फरक–फरक नाटक चलिरहनु, नयाँ दर्शक थपिँदै जानुले नाटकघरहरूको गतिशीलता बुझाउँछ । यी घरहरूमा दर्शक केवल मनोरञ्जनका लागि जाँदैनन्, सांस्कृतिक र कलात्मक सौन्दर्य महसुस गर्न पुग्छन् ।
What you should know
काठमाडौँ — ‘बहादुरपुरको दन्त्यकथा’ लाई भर्खरै बिसाएर मण्डला थिएटर थापागाउँमा शान्त उभिएझैं देखिन्थ्यो । तर, थिएटरको आँगनमा भने रंगकर्मी शान्त थिएनन् । उनीहरूलाई फुर्सद नै कहाँ थियो र ? रंगकर्मीहरूको रचनागर्भमा फक्रिरहेको नाटक ‘बहुरिया’ मञ्चमा अवतरणको तयारी गरिरहेको थियो । थिएटरभित्र एक समूह पात्रहरूको काल्पनिक दुनियाँ बनाउन जुटिरहेको थियो ।
यतिबेला न मण्डलाको आँगन फुर्सदिलो छ, न शिल्पी थिएटरको हल । काठमाडौंमा उभिएका नाटकघरभित्र नयाँ कथाहरू सधैंझैं अंकुराइरहेका थिए ।
आजभन्दा एक दशकअघि एउटा यस्तो क्षण थियो, बानेश्वरमा रहेको आरोहण गुरुकुलको भवन भत्किँदै गर्दा त्यसकै छातामुनि ओत लागिरहेका रंगकर्मीहरू हतासिएका थिए । भग्नावशेष भवनसँगै भत्किरहेको थियो उनीहरूको मन । सपना हुर्काइरहेको घर भत्किरहँदा धेरैको मनमा अबोध प्रश्न उठेका थिए, ‘अब कहाँ जाने ?’
तर, भत्किनु सकिनु होइन रहेछ । एउटा गुरुकुल त भत्कियो । तर, गुरुकुलले हुर्काएका थुप्रै अनुहारहरू नयाँ अवसर र थलोको खोजीमा निस्किए । त्यसरी निस्किएका रंगकर्मीहरूले नयाँ नाटकघर निर्माण गरे । एकपछि अर्को गर्दै नाटकघर मात्र बढेनन्, नाटकहरू पनि गुणात्मक रूपमा बढे । रंगकर्मीहरू थपिए । नयाँ पुस्ताहरू तयार भए । यो एक दशकमा नाटकका पुराना दर्शक पनि यी सबै उतारचढावको साक्षी भए ।
एक दशकअघि नयाँ हुटहुटीले अनामनगरमा सुरु गरिएको मण्डला थिएटर पनि पाँच वर्षअघि भत्कियो । मण्डलामै रात र दिन बिताउने अभिनेता विजय बराल बनाउँदा र भत्काउँदाको समयको साक्षी थिए । सानो ‘स्पेस’ बाट थापागाउँमा सिफ्ट हुँदा मण्डलाको क्षेत्रफल फराकिलो भएको थियो । विजयको खुसी र सपना पनि फैलिएको थियो । ‘अबको पाँच वर्षमा यही पनि भत्किएला । भत्किएपछि फेरि बन्ला । तर हाम्रो सपनाचाहिँ कहिल्यै भत्किन्न,’ विजय उतारचढावको साक्षी बस्दाका दिन सम्झिँदै भन्छन् ।
फरक–फरक नाटक चलिरहनु, नयाँ दर्शक थपिँदै जानुले नाटकघरहरूको गतिशीलता बुझाउँछन् । यी घरहरूमा दर्शक केवल मनोरञ्जनका लागि जाँदैनन्, प्रत्यक्ष पात्रहरूसँग जोडिन चाहन्छन् । सांस्कृतिक र कलात्मक सौन्दर्य महसुस गर्न चाहन्छन् । समाजसँग फरक ढंगले संवाद गर्न चाहन्छन् ।
नाटकको थोरबहुत इतिहासको साक्षी सहरमै रहेको पुरानो नाटकघरमध्ये एक सर्वनाम थिएटर पनि हो । सर्वनामकै ४४ वर्षको इतिहास खोतल्ने हो भने त्यहाँ धेरै स्वप्न र स्वप्नशीलहरूको कथा भेटिन्छ ।
सुरुवाती दिनमा पुतलीसडकमा कोठा भाडामा लिएर नाटकको रिहर्सल गरेको स्मृति ताजै छन् रंगकर्मी अशेष मल्लसँग । ९ वर्ष मात्रै भयो, सर्वनाम थिएटरले आफ्नै भवन पाएको । त्यसयता दर्शकहरू पनि बढेको महसुस छ अशेषलाई । ‘अहिले हरेक पुस्ताका दर्शक नाटक हेर्न आउँछन् । यो सकारात्मक पक्ष हो । नाटकको भविष्य त झन् सुन्दर देख्छु,’ उनी आउने दिनहरू आकलन गर्दै भन्छन् । एउटै नाटक एक महिनासम्म नाटकघरमा चलेको देख्दा विदेशीहरू अचम्मित भएको पछिल्लो अनुभव छ अशेषसँग । ‘तर, नाटकको राम्रो विकास भइरहेको सहरमा राज्यको आँखा परेन,’ उनी थप्छन् ।
नाटकघरहरू चलायमान त देखिन्छन् । आन्तरिक पीडा भने अलग्गै छ । रंगकर्मीहरूको स्वयंसेवी भावनाले नै यो यात्रा सम्भव भएको दाबी छ उनको । ‘जति नै गाह्रो भए पनि नाटक मञ्चनपछि आउने आनन्द छुट्टै हुन्छ । त्यो पैसाले किन्न सकिँदैन,’ उनी भन्छन् ।
रंगकर्मी र दर्शकहरूका निम्ति मण्डला नाटकघर बहस र विमर्शको नियमित थलो पनि हो । मण्डलामा हल मात्र होइन, रेस्टुरेन्ट छन्, जहाँ शान्तसँग मानिसले संवाद गर्न सक्छन् । लाइब्रेरीमा पुस्तक पढेरै समय बिताउन सक्छन् । विद्यार्थीहरूका लागि कक्षा र एक वर्षको ल्याब पनि मण्डलाले नियमित सञ्चालन गरिरहेको छ । ‘मण्डलामा १२ महिनामा १० नाटक जसरी पनि चल्छन् । घाटा भए पनि नाटक नियमित हुन्छ । दर्शक मण्डला छिर्दा नाटक चलिरहेको होस् भन्ने हाम्रो उद्देश्य हो,’ विजय बराल भन्छन् ।
मण्डलाले नेपाल अन्तर्राष्ट्रिय नाट्य फेस्टिभल नियमित गर्दै आइरहेको छ । फेस्टिभलमा चीन, इटाली, भारतलगायत विभिन्न मुलुकका नाटकहरू नेपाली दर्शकहरूले हेर्न पाउँछन् । नेपाली नाटकलाई अन्य मुलुकका नाट्यपारखीमाझ पुर्याउन पाइन्छ । मण्डलाले अहिले आमन्त्रित निर्देशक ल्याउँछ र नाटक निर्माण गर्छ । ‘नाटकलाई व्यावसायिक बनाउँदै एउटा हब बनाउने हाम्रो सपना छ,’ विजय थप्छन् ।
काठमाडौंको टेकुमा रहेको ‘कौसी थिएटर’ पनि बेग्लै छ । घरको कौसीमा छ, यो नाटकघर । रंगकर्मी आकांक्षा कार्की भन्छिन्, ‘कथा घेरा युवा पुस्ता र महिलाले लिड गरेको आत्मनिर्भर थिएटर हो ।’ नाटकहरू बनाउने कुरामा फरक अभ्यास कौसीले गरिरहेको दाबी छ उनको । उनीहरू क्राउड फन्डिङबाट पैसा उठाएर नाटक गर्छन् । नेपालमा नौलो भए पनि विदेशमा यो अभ्यास रहेको बताउँछिन् कार्की ।
काठमाडौंको बत्तीसपुतलीमा रहेको शिल्पी थिएटर सन् २००६ मा स्थापना भएको थियो । नेपालको पूर्वदेखि पञ्चिमसम्म शिल्पीले यात्रा गरेको छ । नेपाल मात्र नभई कहिले भारत र कहिले युरोप टुर गरिरहन्छ शिल्पी । ‘हरेक समुदायका संस्कृतिहरूलाई हामी नाटकमा समावेश गर्छौं,’ शिल्पीका रंगकर्मी रूपेश झा भन्छन्, ‘हामीले गरेका नाटकको किताब पनि निकाल्छौं । ताकि पछिल्ला पुस्ताले नाटकको किताब सजिलै पढ्न सकुन् ।’
शैली थिएटर यतिबेला १७ औं बाल नाटक महोत्सवको तयारीमा छ । २०६५ मा सञ्चालनमा आएको हो यो थिएटर । शैलीले विशेषगरी बालबालिकामा नाटकप्रतिको अभिरुचि जगाइरहेको छ । तर, के दर्शकहरूमा पनि त्यो अभिरुचि बढिरहेको छ त ? थिएटरका अध्यक्ष रंगकर्मी नवराज बुढाथोकी भन्छन्, ‘छ, सुरुवाती दिनमा त निःशुल्क हेर्न आउनुहोस् भन्दा पनि आउँदैन थिए । तर, अहिले बक्स अफिस भरिन्छ ।’
पछिल्लो समय मध्य बानेश्वरमा ‘एक थिएटर’ पनि छ । एक थिएटरको एक वर्षलाई उपलब्धिमूलक कदम ठान्छन् निर्देशक अनिल सुब्बा । अहिले पनि थिएटरमा पपेट्री नाटक ‘खरायो र कछुवा’ प्रदर्शनरत छ । यसअघि यही नाटकलाई एक थिएटरले पूर्वका सहरहरूमा देखायो । त्यहाँका विद्यार्थीलाई नाट्य मोह जगायो । ‘अब हामी नाटकलाई पश्चिम लैजाने तयारी गरिरहेका छौं,’ अनिल भन्छन् ।
एक थिएटरले यो वर्ष मात्रै ‘डल्ले खोला’, ‘खमारी’ र ‘दाह्रासिङ’ जस्ता नाटकहरू उत्पादन गर्यो । नाटकसँगै थिएटरले पटकथा लेखक, कोरियोग्राफर र कलाकार तयार पारिरहेको छ । ‘यो त पहिलो कदम हो । बाँकी धेरै कदम अगाडि बढ्नुछ,’ सुब्बा भन्छन् । बालबालिकाहरूलाई लक्षित गरेर कीर्तिपुरमा अवस्थित थिएटर मल विभिन्न वर्कसप र नाटक गरिरहन्छ । रंगकर्मी केदार श्रेष्ठले ११ वर्षअघि सुरु गरेको थिएटर मलमा पछिल्लो समय नाटकभन्दा बढी वर्कसप चलिरहेको छ ।
अनुप बरालको एक्टर स्टुडियो पिंगलास्थानमा छ । बेलाबखत यहाँ पनि नयाँ नाटक मञ्चन भइरहन्छ । रंगकर्मी विमल सुवेदीको थिएटर भिलेज भत्केको धेरै समय भयो । तर, नयाँ नाटकमार्फत भने यो थिएटरले बेलाबखत बलियो उपस्थिति जनाइरहन्छ । रंगकर्मी तथा फिल्म निर्देशक सुलक्षण भारतीको ‘पुरानो घर’ नाटकघरले विभिन्न नाटकहरू गरिरहन्थ्यो ।
गत २०८१ चैतमा कान्तिपुर फिल्म एकेडेमीले अभिनेता राजेश हमालको हातबाट गैरीधारामा आफ्नै नाटकघर उद्घाटन गरायो । कान्तिपुरले पहिलो नाटकमा अभिनेत्री रेखा थापालाई डेब्यु गरायो । त्यसपछि जीवन लुइँटेललाई । सुकेधारामा रहेको ओस्कार अन्तर्राष्ट्रिय कलेजले पनि हालै नयाँ नाटकघर ‘साधना घर’ सञ्चालनमा ल्यायो । अहिले पहिलो नाटक ‘भट्टी टेल्स’ प्रदर्शनरत छ ।
रंगकर्मी अशेष मल्लसँग नाट्य क्षेत्रलाई सरकारले बेवास्ता गरेको दुःख मात्रै होइन, त्यही बेवास्ताले रंगकर्मी पलायन हुनुको पीडा पनि उत्तिकै छ । त्यसमाथि विश्वविद्यालयमा नाटक पढाइ नहुने विषयले पनि चिन्तित बनाउँछ । ‘सरकारले ध्यान दिने हो भने नेपालको थिएटर अझै बलियो हुन्थ्यो,’ उनी भन्छन् । आर्थिक रूपमा नेपालका थिएटर कुनै नाफामा छैनन् । यसले कतिपय सम्भावना भएका रंगकर्मीहरू पलायन हुनुको विडम्बना उनी सुनाउँछन् ।
