थिएटरमा साधना, ‘सिल्भरस्क्रिन’ मा चमक

थिएटर हुँदै ‘सिल्भरस्क्रिन’ पुग्ने यात्रा हिजो विश्व सिनेमामै अभ्यास हुँदै आएको हो, नेपालमा पनि धेरै कलाकारले थिएटरबाटै ठूला पर्दाको अभिनय थालेको इतिहास छ ।

माघ ३, २०८२

रीना मोक्तान

Sadhana in the theater, shine on the silver screen

काठमाडौँ — ‘थिएटर गरेका छौ ?’ फिल्ममा अभिनय गर्ने जोकोहीलाई सुरुमै सोधिने यही प्रश्नमै फिल्म र रंगमञ्चको बलियो साँठगाँठ देखिन्छ । पछिल्लो समय फिल्म गर्न अपरिहार्य बनिसक्यो, रंगमञ्च । रंगमञ्चका कलाकारले फिल्ममा बलियो उपस्थिति जनाउन थालेसँगै अहिले फिल्मकर्मीको पहिलो रोजाइ बन्दै आएको छ, रंगकर्म । 

फिल्मका अहिलेका चलेका अनुहार हेरौं, रंगमञ्चबाटै आएकाहरू छन् । उनीहरूले पर्दाको अभिनयमा आफूलाई अब्बल उभ्याएका छन् । तर, थिएटरदेखि ‘सिल्भरस्क्रिन’सम्मको यात्रा अहिलेको मात्रै होइन । थिएटर हुँदै ‘सिल्भरस्क्रिन’ पुग्ने यात्रा हिजो विश्व सिनेमामै अभ्यास हुँदै आयो । थुप्रै चर्चित कलाकारले रंगमञ्च हुँदै ठूलो पर्दाको अभिनय थाले । नेपालमै पनि सरोज खनाल, हरिहर शर्मा, बद्री अधिकारीदेखि टीका पहारीसम्मले थिएटरबाटै ठूला पर्दाको अभिनय थालेको इतिहास भेटिन्छ । बसुन्धरा भुसालदेखि मिथिला शर्माहरूले रंगमञ्चबाटै फिल्मलाई गन्तव्य बनाए । 

भूषण दाहाल निर्देशित ‘कागबेनी’बाट भने नेपालमा फिल्म र रंगमञ्चको गठजोड झनै बलियो बनेको अभिनेता विपिन कार्कीको विश्लेषण छ । ‘पहिला पनि थिएटर आर्टिस्ट फिल्ममा जानुभएको हो । तर, हाम्रो समय चाहिँ कागबेनीबाट सुरु भयोजस्तो लाग्छ,’ विपिनले भने । खासमा विपिन आफैंमा पनि फिल्मतर्फको झुकाव ‘कागबेनी’बाट सुरु भएको सुनाउँछन् । त्यसअघिसम्म नेपाली फिल्मले थिएटरलाई आकर्षित गरिसकेको थिएन । थिएटरको त्यतिबेलाको जल्दोबल्दो नाम सौगात मल्लले नै ‘कागबेनी’ गरिसकेपछि रंगकर्मीहरूमा एक हिसाबले फिल्मप्रतिको झुकाव बढेको विपिन सम्झन्छन् । 

लुटले बदलेको 'रुट’

‘कागबेनी’पछि ‘दासढुंगा’ बन्यो । मनोज पण्डित निर्देशित यो फिल्मले परम्परागत हिरोको मापदण्ड भत्काउँदै दयाहाङ राईलाई अभिनय गरायो । फिल्ममा अभिनयका गुरु अनुप बरालसमेतको अभिनय थियो । निश्चल बस्नेको ‘लुट’ले त्यसलाई अझ पूर्णता दिएको विपिन सुनाउँछन् ।

खासमा ‘लुट’भन्दा अघि थिएटरका कलाकारलाई लिएर फिल्म बन्दै नबनेका होइनन् । तर, बनेका फिल्महरूलाई फरक धारको उपमा दिइन्थ्यो । ती फिल्म मूलधारका कहलिँदैनथे । तर जसै लुट व्यावसायिक रूपले चल्यो, त्यसपछि फिल्मकर्मीले थिएटरका ती अनुहारलाई फिल्ममा पत्याइदिन थाले । उनीहरूले थिएटरका कलाकारलाई लिएर फिल्म गर्न थाले । 

अहिले थिएटरका कलाकार फिल्ममा अपरिहार्य बनेका छन् । ‘सौगात मल्ल, दयाहाङदेखि अनुप बरालले फिल्म गर्नुभएपछि नेपाली फिल्ममा हामी पनि आकर्षित हुँदै गयौं । लुटपछि थिएटरका ‘आर्टिस्ट मेनस्ट्रिम’ हो भन्ने भयो । अहिले ‘पूर्णबहादुरको सारंगी’सम्म आइपुग्दा त्यो कुरा प्रमाणित पनि भएको छ,’ विपिनले सुनाए, ‘अहिले हामीले गरेको फिल्म मूलधारे बनेको छ ।’ 

रंगकर्मीले पनि रंगमञ्चमाथि स्वामित्व जनाउन थालेपछि आफूहरूलाई मूलधारका रूपमा विश्वास गर्न थालेको रंगकर्मी सरिता गिरी सुनाउँछिन् । ‘अहिले मात्रै फिल्ममा पुगेका होइनन्, रंगकर्मीहरू । हाम्रा दिग्गज कलाकारले पनि थिएटर गर्नुभएको थियो । तर, त्यति बेला उहाँहरूले निर्धक्कले ‘म थिएटर’बाट आएको हुँ भन्न सक्नुभएन,’ सरिताले भनिन्, ‘हरिहर अधिकारी, सरोज खनाल, बद्री अधिकारीहरूले त्यो भन्न सक्नुहुन्थ्यो । त्यतिबेला थिएटरबाट केही नभएर फिल्म गर्न आए झैं व्यवहार भयो होला । समाजले थिएटरलाई राम्ररी लिन्थेन । अहिले त हामी गर्वले भन्छौं हामी थिएटर गर्छौं भनेर ।’ रंगमञ्चबाट आएका कलाकार अभिनीत फिल्म व्यावसायिक रूपमा सफल भएसँगै ती कलाकारलाई पनि अन्य फिल्ममा स्वीकारिन थालिएको कलाकार पशुपति राईको धारणा छ । 

‘फिल्मसँग व्यवसाय जोडिन्छ । ‘कबड्डी’ र ‘लुट’ ले व्यावसायिक सफलता पाए । फिल्मको कन्टेन्ट फरक हुनु, अभिनय बेग्लै हुनुले पनि सायद त्यति बेला रंगमञ्चको कलाकारलाई बजारले स्विकार्‍यो,’ पशुपति सुनाउँछिन्, ‘अहिले फिल्मलाई रंगमञ्चले धान्यो भन्छन्, त्यो सुन्दा खुसी लाग्छ ।’ 

अभिनेता विजय बराल ‘लुट’ बाटै थिएटरका कलाकारको फिल्मतर्फको बाटो मोडिएको सुनाउँछन् । त्यतिबेला यी फिल्मको स्वादले ‘लुट’ फरक धारमा गनियो । ‘कबड्डी’सम्म पनि यसलाई डकुमेन्ट्री फिल्म भनिएको विजयलाई सम्झना छ । त्यतिबेलासम्म पनि थिएटरका कलाकारले ‘लाउड एक्टिङ’ गर्छ भन्ने विश्वास थियो । तर, ‘लुट’ र ‘कबड्डी’ शैलीका फिल्मले बिस्तारै दर्शकको मनमा पनि रंगमञ्चका कलाकारको अभिनयको स्वाद पस्किदिएको विजयले जनाए । ‘कबड्डी’ देखि ‘जारी’ सम्म आइपुग्दा रंगमञ्चका कलाकारलाई स्वीकारिन थालियो । थिएटरका कलाकारले नै यस किसिमको चरित्र अभिनय गर्न सक्छन् भन्ने विश्वास पनि फैलियो,’ विजय सुनाउँछन् । अहिले रंगमञ्चका कलाकार चरित्र अभिनय गर्न सक्ने हुन्छन् भन्ने विश्वास फिल्मकर्मीमा भएको विजय सुनाउँछन् । उनी थप्छन्, ‘अहिले त तिमीहरू थिएटरको कलाकार भन्न पनि छाडे । बरु थिएटर चाहिँ गर्नैपर्छ भन्ने भइदियो । हामीलाई स्विकार्न समय लाग्यो ।’ 

किन फिल्म ?

विपिनले गुरुकुल बन्द भएसँगै फिल्ममा काम थालेका हुन् । गुरुकुल बन्द भएपछि अब अगाडिको बाटो के त ? विकल्प विपिनले भेटिरहेका थिएनन् । गुरुकुल बन्द भएपछि आफ्नो काम पनि देखाउन पाएनन् । जसै थिएटरका कलाकार फिल्ममा देखिन थाले, अभिनय गरेरै बाँच्नका लागि विपिनले पनि फिल्म नै रोजे । ‘गुरुकुल भत्कियो, अनि मैले लुटपछि फिल्मको विकल्प देखें,’ विपिनले भने । 

सरितालाई गुरुकुल हुञ्जेल कहिल्यै फिल्मप्रति रुचि भिएन । गुरुकुल बन्द भएपछि नै आफूले फिल्ममा अभिनय थालेको उनी सुनाउँछिन् । पशुपतिले पनि त्यही सोचले फिल्म थालेकी हुन् । थुप्रै दर्शकमा पुग्न र कलाकारिताको दायरा बढाउन आफूले फिल्ममा अभिनय थालेको बताउने पुशपति ‘सिल्भरस्क्रिन’सँग ठोकिन आर्थिक पक्ष पनि महत्त्वपूर्ण रहेको देख्छिन् । नाटकले सोचेको आर्थिक आम्दानी दिँदैन ।

फिल्म त्यो पाटोमा बलियो सावित हुँदै आएको छ । ‘बीचमा जब गुरुकुल बन्द भयो, त्यति बेला गरेको फिल्मबाट खर्च पनि पाएँ । आफ्नो काम देखाउन पाउने ठाउँ भयो सिल्भरस्क्रिन । अनुभव पनि हो । अर्को त आर्थिक पक्ष जोडियो । नाटकमा ३ महिना दिनैपर्छ,’ पशुपतिले सुनाइन्, ‘फिल्मको त्यही ब्याकअपले नाटक गर्न सजिलो बनाइदियो । सिल्भरस्क्रिनमा देखिनु एक्टरको स्वार्थ हो ।’ 

कमेडियन बन्छु, सिरियल खेल्छु भनेर काठमाडौं छिरेका विजयलाई मण्डलामा अभिनय गर्न थालेदेखि थियटरको रस पसेको हो । आफूभन्दा ठूला ‘दाइहरू’ले गरेको फिल्म पछ्याउँदै त्यहाँ अडिसन दिन पुग्थे उनी । ‘कबड्डी’पछाडि विजयलाई फिल्मले तान्यो, अथवा भनौं उनी तानिए । ‘थिएटरमा त राम्रै प्रभाव थियो । तर, जब दर्शकले यो कलाकारले नेचुरल एक्टिङ गर्छ भनेर चिन्न थाले फिल्मबाट । तब मलाई पनि फिल्मको अभिनयले तान्यो,’ विजयले थपे । 

फिल्मका कलाकार थिएटरमा 

अहिले थिएटरका कलाकार मात्रै होइन, फिल्मकै कलाकार पनि रंगमञ्चको अभिनयमा आकर्षित भएको देखिन्छ । सरिता भन्छिन्, ‘फिल्मकाहरू थिएटरमा आउन थाले, अनि थिएटरकाहरू सिल्भरस्क्रिनमा पुगे ।’ पछिल्लो समय फिल्मका कलाकारले समेत रंगमञ्चका गुरुहरूसँग अभिनय सिक्न थालेका छन् । अभिनेता प्रदीप खड्काले अनुप बरालसँग कक्षा लिए । कति कलाकारले अभिनयका गुरुहरूसँग वर्कसप गर्ने गर्छन् । 

लामो समय पर्दामा एकल राज गरेकी अभिनेत्री रेखा थापाले पनि रंगमञ्चमा हालै डेब्यु गरिन् । ‘मीरा’मार्फत रेखाले रंगमञ्चको यात्रा थालेकी हुन् । सुरक्षा पन्तले नाटक ‘क्लेशाः’ मा अभिनय गरिन् । अभिनेता राजेश हमाल स्वयंले ‘कोर्ट मार्शल’ गरे । केकी अधिकारीदेखि शिल्पा मास्के, मलिका महतसम्मले रंगमञ्चमा अभिनय गरे । फिल्ममा सक्रिय कति स्टारका लागि अहिले थिएटरको अभिनय नदेखिने दबाब बनेको देखिन्छ । फिल्मसम्म पुग्ने सजिलो खुड्किलोका रूपमा थिएटरलाई लिनेहरूको लर्को पनि बढेको छ । 

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully