सिंहदरबारमा विशाल नाट्यमञ्च थियो, जहाँ राणा प्रधानमन्त्री र भारदारहरूले पारसी नाटक हेर्थे । बालकृष्ण समले दरबारिया परिवेशको पर्खाल भत्काएर नाटक बाहिर ल्याए ।
What you should know
नेपाली नाटक र रंगमञ्चलाई एकैसाथ राखेर हेर्नुपर्छ भन्ने मेरो धारणा बनिनुका दुई कारण छन् । पहिलो, यो विषयप्रति मेरो धारणा । दोस्रो, मेरो अनुभव र अभ्यास । नेपाली नाटकको अर्को पक्ष पनि छ । त्यो हो प्राज्ञिक अध्ययनले समेटेको पद्धति, जसमा नाट्यमञ्चलाई होइन, नाटकलाई एक साहित्य विधाका रूपमा लिएर मीमांसा, समालोचना गर्ने अनि त्यसलाई साहित्यको पाठ्यक्रममा कविता वा अरू गद्य विधाजस्तै गरेर पठनपाठन गर्ने पद्धति ।
यो नाट्य पठनपाठन गर्ने विषयको लामो परम्परा छ र यो एक सम्मानित अभ्यास हो । यस पक्षलाई बालकृष्ण सम, भीमनिधि तिवारी, गोपालप्रसाद रिमालजस्ता नाटककारले नाटक लेखनद्वारा बल दिए । तर नाटकको रंगमञ्चीय पक्षको बलियो इतिहास छ । त्यो पक्ष नबुझी नेपाली नाट्यमञ्च बुझिँदैन । त्यसो त यस विषयमा मैले ‘नेपाली थिएटर याज आई सी इट (२००७)’ भन्ने आफ्नो किताब र अनेक लेखमा लेखिसकेको छु । यहाँ धेरै छलफलमा नआएको तर महत्त्वपूर्ण विषयबाट यो लेखको उठान गर्न चाहन्छु ।
नेपाली नाट्यमञ्च पारसी थिएटर वा मञ्चसँग जोडिएको छ । पारसी थिएटरको प्रयोग नेपालमा हुनु एउटा ऐतिहासिक चाखको विषय हो । अध्येता र ‘नेसनल स्कुल अफ ड्रामा’ की इमेरिट्स प्रोफेसर अनि हाम्रा रंगकर्मी सुनील पोखरेल, अनुप बराल र बिमल सुवेदीकी गुरु र मेरो राम्रो परिचय भएकी अनुराधा कपुरले पारसी मञ्चबारे लेखेकी छन् ।
एक आलेखमा उनले भनेकी छन्, ‘पारसी थिएटर भारतमा उत्पत्ति भएको थियो र यो सन् १८५० देखि १९३० सम्म बलियो मञ्चीय प्रभावका रूपमा रह्यो । पारसी थिएटरले धर्मनिरपेक्ष जादुमय प्रभावको सिर्जना गर्यो अनि यसले नयाँ अनुभव अनि नयाँ इच्छा र नयाँ उपभोक्ताको सिर्जना गर्यो ।’
यो पारसी थिएटरको प्रभाव नेपाली राणा दरबारमा पर्यो । मनोरञ्जनको यो मञ्च एउटा ठूलो साधनका रूपमा रह्यो । सिंहदरबारमा एक विशाल नाट्यमञ्च थियो, जहाँ राणा प्रधानमन्त्री र भारदारले पारसी नाटक हेर्थे । त्यहाँ पात्रलाई उडाउने क्रेन थिए । कलकत्तामा नाटक अध्ययन गरेका डम्बरशमशेर राणा थिए ।
केही पछि अर्का सन् १९०० मा कलकत्तामा नै नाट्यमञ्च अध्ययन गर्ने असनका माणिकमान तुलाधर थिए । नाटकका अरू साधक र बाहिर देखाउने युवकहरू थिए, जसमा माणिकमानका छोरा केशरमान, डम्बरमान र कर्कटमान अनि बेखानारायण महर्जन, हरिप्रसाद रिमाल थिए । उनीहरूमध्ये कतिले दरबारभित्र र बाहिर नाटक देखाउँथे ।
पारसी शैलीका नाटकहरू नेपालका अरू ठाउँमा पनि चलेको इतिहास र संस्मरणमा भेटिन्छ । खासगरी धनकुटा, तेह्रथुम, पाल्पा र पोखरामा यस्ता नाटक र मञ्चका कथा भेटिन्छन् । डम्बरशमशेरले आफ्नो घर दरबार ज्ञानेश्वरमा पनि पारसी रंगमञ्च राखेका थिए । उनको घरमा यो थिएटर चलिरहन्थ्यो । एउटा त्यस्तै नाटक दरबारको मञ्चमा प्रस्तुत भएको राति त्यहाँ एक बालकको जन्म भयो । ती बालक नै बालकृष्ण सम (सन् १९०२–१९८१) थिए ।
समले दरबारिया परिवेशको पर्खाल भत्काएर नाटक बाहिर ल्याए । बाहिर कुनै बनिबनाउ नाट्य रंगमञ्च थिएन । दरबार स्कुल र यस्तै थलोमा उनले नाटक गरे । यो सरल तर स्वतन्त्र र मुक्त नाट्य रंगमञ्च थियो । यो ऐतिहासिक आरम्भ र क्रान्ति थियो । समसँग मैले धेरै अन्तरंग कुरा गर्ने र सुन्ने अवसर पाएँ । उनकै प्रेरणाले पछि नाटक लेख्न थालेको हुँ ।
नेपाली नाट्य रंगमञ्चको बनिबनाउ परम्परा थिएन । अठोट र चेतना भने थियो । अहिलेसम्मको नेपाली नाट्य रंगमञ्चको सामर्थ्य त्यसैमा छ । यसरी मुक्त नाट्य रंगमञ्चको संस्थागत परम्परा धान्ने कुनै ठाउँ थिएन । त्यस समयमा गोपीनाथ अर्यालको कामको प्रसंग जोड्नुपर्छ । पारसी शैलीका नाटकबाट आएका हरिप्रसाद रिमाल सक्रिय थिए । प्रचण्ड मल्लजस्ता व्यक्तिहरू समको यो कालका अरू सहयोगीमध्येका थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठान उर्फ नेपाल एकेडेमीले विजय मल्लको नेतृत्व र प्रचण्ड मल्लको निर्देशनमा अनेक नाटक गर्यो । नाटककार भीमनिधि तिवारीकी बहिनी नाना तिवारी (यी सायद पहिलो सबल महिला नारी नाट्य कलाकार हुन्), शकुन्तला गुरुङ, हरिहर शर्मा, हरिबहादुर थापा, मदन श्रेष्ठ, नारायणदेवी प्रधान र अरू कलाकारले एकेडेमीको मञ्चमा मूलतः नाटक खेलेको इतिहास छ । पहिलेका नारी नाटक खेल्ने पात्रहरूमा शान्ति मास्केको पनि नाम आउँछ । नेपाल आईटीआईले सन् २००५ मा अन्तर्राष्ट्रिय थिएटर दिवसको उपलक्ष्यमा सुभद्रा अधिकारी, शकुन्तला गुरुङ, नारायणदेवी प्रधान, निशा शर्मा (अहिले नाट्य एकेडेमीकी कुलपति) र लक्ष्मी श्रेष्ठलाई सम्मान गरेको थियो । पछिल्लो समयमा निकै जना बलिया महिला नाट्यकर्मी आए ।
नेपाली नाट्य रंगमञ्चको इतिहासमा आरोहण गुरुकुलको महत्त्व छ । यो नाट्य रंगमञ्चका प्रमुख रचनाकार सुनील पोखरेल हुन् । गुरुकुलले २३ माघ २०५९ देखि ३० पुस २०६८ सम्मको कालखण्डमा काम गर्यो । यस कालभरि गुरुकुल परिवर्तनको प्रहार भोगिरहेको नेपाली समय र समाजको प्रसार गर्ने माध्यम भयो । काव्यिक पाठ, लाक्षणिक अभिनय, परिचित किसिमका संवादिक रचना सबैमाथि लेखिएका नाटकहरू गुरुकुलले मञ्चन गर्यो ।
त्यही कालमा र अहिले पनि नैरन्तर्य कायम गर्दै पुष्कर गुरुङले डबली थिएटरको रचना गरे । आफ्नै किसिमले उनले त्यसको सञ्चालन गरे । बुद्ध नाट्य परम्परा र मञ्चन अनि छलफल गर्ने यस संस्थाले नाट्य रंगमञ्चमा काम गरिआएको छ । अशेष मल्लले परिकल्पना गरेर आफ्नै संस्थाले कालिकास्थानमा बनाएको सर्वनाम थिएटर आधुनिक नेपाली नाट्य रंगमञ्चको एक महत्त्वपूर्ण थलो हो । अनुप बरालले अनेक मञ्च र समूहका रचना गरे । अहिले उनले पोखरामा रंगमञ्चको रचना गरेका छन् । यी साधकहरू सुनील, अशेष र पुष्कर समकालीन हुन् ।
पहिलेको गुरुकुलका सक्रिय कलाकार युवराज घिमिरेले शिल्पी थिएटर चलाए । सक्रिय युवा रंगकर्मी मिलेर सन् २००८ देखि मण्डला थिएटर चलाए । साथै सिर्जना सुब्बा, दयाहाङ राई र अरू युवाको सक्रियतालाई प्रशंसा गर्नुपर्छ । काठमाडौं र बाहिर रहेका थिएटरहरूले पनि अनेक किसिमले काम गरिआएका छन् । कौसी थिएटर, थिएटर भिलेज नेपाल, वान वर्ल्ड थिएटर (अंग्रेजी माध्यमको), थिएटर मल, शैली थिएटर, स्टुडियो थिएटर, पुरानो घर थिएटर, कुञ्च थिएटरहरूमा गएर नाटक हेरेको छु । आफ्नै घरमा दम्पती कलाकारले खोलेको ‘पुरानो घर थिएटर’ सत्यमोहन जोशी दाइ र मैले साथै उद्घाटन गरेका थियौं । गुरुकुलले मेरा पाँच वटा नाटक मञ्चन गर्यो । डबली र शिल्पीले एक–एक वटा मञ्चन गरे । मेरो नाटक निर्देशन गर्नेहरूमा सुनील पोखरेल, पुष्कर गुरुङ, निशा शर्मा, शिव रिजाल, बिमल सुवेदी र युवराज घिमिरे हुन् ।
अन्त्यमा, नेपाली नाट्यको आरम्भ मञ्च र पाठ सँगसँगै भएर आएको छ । नाटक पढाउनेहरू सबैले यो कुरा उजागर गर्नुपर्छ । अर्को कुरा, पाठको पठनपाठनमा पनि नाटक विधाको महत्त्व छ । यसको माध्यमबाट धेरै कुरा हेर्न सकिन्छ । पारसीदेखि सम हुँदै पछिल्लो समयसम्म र अहिले भइरहेको नेपाली नाट्यमञ्चको इतिहास र गतिविधिले यही कुरा देखाउँछ । नेपाली नाट्यमञ्चको नेपाली परम्परा महत्त्वपूर्ण र वाचाल विषय पनि हो ।
