाइ भेट गरेपछि उनीहरू रिचमन्ड टेरेस फर्के, त्यहाँ जंगबहादुरसँग बिदा हुन धेरै व्यक्ति पर्खिरहेका थिए । पर्खनेमा जंगबहादुरकी अति घनिष्ठ लाउरा बेल पनि थिइन् (जबरा, २०६५ः७३–७५) ।

लाउरासँग जंगबहादुरको त्यो उठ–बस अखबारहरूमा पनि चर्चाको विषय हुन पुगेको थियो । ‘ब्रिस्टल टाइम्स’ ले अगस्ट १७, १८५० को अंकको पृ. २ मा ‘द नेपाउल प्रिन्सेस’ शीर्षकमा यसबारे समाचार पनि प्रकाशित गरेको थियो । समाचारमा लेखिएको छ, ‘ओपेरामा नेपाली प्रशासक (जंगबहादुर) का लागि छुट्याइएको क्याबिनमा ती प्रशासकका साथ ती युवतीको उपस्थितिले उनको निकै बदनाम भएको थियो, ती महिलाको नाम लाउरा बेल हो ।’

बेलायती लेखकहरूले लेखेका छन्, ‘जंगबहादुरले तीन महिनामा लाउरामाथि साढे दुई लाख पाउण्ड खर्च गरेका थिए ।’ तर, त्यसबेला जंगबहादुरको सबै भ्रमण टोलीका लागि नेपालबाट जम्मा तीस हजार पाउण्ड खर्च लगिएको थियो । उनले पछि ती सबै पैसा देशकै लागि खर्च गरेको स्पष्टीकरण दिएका थिए । बेलायती लेखकहरूले त्यसबेला जंगबहादुरको बेलायत भ्रमणको सबै पैसा इष्ट इन्डिया कम्पनीले भर्पाई गरिदिएको थियो भनी लेखेका छन् । लाउराको प्रेममा परेका जंगबहादुरले लन्डन भ्रमणको अन्त्यमा ‘केटाहरू हो, तिमीहरू जाओ र मलाई नेपाल गएर पैसा पठाइदेओ, म यहीं एक/दुई वर्ष राजदूत भएर बस्छु’ भनेर आफ्ना भाइहरू धीरशमशेर र जगतशमशेरलाई भनेछन् (पौडेल, मंसिर २०६६ः८०) । तर, भ्रमण दलका सदस्यहरूले ‘हजुर नभए नेपालमा अरूले राजकाज सम्हाल्न सक्दैनन्’ भनेर नेपाल फर्कन मनाएका थिए ।

बेलायती प्रेमिका लाउरा बेलले उनलाई कतिसम्म मोहित गरेकी थिइन् भन्ने यसले पनि पुष्टि गर्छ ।

लाउराको जन्मस्थान आयरल्यान्डको लिस्बर्नमा उनको अझै चर्चा हुने गर्छ । भन्नेले केसम्म भन्छन् भने जंगबहादुरले उनलाई छोड्ने बेला एउटा औंठी दिएर ‘तँलाई केही पर्‍यो भने यो औंठीसहित मलाई खबर पठा, तेरो कुरा काट्दिनँ’ भनेका थिए रे ! जब भारतमा सिपाही विद्रोह भयो, उनले बेलायतका युवराजलाई त्यो कुरा बताउँदै ‘जंगलाई मैले सहयोग गर भन्दा काट्दैन’ भनेकी थिइन् र त्यसैले जंगले ब्रिटिसलाई सहयोग गरेका हुन् (पौडेल, २०६६ः८०) ।

पढ्दा एक कठोर र निष्ठुरजस्ता लाग्ने शासक जंगबहादुर प्रेममा कतिसम्म पग्लन सक्ने रहेछन् भन्ने उनका यी सम्बन्धहरूले पनि पुष्टि गर्छन् ।

भ्यालेन्टाइन्स डे विशेष

राजकुमार

Link copied successfully