शान्तासँग मैले विवाह गरेको थिएँ तर प्रेम गर्न सकिनँ । जलजलालाई मैले प्रेम गरें तर उनको आसमयिक मृत्युका कारण उनीसित मेरो विवाह हुन सकेन । दुर्गासित प्रेम र विवाह दुवै भयो । उनको स्वभाव जलजलाको जस्तै छ । जलजलाको प्रेम र अभाव उनीद्वारा पूरा भएको छ ।
मर्यादा र विश्वासको कसिमा प्रेम सदैव सम्मानित छ ।
What you should know
काठमाडौँ — हामी दुवैले एकअर्कालाई धेरै धेरै प्रेम गर्यौं । म विवाहित थिएँ र दुई छोराछोरीको पिता । जलजला अविवाहित कन्या । जलजला र मेरो प्रेम प्रकरणमा पार्टीको केन्द्रीय कमिटीले मलाई महामन्त्री र केन्द्रीय कमिटीबाट हटायो । म तीन वर्ष र जलजला एक वर्षका लागि पार्टी सदस्यसमेत नरहने गरी निष्कासित भयौं ।
त्यो बेला हाम्रो पार्टीको केन्द्रीय कार्यालय बनारसमा थियो । पार्टीको कारबाहीमा परेपछि म बनारसबाट मद्रास र केरलातिर गएँ, जलजला आफ्नो मावल ग्वालिएरतिर । पछि हामी दुवैलाई पार्टीको सदस्यता दिइयो । अन्तर्राष्ट्रियस्तरमा पार्टीका जिम्मेवारी पूरा गर्न दिल्ली गएका बेला १ मंसिर २०३८ मा बस दुर्घटनामा परी जलजलाको मृत्यु भयो ।
जलजलासितको प्रेम प्रकरणलाई मैले कहिल्यै लुकाउने प्रयत्न गरिनँ । प्रेम लुकाउनुको अर्थ उनले मसित जुन प्रेम गरेकी थिइन् र पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने सिलसिलामा उनको मृत्युसमेत भएको थियो, त्यसको अवमूल्यन गर्नु हुन्थ्यो । व्यक्तिगत प्रतिष्ठा बचाउन त्यसो गर्नु मैले उचित ठानिनँ । मेरो सधैं यो दृढ सोचाइ रह्यो कि मेरा विषयमा जे सत्य छ, त्यही रूपमा नै म प्रस्तुत हुनुपर्छ, त्यसमाथि असत्य वा कृतिमताको पर्दा हाल्ने प्रयत्न गर्नु सही हुँदैन ।
२०३२–३३ तिर केन्द्रीय पार्टी प्रशिक्षणमा भाग लिन उनी बनारस आएकी थिइन् । त्यही बेला मेरो उनीसित प्रथमपल्ट भेट भएको थियो, यद्यपि उनी एउटी अत्यन्त साहसी र जुझारु चरित्रकी व्यक्ति भएको मैले पहिले नै सुनेको थिएँ ।
जलजलासितको प्रेम प्रकरणलाई मैले कहिल्यै लुकाउने प्रयत्न गरिनँ । प्रेम लुकाउनुको अर्थ उनले मसित जुन प्रेम गरेकी थिइन् र पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने सिलसिलामा उनको मृत्युसमेत भएको थियो, त्यसको अवमूल्यन गर्नु हुन्थ्यो ।पार्टीले हामीमाथि गरेको अनुशासनको कारबाहीको हामीले कहिल्यै विरोध गरेनौं । निष्कासन कालमा म करिब दस महिना जति केरलाको त्रिवेन्द्रममा नै बसें । त्यो बेला हामी बीचमा धेरै पत्रव्यवहार भएको थियो । ती पत्र अहिले पनि सुरक्षित छन् । पछि अनुकूल परेका बेला तिनीहरूलाई प्रकाशन गर्ने मेरो विचार छ । ‘कामरेड जलजला’ उपन्यासका दुई वटा परिच्छेद ‘दुखान्त प्रेम’ र ‘अनिश्चित यात्रा’ मा ती पत्रलाई सङ्क्षिप्तमा उल्लेख गरिएको छ । ती पत्रहरूबाट त्यो बेला हामीबीच कस्तो सम्बन्ध वा प्रेम थियो भन्ने प्रस्ट हुन्छ ।
त्यो काल हाम्रा लागि मानसिक रूपले अत्यन्त तनाव र आर्थिक रूपले अत्यन्त अभाव र कष्टसाध्य थियो । त्यस प्रकारको तनाव र कष्टसाध्य कालमा पनि हामी दुवै एकअर्कालाई प्रेम गर्ने र सम्पूर्ण रूपले पार्टी र क्रान्तिका लागि आफूलाई समर्पण गर्ने सवालमा कटिबद्ध थियौं ।
जलजलाको मृत्युपछि मलाई के लाग्न थाल्यो भने उनको प्रेमले मलाई जुन ऊर्जा दिएको थियो, त्यसलाई निरन्तरता दिन एक वा अर्को रूपमा उनी मेरा साथमा रहिरहनु आवश्यक छ । उनको अभावमा पहिले जस्तै जीवन्त प्रकारले पार्टी र क्रान्तिको जिम्मेवारी पूरा गर्न मलाई मुस्किल पर्नेछ । त्यसकारण जलजलाको मृत्युपछि मैले पुनः जलजलालाई नै खोज्न थालें । मेरो त्यस प्रकारका सम्भावनाहरूप्रति ध्यान जान थाल्यो । त्यही क्रममा मेरो दुर्गा पौडेलसित सम्पर्क भयो र उनलाई मैले प्रेम र विवाह पनि गरें ।
शान्तासँग मैले विवाह गरेको थिएँ तर प्रेम गर्न सकिनँ । जलजलालाई मैले प्रेम गरें तर उनको असामयिक मृत्युका कारण उनीसित मेरो विवाह हुन सकेन । दुर्गासित प्रेम र विवाह दुवै भयो । मैले धेरै प्रेम गरेका तीन व्यक्ति अत्यन्त साहसी र लडाकु स्वभावका छन् । तीमध्ये पहिलो हुनुहुन्छ– मेरा पिता खिमविक्रम र दोस्रो जलजला । दुर्गाको पनि त्यही प्रकारको स्वभाव छ । मसितको विवाहपछि उनीमाथि धेरै आक्रमण भयो । तर उनी कहिल्यै विचलित भइनन् । पार्टी र आन्दोलनका काममा पनि अत्यन्त कठिन र प्रतिकूल परिस्थिति वा चरम प्रकारको असफलताको अवस्थामा पनि उनी सधैँ हिम्मतपूर्वक अगाडि बढ्ने गरेकी छन् ।
दुर्गाको स्वभाव यस्तो छ कि सयकडौँ मान्छेले घेरेर उनीमाथि आक्रमण गरे पनि उनी एक्लै ती सबैसित लड्न तयार हुन्छिन् । संसद्मा पाँच वर्षसम्म उनले एमसीसी, नागरिकता विधेयक र संघीयतासमेतका विषयमा एक्लै संघर्ष गर्दै पार्टीको नीतिलाई अगाडि बढाउने प्रयत्न गरेकी थिइन् । त्यसबाट पनि उनी कुन धातुले बनेकी रहिछन् भन्ने थाहा हुन्छ । उनको त्यस प्रकारको स्वभाव पिताजी खिमविक्रम र जलजलाको जस्तै छ । त्यही कारणले पनि जलजलाको प्रेम र अभाव उनीद्वारा पूरा भएको छ भन्ने मलाई लाग्छ ।
शाहजहाँले मुमताजको स्मृतिमा ‘ताजमहल’ बनाएका थिए भने माधव घिमिरेले गौरीको सम्झनामा ‘गौरी खण्डकाव्य’ लेखेका थिए । मेरो का.जलजला उपन्यास पनि एक प्रकारले त्यस्तै–त्यस्तै हो । त्यो उपन्यास तयार पार्न मलाई २३ वर्ष लाग्यो । त्यो उपन्यास तयार पार्न मैले नेपाल तथा पार्टी कामको सिलसिलामा गएका बेला भारतका धेरै भाग र युरोपका कैयौं देशको स्थलगत भ्रमण गरें । धेरै पुस्तक र सूचना सामग्रीको अध्ययन गरें र धेरै मानिससित संवाद गरें । त्यो उपन्यास धेरै प्रयत्न तथा धेरै मानिसको सहयोगको सम्मिलित परिणाम हो ।
उपन्यासको प्राक्कथनको पहिलो वाक्यमा नै लेखिएको छ– ‘का.जलजला विश्वमा अन्तर्निहित छिन् र सम्पूर्ण विश्व पनि उनीमा अन्तर्निहित छ । त्यसैले उनलाई सही प्रकारले बुझ्न फेरि उनलाई सम्पूर्ण विश्वको परिप्रेक्ष्यमा नै बुझ्ने प्रयत्न गर्नुपर्नेछ ।’
जलजला र विश्वको सम्बन्धबारे जे लेखिएको छ, त्यो प्रत्येक व्यक्ति, सबै प्राणी तथा सबै पदार्थबारे पनि सत्य हो । त्यसैले उपन्यासले सम्पूर्ण विश्वलाई बुझ्नका लागि गम्भीरतापूर्वक प्रयत्न गर्छ । त्यति मात्र होइन, त्यसले सम्पूर्ण संसारलाई बदलेर एउटा स्वतन्त्र सुखी र सुन्दर संसार निर्माण गर्ने सपना देख्दछ । तर त्यो उद्देश्य एउटा उच्च दृष्टिकोण वा मानव चेतनाका आधारमा नै सम्भव छ । त्यसैले उपन्यासले त्यस प्रकारको दृष्टिकोण र चेतना उठाउने कार्यलाई पनि धेरै महत्त्व दिन्छ ।
उपन्यासको उपशीर्षकमा नै लेखिएको छ– त्यो, एउटा प्रेमको कथा र विश्वको दर्शन हो । जलजलाको महत्त्व यसमा छ कि उनी पनि मानव जातिको त्यस प्रकारको महान् क्रान्तिकारी मुक्ति आन्दोलनकी एउटा योद्धा थिइन् र त्यसका लागि नै उनले आफ्नो जीवन समर्पण गरेकी थिइन् ।
उपन्यासले यसमा जोड दिएको छ कि मानव प्रेमको सर्वोच्च रूप आमाको सन्तानप्रतिको प्रेम नै हो । आफ्ना सन्तानको सुखका लागि आमाहरू सबै प्रकारका कष्ट उठाउन वा सबै प्रकारका त्याग र बलिदान गर्न तयार हुन्छन् । त्यसको बदलामा उनीहरूले केही आशा गरिरहेका हुँदैनन् । त्यो प्रेममा नै उनीहरूले उच्च सुखानुभूति अनुभव गर्छन् । त्यो प्रेम पूरै निःस्वार्थ हुन्छ । उपन्यासले यसमा जोड दिन्छ कि आमाको सन्तानप्रतिको त्यो प्रेमले विश्वव्यापी रूप ग्रहण गर्नुपर्छ र त्यसरी सारा विश्व आमामय बन्नुपर्छ ।
मेरो सधैं यो दृढ सोचाइ रह्यो कि मेरा विषयमा जे सत्य छ, त्यही रूपमा नै म प्रस्तुत हुनुपर्छ, त्यसमाथि असत्य वा कृतिमताको पर्दा हाल्ने प्रयत्न गर्नु सही हुँदैन ।आज मानिसको पारस्परिक सम्बन्ध, एक प्रकारले भन्ने हो भने, सम्पूर्ण सामाजिक सम्बन्धमा स्वार्थ नै प्रधान पक्ष बनेको छ । यहाँसम्म कि मानिसको पारिवारिक सम्बन्धको प्रकृति पनि बढी स्वार्थपरायण बनेको देखिन्छ र त्यसले गर्दा प्रेम एउटा व्यापार वा सौदाबाजीको विषय जस्तो मात्र बन्न जान्छ । प्रेमी–प्रेमिका वा पति–पत्नीका बीचको प्रेम मानव समाजको अत्यन्त महत्त्वपूर्ण पक्ष हो र त्यसमाथि नै सम्पूर्ण सृष्टि आधारित हुन्छ भने पनि सायद फरक पर्ने छैन । उनीहरूबीचको सच्चा प्रेम त्यो बेला नै हुन्छ, जब उनीहरूले बदलामा केही प्राप्त गर्ने आशा नगरीकन आफूलाई एकअर्कामा निःस्वार्थ भावले पूरै समर्पण गर्छन् । त्यसरी उनीहरूको सम्बन्धमा जति बढी आमाको सन्तानप्रतिको माया समाविष्ट हुँदै जान्छ, त्यति नै त्यो सच्चा हुँदै जान्छ ।
अर्कातिर उनीहरूका बीचको सम्बन्धमा जतिजति आमामय तत्त्वको न्यूनीकरण हुँदै जान्छ, उनीहरूका बीचको प्रेम निकृष्ट र पीडादायक पनि बन्दै जान्छ । सायद, त्यही विषयमा ध्यान दिएर हुन सक्छ, एङ्गेल्सले उनीहरूका बीचमा सम्बन्धविच्छेद नै सबैभन्दा उपयुक्त भएको बताएका छन् ।
त्यस सन्दर्भमा एउटा अर्को पक्षप्रति पनि हाम्रो ध्यान जान आवश्यक छ, दुई प्रेमी–प्रेमिका वा पति–पत्नीले आफ्नो सम्बन्ध वा प्रेमलाई जब सम्पूर्ण समाज वा सम्पूर्ण मानव जातिलाई सुखी र सुन्दर बनाउने महान् उद्देश्य वा आन्दोलनसित जोड्छन्, त्यस अवस्थामा त्यो प्रेम सर्वश्रेष्ठ प्रेम बन्छ । त्यस अवस्थामा उनीहरू व्यक्तिगत वा पारिवारिक स्वार्थका सीमाबाट धेरै माथि उठ्छन् ।
का.जलजला उपन्यासले त्यही बिन्दुलाई छुने प्रयत्न गरेको छ । भागवत् गीताले पनि त्यही विषयमा जोड दिएको छ । त्यसले आफूलाई सम्पूर्ण रूपले ईश्वरमा समर्पण गर्नुपर्ने र फलको आशा नगरीकन आफ्नो कर्तव्य पूरा गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ । गीताले त्यसलाई आध्यात्मिक अर्थमा नै उठाएको छ । प्रस्तुत उपन्यासले भने सांसारिक वा लौकिक अर्थमा लिएको छ ।
उपन्यासले एक पात्र का.गढवालीलाई त्यही रूपमा प्रस्तुत गर्ने प्रयत्न गरेको छ, जसले आफूलाई सम्पूर्ण रूपले क्रान्ति वा समाजको उच्चतम हितमा समर्पण गरेको हुन्छ । मार्क्सवादी–लेनिनवादी दर्शनले पनि एउटा कम्युनिस्टले व्यक्तिगत रूपमा फलको आशा नगरीकन पूरै क्रान्तिका लागि समर्पण गर्नुपर्नेमा जोड दिन्छ र त्यो सर्वहारा विश्व दृष्टिकोण हो । का.जलजला उपन्यास त्यही दार्शनिक आदर्शद्वारा निर्देशित छ ।
उनी जीवित हुँदासम्म मैले उनको प्रेमलाई सम्पूर्ण रूपले बुझ्न सकेको थिइनँ । तर उनको मृत्युपछि उनको माया विशाल आकारमा देखापरेको छ । ‘का.जलजला’ उपन्यास लेख्ने क्रममा उनको त्यो माया मेरा अगाडि झन् बढी प्रस्ट हुँदै र एक प्रकारले भन्ने हो भने त्यसले दार्शनिक रूप लिँदै गएको छ । जलजलाप्रतिको त्यो प्रेम कति धेरै गहन छ, त्यसले कति विशाल आकार लिएको छ, त्यो उपन्यासकी पात्र सुनन्दाको चित्रणद्वारा प्रकट हुन्छ । उनी काल्पनिक पात्र हुन् । तर मेरा लागि उनी जीवित जस्तै छिन् ।
उपन्यासकी सुनन्दा पात्रलाई खोज्न वा उनलाई यथार्थ धरातलमा निर्माण गर्नका लागि मैले कुमाउ गढवालका धेरै स्थानको भ्रमण गरेको छु । अन्तमा पिथौरागढको दारमा प्रगन्नाको पञ्चचुली हिमालयनजिकै बसेको एउटा सौका जातिको गाउँ दाँतुमा उनलाई फेला पारें । उपन्यासमा मैले जलजलाको अभावलाई कल्पनाकी सुनन्दाद्वारा पूरा गर्ने प्रयत्न गरें । तर वास्तविक जीवनमा जलजलाको कमीलाई दुर्गा पौडेलद्वारा पूरा गर्ने प्रयत्न गरेको छु । आज प्रणय दिवसको अवसरमा मैले जलजला, सुनन्दा र दुर्गा तीनै जनाप्रति हार्दिक प्रेम प्रकट गर्न चाहन्छु । (गंगा बीसीसँगको कुराकानीमा आधारित)
