ओझेलमा रंगमञ्चको प्राविधिक पक्ष

नेपाली रंगमञ्चमा प्राविधिक जनशक्तिको अवस्था नाजुक छ । हामीसँग तालिम प्राप्त जनशक्तिहरू पर्याप्त पाइन्न । यसलाई पेसा वा भविष्य नै मानेर लाग्ने अवस्था विकास भइसकेको छैन ।

माघ ३, २०८२

इँगिहोपो कोँइच सुनुवार

The technical aspect of theater is overlooked.

What you should know

नेपाली रंगमञ्च कला र कलाकारको उर्वर भूमि हो । अझै पछिल्लो समय चलचित्रदेखि विज्ञापन र म्युजिक भिडियोलगायत कलाको क्षेत्रलाई नियाल्ने हो भने रंगमञ्चका कलाकारको वर्चस्वलाई नकार्न सकिन्न । काठमाडौंदेखि देशभरका रंगमञ्चहरूमा पनि नाटक हेर्ने दर्शकको उपस्थिति उल्लेख्य मात्रामा पाइन्छ ।

यसरी हेरिरहँदा अधिकांशले नाटक वा रंगमञ्चलाई कलाकारको माध्यमबाट मात्र बुझ्छन् । तर एउटा नाटक शक्तिशाली, अब्बल र जीवन्त रूपमा निर्माण हुनुका साथसाथै रंगमञ्च चलायमान हुनका लागि मञ्चका कलाकारहरू मात्र नभई नेपथ्यमा रहेका प्राविधिक जनशक्तिको कलात्मक क्षमताको पनि प्रमुख भूमिका हुन्छ । यसलाई माथिल्लो सरकारी निकायदेखि कलामै लागिरहेका कलाकारका साथसाथै दर्शकले पनि खासै मध्यनजर गरिएको भने पाइँदैन ।

नाटकको मञ्च परिकल्पना तथा निर्माण, प्रकाश परिकल्पना तथा परिचालन, वेशभूषा, संगीत तथा ध्वनि परिकल्पना, संयोजन तथा परिचालन, मञ्च सामग्री परिकल्पना तथा निर्माण, पोस्टर कला तथा ग्राफिक डिजाइन, रंगसज्जा, कोरियोग्राफी यी सबै नेपथ्यमा पर्छन् ।

नेपाली रंगमञ्चमा प्राविधिक जनशक्तिको अवस्था हेर्दा यहाँ कुनै पनि रंगमञ्चको प्राविधिक विषयमा विषयगत रूपमा औपचारिक पढाइ वा नियमित शैक्षिक कक्षाहरू पाइन्न । नेपालमा रंगमञ्चको प्राविधिक जनशक्ति साधारणतया ५ दिने वा ७ दिने सघन कार्यशालाहरू सञ्चालनबाट उत्पादन गरिएको पाइन्छ । किनभने नेपालमा रंगमञ्च र रंगमञ्चको प्राविधिक विषयलाई पेसा वा भविष्यका रूपमा हेरिन्न ।

साथै यसलाई पेसाका रूपमा लिएर जान संख्यात्मक हिसाबमा रंगमञ्चहरूको अभाव र अवस्था नै मुख्य आधार हुन् । रंगमञ्चको बारेमा कम जानकारी भएकै कारण पनि यसको प्राविधिक क्षेत्रलाई बुझेर, यसैलाई सिकेर भविष्य बनाउँछु भन्ने कोही पनि पाइँदैन । नेपालको रंगमञ्चमा अभिनयलाई आधार बनाएर आउने क्रममा काम गर्दै जाँदा प्राविधिक क्षेत्रलाई पनि बिस्तारै बुझ्दै जाँदा वा अभावको कारणले पनि यस क्षेत्रलाई अँगाल्नुपरेको अवस्था देखिन्छ । र, अझै पनि यसैलाई पेसा वा भविष्य बन्न सक्छ भनेर बुझेको देखिन्न ।

नेपालको रंगमञ्चमा प्राविधिक क्षेत्रको मुख्य समस्या यसको विषयमा औपचारिक रूपमा प्रशिक्षण तथा पढाइ नहुनु हो । हुन त अझै पनि प्राविधिक पक्षले कथालाई कसरी सार्थकता दिन्छ भन्ने कुराको महत्त्व र आवश्यकतालाई बुझ्न नसकेको कारणले यसलाई प्राथमिकतामा राखेर शैक्षिक विषयमा पढाइ भएको पाइन्न । साथै आर्थिक अभावका कारण पनि नेपालमा भएका अधिकांश रंगमञ्चहरूले आवश्यकताअनुसारका सामग्रीहरू खरिद गरेर प्रयोग गर्न सकेको पनि छैन ।

The technical aspect of theater is overlooked.

प्राविधिक क्षेत्रमा काम गर्ने व्यक्ति उपयुक्त र आवश्यक उपकरणहरू उपलब्ध भएमा मात्र उसले आफ्नो ज्ञानको दायरा पनि अगाडि बढाउन सकिन्छ । यस क्षेत्रमा काम गर्नुको आफ्नै आनन्द पनि छ । मञ्चमा कथाको लयसँग बग्दै प्राविधिक कुराहरूबाट कथा सुहाउँदो कुरा परिकल्पना गर्दै कलात्मक शैलीमा दर्शकसम्म पुर्‍याउनु त्यो जत्तिको आनन्द केही हुँदैन ।

नेपालमा सघन कार्यशालाहरू बेला–बेलामा आयोजना भइरहेको हुन्छ । यस्तो सघन कार्यशालाहरूका लागि अन्य विभिन्न देशहरूबाट यसै विषयमा डिग्री हासिल गरी लामो समयदेखि काम गरेका प्रशिक्षकहरूले पनि आफ्ना ज्ञानहरू दिएर जान्छन् । त्यो नभएको अवस्थामा नाटकहरूमा काम गर्दै जाँदा इच्छुकहरूले त्यसमा अनुभव भएका अग्रजहरूबाट काम गर्दै जाँदा उहाँहरूबाटै ज्ञान लिएर सिकेका छन् । साथै विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय महोत्सवमा सहभागी हुँदा त्यहाँको अन्तरक्रिया र नाटकहरूको परिकल्पनाहरूबाट हेरेर, सुनेर सिक्ने मौका पाइन्छ । तर पनि यसैमा रुचि राख्ने व्यक्तिलाई भने नियमित सिक्ने ठाउँ वा कक्षाहरू भने पाइन्न ।

नेपाली रंगमञ्च समूहगत संस्थाहरूको आफ्नो स्वतःस्फूर्त इच्छाशक्तिले सञ्चालन भएका कारण नाटकलाई जीवित राख्ने मुख्य आधार भएको छ । तर पनि रंगमञ्च आवश्यकताअनुरूप भरिपूर्ण भएर सञ्चालन हुने अवस्था भने एकदमै न्यून रहेको छ । सरकारी तवरबाट सञ्चालित भवनहरू जस्तै– नाचघर, प्रज्ञा प्रतिष्ठानजस्ता भवनहरू आवश्यकताअनुसारको प्राविधिक उपकरण ल्याएर सञ्चालन गर्नेभन्दा पनि व्यावसायिक हिसाबले आर्थिक आम्दानी हेरेर सञ्चालनमा ल्याएको कारणले पनि सम्भावना भएका ठाउँबाट सिक्नेभन्दा पनि निराश हुने अवस्था सिर्जना भएको पाइन्छ ।

यदि सरकारी निकायबाटै यो कुराहरू बुझेर अघि बढ्ने हो भने केही आशा भने राख्न सकिन्छ नत्र भने प्राविधिक उपकरणहरू सबै विदेशबाट ल्याउने हुँदा महँगो पर्ने भएर पनि समूहगत संस्थाहरूलाई असहज देखिन्छ । सरकारले समूहगत संस्थाहरूलाई साथ दिएर प्राविधिक उपकरण मगाउँदा राजस्व करहरू नलिएर सहयोग गरिदिँदा पनि केही राहत भने हुन सकिन्छ । यही सबै रंगमञ्चमा आवश्यक उपकरणहरू उपलब्ध हुने र नियमित कार्यहरूका साथै प्रशिक्षण भएमा भने यस क्षेत्रलाई पनि भविष्यमा पेसाका रूपमा लान सकिने कुरामा आशावादी हुन सकिन्छ ।

विदेशमा भने नेपालबाट प्राविधिक ज्ञानका लागि जाने जनशक्ति पनि खासै पाइन्न । रामहरि खनालले भने नर्वेमा गएर यसै विषयमा शैक्षिक ज्ञान हासिल गरी नेपालमा पनि समय–समय आई प्रशिक्षणहरू पनि दिने गर्नुहुन्छ । विगतभन्दा अहिलेको अवस्थामा रंगमञ्चमा प्राविधिक आवश्यकता र महत्त्वलाई बुझ्न थालेको पाइन्छ । प्राविधिक पक्षले नाटकलाई कतिसम्म जीवन्त बनाउँछ भन्ने कुरालाई महसुस गर्न थालिएको छ । तर यति मात्रको संख्याले भने पुग्दैन । रंगमञ्चलाई गहन रूपमा लिएर दिगो चाहने हो भने अझै पनि यो नगण्य रूपमा मान्न सकिन्छ । अधिकांशले यसलाई कलात्मक पक्षभन्दा पनि प्राविधिक पक्ष मात्र मानेर सहज रूपमा लिएको पाइन्छ । यो कलात्मक पक्ष हो भन्ने कुरा नै बुझाउन बाँकी छ ।

नेपाली रंगमञ्चमा प्राविधिक जनशक्तिको अवस्था नाजुक छ । हामीसँग तालिम प्राप्त जनशक्तिहरू पर्याप्त पाइन्न । यसलाई पेसा वा भविष्य नै मानेर लाग्ने अवस्था भने विकास भइसकेको छैन । समूहगत नाटकघरहरूले अनुभवी, ज्ञान प्राप्त प्राविधिक जनशक्तिलाई उपयुक्त तलब दिएर अनुबन्ध गर्ने क्षमता पाइन्न । केही नाटकघरहरूले प्राविधिक जनशक्ति राखेर अघि बढिरहेको पाइन्छ तर उनीहरूका लागि उपयुक्त तालिमहरूको व्यवस्था भई तालिम प्राप्त जनशक्ति सिर्जना गर्नुपर्ने आवश्यकता छ । यो सबैको तारतम्य नमिलेसम्म नेपाली रंगमञ्चमा तालिम प्राप्त जनशक्ति पाउन असहज नै हुनेछ । कतिपय प्राविधिक जनशक्तिहरू यसलाई भविष्य बनाउन नसक्दा लामो समय काम गरेर पनि अर्को क्षेत्र वा विदेश पलायन भएको उदाहरण पाइन्छ ।

हुम बीसी, सुरेश कार्की, राजकुमार पुडासैनी, बुद्धि तामाङ, देव न्यौपाने, सजन थापा, रामहरि खनाल, रामबाबु रेग्मी, सागर बीसी, उमेश तामाङ, मिलन नेपाली, रोहित पौडेल, सागर खाती, सञ्चिता, सुमित्रा पेहिम, सरिता, बिनिता लामा गुरुङ, सेविता अधिकारी, कृपा खड्की, झकेन बीसी, विजया कार्की, जीवन बराल, जेनी सुनुवार, उमेश चौधरी, मणि कुलुङ राई, अनुराग कोँइच, मिलन खड्का, बलबहादुर राई, प्रेम चन्द पाण्डे, क्षितिज पराजुली, सञ्जीव योगी, सिजन दाहाल, सुजन घिमिरे, याङसाङ मुकारुङ, शक्ति राई, सूर्यमान लिम्बू, मणि के राईलगायत सबैले नेपथ्यमा रहेर नाटकलाई सधैं जीवन्त बनाइरहेका छन् ।

The technical aspect of theater is overlooked.

पछिल्लो अवस्थामा रंगमञ्चको ज्ञानलाई अधिकांश बाहिर पनि प्रयोग गरिएको र गर्न सकिने देखिन्छ । प्रत्यक्ष रूपमा चलचित्र, विद्यालयको कार्यक्रम, विभिन्न महोत्सव, कार्यक्रम र क्लबहरूमा प्रयोग गर्न सकिन्छ । तालिम प्राप्त जनशक्ति हुने हो भने यी यस्ता क्षेत्रहरूमा गएर पनि सजिलै आफ्नो ज्ञानलाई प्रयोग गरेर भविष्य निर्धारण गर्न सकिन्छ । रंगमञ्च यी सबै कुराको आधार बन्न सकिने प्रबल सम्भावना भएको ठाउँ हो । यो ज्ञान प्राविधिक मात्र नभई कलात्मक ज्ञान भएका कारण सबैतिर एकअर्काको ज्ञानलाई आदानप्रदान गरी अझै प्रभावकारी कलाको सिर्जना गर्न सकिन्छ ।

रंगमञ्च र रंगमञ्चका प्राविधिक पक्षलाई बलियो र दिगो बनाउनका लागि सरकारी निकायदेखि जनतासम्म चेतना पुग्न जरुरी छ । सरकारी पक्षदेखि नै यसलाई विशेष महत्त्वका साथ दिएर जानु आवश्यक छ । साथै यस क्षेत्रमा लाग्ने कलाकार, निर्देशक, नाटकघर समूहहरूले पनि मञ्चमा उत्रिने कलाकार मात्र नभई नेपथ्यमा रहेर काम गर्ने हरेक पक्षहरू उत्तिकै आवश्यक र महत्त्वपूर्ण क्षेत्र हो र यसलाई हामीले मिलेर पेसागत रूपमा लान सकिन्छ भन्ने बुझ्न जरुरी छ । नेपथ्यको प्राविधिक पक्ष पनि कलात्मक सिर्जना हो भन्ने धारणा विकास भएमा यो पक्ष पनि भविष्यमा बलियो र दिगो हुनेमा आशावादी हुन सक्छौं ।

इँगिहोपो कोँइच सुनुवार सुनुवार कलाकार, निर्देशक तथा प्रकाश परिकल्पनाकार हुन्।

Link copied successfully