किन विदेशी नाटक ? हामी रंगकर्मीलाई यस्तो प्रश्न बारम्बार सोधिन्छ, तर त्यो जिज्ञासा कम, आरोप बढी हो।
What you should know
काठमाडौँ — नेपाली रंगमञ्चमाथि बारम्बार सोधिरहने एउटा प्रश्न हो, ‘किन (धेरै) विदेशी नाटक ?’
मैले आफ्नो नेतृत्व वा निर्देशनमा विदेशी नाटक मञ्चन नगरेको हुँला । तर पनि नेपाली रंगमञ्चको सदस्यका रूपमा यो प्रश्नको सामना मैले पनि कैयौं पटक गरेको छु । यो प्रश्न आफैंमा अस्वाभाविक होइन, तर आफैंमा निर्दोष पनि छैन । त्यसैले प्रश्नभित्रको आशय, त्यसले सिर्जना गर्ने अर्थ–राजनीतिले भने मलाई प्रतिप्रश्न गर्न मन लागिरहन्छ ।
किनकि हामीले धेरै पटक यही प्रश्न सुन्यौं, कतिपय अवस्थामा हामी आफैंले पनि यही प्रश्न सोध्यौं । तर यस प्रश्नको छायामा अझ गर्नैपर्ने अर्को प्रश्न भने ओझेल परेको हो कि भन्ने लागिरहन्छ । सोधिनुपर्ने प्रश्न त ‘किन (मौलिक) नेपाली नाटक ?’ हुनुपर्थ्यो कि !
‘किन विदेशी नाटक ?’ यस्तो प्रश्न बारम्बार सोधिँदा त्यो जिज्ञासा कम र आरोप बढी भएको पाएको छु । यसरी समग्रतामा आरोप खेपिरहँदा दमदार मानिएका विदेशी नाटक परख गरेर पनि नेपाली नाटक लेखन, निर्देशन र मञ्चनमा जुटिरहेकाहरूको मन कस्तो हुँदो हो । यो प्रश्नले ती मनमाथि अजरअन्दाज वा अन्याय पो गरिरहेको छ कि ?
विश्व रंगमञ्चकै अभ्यास हेर्ने हो भने सोफोक्लिज, एरिस्टोफेन्सदेखि शेक्सपियर, मोलियरसम्म, गोगोल, इब्सनदेखि, चेखव, ब्रेख्तसम्म, जेबी प्रिस्टिली, रेजिनाल्ड रोजदेखि जोन फोस, राजीव जोसेफसम्म लगायत लेखक आफ्नै भाषामा मात्र होइन, अनगन्ती भाषा र भूगोलमा पुनर्जन्म भइरहेकै छन् । नेपाली रंगमञ्च पनि यसबाट अलग रहनुपर्ने कुनै बाध्यता थिएन र छैन । त्यसैले ती नाटककारका नाटकसँगै विशेषतः भारतीय नाटककारका नाटकले नेपाली रंगमञ्चलाई रंगीन बनाएकै हो ।
विदेशी नाटकहरू नेपाली रंगमञ्चका लागि पाठशाला हुन् । नाट्य लेखन शिल्पका रूपमा बलियो नाट्य–संरचना ती नाटकका मुख्य विशेषता हुन् । तीबाट नाट्य संरचना, लेखन शिल्प–शैली सिक्ने, अभिनय र प्रस्तुतिको लय बुझ्ने र रंगमञ्चीय भाषा विकास गर्ने आधार बने । त्यस अर्थमा नेपाली रंगमञ्चमा विदेशी नाटकको अनुवाद, भावानुवाद, रूपान्तरण र मञ्चन कमजोरी होइन, यो एक हदसम्म आवश्यकता पो थियो कि ? समस्या पक्कै पनि अनुवादमा होइन, समस्या त अनुवादमै वा विदेशी लेखकले नाटकमै धेरै रमाइरहनु चाहिँ थियो कि ?
कला–साहित्यले लैंगिकताको विषय उठान गर्छ, तर कला–साहित्यको लिंग हुँदैन । यसले कालखण्ड र समय चेतको चर्चा गर्छ, तर यसको उमेर हुँदैन । यसले कुनै संस्कृति र परिवेशको चित्रण गर्छ, तर यसको भूगोल हुँदैन । त्यसैले नाटक आफैंमा विदेशी हुँदैन तर नाटककारले जोडेको विषय र सन्दर्भमा भूगोल जोडिन सक्छ । फरक भूगोलमा लेखिएको नाटकलाई नेपाली रंगमञ्चमा मञ्चन गर्नु समस्या होइन, समस्या प्रस्तुतिमा पनि हुन सक्छ । पाठलाई जस्तै नाट्य प्रस्तुतिलाई पनि अनुवाद र रूपान्तरण गरिएको पो थियो कि भन्ने प्रश्न चाहिँ जिज्ञासु हुन सक्छ ।
यससँगै विदेशी नाटक बहससँगै आएका कतिपय उत्तरमा पनि समस्या नभएका होइनन् । सामान्यतया धेरै विदेशी नाटक मञ्चन गरेका अग्रज वा विदेशी नाटक गरेको समयमा समकालीन रंगकर्मीले दिएका/दिने गरेका उत्तर एकैखाले हुने गरेका छन् । जुन उत्तर पनि ‘विदेशी नाटक किन ?’ प्रश्नमा जस्तै जवाफ कम आरोप बढी लाग्छ ।
विदेशी नाटक संरचनागत रूपमा र रंगमञ्चीय दृष्टिकोणबाट बलियो छ भनेर हामी विदेशी नाटकको जति पनि प्रशंसाले नाक फुलाउन पाउँछौं । त्यसो भन्दैमा नेपाली नाटकमा भएका र भइरहेका लेखनको अवमूल्यन गर्न पक्कै मिल्दैन । त्यसैले यी जवाफ जति सजिलो छ, त्यति नै अन्यायपूर्ण पनि ।
बालकृष्ण सम, गोपालप्रसाद रिमाल, गोविन्दबहादुर मल्ल ‘गोठाले’, विजय मल्ल, हृदयचन्द्रसिंह प्रधान, सत्यमोहन जोशी, ध्रुवचन्द्र गौतम, मोहनराज शर्मा, अशेष मल्ल, सरुभक्त, अभि सुवेदी, विजय विस्फोटलगायत थुप्रै लेखक, साहित्यकारद्वारा नेपाली नाटक लेखिए, लेखिँदै छन् । मञ्चन गरिए, मञ्चन हुँदै छन् । प्रभाव पारे र प्रभाव पारिरहेका पनि छन् । त्यसैले गोलमटोल रूपमा दिइएका ती उत्तरले यी लेखकप्रति अन्याय गर्न सक्छन् ।
हामीले के पाएनौं मात्रै होइन के पायौं भन्ने सकारात्मक पाटो याद गर्यौं भने त्यहाँ न्यानो र उज्यालो पनि उत्तिकै भेट्नेछौं । सँगै हामीले वर्तमान रंगमञ्चलाई हेर्दा यहाँ यदाकदा र निरन्तर आइरहेका नेपाली नाटकलाई नजरअन्दाज गर्नु जायज हुँदैन । अस्ति भर्खर ‘यदाकदा’ कविताको संगीतमय साँझ गरेका साहित्यकार कुमार नगरकोटी यदाकदा मात्र नाटक लेख्दैनन्, निरन्तर लेखिरहेका छन् । सञ्जीव उप्रेती, युग पाठक, राजन मुकारुङ, चन्द्रप्रसाद पाण्डे, गिलु रातोसले आख्यान, कविता, समालोचना लेख्दालेख्दै नाटक लेखेका हुन् ।
दयाहाङ राई, आशान्त शर्मा, घिमिरे युवराज, पुरु लम्साल, सुलक्षण भारती, राम केएसी, नाजिर हुसेन नियमित नाटक लेखिरहेका छन्, म आफैं पनि यस पंक्तिमा छु । त्यसलाई मञ्चमा पनि दृश्यको भाषामा थप लेखिरहेका छौं । वीरेन्द्र हमाल, पुष्कर गुरुङ, प्रवीण पुमा, राजन खतिवडा, विमल सुवेदी, नवराज बुढाथोकीहरूले मञ्चन नेपाली नाटक उल्लेखनीय छन् नै । ‘विदेशी नाटक ?’ प्रश्नको घेरामा धेरैजसो पर्ने अग्रज रंगकर्मी सुनील पोखरेल, अनुप बराल लगायतले निर्देशन, निर्माण गरेका नेपाली (मौलिक) नाटकको पनि नजरअन्दाज गरिनु हुँदैन ।
पछिल्लो वर्षलाई मात्र हेर्ने हो भने पनि मञ्चन भएका नाटकमध्ये प्रायः नेपाली नाटक मञ्चन भएका छन् । यो पछिल्लो वर्षमात्रै विभिन्न नाटकघर तथा नाट्य उत्सवमा रंगमञ्चलाई नाटकले रंगीन बनाएका निर्देशक प्रवीण खतिवडा, रामहरि ढकाल, पशुपति राई, दिया मास्के, बुद्धि तामाङ, उमेश तामाङ, सोमनाथ खनाल, सुदाम सिके, सिजन दाहाल, जेनी सुनुवार, कविता नेपाल, परिवर्तन, अनिल सुब्बालगायतले नेपाली नाटक मञ्चन गरेका छन् ।
पछिल्लो छिमलका संयोग गुरागाईं, प्रतीक्षा कट्टेल, संगीता थापा, वेदना राई, नवीनचन्द्र अर्याल, अनुप न्यौपाने, प्रतिशा अधिकारी, सुदीप खतिवडा, मुक्तिलगायतले नेपाली नाटक लेखनको भित्ता रंगाउने कर्म गरेका छन् । यद्यपि प्रायः लेखक स्वयंले निर्देशन गरेका छन् वा निर्देशक स्वयंले लेखेका हुन् ।
हामीले ‘किन नेपाली नाटक ?’ भनेर प्रश्न गरेनौं भने यी प्रयासमाथि अन्याय हुन्छ । तपाईं रंगप्रेमी वा रंगकर्मी हुनुहुन्छ भने नेपाली नाटक लेखन र निर्देशन गर्ने हँसिला थुप्रै ऊर्जाशील मुहार सम्झनुहुनेछ । यो नामहरूको लहरमा थुप्रै नाम थप्न सक्नुहुनेछ, जहाँ तपाईंको आफ्नै नाम पनि हुन सक्छ !
त्यसैले समस्या लेखनको अभाव मात्र होइन, विश्वासको हो । मौलिक नाटकलाई जोखिम ठान्ने, दर्शकलाई कम आँक्ने र प्रयोगलाई असफलतासँग लगेर जोड्ने मानसिकता हाम्रो रंगमञ्चमा नभएको होइन ।
नेपाली लेखकहरू नाटक लेखिरहेका छैनन् भन्ने बहसमा नाटक लेखन साहित्यका अरू विधाभन्दा फरक, प्राविधिक र जटिल भएकाले लेखकहरू त्यसतर्फ आकर्षित हुन नसकेका हुन् भन्ने पनि छ । नाटक वास्तवमै जटिल विधा हो । यहाँ भाषा मात्र लेखिँदैन, स्थान, समय, देह, मौन, संवाद र क्रिया–प्रतिक्रियाको संरचना लेखिन्छ । कविता वा कथाजस्तो लेखकको टेबलमै समाप्त हुने विधा होइन पनि यो होइन । लेखिसकेपछि पनि निर्देशक, कलाकार, मञ्च र दर्शक हुँदै पुनर्लिखित हुने गर्छ । यही ‘नियन्त्रण फुस्किने’ स्वभावले धेरै साहित्यकारलाई नाटकबाट टाढा राखेको हुन पनि सक्छ । तर लेखकले के आत्मसात् गर्न जरुरी छ भने नाटक निर्देशक अर्का लेखक हुन्, जसले परिकल्पना र निर्देशनमार्फत दृश्यमा नाटक लेख्छन् ।
जटिलता नै कारण हो भने काव्य, आख्यान कम जटिल विधा होइनन् । त्यसैले नाटक नलेखिनुको सम्पूर्ण दोष ‘जटिलता’माथि थोपर्नु पनि अपूरो हुन सक्छ । समस्या नाटकको जटिलतामा भन्दा बढी, त्यो जटिलतालाई सहज बनाउने प्रक्रियागत लगाव नहुनुमा छ । विश्व रंगमञ्चमा नाटक लेखन एक्लो प्रक्रिया होइन, कार्यशाला, मस्यौदा (ड्राफ्ट) पठन, सामूहिक पुनर्लेखन र आलोचनात्मक संवाद त्यसको प्रक्रियागत हिस्सा हुन् । हाम्रोमा भने नाटक लेखनलाई प्रायः अन्तिम उत्पादनका रूपमा हेरियो, प्रक्रिया होइन ।
नाटककार जर्ज बर्नार्ड शले ‘नाटक लेखन संवाद लेख्नु मात्र होइन, मानवीय द्वन्द्वको इन्जिनियरिङ हो’ भनेर सायद यिनै जटिलतालाई औंल्याएका हुन सक्छन् । यस अर्थमा नाटक लेख्नु दृश्य, कथानक, संवाद, समय, मौन र द्वन्द्वको गणित मिलाउँदै भावनालाई संरचनामा बाँध्नु हो । यही प्राविधिक चेतनाको मागले धेरै साहित्यकारलाई नाटक लेखनको जाँगर नजागेको हुन सक्छ । तर यही जटिलता नै नाटक र रंगमञ्चको सुन्दरता हो ।
जाँगर जगाउन बाध्यकारी नबनाउनुमा हामी रंगकर्मीको पनि उत्तिकै हात छ । एक पटक एक जना आदरणीय लेखक (जसका धेरै आख्यान निर्देशकले आफैं नाट्य रूपान्तरण गरेर रंगमञ्चमा मञ्चन भएका छन्), उहाँलाई उसैगरी नाटक लेखिदिन आग्रह गरेको थिएँ । उहाँको जवाफले मेरो दिमाग ‘आँ’ भयो । भन्नुभयो, ‘मेरो अर्को कथासङ्ग्रह आउँदै छ, त्यहाँका थुप्रै कथा नाटक बन्ने खालका छन्, त्यसैलाई रूपान्तरण गरेर नाटक बनाउनुस् न ।’ त्यो सम्झेर म अहिले पनि ‘आँ’ हुन्छु र अक्क न बक्क पर्छु । ओहो हामीले त रंगमञ्चको आवश्यकता र बाध्यतामा आख्यानलाई नाटक बनायौं, लेखकलाई त्यो सहजता भएछ । नाटक लेख्ने बानी नै बसाएनछौं ।
यहीं साहित्य र रंगमञ्चबीचको दूरी पनि प्रकट हुन्छ । साहित्यकारले नाटकलाई पर्याप्त गम्भीर विधा मानेनन् वा रंगमञ्चीय प्रस्तुति ‘दृश्य साहित्य’ हो भनेर स्विकारेनन् । यो जटिलता नै नाटक र रंगमञ्चको सुन्दरता हो भन्ने आत्मसात् गर्न कति लेखकले गहन रूपमा रंगमञ्चीय प्रस्तुति अवलोकन–अध्ययन गरेका छन् ? यता रंगमञ्च र रंगकर्मीले लेखकलाई पर्याप्त दीर्घकालीन सहयात्री बनाउने संरचना विकास गर्न सकेन । सँगै नाटकको विविध विधामा अभ्यास बढ्दै जाँदा पाठ (टेक्स्ट) लाई एउटा रंगमञ्चीय तत्त्वका रूपमा मात्र लिएर आवश्यक महत्त्व दिएनन् । यी दुवैको नतिजा नाटक लेखनले उल्लेख्य फड्को मार्न नसकेको सत्य हो ।
अबको समय समस्यासँगै कि सपना देख्नु हो, कि समाधान सोच्नु हो । यो प्रश्नहरू बदल्ने समय हो । प्रश्नहरूलाई अझै फराकिलो दृष्टिकोणले अँगाल्ने समय हो । ‘किन नेपाली (मौलिक) नाटक ?’ रंगकर्मी र लेखकहरूलाई जिम्मेवार बनाउने प्रश्न हुन सक्छ । अनि फेरि ‘मौलिक भनेको के, कस्तो ?’ भन्ने थप प्रश्नहरूको गाँठो फुकाउँदै जाऔंला । अन्ततः रंगमञ्च उत्तरले सुन्दर हुन्छ, प्रश्नले जीवित रहन्छ ।
