सुनील पोखरेल : एक स्वप्नभंग रंगनायक

'गुरुकुल' बानेश्वर डाँडोबाट विस्थापित भएपछि एक रंगनायक आजसम्मै 'स्वप्नभंग'को पीडामा छटपाइरहेछन्।

माघ ३, २०८२

रमण घिमिरे

Sunil Pokharel: A dream-broken actor

What you should know

देश सन्धिकालमा थियो । जनमतसंग्रहको घोषणाले नेपाली राजनीति अपूर्व कोल्टे फेर्ने मोडमा उभिएको थियो । सिर्जना र प्रस्तुतिका समग्र विधाहरू यस परिवर्तनसँग एकाकार भएर होस्टेमा हैंसे गर्न तँछाडमछाड गरिरहेका थिए । उनले राजधानीलाई चिन्दा यहाँ नाटकको बाढी मडारिन थालिसकेको थियो ।

काठमाडौंका राष्ट्रिय सभागृह, प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय नाचघर र महेन्द्र पुलिस क्लब– सर्वत्र नाटक–मञ्चनको भेल उर्लेको थियो । समग्र नेपाल एउटा परिवर्तनको सँघारमा उभिएको थियो । कुरो वि.सं. २०३६, फागुनको हो । सुनील पोखरेल भन्ने एउटा लिखुरे ठिटोले त्यही समयको मान्द्रामा चिप्लिँदै आफ्ना अग्रज रंगकर्मी बद्री अधिकारीका पछि लागेर विराटनगरबाट फड्को हान्दै यस भव्य महानगरीमा पाइला टेकेका थिए । 

यही मेसोमा उनले प्रज्ञा प्रतिष्ठानका रंगमञ्च निर्देशक हरिहर शर्माको सहयोगमा प्रशिक्षार्थी रंगकर्मीको परीक्षा पास प्रशिक्षण लिए । त्यसपछि तीन वर्ष त्यहींकै नाटकशाखाको दैनिक ज्यालादारीको कलाकार भएर रंगमञ्चका बाह्रखरी छिचोले । 

‘नाटककै लागि जन्मेको मान्छे हो यो ।’ कवि–चित्रकार जीवन आचार्य पछिसम्म सुनीलका बारेमा भनिरहन्थे । कुरो मिथ्या थिएन । प्रज्ञा प्रतिष्ठानबाट रंगमञ्चका सैद्धान्तिक र व्यावहारिक ज्ञान–अनुभवहरू बटुलेपछि उनी स्वतन्त्र पक्षीझैं उड्न चाहे । उनी रंगमञ्चमा पनि स्वतन्त्रताको खोजीमा थिए र प्रज्ञाको पिँजडारूपी रंगमञ्चभन्दा बाहिरको खुला आकाशमा उड्न चाहन्थे ।

उनले त्यस उडानका लागि अशेष मल्लको रंगाकाश पाए । त्यसताका शैलेश आचार्य विराटनगरबाट प्रज्ञाको नाटक महोत्सवमा भाग दिन नाटक– ‘शिशिरका पतझर’ लिएर काठमाडौं आएका थिए । महोत्सव सिद्धिएपछि शैलेशले सुनीललाई अशेष मल्लको ‘सर्वनाम’ नाट्यसमूहमा गराइदिए । त्यसपछि उनले खेलेको पहिलो नाटक थियो– ‘इत्यादि प्रश्नहरू’ । त्यही नाटकमार्फत उनी अशेष मल्लको समूहसँग नै आबद्ध हुन पुगे । 

अशेष त्यस बेला रंगमञ्चीय गतिविधिहरूको उकालीमा थिए । नवीन र समसामयिक सोचपूर्ण प्रयोगात्मक नाटक प्रस्तुतिका कारण अशेषको सर्वत्र प्रशंसा भइरहेको थियो । 

सुनीलले त्यहाँ सिकेका नाट्यकलाका हरेक अनुभव, ज्ञान र सीपहरूलाई सर्वनाममा प्रयोग गर्न पाए । उनले ‘इत्यादि–प्रश्नहरू’, ‘हामी वसन्त खोजिरहेछौं’ (सडकनाटक) ‘सडकदेखि सडकसम्म’, ‘नाटकहरूको नाटक’ लगायत अशेषका महत्त्वाकांक्षी नाटकहरूमा अभिनय गरे । 

सुनील सदैव उड्न चाहन्थे, बतासिन होइन । उनी यही अभीष्ट बोकेर सर्वनाम छिरेका थिए तर बिस्तारै यो पनि उनलाई साँघुरोजस्तो लाग्न थाल्यो । सायद उनले त्यहाँ फैलिन फराकिलो ठाउँ देखेनन् कि ! विराटनगरदेखिको रंगमञ्च यात्रामा जोडिएका बद्री अधिकारी र उनी दुवै सर्वनाममा थिए र दुवै अब्बल प्रतिभाशाली थिए । युवा थिए उनीहरूमा जोस थियो, महत्त्वाकांक्षा थिए, सपना थिए । त्यसैले स्वतन्त्र आकाशमा आफ्ना अधुरा सपनाहरू खोज्न सर्वनामको गुँडबाट पनि छुट्टिए र ‘आरोहण’ को रंगमञ्च वृक्षमा आफ्नै गुँड बनाउन आइपुगे । 

तर यो यात्रा उनीहरूले सोचेजस्तो सजिलो थिएन । उनीहरूले जीविकाको सिला खोज्न रंगमञ्चलाई माध्यम बनाएर आरोहण खोलेको केही वर्षपछि नै दुर्भाग्यको सीमान्त खोंचमा फसे । ०४० सालको कुरा हो । आरोहणले एउटा तर्साउने (हरहर) शैलीको नाटक गर्न कम्मर कस्यो । त्यो नाटक थियो– ‘एउटा युद्ध अँध्यारोसँग’ । फिल्मजत्तिकै खर्च गरेर दुईतले सेटिङ लगाइएको थियो । अरू खर्च त कति कति ? अनुमानभन्दा बाहिरको हुन पुग्यो ।

त्यो नाटक राष्ट्रिय सभागृहमा एघार दिनसम्म मञ्चन गरियो तर एक कन्चोदाम आम्दानी भएन । उल्टै त्यस बेलाको पचास हजारको चुना लगाइदियो । नाटक सकिएको भोलिपल्टदेखि सेटिङ, माइक, प्रकाश, ब्यानरको भुक्तानी माग्न आउने मानिसहरूको धुइरो लाग्न थाल्यो । यस लेखकसँग सुनीलले त्यस नाटकका बारेमा भनेका थिए– ‘त्यस बेला हाम्रो बिचल्ली नै भएको थियो । हामी पैसा तिर्न नसकेर भागाभाग गर्दै डेरा सरेर भूमिगतजस्तै हुन बाध्य भएका थियौं ।’

वास्तवमा सुनीलको जीवनकै सबैभन्दा प्रतिकूल घडी थियो त्यो । लड्दै, उठ्दै, हिँड्दै– फेरि लड्दै, उठ्दै, हिँड्दै । उनको त्यस बेलाको रंगमञ्चीय संरचना यसरी निर्माण भइरहेको थियो । उनको धरातलमुनि अस्तित्व टेकाउने माटो पनि थिएन र सपनाहरू फिँजाउने आकाश पनि थिएन । त्यो समय बढो सकसपूर्ण दिनचर्यामा घस्रिरहेको थियो । पहाडजस्ता कहालीलाग्दा थिए दिनहरू । असफलताहरू लाम लागेर उभिएको बोध हुन्थ्यो । 

तर परिस्थिति जति नै कष्टसाध्य भए पनि धेरै काल रहिरहँदैन । सुनीलले यही सकसपूर्ण समयसँग लाप्पा खेल्दै एक दिन रंगमञ्च शिक्षामा भारतकै प्रसिद्ध ‘राष्ट्रिय नाट्य विद्यालय’ (एनएसडी) दिल्लीमा सन् १९८४–१९८७ बीच रंगमञ्चको सम्पूर्ण शिक्षा लिने अवसर पाए । शिक्षा पूरा गरेर नेपाल फर्के तर यहाँको रंगमञ्चमा खासै परिवर्तन भएको थिएन । तर सुनील त पूरै परिवर्तित भइसकेका थिए । अब उनी ‘र यसकारण रिसाउँछ कुमार’ गर्दाका सुनील पनि थिएनन् । प्रतिष्ठित नाट्य विद्यालयबाट ‘गोल्डमेडल’ थापेर आएका प्रथम नेपाली रंगकर्मी थिए । हात बाँधेर बस्दा सबैका औंला उनीतिर तेर्सिने सम्भावना थियो र रंगमञ्चमा पनि सामान्य पाराले फर्किनु इज्जत गुमाउने कुरा थियो । त्यसैले पनि उनी छटपटाइरहेका थिए । 

सौभाग्यले यसै बेला उनले सांस्कृतिक संस्थानबाट सेक्सपियरको प्रसिद्ध नाटक ‘ह्यामलेट’ को निर्देशन गर्ने सुखद संयोग प्राप्त भयो । एक अपराह्न नाचघरमा नाटकको ‘रिहर्सल’ गरिरहेका बेला एकजना विदेशी पुरुष र एकजना नेपाली महिला हलभित्र छिरे । धेरै बेरसम्म रिहर्सल हेरिसकेपछि सायद प्रभावित भएर होला महिलाले सुनीललाई सोधिन्– ‘यसको निर्देशक तपाईं नै हो त ?’ उनले हो भने तर तिनले विश्वास नलागेर तीनपल्ट यही प्रश्न सोधिन् ।

सुनीलले भनेका थिए– ‘म त्यति बेला साह्रै फुच्चे थिएँ । यस फुच्चेले ‘ह्यामलेट’ के गर्ला भनेर नपत्याएर उहाँले यसरी एउटै प्रश्न तीन–तीन पटक सोध्नुभएको रहेछ ।’ ती महिला थिइन्, तत्कालीन फ्रन्सेली सांस्कृतिक केन्द्र, बागबजारकी सहनिर्देशक कल्पना घिमिरे र विदेशी थिए, त्यसका निर्देशक झँ रोम्निसियानो । अनि सुनीलको काम देखेर त्यस केन्द्रले प्रसिद्ध फ्रान्सेली नाटककार मोलियरको नेपाली रूपान्तरण ‘स्काँपाको दाउपेच’ मा निर्देशन गर्ने अभिभार सुम्पिए । यस नाटकले नाचघरमा महिनौंसम्म प्रदर्शन भएर कीर्तिमानका साथ व्यावसायिकताको एउटा इतिहास नै स्थापित गर्‍यो ।

‘स्काँपाको दाउपेच’ ले उनमा फेरि नयाँ ऊर्जा थपेको थियो र रंगकर्म गर्नका लागि फेरि एकपल्ट उठेर दौडने साहस दिएको थियो । त्यसपछि उनले फ्रान्सेली सांस्कृतिक केन्द्रसँग मिलेर ‘आरोहण शनिबार’ को रूपरेखा कोरे । यसका मुख्य कल्पनाकार थिए– कलाकार, कवि, पत्रकार जीवन आचार्य । आरोहण शनिबारले एक वर्षको समयमा रंगमञ्चलाई धेरै उकास्यो र लोकप्रिय पनि बनायो । राजधानीको बौद्धिक जमातलाई नेपाली रंगमञ्चीय शैलीसँग अनुभूित गरायो । आरोहणले यस यात्रालाई एक सय किलोमिटर प्रतिघण्टाको गतिमा दौडायो ।

यही बेला उनले निर्देशन गरेका हुन्, अलबर्ट क्यामुको ‘असम्बन्धित’, अलेकज्यान्डर भ्याम्पिलोभको ‘जेठो छोरो’, मोहन राकेशको ‘आषाढको एक दिन’ र विजय तेन्दलकरको ‘गिद्ध’ । तर ‘आरोहण शनिबार’बाट जति नै प्रशंसा पाए पनि यसले पनि जीविका दिएन । र, यो यात्रा पनि एउटा मोडमा पुगेर टायर पन्चर भएर दुर्घटित बसको नियतिजस्तो हुन पुग्यो । फेरि सपना भताभुङ्ग भयो । स्वाभाविक थियो, त्यसपछि अधिकांश सहयात्रीहरू परम्परागत जीविकाको खोजीमा तितरबितर भए । आरोहणरूपी बस र यसलाई हाँक्ने चालक सुनील र सहचालिका निशा शर्मा पोखरेल मात्र फेरि गन्तव्यहीन चौबाटामा उभिन पुगे । 

उनले यसपछि बहिराहरूसँग पनि मिलेर नाटक गरे । सडक–बालबालिकाहरूलाई आश्रय दिन पनि नाटक गरे । देशका ४५ जिल्लामा सात सयभन्दा बढी पटक सडकनाटक गरे । तर उनी जति रंगमञ्चसँग नजिकिने कोसिस गर्थे, उनीबाट उपलब्धिहरू त्यति नै टाढाटाढा भाग्थे । 

जति कोसिस गर्दा पनि रंगमञ्चले उनलाई खुसी दिएन । उल्टै उनीमाथि विरक्ति र वितृष्णा मात्रै थपिरह्यो । अनि उनले आफ्ना केही अनुज पुस्ताले झैं अमेरिका पलायन हुने सुर कसे । जाने तयारीमा पनि लगभग झिटिगुन्डा नै कसिसकेका थिए तर रंगमञ्चले उनका अघि फेरि हरियो झन्डा हल्लायो । अनि परिस्थिति र संयोगले उनलाई बानेश्वरको डाँडो गुरुकुलको नायक बनाएर उभ्याइदियो । काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर केशव स्थापितले उनको ‘गुरुकुलीय’ अवधारणालाई आर्थिक रूपमा मलजल गरिदिए । यसरी वि.सं. २०६० मा सुनील पोखरेल निशा शर्मा पोखरेल र आफ्ना नौजना प्रशिक्षार्थीहरूको दलबलसहित फेरि एकपल्ट रंगमञ्चको अखडामा उत्रे । 

यस अवधिमा गुरुकुलले सुनीलको निर्देशनमा अभि सुवेदीका ‘आरुका फूलका सपना’, ‘अग्निको कथा’, ‘मायादेवीका सपना, हेनरिक इब्सनको ‘पुतलीको घर’ र इडिपस’, सीके लालको ‘सपनाको साविति’, ‘डा. कनक’, लगायत दर्जनौं नाटकहरूको मञ्चन गर्‍यो । उनलाई ‘पुतलीको घर’, ‘इडिपस’ आदि नाटकहरूमा निर्देशनसँगसँगै जीवन्त अभिनय पनि गरायो । यसै क्रममा उनले गुरुकुलको रंगटोलीद्वारा परिस्कार गरी तयार पारिएका ‘कर्णाणी दख्खिन बग्दो छ’, ‘सुइना कर्णालीका’, ‘कमलरी’, ‘बुख्याँचा’ आदि नाटकमा सशक्त निर्देशन गरी आफ्नो प्रतिभाको परिचय दिए । 

उनले डा. सञ्जीव उप्रेती र सञ्चारकर्मी दिलभूषण पाठकलाई पनि जीवन्त अभिनयका साथ गुरुकुलको नाट्यशालामा उतारे । यो नाटक थियो, डा. उप्रेतीको उपन्यास ‘घनचक्कर’ को नाट्य रूपान्तरण । सुनील यस्ता प्रतिभा हुन्, जसले गहकिलो कुनै कृतिलाई नाटकमा रूपान्तरण गर्ने क्षमता राख्छन् । एकताका भनाइ थियो, नारायणगोपालले अखबारको सम्पादकीय गाए पनि लोकप्रिय गीत बन्छ र सुनील पोखरेलले यस्ता अखबारका स्तम्भलाई रूपान्तरित गरे भने पनि सफल नाटक बनाइदिन सक्छन् । नारायणगोपालले त यो प्रमाणित गर्न भ्याएनन् तर सुनीलले शरच्चन्द्र वस्तीले कान्तिपुरमा लेखेको साप्ताहिक स्तम्भ ‘अर्को अर्थ लागेमा’ लाई नाटकमञ्चन गरेर मण्डला थिएटरमा प्रमाणित नै गरिदिए ।

 तर दुर्भाग्य फेरि पनि उनको स्वप्नभङ्ग भयो । जुन सपना बोकेर उनले बानेश्वरको डाँडोमा पाइला हालेका थिए, त्यो सपनामाथि पनि तुषारापात भयो २०६७ मा । हुन त त्यसपछि पनि उनले सेक्सपियरको ‘मिडसमर नाइट्स्– सपना’ मञ्चन गरे । रंगकर्मी जन्माउने ‘ज्ञ’ पाठशाला सञ्चालन गरे । आफ्नै शिष्य शंकर रिजालको निर्देशनमा विजय मल्लको नाटक ‘कोही किन बर्बाद होस्’ मा अभिनय गरे । अहिले भने उनी आफूलाई विश्राममा रहेको बताउँछन् । ‘शंखमूलमा मेरा विद्यार्थीहरूलाई पढाउँछु, बस यत्ति’, उनले भने, ‘रंगमञ्चीय गतिविधिमा भने यतिखेर म विश्राममा छु ।’

त्यसो त बानेश्वर डाँडोबाट विस्थापित गरिएपछि पनि उनले गुरुकुल ब्युँझाउन भगीरथ प्रयत्न गरे । रंगशाला निर्माण गर्न सरकारी पर्तीजग्गा भाडामा दिलाइदिन राज्यका अनेकौं तहतप्कासँग बारम्बार गुहार मागे तर राज्य सधैं स्वार्थमा चल्छ । राज्यको स्वार्थलाई देशमा गतिलो रंगमञ्च बनाउन ठाउँ हुँदैन, ऊ त कारिन्दाहरूलाई भाडा लगाएर खान पल्केको छ । अनि सुनीलको यात्रा अवरोध हुनु स्वाभाविक हो । दुर्भाग्य– ‘गुरुकुल’ बानेश्वर डाँडोबाट विस्थापित भएपछि एक महान् रंगनायक आजसम्म पनि ‘स्वप्नभंग’ को पीडामा छटपटाइरहेछन् ।

रमण घिमिरे

Link copied successfully