मेरो बुबा भूपी शेरचन र मुमा कान्तिको प्रेम विवाह भएको थियो । म सोच्थें– कसरी होला ? फिल्मको हिरोले जस्तो बुबाले मुमाको कपालमा रातो गुलाफ लगाइदिएको कहिल्यै देखिनँ, न कहिले मुमा मस्किएकै देखें ।
मर्यादा र विश्वासको कसिमा प्रेम सदैव सम्मानित छ ।
What you should know
काठमाडौँ — प्रेम ! यो शब्दको अर्थ कहिले बुझें सम्झना छैन । कथामा पहिले पढें या फिल्ममा देखें, त्यो पनि याद छैन । केवल यति सम्झन्छु– प्रेमबारे मेरो पहिलो बुझाइ अत्यन्तै फिल्मी थियो । रातो गुलाफ, उपहार, लभ लेटर, लुकिछिपी रोम्यान्स, रोम्यान्टिक गीत ! त्यसपछि के ? त्यो त मैले सोचेकी पनि थिइनँ ।
मेरो बुबा भूपी शेरचन र मुमा कान्तिको प्रेम विवाह भएको थियो । म सोच्थें– कसरी होला ? फिल्मको हिरोले जस्तो बुबाले मुमाको कपालमा रातो गुलाफ लगाइदिएको कहिल्यै देखिनँ, न कहिले मुमा मस्किएकै देखें । म सोच्थें, प्रेम बिहेअघि मात्र हुन्छ, त्यसपछि त घर व्यवहार ! धेरै समय लाग्यो यो बुझ्न की सच्चा प्रेम ‘ग्रान्ड जेस्चर’ र प्रदर्शनमा होइन, स–साना कुरामा लुकेको हुन्छ । यसको धेरै रंग हुन्छ । यो कुरा केही उमेरले सिकायो, धेरै मेरै बुबा–मुमाका बीचको प्रेमका स–साना उदाहरणले ।
मेरी मुमा गीतको एकदम सौखिन । बुबा पनि राम्रो गीत गाउने मान्छे । बुबाले हाम्रो मुमाको मन जित्न क्यासेटको एउटा साइडमा मुमालाई मन पर्ने गीतहरूको ओरिजिनल रेकर्ड गरेर र अर्को साइडमा त्यही गीत आफ्नो आवाजमा रेकर्ड गरेर उपहार दिनुभएको थियो । मुमालाई नेपाली गायकहरूमा प्रेमध्वज प्रधानको गायिकी एकदम मन पर्थ्यो ।
हामी सानो हुँदा उहाँहरूबीच ठाकठुक चल्यो भने चिच्याएर, कराएर झगडा गर्नुका साटो दुवै जना ठुस्सिएर एक–अर्कासँग नबोलीकन बस्नुहुन्थ्यो । दुई दिनसम्म त बुबा पनि नबोली बस्नुहुन्थ्यो, तर तेस्रो दिनसम्म आइपुग्दा उहाँलाई छटपटी हुन्थ्यो । अनि उहाँ हामीलाई बोलाएर मुमाका लागि एउटा चिट् पठाउनुहुन्थ्यो । कहिले उहाँ चिट्मा ‘प्रेमध्वजको घर जाने ?’ भनेर सोध्नुहुन्थ्यो त कहिले अरू नै कुनै घुम्ने प्रस्ताव हुन्थ्यो ।
गायक प्रेमध्वज प्रधान बुबाको साथी भएकाले उहाँ निर्धक्क त्यहाँ जान सक्नुहुन्थ्यो । मुमा दंग परेर तयार हुनुहुन्थ्यो र दुवै जना प्रेमध्वज प्रधानको बागबजारको घर जानुहुन्थ्यो । त्यहाँ उहाँको गीत सुन्नुहुन्थ्यो अनि हाँसीखुसी फर्केर आउनुहुन्थ्यो । फर्केर आउने बेलासम्म पुरानो झगडा पूरै खत्तम भइसकेको हुन्थ्यो । सानैदेखि फुर्केर हुर्कनुभएकी मेरी मुमा, त्यसमाथि पनि बुबाभन्दा १२ वर्ष कान्छी, झगडा पर्दा उहाँ हार्नै नमान्ने । हुन त सानोमा बुबा पनि जिद्दी भनेर चिनिएको मान्छे तर मुमासँग ठाकठुक परे उहाँ नै विवाद अन्त्य गर्न कदम चाल्नुहुन्थ्यो । बुबाको व्यवहारमा मैले सिकें– प्रेम समझदारी हो, अहम् र अहंकारको त्यसमा कुनै ठाउँ हुँदैन ।
बुबाको व्यवहारमा मैले सिकें– प्रेम समझदारी हो, अहम् र अहंकारको त्यसमा कुनै ठाउँ हुँदैन ।म किशोरावस्थामा भएदेखि मेरो बुबा धेरैजसो बिरामी हुनुहुन्थ्यो । त्यसमाथि अनिद्राको रोगी, उहाँ अबेरसम्म सुत्नु हुन्नथियो । हामी चार जनाको मात्रै परिवार— घर हेर्ने जिम्मा मेरी मुमाको थियो । बिहानै उठेर हामीलाई स्कुल पठाउनेदेखि घरको हरेक काम हेर्नुपर्थ्यो । तर, मेरी मुमा राति अबेरसम्म पनि बुबासँग गफ गरेर बस्नुहुन्थ्यो । बुबाले कविता लेख्नुभए, पहिलो पाठक भएर सुन्नुहुन्थ्यो । बुबा चिया–कफीको अम्मल्ली— मुमा उहाँका लागि राति पनि उठेर तातो चिया–कफी बनाउनुहुन्थ्यो । कहिलेकाहीं भोक लाग्यो भने केही बनाएर खुवाउनुहुन्थ्यो ।
आँखाका डोबमुनि कालो बसे पनि भोलि बिहान फेरि हाँसी–हाँसी आफ्नो जिम्मेवारी पूरा गर्नुहुन्थ्यो । बुबाको स्वास्थ्य र आराम उहाँका लागि सर्वोपरी थियो । त्यो उहाँको निःस्वार्थ समर्पणको प्रतीक थियो । यसले मलाई सिकायो— प्रेम समर्पण हो ।
वर्षौंवर्ष बुबाको अस्पताल र घर आवतजावत चलिरह्यो । कहिलेकाहीं महिना दिनभन्दा पनि बढी अस्पतालको बास हुन्थ्यो । बुबा अलि धेरै बिरामी हुनुभयो भने मुमा मनकामनाको भाकल गर्नुहुन्थ्यो । अहिले जस्तो केवलकार थिएन, पहाड चढ्ने उहाँको अभ्यास थिएन, त्यही पनि बुबालाई ठीक हुनेबित्तिकै त्यहाँ पाँच/छ घण्टा लगाएर उहाँ दर्शन गर्न पुग्नुहुन्थ्यो । बुबा बित्दा मेरी मुमा ४१ वर्षको हुनुहुथ्यो, बिरामी भएर थला पर्दा ३४–३५ वर्षको । आजकल यो उमेरमा कतिको बल्ल बिहे हुन्छ । म स्वयंले ३२ वर्षमा बिहे गरें । राणा कुलमा जन्मिएर सोखमा हुर्कनुभएकी मेरी मुमाले आफ्ना सबै सोख भुलेर त्यो लाउँ–खाउँ भन्ने उमेरमा श्रीमान्को सेवा सुश्रुषामा बिताउनुभयो । त्यो प्रेमका लागि सच्चा त्याग थियो । मुमाको त्यागबाट बुबा अनभिज्ञ हुनुहुन्थेन । उहाँले बिरामी हुँदा लेख्नुभयो—
त्याग र बलिदानको पनि एउटा सीमा हुन्छ
धैर्य र सहनशीलताको एउटा सीमा हुन्छ ।
कति मीठा सपनाहरूको सप्तरंगी खास्टो
बुनेर
मैले न्यानो रातहरू बिताएको थिएँ ।
कति इन्द्रेणी झुल्काउँला तिम्रो जीवनमा
भनेर
मैले कति उज्याला दिनहरू बिताएको थिएँ
मैले तिम्रा लागि
कति गरुँला भनेर मनमा चिताएको थिएँ ।
तर अफशोच,
म वर्षौंदेखि ओछ्यानमा तेर्सो छु
र तिमी अझै पनि म उभिउँला भनेर
अनेकौं भाकल गर्दैछ्यौ ।
मनकामना र दक्षिणकालीमा बोका
चढाउँदैछ्यौ ।
महिनैपिच्छे सत्य नारायणको पूजा
र रुद्री गराउँदैछ्यौ ।
मुमाबाट सिकें– प्रेम त्याग हो । बुबाले देखाउनुभयो– प्रेम जीवनसाथीले गरेको प्रयास र त्यागको गहिराइ अनुभूति गर्नु पनि हो, त्यसको कदर गर्नु हो ।
बुबा कवि हुनुहुन्थ्यो । उहाँलाई घरमा भेट्न कोही न आइरहन्थे— कहिले साथीहरू त कहिले अनुज पुस्ताका साहित्यकारहरू, कहिले साहित्यिक पत्रकारहरू त कहिले फ्यानहरू । कामले जति थाके पनि मुमाले घरमा आएका हरेक पाहुनालाई हृदय खोलेर स्वागत गर्नुभयो । रात–बिरात, साँझ–बिहान नभनी सत्कार गर्नुभयो । तिहारको समयमा मध्यरात नजिक देउसीभैलो खेलेर थाकेर आएका साहित्यकारलाई खाना बनाएर खुवाउनेदेखि, बुबा प्रज्ञा प्रतिष्ठान जाँदा बुबाबाहेक अरू दुई/चार जनालाई पुग्ने खाजा बनाएर पठाउनुहुन्थ्यो । कहिल्यै उहाँले ‘काम थपियो’ भनेर गुनासो गर्नुभएन । कहिल्यै कसैलाई ‘टाइम/बेटाइम आयो’ भनेर अपमान गर्नुभएन । उहाँले देखाउनुभयो– प्रेम भनेको जीवनसाथीको मान र मर्यादा राख्नु हो ।
मुमालाई गुलियो मीठो लाग्थ्यो । बुबा न्युरोड जानु हुँदा पुष्टकारी, चकलेट र मिठाई लिएर आउनुहुन्थ्यो । हामी दिदीभाइ आफ्नो भाग छिटो–छिटो सकेर मुमाले खाँदा लोभ गरेर छेउमा बस्थ्यौं । हामीले मुमालाई खान नदेला भनेर बुबा त्यहीं बसेर मुमाले खायो/खाएन हेर्नुहुन्थ्यो । मुमा मासुको परिकारको सौखिन, बुबा काटमार मन नपराउने शाकाहारी, तर पनि घरमै मारकाट नगरे पनि उहाँ मुमाका लागि घरकै नजिकैको नातागोताकहाँ खसी काट्ने व्यवस्था गर्न लगाएर मुमाको रहर पूरा गर्नुहुन्थ्यो । स्वस्थ भएका बेला मुमालाई मनपर्ने उपन्यासहरू, मेकअपका सामानहरू किनेर ल्याइदिनुहुन्थ्यो । उहाँले देखाउनुभयो– प्रेम भनेको आफ्नो जीवनसाथीलाई मनपर्ने सानो–सानो कुराको याद राख्नु हो, उनका इच्छाहरू पूरा गर्नु हो ।
उहाँहरूको सम्बन्ध त्यसबेलाको परम्परागत शैलीको श्रीमान्–श्रीमतीको जस्तो थिएन, जहाँ श्रीमान् सर्वेसर्वा र श्रीमती अधीनस्थ हुने चलन थियो । घर–परिवारको निर्णय दुवै मिलेर गर्नुहुन्थ्यो । मुमालाई नसोधी बुबा एक्लैले केही कदम चाल्नुहुन्नथ्यो । बुबा बाहिर जाने बेला मुमा बुबाले मयलपोस–सुरुवाल लगाउनुभए टोपी र सुट लगाउनुभए पकेट स्क्वेयर मिलाइदिनुहुन्थ्यो । मुमा बाहिर गएको बेला उहाँ नआउन्जेल बुबा छिनछिनमा गेटतर्फ हेर्दै बस्नुहुन्थ्यो । बुबालाई ठट्टा गर्न, रमाइलो गर्न मन लाग्थ्यो, त्यसैले जिस्किरहनुहुन्थ्यो । बुबा जिस्किएर कवितात्मक शैलीमा मुमालाई उडाउनुहुन्थ्यो, वाक्पटुतामा मुमा पनि के कम ? आफ्नो जवाफले बुबालाई ठाउँमा ल्याइदिनुहुन्थ्यो । दुई जनाले जिस्किएर एक–अर्कालाई उडाउने रमाइला कुराकानी गर्दा हामीलाई मज्जा आउँथ्यो । उहाँहरूको सम्बन्धबाट मैले सिकें– प्रेम मित्रता हो ।
बुबाले आफू पाँच वर्ष हुँदा आफ्नी आमा गुमाउनुभयो । यो कमीको आभास उहाँले जीवनभर गर्नुभयो । सानैमा आमाको ममताबाट वञ्चित उहाँ, सधैं मायाको भोको हुनुहुन्थ्यो । त्यसैले मायाको मामिलामा उहाँमा बालसुलभ सरलता थियो । कसैले अलिकति पनि माया देखाए पग्लिहाल्नुहुन्थ्यो । उमेरले धेरै कान्छी भए पनि बुबाको मनस्थिति बुझ्नुभएकी मेरी मुमाले सधैं बुबाका यो कमी पूरा गर्ने कोसिस गर्नुभयो । हामी सानै हुँदादेखि बुबाको बाल्यकालको एकांकीपनको कथा सुनाउनुहुन्थ्यो । सधैं उहाँलाई भन्दा बढी बुबालाई माया गर्नुपर्छ भनेर अर्ती दिनुहुन्थ्यो । माया मनमा भएर मात्रै हुँदैन व्यवहारमा देखाउनुपर्छ, शब्दद्वारा अभिव्यक्त गर्नुपर्छ भनेर सिकाउनुहुन्थ्यो । भाइ र मलाई सधैं आफ्नो वरिपरिभन्दा बढी बुबासँग समय बिताउन लगाउनुहुन्थ्यो । मुमाले देखाउनुभयो– प्रेम निःस्वार्थ हुन्छ ।
बुबा बित्नुभएको ३६ वर्ष भइसक्यो । एकचालीस वर्षमा विधवा हुनुभएकी मेरी मुमा असीको नजिक पुग्नुभयो । तर, बुबाप्रतिको उहाँको प्रेममा कुनै कमी आएको छैन । अझै पनि उहाँ बुबाको हरेक कुरा सम्झनुहुन्छ । बुबासँग बिताएका पलहरूको कुरा गरिरहनुहुन्छ । बुबाको पीडा सम्झेर बेलाबेलामा आँसु झार्नुहुन्छ । बुबाले पाठकहरूबाट पाउनुभएको मायामा गर्व गर्नुहुन्छ । बुबालाई मनपर्ने र मन पराउने व्यक्तिहरू भेट्दा हर्षित हुनुहुन्छ । कहिलेकाहीं उहाँको कुरा सुन्दा लाग्छ, बुबा जिउँदै हुनुहुन्छ । अहिले पनि सिक्दै छु– मृत्युले जोडी टुक्र्याए पनि साँचो प्रेम कहिल्यै मर्दैन ।
भ्यालेन्टाइन्स डे, नेपालीहरूको मौलिक पर्व होइन । यसको बजारीकरणले प्रेमको केही हदसम्म अवमूल्यन गरेको छ पनि । तर, जोसुकैको पर्व भए पनि यसले आफूले माया गर्ने व्यक्तिलाई आफ्नो माया दर्शाउने मौका दिएको छ । मेरो बुबाले स्वास्थ्यका कारण जति दुःख पाउनु भए पनि, आमाको न्यानो मायाको अभाव जति महसुस गर्नु भए पनि, उहाँलाई थाहा थियो– मेरी मुमाले उहाँलाई कति प्रेम गर्नुहुन्थ्यो र हामी उहाँलाई कति माया गर्थ्यौं । हामीलाई उहाँको जति कमी महसुस भए पनि, मनमा एउटा सन्तुष्टि छ— हामीले उहाँलाई हाम्रो मायाको पूरा आभास दियौं । त्यसैले हाम्रो समाज जहाँ हामी प्रेमलाई अभिव्यक्त गर्न अझै हिच्किचाउँछौं, त्यहाँ सायद वर्षको एक दिन भ्यालेन्टाइन्स डेको जरुरी पनि छ । ह्याप्पी भ्यालेन्टाइन्स डे !
