लक्ष्मी–जीवनको अन्तर्मनको प्रेम–यात्रा

अभिनेताहरू लक्ष्मी बर्देवा र जीवन भट्टराईलाई लाग्छ— सम्बन्ध आखिर हरेक दिन मिलाउनुपर्ने सिरकजस्तै रहेछ, आज मिलाइएन भने त्यो भोलि फोहोर देखिन्छ

फाल्गुन २, २०८२

समर्पण श्री

मर्यादा र विश्वासको कसिमा प्रेम सदैव सम्मानित छ ।

What you should know

काठमाडौँ — ‘कथा कहाँबाट सुरु गरुँ माया ? सबै धमिला भइसकेछन्,’ अभिनेत्री लक्ष्मी बर्देवाले जीवन भट्टराई (अभिनेता) लाई कोट्याइन् । ‘पहिलो भेट थियो नि रेडियो नेपालमा । सम्झेको छौं ?’ एकअर्कालाई चिनेको बिन्दुबाट जीवन कथा सुरु गर्छन् । भेटिनु त संयोग थियो । भेटमा उनीहरूका नजर जुधेका थिएनन् । प्रेमका रहर पलाएका पनि थिएनन् । ‘त्यो खै कतिबेला बस्यो बस्यो,’ लक्ष्मी हाँस्छिन् ।

लक्ष्मी र जीवनका स्मृतिमा १२ वर्षअघिका धमिला दृश्यहरू फर्किरहेका थिए । मण्डला थिएटरको तेस्रो ब्याचबाट पासआउट भइसकेकी लक्ष्मी रेडियो नेपालमा नाटक गर्थिन् । २०७१ सालतिर लक्ष्मीका साथी सुशीलराज पाण्डेले एक दिन एक जना केटासँग परिचय गराए, ‘ऊ मेरो भाइ जीवन ।’ ‘साथीको भाइ भएपछि मैले पनि उसलाई भाइ भन्न थालें,’ लक्ष्मी सुनाउँछिन् ।

लक्ष्मीले ‘भाइ’ र जीवनले ‘दिदी’ भन्ने सम्बोधनले कतिबेला ‘माया’ को स्वरूप पायो ? यतिबेला दाम्पत्य यात्रा गरिरहेका उनीहरूलाई त्यो सम्झिँदा पनि रमाइलो लाग्दो रहेछ । गत माघ २७ गते उनीहरूको ७ औं विवाहोत्सव थियो । लक्ष्मी र जीवन विवाहोत्सवको दिनका लागि रुद्री पूजाको तयारीमा थिए । अब त उनीहरूको जिन्दगीमा उनीहरू मात्र कहाँ थिए र ? छोरा यशकृतको आगमन भएको पनि २१ महिना बितिसकेको थियो । ‘अब त मैले जीवनलाई मायाभन्दा पनि छोरा जेयलस हुने रहेछ,’ लक्ष्मी मातृस्नेहमिश्रित भावमा भन्छिन् । यशकृतका बा–आमालाई कुनै दिन छोराले पनि सोध्न सक्छन्— प्रेम कथा । त्यसकारण पनि उनीहरूले संयुक्त प्रेमिल स्मृति नवीकरण गरिरहनुपर्छ ।

लक्ष्मीले ‘भाइ’ र जीवनले ‘दिदी’ भन्ने सम्बोधनले कतिबेला ‘माया’ को स्वरूप पायो ? ७ औं विवाहोत्सवका दिन यो ‘फापेको जोडी’ आफ्नो प्रेम–यात्रातिर फर्केर हेरिरहेको छ ।अनामनगरस्थित पुरानो मण्डलामा चौथो ब्याचको कक्षा भइरहेको थियो । एक दिन प्रशिक्षक राजन खतिवडाले त्यो ब्याचमा राम्रो गरिरहेकाहरूको नाम लक्ष्मीलाई सुनाए । तीमध्ये अग्रपंक्तिमा थिए— जीवन । जीवन मण्डलामा नाटक सिक्न थालिसकेका थिए । राजनले नाम लिनासाथ लक्ष्मीले याद गरिहालिन् । त्यसपछि आमनेसामने भइरहे उनीहरू । लक्ष्मीलाई निकै इमानदार लाग्थे जीवन । ‘तर मैले सोचेको पनि थिइनँ कि ऊ मेरो जीवनसाथी होला भनेर,’ लक्ष्मी भन्छिन् । निकै शान्त र जेन्टलम्यान देखिन्थे उनी । उनले कहिल्यै फ्लर्ट गरेको लक्ष्मीलाई थाहा छैन । यता जीवनलाई भने लक्ष्मी ‘स्ट्रेट फरवार्ड’ लाग्थिन् । ‘मेरो स्वभावभन्दा ठ्याक्कै उल्टो, हैन त माया,’ उनी लक्ष्मीतर्फ हेर्दै जिस्कन्छन् । 

मण्डलाको छानोमुनि दिनानुदिन भेट भइरहँदा कुराकानी बिस्तारै बाक्लिन थाले । एक पटक मण्डला नजिकैकै ‘मामाको चिया पसल’ मा उनीहरू चियापान गरिरहेका थिए । लक्ष्मीले त्यतिबेला ओठमा लिपिस्टक लगाएकी थिइन् । लक्ष्मीलाई हेरेर अचानक जीवनले मुख खोले, ‘तपाईं मान्छे चाहिँ राम्री हो है ।’ जीवनको प्रशंसामा लक्ष्मी रमाउनुको साटो लाजले रातोपिरो भइन् । उनलाई जिस्क्याएजस्तो लाग्यो । मनमनै ठानिन्, ‘नसुहाएर यस्तो भनेको होला ।’ ‘तपाईं हेरिरहँदा राम्री देखिनुहुन्छ,’ जीवनले थप गम्भीर भएर भने । लक्ष्मी झन् ‘अक्क न बक्क’ परिरहिन् । पछि ट्विटरमा लक्ष्मीले जीवनको ट्विटमा त्यस्तै आशयको शब्द फेला पारिन्, ‘कोही कोही चाहिँ हेरिरहँदा राम्री देखिने ।’

उनीहरूबीच न मायाका कुरा हुन्थे, न अनुभूतिका । तैपनि लक्ष्मीलाई जीवन हृदयमा जँचिरहेका थिए । एक पटक एउटा ठट्यौली क्षण लक्ष्मी सम्झन्छिन् । जीवनसहित केटाहरू शौचालयतिर जाँदै गर्दा लक्ष्मीका साथीहरूले वरैबाट इसारामा भनेका थिए– योचाहिँ मेरो ।

साथीहरूले त्यसो भनिरहेका बेला जीवन बाहिर निस्किएका मात्रै के थिए, लक्ष्मीले हत्त न पत्त भनिहालिन्– ऊचाहिँ मेरो । ‘मैले त्यो कुरा कुनै गम्भीर मनसायले भनेकी थिइनँ । तर, पछि त्यही कुरा सत्य सावित भयो,’ लक्ष्मी भन्छिन् ।

०७२ वैशाख १२ मा देशभर ठूलो भूकम्प गयो । अग्लाअग्ला भवनहरू भत्किए । तर, लक्ष्मी र जीवनको प्रेमकथाको जग त्यही दिनदेखि सुरु भयो । भयो के भने भूकम्प गएपछि लक्ष्मीले जीवनलाई फोन गरेर सोधिछिन्, ‘कहाँ छौ ? कस्तो छौ ?’ अरू कसैले पनि फोन गरेर नसोधेको समयमा लक्ष्मीले कल गर्दा जीवन भित्रभित्रै तरंगित भए । जीवनलाई लाग्यो, ‘यो मान्छेले मेरोबारेमा सोच्दिरहेछ ।’

ट्विटरमा लक्ष्मी र जीवनको कुरा हुन थाल्यो । लक्ष्मीले जीवनको फोटो पोस्ट भएको देखेपछि जिस्क्याउँदै मेसेज गरिन्, ‘गालामा कसले कोतार्‍यो ? बिरालोले कि क्या हो ?’ जीवनले रिप्लाइ दिए, ‘मान्छेको नङ्ग्राले नि ।’ ‘के खालको होला,’ लक्ष्मीलाई मनमनै रिस उठ्यो । लगत्तै जीवनले फेरि लेखे, ‘यो त फिल्मको क्यारेक्टरका लागि हो, दिदी ।’ त्यो जवाफ पढेर लक्ष्मी बेस्सरी हाँसेकी थिइन् । यी दुईबीच ठट्टाले बिस्तारै स्थान जमाएको थियो । जिस्कँदा पनि जीवनले ‘दिदी’ भन्न चाहिँ छाडेका थिएनन् ।

मण्डलामा जीवन अभिनीत नाटक ‘च्यातिएको पर्दा’ मञ्चन भइरहेको थियो । नाटक मञ्चनअघि जीवनको अनुहार भने पीडाले गाँजेको थियो । त्यो देखेर लक्ष्मीले सोधिन्– के भयो ? ‘पेट फुलेर गाह्रो भइरहेको छ,’ जीवनले रन्थनिँदै भने । नाटक सुरु हुन केही मिनेट मात्रै बाँकी थियो । जीवनलाई मञ्चमा जानेधरि आँट थिएन । लक्ष्मी जहिले पनि झोलामा इनो बोकेर हिँड्थिन् । उनले आफैं पानीमा इनो घोलेर जीवनलाई खुवाइदिइन् । एकाएक जीवन तंग्रिए । मञ्चमा जाने बेलासम्म त उनी तन्दुरुस्त बनिसकेका थिए । ‘त्यो दिन लक्ष्मीले गरेको केयरिङले मेरो मन छोयो । म झन्झन् प्रभावित भएँ,’ जीवन सुनाउँछन् ।

अर्को दिन मण्डलाबाट रिहर्सल सकेर लक्ष्मी घर जाने तरखरमा थिइन् । जीवनले भने, ‘म तपाईंलाई घर छाडिदिऊँ ?’ ‘बाइक छ ?’ लक्ष्मीले सोधिन् । ‘हैन हिँडेरै,’ जीवन हाँसे । लक्ष्मीलाई घरसम्म सधैं पुर्‍याइदिने साथी थिइन् । ‘कि साथी छ ?’ जीवनले सोधे । ‘हैन छैन । जाऊँ न,’ लक्ष्मी झूटसहित अगाडि बढिन् । जीवनले उनीबाट यसरी नै प्रेमको संकेत पाउन थालेका थिए । त्यो दिन बाटोमा हिँड्दै घर जाने क्रममा एउटा बाइक झन्डै उनीहरूसँग ठोक्किएन । लक्ष्मीले बाइकवालाको सातो खाइन् । पछि जीवनले सम्झाए, ‘तपाईं किन कराउनुभएको ? त्यो ओर्लेको भए पिटाइ त मैले खान्थें ।’ लक्ष्मी रमाइलो गरी हाँसिन् । त्यो दिन बाटोमा जीवनले आफ्ना कविता सुनाए । लक्ष्मीले सुनिरहिन् । त्यसको केही दिनपछि मात्रै जीवनलाई थाहा भयो– लक्ष्मी पनि कविता लेख्दिरहिछिन् ।

एकअर्कालाई ‘तपाईं’ भन्नु दुवैलाई रुचिकर थिएन । जीवनले ठट्टा गर्दै भने, ‘अब दुवैले तँ भन्नुपर्छ कि के ।’ लक्ष्मीले व्यंग्य हानिन्, ‘पहिले तिमी भन्ने हिम्मत गर न ।’ यसरी नै उनीहरूको सम्बोधन तपाईंबाट तिमीमा बदलियो । र, बिस्तारै दिदी–भाइको सम्बोधन दुवैका ओठबाट ओझेल पर्न थाले ।

लक्ष्मीलाई लाग्थ्यो, जीवन काठमाडौंमा परिवारसँग बस्लान् । उनी त साथीहरूसँग बस्दा रहेछन् । आवतजावत बाक्लिन थालेपछि जीवनका स्वभाव र बाध्यताहरूसँग पनि परिचित हुन थालिन् । जीवनका साथीहरूलाई खाना बनाउने जाँगर थिएन । जहिल्यै उनले आफैं खाना बनाउनुपर्थ्यो । लक्ष्मी बाहिरै खाना खाएर घर जान प्रस्ताव गर्थिन् । उनी भन्थे– फेरि कोठामा दाइहरू भोकै पर्छन् । सधैं खाना आफैंले मात्रै पकाउने र साथीहरूको सेवा गरिरहेको देखेर लक्ष्मी जीवनलाई ‘रामु काका’ भनेर जिस्क्याउँथिन् ।

योबीचमा उनीहरूले एकअर्कालाई प्रेमको प्रस्ताव राखेनन् । प्रेमचाहिँ गरिरहे । एकअर्काको नजिक हुनु, साथ दिनु, दुःखहरू बाँड्नु उनीहरूलाई मनपर्थ्यो । ०७३ सालतिर, प्रेमको जरा गहिरिँदै गएपछि एक दिन जीवनले लक्ष्मीलाई प्रस्ताव गरे, ‘हामी सँगै बसौं न ।’ ‘यो निर्णय हाम्रा लागि निकै ठूलो थियो । तर, मैले पनि हुन्छ भनें,’ लक्ष्मी सम्झन्छिन् । अनामनगरमा उनीहरूले एउटा सानो फ्ल्याट खोजे । सुरुमा सामान्य भाँडाकुँडा मात्रै लिएर यो जोडीले नयाँ संसार सुरु गरेको थियो ।

नयाँ संसार उनीहरूका निम्ति अनौठो थियो । रोमाञ्चकताभन्दा पनि केही डर र असमझदारी देखिन थाले । बिस्तारै असमझदारी त मेटिँदै गए । तर, डर ? लक्ष्मी आफ्नो सम्बन्धलाई लिएर ‘ओपन’ भए पनि जीवन हुन सकेका थिएनन् । उनलाई परिवारको त्रास थियो । लक्ष्मी जीवनसँगका तस्बिर सामाजिक सञ्जालमा राख्थिन् । तर, जीवन आफ्नो वालमा राख्न डराउँथे । कतै जाँदा पनि सँगै लैजान सक्दैनथे । ‘यदि तिमी कन्फर्म छौ भने किन डराउँछौ ?’ लक्ष्मीले गुनासो गरिरहिन् ।

यसको एउटै समाधान थियो– विवाह ।

तर, विवाहमा तगारो थियो ‘जात व्यवस्था’ । जीवन र लक्ष्मीले प्रेमअघि त्यो पर्खाल नाघ्ने निर्णय गरे । जीवनले दाइमार्फत हेटौंडास्थित घरमा विवाहको प्रस्ताव पठाए । उताबाट यो सम्बन्धलाई सदर गरिएन । जीवनको परिवारबाट अन्तरजातीय विवाह अस्वीकार भएपछि दुवै जना थप पीडामा पुगे । ‘तर म आफ्नो निर्णयमा अडिग थिएँ । हामीले ०७५ माघ २७ गते विवाह गर्‍यौं,’ जीवन त्यो खुसीको क्षण सुनाउँछन् । त्यो खुसीमा लक्ष्मीको परिवार र मण्डला थिएटर सहभागी भयो । तर, जीवनको सिंगो परिवार देखिएन । त्यसले उनीभित्र नमीठो खालीपन भरिदियो ।

विवाहपछिको संसार त झन् अर्कै लाग्यो दुवैलाई । ‘बिहेमा जाँदा एउटै कोठाबाट निस्केका हामी साँझ फर्कंदा अर्कै लाग्यो । अनि लाग्यो– जीवनको नयाँ अध्याय सुरु भयो,’ लक्ष्मी त्यो अविस्मरणीय समय साट्छिन्, ‘त्यस दिनदेखि हामीले एकअर्काको हात अझै दरिलो गरी समायौं ।’

विवाहको यतिका समयपछि फर्केर हेर्दा दुवै जना उत्तिकै प्रफुल्लित छन् । ‘आजका दिनसम्म हेर्दा लाग्छ सम्बन्ध भनेको त हरेक दिन मिलाउनुपर्ने सिरक जस्तै रहेछ । यदि आज मिलाइएन भने त्यो भोलि फोहोर देखिन्छ,’ लक्ष्मी अनुभवसहितको भाव खोल्छिन्, ‘त्यही कुरा बुझेर हामी अझै एक–अर्काका लागि सबैभन्दा मिल्ने साथी भएका छौं ।’ विवाहपछि धेरैले उनीहरूलाई ‘फापेको जोडी’ भन्न थालेका छन् ।

विवाहपछि लक्ष्मीले जिन्दगीलाई पछाडि फर्केर हेर्नुपरेको छैन । विवाहपश्चात् रिलिज भएको फिल्म ‘बुलबुल’ ले उनको करिअरमा नयाँ उचाइ दियो । केही समयअघि मात्रै रिलिज भएको फिल्म ‘अभिमन्यु’ मा लक्ष्मीको मुख्य भूमिका थियो । फिल्ममा लक्ष्मीको सशक्त अभिनयलाई धेरैले तारिफ गरे । जीवनलाई लक्ष्मीको काम, करिअर र तारिफले सधैं उत्साहित बनाउँछ । ‘मलाई लाग्छ, लक्ष्मी नेपालकै उत्कृष्ट कलाकार हुन् । ‘बुलबुल’ वा ‘अभिमन्यु’ मा उनको काम हेर्दा उनी मेरो मान्छे हुन् भन्ने पनि बिर्सिन्छु,’ जीवन पोखिन्छन् । जीवनको कुरा सुनेर लक्ष्मी भने हाँस्छिन् । अनि गफैगफमा ठट्टा मिसाउँछिन्, ‘यो कुरा बाहिर चाहिँ नभन ल माया ।’

लक्ष्मीलाई जीवनको काम मनपर्छ । जीवनले अभिनयमा पाउनुपर्ने स्पेस नपाएको हो कि लाग्छ लक्ष्मीलाई । अघिल्लो वर्ष रिलिज भएको फिल्म ‘मोदीबेनी’ मा जीवनको अभिनय जीवन्त लागेको थियो उनलाई । जीवन अल्छी भएको बेला उनी निर्मम समीक्षा गर्छिन् । ‘तर जीवन जति गज्जब अभिनेता हो त्यति मात्रै हैन । ऊ राम्रो मेकर पनि बन्न सक्छ,’ लक्ष्मी निर्धक्क भन्छिन् । जीवन पछिल्लो समय पटकथा लेखिरहेका छन् । त्यो कथालाई उनी आफैं दृश्यमा उतार्न चाहन्छन् । लक्ष्मीको सपना छ जीवनले निर्देशन गरेको हेर्ने । र, आफूले त्यसमा हातेमालो गर्ने ।

विवाहपछि उनीहरूले ‘जेल पनि सहुँला’ म्युजिक भिडियो गरे । त्यो गीत र भिडियो निकै रुचाइयो । त्यसपछि त ‘रियल’ जोडी ‘रिल’मा समेत चम्किन थाल्यो । भिडियो हेरेपछि सामाजिक सञ्जालमा कमेन्टहरू आउँथे, ‘कस्तो राम्रो सुहाएको । यो जोडी रियलमै भइदिए हुने ।’ कमेन्ट गर्नेहरूले जब लक्ष्मी र जीवन वास्तविक जोडी भएको थाहा पाउँथे, आश्चर्यमिश्रित खुसी बर्साउँथे । हुन त कुनै काममा लक्ष्मी र जीवन दुवैलाई प्रस्ताव आउँदा प्रस्ताव गर्नेहरूलाई थाहा हुन्नथियो– उनीहरूको सम्बन्धबारे ।

बिहेकै करिब डेढ महिनापछि उनीहरूलाई एउटा विदेशी प्रोजेक्ट (भारतको हरियाणाको कलेज प्रोजेक्ट) बाट अभिनयको अफर आएको थियो । लक्ष्मीलाई पहिले नै उनको फिल्म ‘बुलबुल’ को काम हेरेर छनोट गरिएको थियो । लक्ष्मीको ‘अपोजिट’ भूमिकाका लागि निर्माण पक्षले छुट्टै अडिसन वा फोटोहरू हेरिरहेको थियो । धेरै फोटोमध्येबाट निर्माण पक्षले जीवन भट्टराई रोज्यो । त्यतिबेला उनीहरूलाई लक्ष्मी र जीवन वास्तविक श्रीमान्–श्रीमती हुन् भन्ने पत्तै थिएन । एक दिन मेकरले लक्ष्मीलाई भने, ‘तपाईंको अपोजिटमा जीवन भट्टराईलाई लिइएको छ, चिन्नुहुन्छ ?’ लक्ष्मीले भनिन्, ‘अलिअलि चिन्छु, हाम्रै थिएटरको हो ।’ पछि जब उनीहरू एकै घरका हुन् भन्ने थाहा भयो, निर्माण टिम चकित पर्‍यो ।

यशकृत आएपछि लक्ष्मी दम्पतीको जिन्दगीमा नयाँ अध्याय सुरु भयो । ‘बाबु जन्मिएपछि केही समय मैले ‘पोस्टपाटम डिप्रेसन’ को सामना गर्नुपर्‍यो । बिनाकारण रुन मन लाग्थ्यो । त्यतिबेला जीवनले मलाई बलियो साथ दिए । उनले कहिल्यै झर्को नमानी मेरो भावना बुझे,’ लक्ष्मी कठिन समयमा जीवनको उपस्थिति सम्झिन्छिन् ।

छोराको आगमनपछि जिम्मेवारी बोधसँगै आर्थिक बोझ पनि थपियो । पहिले कहिल्यै नसोच्नुपरेका कुरा त्यसपछि सोच्नुपर्‍यो । ‘उसो त हाम्रो घरको मुख्य आम्दानीको स्रोत लक्ष्मी हुन् । मेरोभन्दा लक्ष्मीको राम्रो भइरहेको छ । हामीले यसलाई कहिल्यै विवादको विषय बनाएनौं, बरु दुवै मिलेर संघर्ष गर्ने बाटो रोज्यौं,’ जीवन भन्छन् ।

उनीहरूले तीन महिनायता अनलाइन बिजिनेस सुरु गरेका छन् । कलाकारिताले मात्रै आर्थिक रूपमा पूर्ण सुरक्षित हुन गाह्रो थियो । त्यो असुरक्षालाई मेट्न उनीहरूले नयाँ शिराबाट सोचे ।

संयोगले जुरेको भेटबाट सुरु भएको सम्बन्धले यति न्यानो स्वरूप लिन्छ भनेर सोचेका थिएनन् दुवैले । यो न्यानोपनाले दुवैको वर्तमानलाई ऊर्जा थपिरहेको छ । विगतलाई नियालेर फर्किएपछि दुवैले परिवर्तनको एउटा आभास गरेका छन् । ‘यो यात्राले हामीलाई धेरै कुरासँगै एउटा असल मान्छे बन्न पनि सिकाएको रहेछ, हगी माया,’ लक्ष्मी जीवनतर्फ हेर्दै भन्छिन् । जीवन मुसुक्क मुस्कुराउँछन् ।

समर्पण श्री उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully