सेवा प्रवाहमा आईएसओ प्राप्त नगरपालिका तिलोत्तमा

सेवा प्रवाहको गुणस्तरले अन्तर्राष्ट्रिय मान्यता, वातावरण र सरसफाइमा देशकै उत्कृष्ट, स्थानीय सरकारप्रति नागरिकको साझेदारी र योगदानको कदर गर्दै नगरपालिकाले हरेक नागरिकको सेवा प्रवाहमा गुणस्तरलाई प्राथमिकतामा राखेको छ ।

पुस १९, २०८२

घनश्याम गौतम

Tilottama Municipality receives ISO certification for service delivery

What you should know

बुटवल — तिलोत्तमा नगरवासी भन्दा गर्व लाग्छ, तिलोत्तमा–३ जानकीनगरका दुर्गा शर्मालाई । किनकि एकातिर सेवा प्रवाहमा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरणको प्रमाणपत्र, अर्कोतर्फ देशकै उत्कृष्ट नगरपालिका ।

यी दुवै पहिचानका लागि नगरपालिकाको प्रयास र शर्माको योगदान दुवै जोडिएको छ । शर्मा जस्तै नगरपालिकाभित्रका ३५ हजारभन्दा बढी घरका घरमूली नगरपालिकाले अभियानका रूपमा ७ वर्षदेखि सञ्चालन गर्दै आएको वातावरणीय संरक्षणमा जोडिएका छन् ।

स्थानीय सरकारप्रति नागरिकको साझेदारी र योगदानको कदर गर्दै नगरपालिकाले हरेक नागरिकको सेवा प्रवाहमा गुणस्तरलाई प्राथमिकतामा राखेको छ । त्यसको प्रतिफलका रूपमा ‘अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र’ प्राप्त गरेको हो । अन्तर्राष्ट्रिय रूपमै असल स्थानीय सरकारको पहिचान स्थापित भएपछि विदेशी दाता नगरपालिका खोज्दै आउन थालेका छन् । त्यसले तिलोत्तमावासीको शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा सहयोग पुगेको छ । तिलोत्तमा नगरपालिकामा पछिल्लो तीन वर्षमा ५ वटा अन्तर्राष्ट्रिय दातृ निकायले पूर्वाधारको विकासदेखि शिक्षा, स्वास्थ्य र सामाजिक विकासका लागि आर्थिक सहयोग गरेका छन् । ‘तिलोत्तमालाई स्थानीय सरकारका रूपमा स्थापित गर्न हाम्रो साझेदारिता र नगरपालिकाका जनप्रतिनिधि एवं कर्मचारीको योगदान उत्तिकै छ,’ दुर्गा भन्छन् । 

बुटवलको योगीकुटीबाट भैरहवातर्फ अगाडि बढेपछि सुरु हुन्छ, तिलोत्तमा नगरपालिका । तिलोत्तमा सरसफाइ, फोहोरमैला व्यवस्थापन र वातावरण संरक्षणमा नेपालकै नमुना नगरपालिका हो । संघीय सरकारले गरेको स्थानीय तहहरूको मूल्यांकनमा तिलोत्तमा दुई पटक उत्कृष्ट भएको छ । नगरपालिकाको क्षेत्रभित्र पर्ने बुटवल–भैरहवा ६ लेन सडक पनि नेपालकै नमुना सडकका रूपमा परिचित छ । नगरपालिकाको हरियाली प्रवर्द्धन कार्यक्रमले ६ लेन सडक आकर्षक बनाएको छ । सडकको दायाँबायाँ ६ मिटरको दूरीमा एकनासे मझौला स्टोनिया जातका रुखको हरियाली, बीच डिभाइडरमा ढकमक्क फुलेका बेगनबेलीको सौन्दर्य । सिद्धार्थ राजमार्गअन्तर्गतको तिलोत्तमा सडकखण्डको १३ किलोमिटरमा ५ सयभन्दा बढी प्रजातिका विभिन्न फूलका बिरुवाले दिने सौन्दर्य र पोलमा राखिएका झिलिमिली बत्तीले अँध्यारोमा दिने उज्यालोले तिलोत्तमाको चमक बढाइरहेको छ । 

स्थानीय सरकारले प्रभावकारी काम गर्‍यो भने साना र लघुस्तरका भौतिक पूर्वाधार मात्रै होइन, नागरिकसँग प्रत्यक्ष जोडिएका शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा महसुस हुने गरी परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरण तिलोत्तमा नगरपालिकाले प्रस्तुत गरेको छ । ‘विकास भन्ने पूर्वाधार मात्र होइन,’ नगरप्रमुख रामकृष्ण खाण भन्छन्, ‘नागरिकको सामाजिक, आर्थिक, स्वास्थ्य र शिक्षाको विकास अर्को महत्त्वपूर्ण पाटो हो ।’ त्यस्ता असल अभ्यासका लागि तिलोत्तमा अवलोकनयोग्य सहर बनेको छ । 

सेवा प्रवाह र गुणस्तरका ५५ सूचक पूरा गर्दै नगरपालिकाले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ । नगरपालिकाले प्रवाह गरेका सेवाको स्तर विभिन्न चरणमा परीक्षण गरी गुणस्तरीय र नागरिकमैत्री रहेको पुष्टि गरेपछि २०७८ चैतमा युनाइटेड एप्लिकेसन फाउन्डेसन अमेरिकाले प्रमाणपत्र प्रदान गरेको थियो । त्यति बेला नगरप्रमुखका रूपमा बासुदेव घिमिरे थिए । घिमिरेले प्राप्त गरेको गुणस्तरीय सेवाको प्रमाणपत्रको निरन्तरता हरेक तीन वर्षको परीक्षणपछि अहिले पनि छ । 

Tilottama Municipality receives ISO certification for service delivery

अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण हुने तिलोत्तमा मुलुककै पहिलो पालिका हो । त्यसले नगरवासीका लागि विकाससँगै शिक्षा, स्वास्थ्य र आर्थिक समृद्धिको अभियानमा जोड्न सहयोग गरेको छ । सरसफाइमा गरेको नौलो अभ्यासका कारण रूपन्देहीको तिलोत्तमा अन्तर्राष्ट्रियस्तरमै परिचित छ । नगरपालिकाले अभियानकै रूपमा २०७६ सालदेखि नै ‘ग्रिन तिलोत्तमा ः क्लिन तिलोत्तमा’ अभियान चलाएको छ । यो अभियानअन्तर्गत नगरपालिकालाई प्लास्टिकमुक्त बनाउनेदेखि पूर्ण सरसफाइमा समुदायको महत्त्वपूर्ण योगदान छ । सरसफाइका लागि नगरपालिकाले हरेक महिना १ र १५ गते वडास्तरमा चक्रीय रूपमा सरसफाइ अभियान चलाउँछ । त्यसको १५३औं श्खृंला सकिएको छ । 

वडास्तरबाट विभिन्न टोल विकास संस्था र टोल सञ्जाल गठन गरेर हरेक महिनाको अन्तिम शनिबार टोलटोलमा सरसफाइ हुने गर्छ । टोल सरसफाइमा २ सय २ टोल विकास संस्थामार्फत ३५ हजारभन्दा बढी नागरिक एकसाथ परिचालित हुन्छन् । त्यसबाहेक छुट्टै टोल सञ्जाल र वडा सञ्जाल पनि क्रियाशील हुन्छन् । यो अभियान देशका ७ सय ५३ वटै पालिकामध्ये तिलोत्तमाको वातावरण संरक्षण तथा सरसफाइसम्बन्धी ‘असल अभ्यास’ का रूपमा स्थापित भएको छ । प्रतिटोल विकास संस्था वार्षिक २० हजारदेखि ७५ हजार रुपैयाँसम्म खर्च हुने गरेको नगरपालिकाको वातावरण शाखाका हरियाली प्रवर्द्धन अधिकृत गोरखनाथ खनालले बताए । ‘यसका लागि २० लाखदेखि ८० लाख रुपैयाँ हरेक वर्ष खर्च हुने गरेको छ,’ उनले भने, ‘चालु आर्थिक वर्षका लागि ८० लाख रुपैयाँ विनियोजन गरिएको छ ।’ 

सरसफाइ अभियानमा १ सय ३२ जना सरसफाइकर्मी नियमित खटिन्छन् । त्यसमा नगरपालिकाबाट ५३, वातावरण सुन्दर नेपाल प्रालिबाट ३५, वास सहकारी संस्थाबाट ३८ र उपभोक्तामार्फत ६ जना गरी १ सय ३२ जना नियमित रूपमा परिचालन भइरहेको वन वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख इन्जिनियर युवराज पन्थीले जनाए । २०७६ सालदेखि सुरु भएको कार्यक्रममा अहिलेसम्म ५ करोडभन्दा बढी खर्च भएको उनको भनाइ छ । ‘सरसफाइ अभियानअन्तर्गत हामीले अहिलेसम्म ८२ हजार बोरा प्लास्टिकजन्य फोहोरमैला संकलन गरेका छौं,’ पन्थीले भने, ‘सरसफाइकै लागि नगरका मुख्य सडक र चोकमा ३२ वटा सार्वजनिक शौचालय निर्माण भएका छन् ।’ नियमित फोहोर संकलनका लागि १५ ट्र्याक्टर र २ वटा टिपर परिचालन गरिएको उनले बताए । 

जनसहभागिता र वातावरणीय चेतनालाई केन्द्रीकृत गरेर सञ्चालन गरिएको हरियाली प्रवर्द्धन अभियानका कारण इन्टरनेसनल अब्जरभेटरी अन पार्टिसिपेसन डेमोक्रेसी संस्थाले आह्वान गरेको बेस्ट प्राक्टिस इन सिटिजन पार्टिसिपेसन अवार्डका लागि इकोलोजिकल ट्रान्जिसन एन्ड इन्भाइरोनमेन्ट समूहमा पनि नगरपालिका छानिएको थियो । सन् २०२५ को अवार्डका लागि आवेदन माग गरिएकामा विश्वका ३७ देशका स्थानीय र प्रदेश सरकार गरी १ सय ३७ मध्ये उत्कृष्ट ४० बीच तिलोत्तमा पनि फाइनल प्रतिस्पर्धामा पर्न सफल भई उत्कृष्ट मत संकलकको अवार्ड हात पारेको थियो । 

नगरपालिकाका हरेक सफल अभियानमा टोलविकास संस्थाहरूको भूमिका प्रमुख रहेको सगरमाथा टोल विकास संस्थाका अध्यक्ष ध्रुव पाण्डेयले बताए । ‘नगरपालिकाले निर्देशन गर्छ, हामी सहयोगीका रूपमा जोडिन्छौं,’ उनले भने, ‘हरेक टोलटोलमा सरसफाइ सचेतना बढेको छ, प्लास्टिकदेखि फोहोरजन्य सामग्री सामान्य नागरिकले पनि टिपेर सुरक्षित स्थानमा राख्ने बानीको विकास भएको छ ।’ तिलोत्तमावासी भएको पहिचान दिँदा नागरिकमै गर्वको अनुभूति हुन थालेको उनले बताए । हरियाली तिलोत्तमाको नारा सफल पार्न आफू प्रत्यक्ष सहभागी हुने गरेको तिलोत्तमा नगरपालिका–१४ की मालती थारूको भनाइ छ । ‘यो परिवर्तनकारी अभियानको प्रत्यक्ष साक्षी म पनि हो,’ उनले भनिन्, ‘पहिला सरसफाइ गर्ने काम नगरपालिकाको हो भन्ने लाग्यो, अहिले हाम्रै जिम्मेवारी रहेछ भन्ने महसुस भएपछि आफैं पनि सहभागी हुन्छु ।’ 

नगरपालिकाभित्र दैनिक झन्डै २० टन फोहोर संकलन हुने गरेको छ । नागरिकको सहभागिताले तिलोत्तमा सरसफाइमा विश्वमा चिनिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जनाए । वडा ८ मा वास सहकारी संस्थाले फोहोर संकलन तथा प्रशोधन केन्द्रमार्फत काम गरिरहेको उनको भनाइ छ । सहकारीले ‘हरित पुनरुत्थान प्रवर्द्धन परियोजना’ अन्तर्गत ११ वडाको फोहोर संकलन, प्रशोधन तथा बिक्री गर्दै आएको उनले बताए । ‘विभिन्न सात वटा मेसिन राखेर गरिएको पुनः प्रयोग हुने फोहोर प्रशोधनबाट नगरपालिकाले मासिक ४ लाख आम्दानी गरिरहेको छ,’ उनले भने, ‘फोहोर प्रशोधन केन्द्रमा मात्र ५२ जनाले रोजगारी पाएका छन् ।’ फोहोर प्रशोधन केन्द्र यूएनडीपीको सहयोगमा स्थापना भएको हो । 

तिलोत्तमा नगरपालिका रूपन्देहीको मध्यभागमा २४ दशमलव ८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । २०७१ सालमा स्थापित यो नगरको जनसंख्या १ लाख ५२ हजारभन्दा बढी छ । यहाँ देशकै बढी २ दशमलव २६ प्रतिशत वार्षिक जनसंख्या वृद्धिदर छ । नगरपालिकाले वातावरण संरक्षण, हरियाली प्रवर्द्धनका अभियानसँगै स्मार्ट सिटी, बालमैत्री नगरपालिका घोषणा, आधारभूत शिक्षामा आफ्नै पाठ्यक्रम, लगानी प्रवर्द्धनका लागि लगानी सम्मेलन, साना तथा मझौला औद्योगिक ग्राम, एक वडा एक उत्पादन, बीउ र दूध उत्पादनमा अनुदान, विदेशबाट फर्केकालाई अनिवार्य सीप र उद्यमी अभियान, सामुदायिक र सार्वजनिक वनभित्र कृषि र पर्यटनसँग सम्बन्धित गतिविधिलगायतका क्षेत्रमा पनि प्राथमिकताका साथ काम गरिरहेको छ । स्मार्ट सिटीका लागि आफ्नै अप्टिकल फाइबर राख्नेदेखि राजमार्ग क्षेत्रमा निःशुल्क वाइफाई सुविधा प्रदान गरिरहेको छ ।

परिवर्तनका संवाहक पालिका

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully