बजारले तोकेको सौन्दर्यको मापदण्ड, सीमा र परम्परागत सोच भत्काउँदै महिलाले रंगमञ्चमा सशक्त आवाज पस्केका छन्, शक्तिशाली हस्तक्षेप बढाएका छन्– चाहे त्यो अभिनयमा होस् वा निर्देशन, लेखन वा नेपथ्यमा
What you should know
काठमाडौँ — रंगमञ्च र फिल्मबीच तुलना हुँदैन । तर, महिला प्रतिनिधित्व र सहभागिता हेर्ने हो भने फिल्मको दाँजोमा रंगमञ्चमा महिला धेरै अगाडि देखिन्छन् । रंगमञ्चले कहिल्यै महिलालाई सहायक भूमिकामा मात्रै सीमित गराइदिएन । सशक्त भूमिकाहरूमा महिलालाई विश्वास गरियो ।
त्यसैले बजारले तोकेको सौन्दर्यको मापदण्ड, सीमा र परम्परागत सोचहरू भत्काउँदै महिलाले रंगमञ्चमा आफ्ना सशक्त आवाज पस्के, शक्तिशाली हस्तक्षेप बढाए । चाहे त्यो अभिनय होस् या निर्देशन, लेखन होस् या नेपथ्य । महिला सहभागितामा रंगकर्मको छलाङ प्रशंसनीय छ ।
तर, यही उपस्थिति नै पर्याप्त नभएको रंगकर्मी पशुपति राई सुनाउँछिन् । ‘महिलाका लागि अझै पनि गाह्रो छ । हाम्रो समाज जति परिवर्तन भयो भने पनि महिलालाई हेर्ने दृष्टिकोणमा अझै उस्तै छ । पुरुषको दाँजोमा महिला सहभागिता अझै थोरै होला । तर अन्य क्षेत्रको दाँजोमा रंगकर्ममा महिला अगाडि छन्,’ पशुपति निर्धक्क सुनिइन् ।
रंगमञ्चले समान स्थान दिने भएकै कारण यो क्षेत्रमा महिला सहभागिता बढेको सिर्जना सुब्बा थप्छिन् । ‘बैंक, व्यापार, फिल्मका दाँजोमा रंगमञ्चमा महिलाको सहभागिता राम्रो छ । यहाँ जति महिला सहभागी छन्, ती सशक्त नै छन् । अरूको तुलनामा किन राम्रा छन् ? भन्ने पक्ष हेर्दा सायद उनीहरूको जरा राम्रो भएर नै हो,’ सुब्बाले भनिन् ।
कुनैबेला सिर्जना, पशुपतिका लागि रंगमञ्चमा करिअर सोच्नु ‘दुस्साहस’ थियो । निशा शर्मा, सकुन्तला शर्मा, मिथिला शर्मा, सूर्यमाला शर्मा, चन्द्रमाला शर्माको समय कस्तो थियो होला ? तर, अहिले यो क्षेत्रलाई करिअरका रूपमा लिन थालिएको पशुपति सुनाउँछिन् । संगीत तथा नाट्य प्रतिष्ठानको कुलपति एवं रंगकर्मी निशा शर्मा
आफ्नो समयदेखि नै मुख्य चरित्रमा महिलालाई स्थान दिइँदै आए पनि त्यस किसिमको चरित्र चित्रण कमी भएको देख्छिन् । सहभागिताका हिसाबले महिलाको संख्या बढ्दै गएको उनी सुनाउँछिन् । ‘मैले बाल्यकालमा नाटक गर्दा पनि मुख्य भूमिका नै पाएको थिएँ । मेरो समयमा महिलाहरूलाई मुख्य चरित्र दिइन्थ्यो । तर अहिले त्यो अभ्यास कम भएको देखिन्छ । तर, सहभागिताको हिसाबले महिला सहभागिता बढेको हो,’ शर्माले भनिन् ।
उनका अनुसार त्यो समयमा रंगमञ्चमा पाइला टेक्नु ‘बिग्रनु’ थियो । अनपढदेखि काम नपाएकाहरू यो क्षेत्रमा आउँछन् भन्ने संकीर्ण सोचले पनि यो क्षेत्रलाई पेसाका रूपमा हेरिन्न थियो । अहिले भने मानिसहरूले बुझ्दै आउँदा सोच परिवर्तन भएको र त्यसको प्रभाव महिला सहभागितामा परेको निशा सुनाउँछिन् । पशुपतिका अनुसार रंगमञ्चमा महिलाको हस्तक्षेप पहिल्यैदेखि बलियो हो । उनीहरूलाई रंगमञ्चले सधैं सशक्त भूमिकाहरूमा विश्वास गर्दै आएको छ । अभिनेत्री वेदना राई, पवित्रा खड्का, संगीता उराँव, पवित्रा राई, संगीता थापालगायतका रंगकर्मी महिला मञ्चको सशक्त चरित्रमा बुलन्द चित्रित हुँदै आएका छन् ।
‘आफ्नो कथा आफैं भन्नुपर्छ’ भन्ने मण्डलाले समाएको भाष्यसँगै जनजाति महिला मुख्य चरित्रमा देखिन थालेको सिर्जना सुब्बा सुनाउँछिन् । ‘हामीले हाम्रो कथा आफैं भन्न थाल्यौं । जनजातिको कथा भन्दै गर्दा हामी जनजाति महिला अगाडि देखिने गरेर आयौं । त्यो हाम्रो थिएटरले थालेको नयाँ कदम हो,’ सिर्जनाले सुनाइन्, ‘यसअघि त हाम्रो समाजले पार्वतीहरूको मात्रै कथा भन्दै थियो । तर, मण्डलाले जब आदिवासी जनजातिको कथा खोज्यो, तब जनजाति महिलाहरू लिडमा देखिए ।’
रंगकर्मी आकांक्षा कार्की फिल्मसम्म पुग्ने गन्तव्य बनेकै कारण पछिल्लो समय थिएटरप्रति महिलाको पनि आकर्षण बढेको सुनाउँछिन् । ‘विगत केही वर्षयता रंगमञ्चमा एकदमै धेरै रहर र लहर देखिन्छ । करिअर सुरु गर्नलाई सजिलो माध्यमका रूपमा लिइएको छ,’ आकांक्षा सुनाउँछिन्, ‘फिल्मसम्म पुग्ने खुड्किलोका रूपमा यहाँ आइपुग्छन् कति । रंगमञ्चमा अहिले महिलाहरूको सहभागिता ह्वात्तै बढेको देखिन्छ । तर, उनीहरू टिक्ने अवस्था छ ?,’ आकांक्षाले प्रश्न गरिन् ।
सरिता गिरीका अनुसार रंगमञ्चले महिलालाई सशक्त भूमिकामा पत्याइदिन्छन् । ‘अहिलेसम्म फिल्मले नपत्याइदिएको चरित्रमा रंगमञ्चले पत्याइदिएको छ,’ सरिताले भनिन् । आकांक्षा थप्छिन्, ‘फिल्मले महिलालाई फरक भूमिकाका लागि विश्वास नगरिदिए पनि रंगमञ्चका थुप्रै चरित्रमा महिला अटाउने गरेका छन् ।’ तर, दुःखद त अझै पनि मञ्चमा शक्तिशाली चरित्रमा देखिएका यी महिलालाई फिल्ममा उही चरित्रमा विश्वास गरिँदैन ।
निर्देशनदेखि लेखनमा महिला मुद्दा
लेखन र निर्देशनमा पनि महिलाको सहभागिता उल्लेख्य छ । पहिलेको दाँजोमा अहिले निर्देशन गर्ने महिला थपिएका छन् । सरिता र पशुपतिको समयसम्म महिला निर्देशक भन्नेबित्तिकै धेरैले ओठ लेप्य्राउँथे । तर, अहिले तिनै व्यक्ति पशुपति अनि सरितालाई भेट्दा सोध्ने गर्छन्, ‘तपाईंले नाटक कहिले निर्देशन गर्ने ?’ समयक्रमसँगै अहिले निर्देशन र लेखनमा महिलाको भूमिका उल्लेख्य बढेको सरिता सुनाउँछिन् ।
हालैको उदाहरण हो– सरस्वती चौधरी । लामो समयपछि निर्देशनमा कमब्याक गरेकी चौधरी निर्देशित ‘बहादुरको दन्त्यकथा’ केही समयअगाडि मण्डला थिएटरमा मञ्चन भयो । सशक्त आवाजसहितको नाटक निर्देशन गर्ने महिलाका पृष्ठभूमिले पनि रंगमञ्चलाई विविधता भरिदिएको सिर्जना सुब्बा सुनाउँछिन् । ‘फरक पृष्ठभूमिको निर्देशकले फरक आवाज पस्किदिन्छ । यस किसिमको नाटक निर्देशन गर्ने आँट सायद रंगमञ्च, यहाँको वातावरणले बढाइदिएको हो,’ उनले भनिन् ।
सिर्जनाले भनेझैं दिया मास्केले निर्देशन गरेको ‘कथा कस्तुरी’ होस् या पवित्रा राई निर्देशित ‘मुक्कुमलुङ’, यी महिलाहरूले निर्देशन गरेका नाटकमा महिला मुद्दा सशक्त थिए नै । त्यसमाथि त्यसले विविधताको रंग थपिदिएको छ । बेदना निर्देशित ‘शिल्पीनी’ होस् या आकांक्षा कार्की निर्देशित ‘सिकरुम’ यी नाटकमा नभनिएका, समाजले सुन्न नचाहेका मुद्दालाई यी महिला निर्देशकले बहसमा ल्याइदियो ।
आकांक्षा अभिनयपछि अहिले निर्देशनमा महिलाको सहभागिता बढेको देख्छिन् । तर, त्यसलाई निरन्तरता दिन स्रोतसम्मको पहुँच, वातावरण बनाइदिनुपर्ने उनी सुनाउँछिन् । ‘यहाँ महिला निर्देशकका लागि स्रोतको अभाव छ । महिलाहरूमा बिना स्रोत निर्देशन आँटिहाल्ने त्यो स्वभाव पनि हुन्न,’ आकांक्षाले भनिन्, ‘महिलाहरू केही गर्नुअगाडि सोच्छन्, योजना बनाउँछन् ।’ आकांक्षाले लेखनतर्फ भने महिला सहभागिता न्यून भएको अनुभव गरेकी छन् ।
निर्देशनमा महिलाको सहभागिता बढेको देख्दा सरिताको मन भने खुसीले फुलेको छ । ‘निर्देशनमा महिला सहभागिता कम थियो पहिला । त्यतिबेला महिलालाई स्थान नै दिइँदैन थियो । अहिले महिला सहभागिता निकै बलियो देखिन्छ,’ उनले भनिन्, ‘थिएटरमा त महिलाको अग्रता देख्छु, अभिनयमा होस् या निर्देशनमा ।’
नेपथ्यदेखि नाटकघर ‘लिड’ गर्दै
मञ्चको प्रकाशमा मात्रै होइन, नेपथ्यको अँध्यारोमा पनि महिला चम्किन थालेका छन् । फाट्टफुट्ट भए पनि महिलाको हस्तक्षेप नेपथ्यमा बढेको देख्दा आकांक्षा गर्बिलो अनुभव गर्छिन् । ‘अरू ठाउँमा त प्रोडक्सन हेड पुरुष हुन्छन् । प्राविधिक पक्षमा यहाँ पुरुषलाई नै राखिन्छ । तर, महिलालाई विश्वास गरिन्न, उनीहरूलाई त्यो स्थान दिइँदैन,’ आकांक्षाले सुनाइन्, ‘महिलालाई यस किसिमको कामका लागि पहिला विश्वास गरिदिनु पर्यो । अनि मात्रै त उनीहरूले त्यो क्षेत्रमा सक्छन् कि सक्दैनन् भन्ने थाहा हुन्छ नि ।’
अहिले महिलाहरू प्राविधिक क्षेत्रमै पनि सशक्त बन्दै गएको रंगकर्मी सिर्जनाले सुनाइन् । ‘अहिले महिलाहरू प्रकाश र साउन्ड चलाउँछन् । उनीहरू म्युजिक चलाउँछन् । एकदमै राम्रो सहभागिता छ, नेपथ्यमा पनि ।’
अर्की रंगकर्मी सेविता अधिकारी यसअघि प्राविधिक क्षेत्रमा ‘दाइहरू’ले हस्तक्षेप गर्दै आए पनि अहिले ‘बहिनी’हरूले त्यो ठाउँ ओगट्न थालेको निर्धक्कले सुनाउँछिन् । उनी आफैं पनि प्रोडक्सनदेखि नेपथ्यमा सक्रिय छिन् । ‘मेरै साथी विनिताले आकांक्षाको लायनदेखि लाइट चलाउन थालेको हो ।
पहिला त यस्तो काममा दाइ भन्नुपर्थ्यो । अहिले त महिला साथी नै छन् । त्यो देख्दा खुसी लाग्छ,’ आकांक्षाको नयाँ नाटकमा प्रोडक्सन सम्हालिरहेकी सेविताले सुनाइन् । उनले यसअघि ‘सिकरुम’को प्रोडक्सन सम्हालेकी थिइन् । उनलाई आफू मात्रै होइन, शिल्पीमा पवित्रादेखि संगीताले नेपथ्य सम्हालेको देख्दा निकै खुसी लाग्छ । ‘स्टेज मात्रै हैन, ब्याक स्टेज पनि उति नै जरुरी हो भनेर काम गर्दा प्रोजेक्ट राम्रो हुन्छ,’ सेविता सुनाउँछिन् ।
टिक्न चाहिन्छ धैर्य
पशुपतिको २१ वर्षे रंगयात्रा धेरैका लागि सहज सुनिएला । तर यो यात्रामा पशुपतिले थुप्रै अप्ठ्यारा र चुनौतीहरू भोगेकी छन् । महिला भएकै कारण आफूहरूलाई नपत्याइदिने त वर्तमान समस्या पनि हो । तर, पितृसत्तात्मक समाजले अझै पनि महिलाहरूले आफूलाई प्रमाणित गरिरहनुपर्ने अवस्थामा राखेको पशुपति सुनाउँछिन् । ‘अझै पनि हामीलाई सुनिँदैन । अझै पनि हामीलाई नदेखेंझैं गरिदिन्छन् । कम आँक्छन् ।
अहिले पुरुषहरू जसरी खटेर काम गर्दै आउनुभएको छ । हामी पनि त्यसरी नै काम गर्दै आएका छौं । होला, हामी महिला थोरै भएर हाम्रा सम्बन्ध, अवसर कम होला । तर, क्षमतामा हामी उनीहरूभन्दा कम छैनौं,’ पशुपति सुनाउँछिन्, ‘तर, महिला भएकै कारण हामीलाई अझै हामीलाई विश्वास गरिदिँदैनन् । पत्याइदिँदैनन् । भालेहरूको बथानमा हामीले सधैं आफूलाई प्रमाणित गरिरहनुपर्छ । त्यसैले त्यो साहस, धैर्य हुनुपर्छ ।
‘आकांक्षा यो क्षेत्रमा महिलाको सहभागिता बढाउन, नीतिगत रूपमै महिलालाई सुरक्षा दिने किसिमको योजना बन्नुपर्ने आवश्यकता देख्छिन् । बिहेपछि महिला यो क्षेत्रबाट टाढिँदै गएको हुनाले वैवाहिक संस्थाप्रति नै विचार गरिनुपर्ने धारणा राख्छिन् । ‘बिहे नै गर्नु हुँदैन भन्ने होइन । तर, यो समाजले महिलालाई हेर्ने दृष्टिकोण नै परिवर्तन हुनुपर्छ । थिएटरमा प्यासन छ भने त्यस्ता व्यक्तिहरू टिक्छ । अर्को त वैवाहिक संस्थामाथि नै एकदमै प्रश्न गर्नुपर्नेछ,’ उनले भनिन् ।
उनले पनि पशुपतिकै कुरामा समर्थन जनाइन् । ‘जति पटक काम गरे पनि आफूलाई प्रमाणित गरिरहनुपर्छ । मैले सिकरुम बनाएँ, त्यो हिट भयो । तर त्यो मैले गर्दा हिट भएको होइन, अरू कुनै कारण हो के । यदि त्यही ठाउँमा कुनै पुरुष भइदिएको भए उसले गर्दा त्यो नाटक हिट भएको हुन्छ,’ आकांक्षाले भनिन्, ‘हामीलाई त स्वीकारिँदैन । कोही महिला पहिलोचोटि निर्देशनमा छ भने उसको पछाडि पुरुष होला भन्ने ठानिदिन्छन् ।’
