रंगमञ्चमा महिला हस्तक्षेप

बजारले तोकेको सौन्दर्यको मापदण्ड, सीमा र परम्परागत सोच भत्काउँदै महिलाले रंगमञ्चमा सशक्त आवाज पस्केका छन्, शक्तिशाली हस्तक्षेप बढाएका छन्– चाहे त्यो अभिनयमा होस् वा निर्देशन, लेखन वा नेपथ्यमा 

माघ ३, २०८२

रीना मोक्तान

Women's intervention on stage

What you should know

काठमाडौँ — रंगमञ्च र फिल्मबीच तुलना हुँदैन । तर, महिला प्रतिनिधित्व र सहभागिता हेर्ने हो भने फिल्मको दाँजोमा रंगमञ्चमा महिला धेरै अगाडि देखिन्छन् । रंगमञ्चले कहिल्यै महिलालाई सहायक भूमिकामा मात्रै सीमित गराइदिएन । सशक्त भूमिकाहरूमा महिलालाई विश्वास गरियो ।

त्यसैले बजारले तोकेको सौन्दर्यको मापदण्ड, सीमा र परम्परागत सोचहरू भत्काउँदै महिलाले रंगमञ्चमा आफ्ना सशक्त आवाज पस्के, शक्तिशाली हस्तक्षेप बढाए । चाहे त्यो अभिनय होस् या निर्देशन, लेखन होस् या नेपथ्य । महिला सहभागितामा रंगकर्मको छलाङ प्रशंसनीय छ । 

तर, यही उपस्थिति नै पर्याप्त नभएको रंगकर्मी पशुपति राई सुनाउँछिन् । ‘महिलाका लागि अझै पनि गाह्रो छ । हाम्रो समाज जति परिवर्तन भयो भने पनि महिलालाई हेर्ने दृष्टिकोणमा अझै उस्तै छ । पुरुषको दाँजोमा महिला सहभागिता अझै थोरै होला । तर अन्य क्षेत्रको दाँजोमा रंगकर्ममा महिला अगाडि छन्,’ पशुपति निर्धक्क सुनिइन् । 

रंगमञ्चले समान स्थान दिने भएकै कारण यो क्षेत्रमा महिला सहभागिता बढेको सिर्जना सुब्बा थप्छिन् । ‘बैंक, व्यापार, फिल्मका दाँजोमा रंगमञ्चमा महिलाको सहभागिता राम्रो छ । यहाँ जति महिला सहभागी छन्, ती सशक्त नै छन् । अरूको तुलनामा किन राम्रा छन् ? भन्ने पक्ष हेर्दा सायद उनीहरूको जरा राम्रो भएर नै हो,’ सुब्बाले भनिन् ।

कुनैबेला सिर्जना, पशुपतिका लागि रंगमञ्चमा करिअर सोच्नु ‘दुस्साहस’ थियो । निशा शर्मा, सकुन्तला शर्मा, मिथिला शर्मा, सूर्यमाला शर्मा, चन्द्रमाला शर्माको समय कस्तो थियो होला ? तर, अहिले यो क्षेत्रलाई करिअरका रूपमा लिन थालिएको पशुपति सुनाउँछिन् । संगीत तथा नाट्य प्रतिष्ठानको कुलपति एवं रंगकर्मी निशा शर्मा 

आफ्नो समयदेखि नै मुख्य चरित्रमा महिलालाई स्थान दिइँदै आए पनि त्यस किसिमको चरित्र चित्रण कमी भएको देख्छिन् । सहभागिताका हिसाबले महिलाको संख्या बढ्दै गएको उनी सुनाउँछिन् । ‘मैले बाल्यकालमा नाटक गर्दा पनि मुख्य भूमिका नै पाएको थिएँ । मेरो समयमा महिलाहरूलाई मुख्य चरित्र दिइन्थ्यो । तर अहिले त्यो अभ्यास कम भएको देखिन्छ । तर, सहभागिताको हिसाबले महिला सहभागिता बढेको हो,’ शर्माले भनिन् । 

उनका अनुसार त्यो समयमा रंगमञ्चमा पाइला टेक्नु ‘बिग्रनु’ थियो । अनपढदेखि काम नपाएकाहरू यो क्षेत्रमा आउँछन् भन्ने संकीर्ण सोचले पनि यो क्षेत्रलाई पेसाका रूपमा हेरिन्न थियो । अहिले भने मानिसहरूले बुझ्दै आउँदा सोच परिवर्तन भएको र त्यसको प्रभाव महिला सहभागितामा परेको निशा सुनाउँछिन् । पशुपतिका अनुसार रंगमञ्चमा महिलाको हस्तक्षेप पहिल्यैदेखि बलियो हो । उनीहरूलाई रंगमञ्चले सधैं सशक्त भूमिकाहरूमा विश्वास गर्दै आएको छ । अभिनेत्री वेदना राई, पवित्रा खड्का, संगीता उराँव, पवित्रा राई, संगीता थापालगायतका रंगकर्मी महिला मञ्चको सशक्त चरित्रमा बुलन्द चित्रित हुँदै आएका छन् ।

‘आफ्नो कथा आफैं भन्नुपर्छ’ भन्ने मण्डलाले समाएको भाष्यसँगै जनजाति महिला मुख्य चरित्रमा देखिन थालेको सिर्जना सुब्बा सुनाउँछिन् । ‘हामीले हाम्रो कथा आफैं भन्न थाल्यौं । जनजातिको कथा भन्दै गर्दा हामी जनजाति महिला अगाडि देखिने गरेर आयौं । त्यो हाम्रो थिएटरले थालेको नयाँ कदम हो,’ सिर्जनाले सुनाइन्, ‘यसअघि त हाम्रो समाजले पार्वतीहरूको मात्रै कथा भन्दै थियो । तर, मण्डलाले जब आदिवासी जनजातिको कथा खोज्यो, तब जनजाति महिलाहरू लिडमा देखिए ।’ 

रंगकर्मी आकांक्षा कार्की फिल्मसम्म पुग्ने गन्तव्य बनेकै कारण पछिल्लो समय थिएटरप्रति महिलाको पनि आकर्षण बढेको सुनाउँछिन् । ‘विगत केही वर्षयता रंगमञ्चमा एकदमै धेरै रहर र लहर देखिन्छ । करिअर सुरु गर्नलाई सजिलो माध्यमका रूपमा लिइएको छ,’ आकांक्षा सुनाउँछिन्, ‘फिल्मसम्म पुग्ने खुड्किलोका रूपमा यहाँ आइपुग्छन् कति । रंगमञ्चमा अहिले महिलाहरूको सहभागिता ह्वात्तै बढेको देखिन्छ । तर, उनीहरू टिक्ने अवस्था छ ?,’ आकांक्षाले प्रश्न गरिन् । 

Women's intervention on stage

सरिता गिरीका अनुसार रंगमञ्चले महिलालाई सशक्त भूमिकामा पत्याइदिन्छन् । ‘अहिलेसम्म फिल्मले नपत्याइदिएको चरित्रमा रंगमञ्चले पत्याइदिएको छ,’ सरिताले भनिन् । आकांक्षा थप्छिन्, ‘फिल्मले महिलालाई फरक भूमिकाका लागि विश्वास नगरिदिए पनि रंगमञ्चका थुप्रै चरित्रमा महिला अटाउने गरेका छन् ।’ तर, दुःखद त अझै पनि मञ्चमा शक्तिशाली चरित्रमा देखिएका यी महिलालाई फिल्ममा उही चरित्रमा विश्वास गरिँदैन ।

निर्देशनदेखि लेखनमा महिला मुद्दा 

लेखन र निर्देशनमा पनि महिलाको सहभागिता उल्लेख्य छ । पहिलेको दाँजोमा अहिले निर्देशन गर्ने महिला थपिएका छन् । सरिता र पशुपतिको समयसम्म महिला निर्देशक भन्नेबित्तिकै धेरैले ओठ लेप्य्राउँथे । तर, अहिले तिनै व्यक्ति पशुपति अनि सरितालाई भेट्दा सोध्ने गर्छन्, ‘तपाईंले नाटक कहिले निर्देशन गर्ने ?’ समयक्रमसँगै अहिले निर्देशन र लेखनमा महिलाको भूमिका उल्लेख्य बढेको सरिता सुनाउँछिन् । 

हालैको उदाहरण हो– सरस्वती चौधरी । लामो समयपछि निर्देशनमा कमब्याक गरेकी चौधरी निर्देशित ‘बहादुरको दन्त्यकथा’ केही समयअगाडि मण्डला थिएटरमा मञ्चन भयो । सशक्त आवाजसहितको नाटक निर्देशन गर्ने महिलाका पृष्ठभूमिले पनि रंगमञ्चलाई विविधता भरिदिएको सिर्जना सुब्बा सुनाउँछिन् । ‘फरक पृष्ठभूमिको निर्देशकले फरक आवाज पस्किदिन्छ । यस किसिमको नाटक निर्देशन गर्ने आँट सायद रंगमञ्च, यहाँको वातावरणले बढाइदिएको हो,’ उनले भनिन् ।

सिर्जनाले भनेझैं दिया मास्केले निर्देशन गरेको ‘कथा कस्तुरी’ होस् या पवित्रा राई निर्देशित ‘मुक्कुमलुङ’, यी महिलाहरूले निर्देशन गरेका नाटकमा महिला मुद्दा सशक्त थिए नै । त्यसमाथि त्यसले विविधताको रंग थपिदिएको छ । बेदना निर्देशित ‘शिल्पीनी’ होस् या आकांक्षा कार्की निर्देशित ‘सिकरुम’ यी नाटकमा नभनिएका, समाजले सुन्न नचाहेका मुद्दालाई यी महिला निर्देशकले बहसमा ल्याइदियो ।

आकांक्षा अभिनयपछि अहिले निर्देशनमा महिलाको सहभागिता बढेको देख्छिन् । तर, त्यसलाई निरन्तरता दिन स्रोतसम्मको पहुँच, वातावरण बनाइदिनुपर्ने उनी सुनाउँछिन् । ‘यहाँ महिला निर्देशकका लागि स्रोतको अभाव छ । महिलाहरूमा बिना स्रोत निर्देशन आँटिहाल्ने त्यो स्वभाव पनि हुन्न,’ आकांक्षाले भनिन्, ‘महिलाहरू केही गर्नुअगाडि सोच्छन्, योजना बनाउँछन् ।’ आकांक्षाले लेखनतर्फ भने महिला सहभागिता न्यून भएको अनुभव गरेकी छन् । 

निर्देशनमा महिलाको सहभागिता बढेको देख्दा सरिताको मन भने खुसीले फुलेको छ । ‘निर्देशनमा महिला सहभागिता कम थियो पहिला । त्यतिबेला महिलालाई स्थान नै दिइँदैन थियो । अहिले महिला सहभागिता निकै बलियो देखिन्छ,’ उनले भनिन्, ‘थिएटरमा त महिलाको अग्रता देख्छु, अभिनयमा होस् या निर्देशनमा ।’ 

नेपथ्यदेखि नाटकघर ‘लिड’ गर्दै 

मञ्चको प्रकाशमा मात्रै होइन, नेपथ्यको अँध्यारोमा पनि महिला चम्किन थालेका छन् । फाट्टफुट्ट भए पनि महिलाको हस्तक्षेप नेपथ्यमा बढेको देख्दा आकांक्षा गर्बिलो अनुभव गर्छिन् । ‘अरू ठाउँमा त प्रोडक्सन हेड पुरुष हुन्छन् । प्राविधिक पक्षमा यहाँ पुरुषलाई नै राखिन्छ । तर, महिलालाई विश्वास गरिन्न, उनीहरूलाई त्यो स्थान दिइँदैन,’ आकांक्षाले सुनाइन्, ‘महिलालाई यस किसिमको कामका लागि पहिला विश्वास गरिदिनु पर्‍यो । अनि मात्रै त उनीहरूले त्यो क्षेत्रमा सक्छन् कि सक्दैनन् भन्ने थाहा हुन्छ नि ।’ 

अहिले महिलाहरू प्राविधिक क्षेत्रमै पनि सशक्त बन्दै गएको रंगकर्मी सिर्जनाले सुनाइन् । ‘अहिले महिलाहरू प्रकाश र साउन्ड चलाउँछन् । उनीहरू म्युजिक चलाउँछन् । एकदमै राम्रो सहभागिता छ, नेपथ्यमा पनि ।’ 

अर्की रंगकर्मी सेविता अधिकारी यसअघि प्राविधिक क्षेत्रमा ‘दाइहरू’ले हस्तक्षेप गर्दै आए पनि अहिले ‘बहिनी’हरूले त्यो ठाउँ ओगट्न थालेको निर्धक्कले सुनाउँछिन् । उनी आफैं पनि प्रोडक्सनदेखि नेपथ्यमा सक्रिय छिन् । ‘मेरै साथी विनिताले आकांक्षाको लायनदेखि लाइट चलाउन थालेको हो ।

पहिला त यस्तो काममा दाइ भन्नुपर्थ्यो । अहिले त महिला साथी नै छन् । त्यो देख्दा खुसी लाग्छ,’ आकांक्षाको नयाँ नाटकमा प्रोडक्सन सम्हालिरहेकी सेविताले सुनाइन् । उनले यसअघि ‘सिकरुम’को प्रोडक्सन सम्हालेकी थिइन् । उनलाई आफू मात्रै होइन, शिल्पीमा पवित्रादेखि संगीताले नेपथ्य सम्हालेको देख्दा निकै खुसी लाग्छ । ‘स्टेज मात्रै हैन, ब्याक स्टेज पनि उति नै जरुरी हो भनेर काम गर्दा प्रोजेक्ट राम्रो हुन्छ,’ सेविता सुनाउँछिन् । 

टिक्न चाहिन्छ धैर्य

पशुपतिको २१ वर्षे रंगयात्रा धेरैका लागि सहज सुनिएला । तर यो यात्रामा पशुपतिले थुप्रै अप्ठ्यारा र चुनौतीहरू भोगेकी छन् । महिला भएकै कारण आफूहरूलाई नपत्याइदिने त वर्तमान समस्या पनि हो । तर, पितृसत्तात्मक समाजले अझै पनि महिलाहरूले आफूलाई प्रमाणित गरिरहनुपर्ने अवस्थामा राखेको पशुपति सुनाउँछिन् । ‘अझै पनि हामीलाई सुनिँदैन । अझै पनि हामीलाई नदेखेंझैं गरिदिन्छन् । कम आँक्छन् ।

अहिले पुरुषहरू जसरी खटेर काम गर्दै आउनुभएको छ । हामी पनि त्यसरी नै काम गर्दै आएका छौं । होला, हामी महिला थोरै भएर हाम्रा सम्बन्ध, अवसर कम होला । तर, क्षमतामा हामी उनीहरूभन्दा कम छैनौं,’ पशुपति सुनाउँछिन्, ‘तर, महिला भएकै कारण हामीलाई अझै हामीलाई विश्वास गरिदिँदैनन् । पत्याइदिँदैनन् । भालेहरूको बथानमा हामीले सधैं आफूलाई प्रमाणित गरिरहनुपर्छ । त्यसैले त्यो साहस, धैर्य हुनुपर्छ ।

‘आकांक्षा यो क्षेत्रमा महिलाको सहभागिता बढाउन, नीतिगत रूपमै महिलालाई सुरक्षा दिने किसिमको योजना बन्नुपर्ने आवश्यकता देख्छिन् । बिहेपछि महिला यो क्षेत्रबाट टाढिँदै गएको हुनाले वैवाहिक संस्थाप्रति नै विचार गरिनुपर्ने धारणा राख्छिन् । ‘बिहे नै गर्नु हुँदैन भन्ने होइन । तर, यो समाजले महिलालाई हेर्ने दृष्टिकोण नै परिवर्तन हुनुपर्छ । थिएटरमा प्यासन छ भने त्यस्ता व्यक्तिहरू टिक्छ । अर्को त वैवाहिक संस्थामाथि नै एकदमै प्रश्न गर्नुपर्नेछ,’ उनले भनिन् । 

उनले पनि पशुपतिकै कुरामा समर्थन जनाइन् । ‘जति पटक काम गरे पनि आफूलाई प्रमाणित गरिरहनुपर्छ । मैले सिकरुम बनाएँ, त्यो हिट भयो । तर त्यो मैले गर्दा हिट भएको होइन, अरू कुनै कारण हो के । यदि त्यही ठाउँमा कुनै पुरुष भइदिएको भए उसले गर्दा त्यो नाटक हिट भएको हुन्छ,’ आकांक्षाले भनिन्, ‘हामीलाई त स्वीकारिँदैन । कोही महिला पहिलोचोटि निर्देशनमा छ भने उसको पछाडि पुरुष होला भन्ने ठानिदिन्छन् ।’ 

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully