सडक नाटक होस् या विद्यालय पाठ्यक्रमका विषयवस्तुमा बनाइएका नाटक– आफ्नै खर्चमा व्यवस्थित नाटकघर बनाएर, दर्शक जुटाएर, पढाएर र नाट्य महोत्सव आयोजना गरेरै सातै प्रदेशका नाट्यकर्मीले नेपाली रंगमञ्चको भीमकाय शरीर उभ्याएका छन्।
What you should know
आधुनिक रंगमञ्चको अभ्यास गणतन्त्र र संघीयता स्थापनासँगै काठमाडौंबाहिर समेत पुग्ने र फस्टाउने क्रम जारी छ । आधुनिक रंगमञ्च भन्नाले व्यावसायिक धारको नाट्यकर्मलाई बुझाउन खोजेको हुँ, जुन २०५९ मा गुरुकुल स्थापनासँगै काठमाडौंमा सुरु भयो र करिब दुई दशकको अवधिमा देशैभर फस्टायो । एक दशकयताको अवस्था हेर्ने हो भने संघीय राजधानीबाहिर भएका रंगमञ्चीय गतिविधि छुट्याएर नेपाली रंगमञ्चको इतिहास लेख्न सकिँदैन ।
समुदायमा सचेतना र जागरणका लागि गरिने सडक नाटक होस् या विद्यालय पाठ्यक्रमका विषयवस्तुमा बनाइएका नाटक, व्यावसायिक भवनलाई आधुनिक नाटकघरको अस्थायी संरचना दिएर होस् या आफ्नै खर्चमा व्यवस्थित नाटकघर बनाएर, दर्शक जुटाएर/नाटक बनाएर/पढाएर र महोत्सव आयोजना गरेर सातै प्रदेशका नाट्यकर्मीले नेपाली रंगमञ्चको एउटा भीमकाय शरीर उभ्याएका छन्, जसको टाउको बोकेको भ्रम या विश्वास काठमाडौंको रंगमञ्चलाई परेको देखिन्छ ।
काठमाडौं उपत्यकामा रंगमञ्चले लिएको व्यावसायिक छलाङलाई उपत्यका बाहिर पुर्याउने काम पनि ‘आरोहण गुरुकुल’ले नै गर्यो । २०५९ मा काठमाडौं र २०६६ मा विराटनगरमा नाटकघर स्थापना गरेर र त्यहाँ नियमित नाटक मञ्चन, महोत्सवजस्ता गतिविधि आयोजना गरेर आरोहणले सडकमा क्रान्तिको बिगुल फुकिरहेको (यदाकदा प्रज्ञा प्रतिष्ठानका महोत्सवमा पनि लम्पसार भेटिने) नेपाली नाटकलाई व्यवस्थित आधुनिक नाटकघरसम्म ल्याउने जमर्को गर्यो । कालान्तरमा काठमाडौंको आरोहण गुरुकुल सुस्तायो ।
प्रारम्भमा आरोहणले विराटनगरको गुरुकुलबाटै यो क्रान्तिको नेतृत्व गरिरहने उद्घोष गरेको थियो । तर केही ‘वाद’हरूको चपेटामा परेर गुरुकुल विराटनगरले अपेक्षाकृत सक्रियता देखाउन सकेन । तर, स्पष्ट देख्न सकिन्छ यसले दूरदराजका रंगकर्मीलाई सपना देख्न सिकायो, आफ्नो सपनाका लागि लड्न सिकायो र नाटकलाई ‘फुर्सदमा गरिने सामाजिक कामको विधा’ बाट माथि उचालेर ‘सामाजिक दायित्वसहितको व्यावसायिक विधा’ को तप्कामा पुर्यायो ।
काठमाडौंबाहिर सबैभन्दा बढी (सायद काठमाडौंभन्दा बढी) रंगमञ्चीय गतिविधि हुने स्थानमा नेपालको पूर्वी प्रदेश पर्दछ । विराटनगरको गुरुकुललाई सक्रिय बनाउन पूर्वखेलाडी भैरव क्षेत्रीको नेतृत्वमा र दीपेश भण्डारीको सिर्जनात्मक व्यवस्थापनमा स्थानीय कलाप्रेमीहरूको समूहले काम गरिरहेको छ भने भरत गुरागाईं, प्रयाग न्यौपानेलगायतको सक्रियतामा झोराहाटमा पनि नाटकघर नै बनाएर रंगमञ्चको व्यावसायिक अभ्यास गर्ने काम पछिल्लो दशकको सुरुवातमा भयो । भलै, यो अभ्यास दशकको अन्त्यमा आइपुग्दा नाटकमा एकत्रित नभएर कला र साहित्यमा छरपस्ट देखिन्छ, तर गाउँमा रंगमञ्च बनाएर नाट्य संस्कृतिको जगेर्ना गर्ने प्रयासले रंगमञ्चलाई आशालाग्दा रंगकर्मी दिएको छ ।
विराटनगर गुरुकुलको प्रयासले भरत कार्की, विकास पराजुली, उद्धव सापकोटा, संगीता यादव र झोराहाटको अभ्यासले सुदीपजंग कार्की, दीक्षा चौधरी, सुरज माझी, सञ्जय मुडियारी जस्ता युवापुस्ताका जुझारु कलाकार नेपाली रंगमञ्चलाई प्रदान गरेको छ । सुदूरपूर्वको सीमावर्ती बजार काँकडभिट्टामा एउटा भग्नावशेष भवनलाई नाटकघरको रूप दिएर व्यावसायिक रंगमञ्चमा पाइला चालेको ‘परिवर्तन थिएटर’ले नाटकघरभन्दा बढी समुदायमै पुगेर नाटक मञ्चन गर्ने गरेको छ । कविता नेपालको नेतृत्वमा गणेशबहादुर बस्नेत, लोमस पौडेल, अनिश बस्नेत जस्ता स्थानीय कलाकार अहिले पनि कचहरी नाटकका विभिन्न परियोजना लिएर झापाका ग्रामीण भेगमा नाटक देखाइरहेका भेटिन्छन् । झापाको बिर्तामोडमा बहुजातीय सांस्कृतिक संग्रहालय नै बनाएर कलासंस्कृति उकास्न लागिपरेको ‘क्षितिज नाट्य प्रतिष्ठान’ले काठमाडौंदेखि झोराहाटसम्मका नाटकहरूलाई आमन्त्रण गरेर दर्शकलाई नाटक हेर्ने संस्कार सिकाइरहेको छ ।
माधव कल्पितको परिकल्पनामा गजेन्द्र खतिवडाजस्ता अभ्यस्त रंगकर्मीले नेतृत्व लिएर चलाइरहेको प्रतिष्ठानले पछिल्लो समय ‘एक इँटा’ अभियान चलाएर झापा नाटकघर पूरा गर्ने संकल्प बोकेको छ । त्यसैगरी झापाकै दमक नगरपालिकामा सेउपाखा नाटकघर निर्माण गरिरहेको कदम थिएटरले नाटक निर्माण र प्रदर्शनका अतिरिक्त नियमित रंगमञ्च कक्षा सञ्चालन गरिरहेको छ । पुराना अभिनेता हेमन्त बुढाथोकीको अध्यक्षता र युवा रंगकर्मी सिजन दाहालको निर्देशनमा गतिविधि गर्दै आएको कदम थिएटरमा प्रकाश शर्मा अधिकारी, सुमन लिङ्देन, मनिक शंकर, दीपक खरेल, नवीन ऊर्जा, रश्मि उप्रेती, सुजन भण्डारी, रोशन मुर्मु जस्ता युवा जोसले भरिएका कलाकारहरू अहोरात्र रंगकर्म गरिरहेका छन् ।
काठमाडौंमा चलिरहेको व्यावसायिक कलाकारिता छोडेर गाउँले रंगमञ्च गर्न मोरङ पुगेका जीवन बराल र सुमन कुइँकेलको जोडीलाई भुल्न सकिन्न । किनकि ‘शब्द थिएटर’ नामबाट पथरीमा नाट्य संस्था चलाए पनि अधिकांश समय यो जोडी पूर्वैभरि सहकार्यका लागि दगुरिरहेको हुन्छ ।
इलामकै चुलाचुली थिएटर पर्यावरण र रंगमञ्चको सम्बन्ध बुझाउन बर्सेनि जंगलमा नाटक महोत्सव आयोजना गरिरहेको छ । चेतन आङ्थुपो, अनिल सुब्बा, मानहाङ लावती, सञ्जय विश्वकर्मा, रमिता राईजस्ता खारिएका कलाकारहरुको नेतृत्वमा रंगमञ्चीय अभ्यास गरिरहेको चुलाचुली थिएटर पछिल्लो समय नाटक लिएर काठमाडौं नै आउने र यहाँका दर्शकलाई रैथाने स्वाद दिने अभ्यासमा लागेको छ ।
इलामकै ‘चेतना थिएटर’ पछिल्लो समय अनवरत रूपमा रंगकर्म गरिरहेको संस्थामा पर्छ । चेतनाका नेतृत्वकर्ताहरू सुरेश पोर्तेल र अन्वेश थुलुङ युवा रंगकर्मी मात्र नभएर समाज अनि राजनीति बुझेका सांस्कृतिक अभियन्ता पनि भएको उनीहरूले गरेका काम हेर्दा छर्लङ्ग हुन्छ । इटहरीको ‘कलालय’ले स्कुल थिएटरको अवधारणामा एक दशकअघि सुरु गरेको कार्यक्रमका सहभागीहरू आज राष्ट्रिय टेलिभिजनका कार्यक्रममा अभिनय प्रशिक्षक बनेर काम गरिरहेका छन् ।
सोनु जयन्ती र प्रज्वल पराजुलीको नेतृत्वमा बर्सेनि नाट्य महोत्सव आयोजना गर्दै आएको कलालयले आफ्ना नाटकलाई भारतको पश्चिम बंगालसम्म पुर्याएका छन् । कुनै समय इटहरीमा ‘काव्यवाटिका’ स्थापना गरेर ध्यान र कलाको साधना गर्ने थलो निर्माण गरेका बिक्रमश्री पछिल्लो समय सांस्कृतिक केन्द्रका रूपमा ‘इटहरी मेट्रिक्स’ स्थापना गरेर नाटकलाई कलाको एक अभिन्न अंगका रूपमा पहिचान दिलाउन तल्लीन छन् । २०४६ मा बहुदल आगमनपछि आफूलाई नेपाली रंगमञ्चको अलग केन्द्र बनाएको धरान बीचको समयमा सुस्ताए पनि पछिल्लो समय सक्रिय छ । विष्णु मोक्तान नेतृत्वमा ‘रंगभूमि एकेडेमी’मार्फत नाट्य गतिविधि गर्दै आएको यस संस्थाले आधुनिक रंगमञ्चमा चाहिने उपकरण जम्मा गरेको छ ।
मोरङको बेलबारीमा ‘सृजनाघर’ स्थापना गरेर पूर्वको नाट्यकर्मलाई संयोजन गरिरहेका विकास बुढाथोकीका अनुसार पूर्वको रंगमञ्च काठमाडौंको भन्दा ‘भाइब्रेन्ट’ छ । व्यावसायिक कसीबाट हेर्दा कमजोर देखिए पनि विकेन्द्रीकरण र सामुदायिक संलग्नताको आधारमा काठमाडौंबाहिरको रंगमञ्चले आफ्नै शिल्प, शैली र पहिचान बनाएको उनको ठहर छ । नेपाली रंगमञ्चका गतिविधि पूर्वबाट पश्चिम हुँदै काठमाडौं आइपुग्दासम्म ‘मधेश’ छिर्छन् र मिथिलाको सांस्कृतिक पहिचान खोज्छन् । हेटौंडा अनि चितवनमा रोकिन्छन् र तरंग सांस्कृतिक परिषद् र नारायणी कला मन्दिरले छोडेका पुराना अवशेषहरूमा युवा जोस भर्छन् ।
चालीसको दशकमा जनकपुरधाममा स्थापना भएको मिथिला नाट्य कला परिषद् (मिनाप) र युवा नाट्य कला परिषद्को इतिहास जति पुरानो छ, नेपाली रंगमञ्चको प्रवर्द्धनमा यी संस्थाको सक्रियता उति नै जोसपूर्ण र समकालीन छ । यी दुवैका संस्थापनकालीन सदस्य रमेशरञ्जन झा नाटक, लेखन, निर्देशन र मञ्चनमा व्यस्त छन् । लामो समयदेखि सडक र मञ्च नाटकमार्फत सांस्कृतिक पहिचानको विषय उठाइरहेको जनकपुरमा नाटकघर नहुनुका बाबजुद नियमित नाटक मञ्चन र नाट्य महोत्सव भइरहेका छन् ।
यसै सन्दर्भमा मिनापले भर्खरै आफ्नो ‘योगेन्द्र–महेन्द्र नाटकघर’ उद्घाटन गरेको छ भने सुनील मलिकको नेतृत्वमा समिति पुनर्गठन भएर नाटकघरको नियमित कार्ययोजना बनाउने काम भइरहेको छ । हेटौंडामा पुराना रंगकर्मी उज्ज्वल शर्माले भण्डारीले तरंग सांस्कृतिक परिषद्मार्फत जेसिजको पुरानो भवनलाई नाटकघर बनाएर चलाउने प्रयत्न गरे तापनि दक्ष कलाकार र सीपयुक्त जनशक्तिको अभावमा सफल हुन सकेन । यद्यपि, त्यो अभियानले धेरै नाट्यकर्मी जन्माएको र पूर्वपश्चिम राजमार्गको एउटा केन्द्रमा रंगमञ्च साक्षरता बढाएको देख्न सकिन्छ । नारायणी कला मन्दिरले आफैं नियमित नाटक निर्माण नगरे तापनि कर्मी चौतारी, तरंग नाट्य समूहजस्ता इच्छुक संघसंस्था तथा युवालाई मञ्च प्रदान गर्दै आएको छ । मुकुन्द खलपात्र, प्रदीप अन्जान, देवकुमार श्रेष्ठजस्ता युवाको सक्रियतामा चितवनको रंगमञ्च गतिविधि फस्टाउँदो छ, जसको पछिल्लो उदाहरण चितवनमै अन्तर्राष्ट्रिय नाट्य महोत्सव आयोजना हुनु हो ।
रंगमञ्च प्रस्तुतिमा अब्बल ठहरिएको र अहिलेको समयमा प्रशस्तै व्यावसायिक सम्भावना भएको क्षेत्र हो पोखरा । काठमाडौंमा ‘लिजेन्ड’ छवि बनाइसकेका अग्रज रंगकर्मी अनुप बराल ‘हंसध्वनि थिएटर’को परिकल्पना लिएर पोखरा फर्किएका छन् । करिब दुई वर्षदेखि निर्माणाधीन हंसध्वनि थिएटर आगामी वैशाखदेखि सञ्चालनमा ल्याउने योजना बरालको छ ।
पोखरामै आठ वर्षअघि स्थापना भएको पोखरा थिएटरले सचेतना, शिक्षा र संस्कृतिलाई मूलनारा बनाएर अगाडि बढिरहेको छ । परिवर्तन कार्की र पञ्च सुब्बा गुरुङको नेतृत्वमा ‘गन्धर्व नाटकघर’ स्थापना गरेर अगाडि बढेको यस समूहले १६ जना पूर्णकालीन कलाकार तथा व्यवस्थापकलाई नियमित तलब दिएर काम लगाइरहेको छ ।
गण्डकीकै नवलपरासीका दुई वटा विद्यालयमा यो अवधारणाको कार्यक्रम सुरु गर्न लागेको छ । रंगमञ्चप्रति युवाको आकर्षण बढाउन प्रत्येक वर्ष विद्यालय नाटक महोत्सव र हरेक दुई वर्षमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव गरिरहेको छ । पोखरामै ‘इन्द्रेणी नाट्य समूह’ चलाइरहेका केदारनाथ पौडेलले आफ्नो पुर्ख्यौली जमिनमा काव्यवाटिका नामसहित थिएटर सेन्टर बनाइरहेका छन्, जसलाई भविष्यमा राष्ट्रिय अन्तर्राष्ट्रिय कलाकारको संगमस्थल बनाउने उनको धोको छ ।
लुम्बिनीको बुटवलमा ‘बागेश्वरी संगीतालय’को हल भए तापनि नाटक गर्ने सक्रिय रंगसंस्थाको अभाव र व्यवस्थापनको उदासीनताका कारण नियमित नाटक मञ्चन हुन सकेको छैन । लुम्बिनीकै कपिलवस्तुमा धीरज चौहान, प्रेमचन्द पाण्डे, अरविन्द मौर्याजस्ता युवा कलाकारले बुद्ध थिएटरको नामबाट सडक नाटक मञ्चन गर्ने गरेका थिए । तर आफ्नो काममा गुणस्तर अभाव महसुस भएपछि समूहका सक्रिय तीन सदस्य नाटक सिक्ने/पढ्ने भनेर कोही काठमाडौं, कोही भारत गए ।
भारतको बरौदा विश्वविद्यालयमा स्नातक तहमा नाटक पढ्दै गरेका धीरज चौहानका अनुसार पढाइ सकेर आफ्नै ठाउँमा काम गर्ने उनीहरूको इच्छा छ । लुम्बिनी अर्घाखाँचीका गणेशप्रसाद पौडेलले गत वर्षको नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवमा इनोभेटिभ आइडिया अवार्ड जितेर बनाएको ‘आँगन रंगमञ्च’को प्रस्तावना कार्यान्वयन गर्न चाँडै नै गाउँ जाने योजना बनाएका छन् । उनको परियोजनाले ग्रामीण भेगका दर्शकलाई आँगनमै गुणस्तरीय र प्रविधियुक्त नाटक हेर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । लुम्बिनीकै दाङ, बाँके, बर्दियाजस्ता जिल्लाहरूमा नाट्य गतिविधि हुने गरे तापनि समूह बनाएर व्यावसायिक काम गर्ने अवस्था नरहेको बरु काठमाडौंबाट नाटक देखाउन आउने टोलीलाई सहजीकरण गरिरहेको बर्दियाका कलाकार खगेन्द्र नेपाल बताउँछन् ।
गुरुकुलको समयदेखि नै कर्णालीको मुगुमा सक्रिय ‘कर्णाली नाट्य समूह’ कार्यक्षेत्र फराकिलो बनाउने उद्देश्यले प्रदेशको राजधानी सुर्खेत आइपुगेको छ । हिराबिजुली नेपाली र विष्णुमाया परियारको नेतृत्वमा यस समूहले प्रदेशभरि जगजागरणका लागि नाटक मञ्चन गर्ने गरेको छ भने सुर्खेत आएयता साप्ताहिक नाट्य प्रशिक्षण कार्यक्रमसमेत चलाउँदै आएको छ । सुर्खेतमै ‘बागिना समूह’ स्थापना भएको लामो समय भयो ।
बाजा, गीत र नाचलाई मुख्य विधा मानेर काम गरिरहेको समूहलाई नाटकका लागि अलग्गै संस्था महसुस भएपछि ‘आउ रंगकर्म गरौं’ नारासहित २०६४ मा आरंग नाट्य समूहको स्थापना गरेको यसका संस्थापक अध्यक्ष गणेशभक्त गौतम बताउँछन् । पछिल्लो समय मण्डला ड्रामा स्कुलबाट पढेर गएका विशाल केसीको प्रशिक्षणमा कार्यशाला गरेर युवाहरूलाई नाटकतर्फ आकर्षित गर्ने प्रयास गरिरहेको आरंगले मुगुबाट आएको कर्णाली नाट्य समूहसँग समेत सहकार्य गर्दा सराहनीय हुने देखिन्छ ।
सांस्कृतिक हिसाबले समृद्ध भए पनि सुदूरपश्चिम प्रदेशमा नाट्य गतिविधि कम हुने गरेको छ । राजकुमार जोशी, गुणाकर पनेरुजस्ता कलाकारहरूको संलग्नतामा सुप कला प्रतिष्ठानले सडक नाटकजस्ता गतिविधि गर्ने गरे तापनि व्यावसायिक मञ्चनका लागि नाटक बनाउने अवस्था नरहेको स्थानीय कलाकर्मीहरू बताउँछन् । प्रदेशकै एकमात्र सिनेमाघरमा गत वर्षको गाईजात्रामा आयोजित मञ्च कार्यक्रम नै पछिल्लो समयको उल्लेख्य नाट्य गतिविधि भएको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीको भनाइ छ ।
यसबाहेक धनगढीको वाल्मीकि स्कुल र कञ्चनपुरको भीमदत्त नगरपालिकाले गत वर्ष मण्डला ड्रामा स्कुलकी विद्यार्थी पिंकी बोहोरासँग सहकार्य गरेर विद्यार्थीहरूका लागि नाट्य प्रशिक्षण तथा मञ्चन कार्यक्रम गरेको थियो । मण्डलाले हालसालै सञ्चालन गरेको सडक नाटक यात्रामा सहभागी सुदूरपश्चिम प्रदेशका कलाकारहरू भने आफ्नो प्रदेशमा पनि नियमित नाट्य गतिविधि गर्ने सपना देख्छन् ।
यसरी अभावका बाबजुद प्रभाव पारिरहँदा पनि मूलधारको नेपाली सांस्कृतिक समाजमा काठमाडौंबाहिरका नाट्य गतिविधि धमिलो देखिन्छन् । काठमाडौंले छेकेको नेपाली रंगमञ्चको दुःख सायद यही हो, मिडिया र समाज दुवैले आफ्नो चस्मा फेर्न बिर्सिनु अनि गुन्गुनाइरहनु– राजधानी र मोफसलवादको उही पुरानो आलाप ।
