जमुना र मेरो त्यो बन्दीपुरे पिरती

उनी बन्दीपुर अस्पतालमा स्टाफ नर्स थिइन् । म पूर्वेली कुमाई, पाँचथरमा जन्मेको । उसबेला म बन्दीपुर हाईस्कुलमा अंग्रेजी पढाउँथें । बिछट्टको संयोगले जमुनाको र मेरो डेरा एउटै घरमा पर्‍यो । म माथिल्लो कोठामा बस्थेँ, उनी तल्लो कोठामा । यही संयोगले मेरो र जमुनाको संगत बढाइएको हो।

फाल्गुन २, २०८२

खगेन्द्र संग्रौला

मर्यादा र विश्वासको कसिमा प्रेम सदैव सम्मानित छ ।

What you should know

काठमाडौँ — जीवनबारे बोल्न त्यति ठूलो जोखिम हुँदैन तर प्रेमबारे बोल्नु खतरा हो । एक जना विद्वान्ले मेरो जीवनी लेख्नुभएको छ । त्यो जीवनीमा मैले गरेका प्रेमहरूको पोल खोलिएको छ । नेपाली समाजमा प्रायः दुई–तीन वटा विषयमा छलफल गरिँदैन– प्रेम, सेक्स र मृत्युबारे । तर, जीवनमा सबैभन्दा बढी चर्चा गर्नुपर्ने यिनै तीन वटा विषय हुन् ।

 कुनै बेला म पनि तपाईंहरू जस्तै विद्यार्थी थिएँ । त्यो बेला प्रेम गर्नु ठूलो उपद्र्‍याइँ मानिन्थ्यो । अहिले कस्तो मानिन्छ, मलाई थाहा छैन । मेरो समयमा प्रेम गरिन्थ्यो र लुकाइन्थ्यो । अहिलेको समयमा प्रेम गरिन्छ र प्रदर्शन गरिन्छ– यही फरक छ ।

लामो समय मैले मेरा प्रेम कथाहरू लुकाइरहें । कुनै बेला मेरो, अहिले जो श्रीमती छिन्, उनीसँग प्रेम भयो, विवाह भयो । विवाह भइसकेपछि पति–पत्नीले एकअर्कासँग अभिनय गरिरहनुपर्छ । ‘मैले जिन्दगीमा कहिल्यै कसैलाई आँखा जुधाएको छैन, प्रेमको त कुरै छोडिदिनुस्’– पतिले पत्नीलाई त्यही भनिरहन्छ, पत्नीले पतिलाई त्यही भनिरहन्छिन् । तर, जीवनको वास्तविकता के हो भने जीवनमा प्रेम नगर्ने कोही पनि हुँदैन । कसैले प्रेमपत्र लेखेर प्रेम गर्‍यो होला, कसैले आँखा जुधाएर । कसैले त्योभन्दा बढी केही गरेर प्रेम गर्‍यो होला । र, लामो समय मैले आफ्ना प्रेमहरू लुकाएँ ।

सम्बन्धित समाचार

म त्यो प्रेमबारे मेरा केही अनुभवहरू तपाईंलाई सुनाउँछु । अहिले संसार तपाईंको औंलाको टुप्पामा छ । एउटा सानो यन्त्र तपाईंको हातमा छ, त्यसमा इन्टरनेट जोडिएको छ भने संसार तपाईंको औंलाको टुप्पामा हुन्छ । अहिलेको प्रेम जिब्रो र औंलाको भरमा गरिन्छ । सामाजिक सञ्जालमा कता–कता एउटा फोटो देखियो, फोटो देखेपछि केटालाई केटी मन पर्‍यो, केटीलाई केटो । सजिलोसँग एकअर्काले भन्छन्– आई लभ यु ।

मेरो समय धेरै अप्ठ्यारो थियो । मेरो समयमा प्रेम गर्नुभन्दा कठिन र खतरनाक कुरा केही पनि थिएन । तैपनि मैले प्रेम गरें । अब प्रश्न के हुन्छ भने, विद्यार्थीको काम त पढ्ने हो, प्रेम गर्ने होइन । जसले प्रेम गर्छ, त्यो त उपद्र्याहा हो । म उपद्र्याहा पनि थिएँ, पढाइमा राम्रो पनि थिएँ । म जसलाई मन पराउँथें, उसलाई आकर्षित गर्न, प्रभावित गर्न पढाइमा पनि जोड दिइरहन्थें । म क्लासमा पहिलो हुन्थें । पहिलो भएपछि मलाई के लाग्थ्यो भने– ‘अब त निजले मलाई प्रेम गर्लिन् ।’

त्यो बेला बडो गाह्रो थियो । मेरा प्रेमपत्रको कुरा गर्छु । १० क्लासमा पढ्दा मलाई एउटी केटी मन परिन् । त्यो बेलामा विद्यालयहरूमा पढ्ने केटीहरू धेरै हुँदैनथे । २५–३० जना केटाहरूको बीचमा १–२ जना केटी हुन्थे । त्यसलाई रोज्न धेरै विकल्प हुँदैनथे । ती सीमित केटीहरूमाथि धेरैका आँखा गाडिन्थे । तिनको बीचमा प्रतिस्पर्धा हुन्थ्यो । कतिको बीचमा त झगडा पनि हुन्थ्यो होला । मलाई पनि कोही मन पर्‍यो । तर, त्यो बेला त केटा–केटीबीच बोलचालै हुँदैनथ्यो ।

विवाह भइसकेपछि पति–पत्नीले एकअर्कासँग अभिनय गरिरहनुपर्छ । मैले जमुनाअघि अभिनय गरिरहें, ‘म तिमीप्रति अत्यन्तै बफादार छु, तिमीबाहेक मैले जिन्दगीमा कसैसँग आँखा जुधाएकै छैन, कसैलाई स्पर्श गरेको छैन, बाँकी त्योभन्दा परको त कुरै नगरौं ।’तपाईंहरू अहिले एउटै बेन्चमा बस्नुहुन्छ । एकअर्कालाई छुनुहुन्छ, केही अभिनय पनि गर्नुहुन्छ होला । मेरो पालामा अप्ठ्यारो थियो । कक्षामा केटा–केटीहरू अलग्गै बेन्चमा बस्थे । तिनको बीचमा बोलचालै हुँदैनथ्यो । बोलचाल भयो भने ‘केही सुरु भयो कि’ भनेर शंका गरिन्थ्यो । मलाई कोही मन पर्‍यो र मैले प्रेमपत्र लेखें । अब मेरो समस्या के भयो भने, त्यो प्रेमपत्र मलाई मन परेको केटीको हातमा पुर्‍याउने कसरी ? संयोगले मसँगै पढ्ने एउटा मित्रलाई त्यो कुरा थाहा भयो । उनले त्यो पत्र पुर्‍याउने भए । 

अब एकान्तमा, समाजको आँखा छलेर, त्यो चिठी हातमा पुर्‍याउनुपर्ने भयो । त्यो केटीको घर जहाँ थियो, घरबाट आउँदाखेरि केही एकान्तका ठाउँहरू पनि थिए । मेरो साथी मेरो प्रेमपत्र पुर्‍याउन एकान्तमा कुरिरह्यो । आज कुर्‍यो भेट भएन, भोलि कुर्‍यो भेट भएन, पर्सि कुर्‍यो भेट भएन । तर, एक दिन भेट भएर चिठी बुझायो । तर, त्यो चिठी बुझाएपछि मेरो निद्रा हराम भयो– अब के हुने हो ? आवेगमा, उत्तेजनामा वा मूर्खतावश चिठी लेखियो र पठाइयो, चिठी हात लागेपछि भोलिपल्ट तिनले मेरो प्रधानाध्यापकलाई उजुरी गरिन् भने मेरो त रामधुलाइ हुन्छ । रातभर मलाई निद्रा लागेन । भोलिपल्ट भयो, केही पनि भएन । कतै जोसपोल गरेको पनि थाहा भएन । कुटाइ पनि खाइएन । त्यसको जवाफ कहिले आउला भनेर म कुरेर बसिरहें । कुर्दाकुर्दा एक साता बित्यो । त्यो एक सातामा मेरो सायद १–२ किलो मासु घट्यो पनि होला पिरोलोले ।

कत्रो साहस गरेर पत्र लेखियो, पत्रको जवाफै आउँदैन । मैले अर्को चिठी लेखें । त्यो चिठी पुर्‍याउने साथी बडो विचित्रको थियो, मलाई उक्साइरहन्थ्यो– ‘केटा लेख्ने हो, लभ त गर्ने हो ।’ दोस्रो चिठी पनि लेखियो । दोस्रो चिठी तिनै मित्रले तिनको हात पुर्‍याइदिए । त्यसपछि त्यसको जवाफ आयो । जवाफ पनि तिनकै हातमा कुनै एकान्तमा सबैका आँखा छलेर मेरो साथीको हातमा पर्‍यो । तर, जवाफ के आयो, थाहा छ ? धेरै रमाइलो जवाफ आएन– मेरा आमाबाले मलाई अर्कैलाई दिन खोजिरहेका छन् । तिमीसँग मेरो प्रेम हुन, विवाह हुन कुनै सम्भव छैन । तिमी भानुभक्त बन ।’

मैले त प्रेमिका बनाउन खोजेको थिएँ, त्यसको सट्टा मलाई आशीर्वाद प्राप्त भयो– ‘तिमी भानुभक्त बन ।’ जीवनमा यस्ता अरू केही घटना भए, जसबारे धेरै चर्चा गर्दिनँ । पछि म हाईस्कुलको टिचर भएँ, हाईस्कुलमा म अंग्रेजी पढाउँथें । मेरी हुनेवाली श्रीमती स्थानीय अस्पतालमा नर्स थिइन् । हामीबीच प्रेम भयो, विवाह भयो, छोराछोरी पनि जन्मिए । त्यो प्रेमबारे मैले कहीँ कसैलाई पनि चर्चा गरिनँ । मैले श्रीमतीको अगाडि अभिनय गरिरहें, ‘म तिमीप्रति अत्यन्त बफादार छु । तिमीबाहेक मैले जिन्दगीमा कसैसँग आँखा जुधाएको छैन, कसैलाई स्पर्श गरेको पनि छैन । बाँकी त्योभन्दा परको त कुरै नगरौं ।’ मेरी श्रीमतीले पनि मलाई त्यही भनिरहिन्, ‘तिम्रो कुरा सही हो, मैले पनि तिमीबाहेक कोहीसँग जिन्दगीमा आँखा जुधाएकै छैन ।’

प्रेम विभिन्न किसिमका हुन्छन्– आमा–छोराबीच, बाउ–छोरीबीच, एउटै जातका, एउटै वंशका विभिन्न युवा–युवतीबीच । मान्छे र प्रकृतिबीच प्रेम हुन्छ, मान्छे र पशुपक्षीबीच प्रेम हुन्छ, मान्छे र कविताबीच प्रेम हुन्छ । प्रेम जीवनको केन्द्र हो । ब्रह्माण्डको केन्द्रमा प्रेम छ । प्रेमको कुनै भूगोल हुँदैन, प्रेमको भाषा हुँदैन, प्रेम कुनै सिमानाले बाँध्दैन, प्रेमको कुनै वर्ण पनि हुँदैन । प्रेम स्त्री र पुरुषबीच हुन्छ, सबै सीमाहरू भत्काएर प्रेम गरिन्छ ।

तर, हाम्रो समाजमा त के छ भने, यो हिन्दु वर्ण व्यवस्थामा चलिरहेको समाज हुनाले कसले कुन जातसँग प्रेम गर्न मिल्ने, कुन जातसँग नमिल्ने भन्ने धेरै बन्देज छन् । मेरो विवाह गुरुङसँग भयो । तर, अहिले अन्तरजातीय विवाह गर्न त्यत्रो गाह्रो हुँदैन । कथित ‘छुत’ र ‘अछुत’ बीचको प्रेमचाहिँ अहिले पनि आपत्तिजनक मानिन्छ । कतिपय विष्ट र दलितबीच विवाह भएकै कारण दुलहा–दुलही मारिएका छन्, घरबाट लखेटिएका छन्, तिनका सम्बन्धविच्छेद गरिएका छन्, धेरै अन्याय/अत्याचार भएको छ । तर, कथित पानी चल्नेहरूबीच प्रेम त्यति आपत्तिजनक हुँदैन । मेरो समयमा धेरै आपत्तिजनक थियो । म त बाहुनको छोरो– पढेलेखेको, आफ्नै खुट्टामा उभिएको !

तर, मेरी श्रीमती गुरुङकी छोरी भएकीले मसँग विवाह गर्न उनलाई धेरै ठूलो समस्या भयो । उनी थिइन्– जमुना गुरुङ, हवलदार कारा गुरुङकी छोरी, घर नागीधार, कास्की । उनी बन्दीपुर अस्पतालमा स्टाफ नर्स थिइन् । म पूर्वेली कुमाई, पाँचथरमा जन्मेको, कतै स्कुल–कलेजमा पढाएको । उसबेला म बन्दीपुर हाईस्कुलमा अंग्रेजी पढाउँथें । बिछट्टको संयोगले जमुनाको र मेरो डेरा एउटै घरमा पर्‍यो । म माथिल्लो कोठामा बस्थें, उनी तल्लो कोठामा । यही संयोगले मेरो र जमुनाको संगत बढाएको हो । उनी ठूलो दारकी थिइन्, म सानो गाँठीको पातलो मानिस थिएँ । भर्‍याङबाट तल–माथि गर्ने क्रममा जम्काभेट हुँदा म उनीसँग संकोच मान्दै तर्किएर हिँड्थें । तर, भातभान्सा सँगै भएपछि भने बिस्तारै कुराकानी हुन थाल्यो ।

उनी बडो आक्रामक थिइन्, उनैले प्रेम सुरु गरिन् र मैले मानिदिएँ । यो कुरा सुनेपछि तपाईंलाई लाग्ला– यो त बडो नालायक रहेछ, लाचार रहेछ । तर, त्यस्तो पनि होइन । प्रेम गर्न मलाई रहर नभएको होइन, आँट मात्रै नभएको हो । आँट मेरी हुनेवाली श्रीमतीले गरिन् । तर, उनका बाले अत्यन्तै ठूलो आपत्ति जनाए । आपत्ति के जनाए भने उनले जमुनालाई भने, ‘तैंले दुइटामध्ये एउटा कुरा रोज्, कि त्यो बाहुनलाई रोज् कि बाउलाई । त्यो बाहुनसँग तँ गइस् भने तेरो बाबु तेरो बाबु रहँदैन ।’ आखिरमा जमुनाले निर्णय गरिन् । र, निर्णय गरेपछि हाम्रो विवाह भयो । विवाह भएको डेढ वर्षमा हाम्री छोरी जन्मिइन् । छोरी जन्मिएपछि पहिले सासू आउनुभयो, त्यसपछि ससुरा । सन्तानहरूले पुलको काम गर्दा रहेछन् । जसरी मेरी छोरीले पुलको काम गरी र हाम्रो सम्बन्ध राम्रो रह्यो । आखिरमा मेरो ससुराको देहान्त मेरै घरमा भयो । ससुराका निम्ति सबैभन्दा प्यारो ज्वाइँ म नै थिएँ, सबैभन्दा प्यारी छोरी मेरै श्रीमती थिइन् । यो भयो मेरो प्रेम कथा ।

जीवनमा प्रेम गरिन्छ, प्रेम गर्नुपर्छ । तर, जीवनमा प्राथमिकताहरू हुन्छन् । सबैभन्दा पहिले शरीरको भोग पूरा गर्नुपर्छ । शरीरको भोग पूरा गर्न लुगा लगाइन्छ, केही खाएर पेट भरिन्छ । खाएर पेट भरिसकेपछि मान्छेको सेक्सको चाहना होला, त्यो पनि शरीरकै भोग हो, त्यो पूरा गरिन्छ । तर, मान्छेको चाहना त्यहाँ मात्रै सीमित हुँदैन । तपाईंको पेट भरिएपछि, आङमा लुगा लाउन पाएपछि, सेक्सको तिर्सना मेटिसकेपछि त्योभन्दा पर पनि मान्छेका इच्छाहरू हुन्छन् । त्यो भावनात्मक इच्छा हो । त्यसपछि साहित्यमा, कलामा, संस्कृतिमा तपाईंको चाख हुन्छ । प्रकृतिका विभिन्न रूप रंगहरूमा, त्यसका दृश्यहरूमा, गतिहरूमा तपाईंको चाख हुन्छ– त्यो भावनात्मक चाख हो । त्योभन्दा पर गएपछि तपाईंको दर्शनमा चाख होला, भजन–कीर्तनमा चाख होला । यी सबै प्रेमका विभिन्न रूप हुन् । प्रेम स्त्री–पुरुषबीच सम्बन्ध र यौनको आकर्षण मात्रै होइन । तर, तथ्य के हो भने प्रत्येक प्रेम सेक्सतर्फ लम्किरहेको हुन्छ । प्रेम प्रारम्भ हो, त्यसपछिको परिणति सेक्स हो– त्यो विवाहपछि हुन सक्छ, विवाहअघि पनि हुन सक्छ । त्यसपछि सन्तान उत्पन्न हुन्छन् । त्यसले प्रेम सृष्टिको स्रोत हो ।०

मेरा बा–आमाको कामवासनाबाट म जन्मिएको हुँ । कामवासनालाई नेपाली समाजमा घृणा गरिन्छ । नेपाली समाजमा सेक्सलाई घृणा गरिन्छ । नारीहरूको जब पहिलो रजस्वला हुन्छ, त्यसलाई घृणा गरिन्छ । तपाईंलाई छाउपडी प्रथाबारे थाहा होला । रजस्वला हुँदा, बच्चा जन्मिँदा पश्चिमका केही भागहरूमा महिलालाई एकान्तमा लगेर थुनिन्छ । कत्ति सर्पले टोकेर मर्छन्, कत्ति जाडोले । त्यसैले नेपाली समाज र संस्कृतिमा केही संकुचित र विकृत कुराहरू छन् । महिलाहरूलाई जहिले पनि दोस्रो दर्जाको नागरिकका रूपमा हेरिन्छ र तिनको अपमान गरिन्छ, तिनीमाथि ताडना गरिन्छ ।

प्रेम समानता र समझदारीमा आधारित हुन्छ । सहकार्यमा आधारित प्रेम समान स्तरको हुन्छ– त्यो सुन्दर हुन्छ । पुरुष ठूलो, महिला सानो, पुरुषले हेप्ने, महिला हेपिने, महिला पुरुषमाथि आश्रित हुने र पुरुषले जुँगा मुसार्ने– त्यस्तो समाजमा प्रेम असमान हुन्छ । हाम्रो समाजका अधिकांश प्रेम असमान छन् । प्रेमलाई समान बनाउन हाम्रो समाजमा भएका धेरै अन्याय मेट्न आवश्यक छ । नारी र पुरुषबीचमा समानताको सम्बन्ध हुने परिवेशको निर्माण गर्नु जरुरी छ ।

यति भनिसकेपछि मैले तपाईंलाई प्रेम गर्नुहोस् भनेर उक्साउन खोजेको होइन । तर, प्रेम नगर्नुहोस् भनेर अर्ती दिन खोजेको पनि होइन । प्रेम गर्ने तपाईंको अधिकार हो, तर प्राथमिकता हुनुपर्छ । विद्यार्थीको प्राथमिकता पढ्नु हो । तपाईंको पहिलो काम पढ्ने हो, सीप आर्जन गर्ने, ज्ञान आर्जन गर्ने, आफ्नो खुट्टामा उभिने हो । जहाँ स्वतन्त्रता हुँदैन, त्यहाँ समानताको प्रेम हुँदैन । तपाईं आर्थिक, पारिवारिक र धार्मिक रूपमा पुरुषमाथि निर्भर हुनुहुन्छ भने त्यो प्रेममा स्वतन्त्रता हुँदैन, समानता पनि हुँदैन ।

(काठमाडौंको ग्लोबल कलेज अफ मेनेजमेन्टमा माघ २९ मा सम्पन्न ‘ग्लोबल लिटरेचर फेस्ट– २०२६’ मा लेखक खगेन्द्र संग्रौलाको ‘प्रेम र जीवन’ शीर्षकको मन्तव्य)

खगेन्द्र साहित्यकार संग्रौला मुलत: सामाजिक न्याय र लोकतन्त्र विषयमा लेख्छन् । उनका बाल्यकालका पदचापहरू, जुनकिरीको संगीत, आफ्नै आँखाको लयमा, संग्रामबहादुर सार्की लगायतका कृतिहरु प्रकाशित छन् । उनले अंग्रेजी साहित्यका विभिन्न कृतिकाे नेपाली अनुवाद पनि गरेका छन् ।

Link copied successfully