कविता : सारा संसार हो रंगमञ्च एउटा

विलियम शेक्सपियरको नाटक ‘एज यू लाइक इट’ को पात्र ज्याक्सको एकालाप अंश :

माघ ४, २०८२

विलियम शेक्सपियर

Poem: The whole world is a stage
news-wrap-sec

सारा संसार हो रंगमञ्च एउटा नर र नारी हुन् पात्र केवल गर्छन् प्रस्थान र प्रवेश ती ।

हरेक मान्छे आफ्नो जीवनमा निर्वाह गर्छ 

सात भूमिका ।

पहिलो— नवजात शिशु 

च्याहाँ च्याहाँ रुँदो र उल्टी गर्दाे 

आमाको अँगालोमा ।

त्यसपछि— पिन्चे स्कुली केटो 

बिहानझैं चहकिलो अनुहार छ जसको 

झोला भिरेर जो 

अनिच्छापूर्वक 

शङ्खेकिरासरी घिस्रिन्छ स्कुलतिर । 

सम्बन्धित समाचार

news-wrap-sec

अनि— प्रेमी 

जो प्रेमिकाको आँखीभुइँमाथि रचिएको 

उदास गीत गुनगुनाउँदै 

सुस्केरा हाल्छ खलाँतीझैं । 

पश्चात्— सिपाही 

जो दाह्रीले देखिन्छ चितुवाझैं 

खान्छ उदेकलाग्दो कसम 

छ भोको मान–सम्मानको 

लड्न–भिड्न सदा तम्तयार 

खोज्ने गर्छ जो क्षणभङ्गुर ख्याति

तोपको सामुन्ने पर्दासमेत  ।

र, त्यसपछि— न्यायाधीश 

गतिलो भोजनले लागेको छ भुँडी उसको

पालेको छ भलाद्मी पाराको दाह्री 

नजर छ उसको तीक्ष्ण 

news-wrap-sec

पुरानो उखान हालेर, ताजा उदाहरण दिन 

जो छ पारङ्गत 

र, यसरी निर्वाह गर्छ उसले आफ्नो भूमिका । 

अब सुरु हुन्छ 

छैटौं भूमिका 

चप्पल पड्काउँदै हिँड्छ एउटा दुब्लो विदूषक 

नाकको डाँडीमा छ चस्मा

सानो झोला झुन्डिएको छ काँधमा 

जवान हुँदा लाउने गरेका मोजा 

अहिले त सुकेका पिँडुलामा ह्वार्लाङ ह्वार्लाङ हुन्छन् 

पुरुषोचित गह्रुँगो स्वर एक जमानाको 

news-wrap-sec

पुनः भएको छ बालसुलभ तिखो । 

अन्तिम दृश्य— 

हुन्छ अब पटाक्षेप 

यो विचित्र घटनापूर्ण इतिहासको 

सुरु हुन्छ मान्छेको 

दोस्रो बाल्यकाल 

स्मृतिबिनाको, दाँतबिनाको, आँखाबिनाको, स्वादबिनाको 

सबथोकबिनाको । 

(शेक्सपियरको नाटक ‘एज यू लाइक इट’ को पात्र ज्याक्सको यस एकालापलाई विनोदविक्रम केसीले अनुवाद गरेका हुन् ।)

विलियम शेक्सपियर

Link copied successfully