फोहोर व्यवस्थापनबाट आम्दानी गर्दै धनगढी उपमहानगर

उपमहानगरले ‘हाम्रो धनगढी, सफा धनगढी’ चलाएयता मुख्य सडक क्षेत्रमा फोहोर देखिनु अपवादजस्तै भएको छ । नागरिकका पनि घरघरबाट फोहोर संकलन गरिन्छ । फोहोर संकलन र व्यवस्थापनबाट वर्षमा करिब ८० लाख रुपैयाा आम्दानी हुन थालेको छ ।

पुस १९, २०८२

अर्जुन शाह

Dhangadhi Sub-metropolitan City is earning income from waste management

What you should know

धनगढी — कुनै बेला धनगढी बजारमा फोहोरको दुर्गन्धका कारण नाक छोपेर हिँड्नुपर्थ्यो । ‘हाम्रो धनगढी, सफा धनगढी’ अभियान चलेयता बजारका मुख्य सडक क्षेत्रमा फोहोर देखिनु लगभग अपवादजस्तै भएको छ ।

बिहान धनगढी बजार जागिनसक्दै मुख्य सडकछेउका फोहोर हटिसकेका हुन्छन् । फोहोर आम्दानीको स्रोतसमेत बन्दै गएको छ ।

धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष ०८०/८१ मा फोहोर संकलन र प्रशोधनबाट २५ लाख ५० हजार आम्दानी गरेको थियो । एक वर्षपछि ०८१/८२ मा ७२ लाख आम्दानी भयो । चालु आर्थिक वर्षमा फोहोर संकलनका लागि ७९ लाखमा निजी क्षेत्रलाई ठेक्का दिइएको छ । ठेक्का नन्दादेवी सेवा केन्द्रले लिएको हो । 

उपमहानगरको वातावरण, खानेपानी तथा सरसफाइ व्यवस्थापन शाखाका प्रमुख अशोक अवस्थी भन्छन्, ‘ठेक्का रकम हरेक वर्ष १० प्रतिशतका दरले बढ्दै जान्छ ।’ उनका अनुसार केन्द्रले फोहोर संकलन शुल्क, प्रशोधनबाट हुने आम्दानी र सरसफाइ ऐनअनुसार संकलन हुने जरिवाना रकम उठाउने गरेको छ । 

धनगढीमा फोहोर व्यवस्थापनको सुरुवात घरघरबाट हुन्छ । उपमहानगरपालिकासँग ठेक्का सम्झौता गरेको कम्पनीका प्रतिनिधिहरू हरेक साता धनगढीका १ देखि ८ र १३ नम्बर वडाका बासिन्दाको घरदैलोमै पुगेर फोहोर संकलन गर्छन् । कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र संकलन गरिन्छ । उपमहानगरका अनुसार सुरुसुरुमा केही कठिनाइ भए पनि हाल ९५ प्रतिशत बासिन्दाले फोहोर छुट्याएर राख्ने बानी बसालिसकेका छन् । तारानगरका कैलाश चन्द भन्छन्, ‘नगरपालिकाको गाडी हरेक साता घरमै आइपुग्छ । फोहोर छुट्याएर राख्ने बानी बसेको छ ।’

फोहोर संकलक कम्पनीले दिनमा करिब एक सय ५० जना परिचालन गर्छ । यसबाहेक उपमहानगरपालिकाका १० जना सरसफाइ सहजकर्ताले बजार क्षेत्रमा सडक, नाली, सामुदायिक चौपाया, अस्पताललगायत क्षेत्रको सरसफाइ व्यवस्थापन गर्छन् ।

उपमहानगर क्षेत्रमा दिनमा करिब ५६ टन फोहोर उत्पादन हुने तथ्यांक छ । बजार क्षेत्रका वडा १ देखि ८ र १३ नम्बर वडामा टोल–टोल र विद्यालय–विद्यालयमा सरसफाइ समिति गठन गरी सरसफाइ अभियानमा जनसहभागिता गराइएको छ । सुरुका दिनमा ५६ टन फोहोर आफैं संकलन गरेको उपमहानगरले ठेक्का प्रणालीमा गएपछि ४३ टन निजी साझेदारमार्फत र १३ टन आफैं संकलन गरिरहेको अवस्थीले जानकारी दिए ।

Dhangadhi Sub-metropolitan City is earning income from waste management

फोहोरको अधिकतम पुनः प्रयोग गर्ने उद्देश्यले धनगढी–२ सरस्वती टोलमा सूक्ष्म फोहोर वर्गीकरण केन्द्र र बायोग्यास प्लान्ट सञ्चालनमा ल्याइएको छ । यहाँ नकुहिने फोहोरलाई प्लास्टिक, फलाम, रबर, कागज र सिसाजन्य सामग्रीमा वर्गीकरण गरी बिक्री गरिन्छ ।

ठेक्का प्रणाली लागू भएपछि उपमहानगरपालिकालाई फोहोर व्यवस्थापनमा प्रत्यक्ष आर्थिक भारसमेत घटेको छ । १९ वडामध्ये नौ वडाबाट दिनमा २१ टन फोहोर वर्गीकरण केन्द्रमा पठाइन्छ । बाँकी १० वडामा व्यापारिक केन्द्रहरूमा डस्टबिन राखेर फोहोर संकलन गरिँदै आएको छ । उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र देव तालिम केन्द्रको साझेदारीमा सञ्चालन भइरहेको बायोग्यास प्लान्टमा दिनमा १८ टन कुहिने फोहोर खपत हुने गरेको उपमहानगरको भनाइ छ । ‘तरकारीका अवशेष, खानाजन्य फोहोर, सडेगलेका फलफूल, गोबर र कुखुराको सुलीबाट दिनमा ६० सिलिन्डर कम्प्रेस्ड नेचुरल ग्यास उत्पादन भइरहेको छ । दिनमा अढाई टन कम्पोस्ट मलसमेत उत्पादन हुन्छ,’ अवस्थीले भने ।

फोहोर व्यवस्थापनमा सघाउनेलाई सम्मान

धनगढीले फोहोर व्यवस्थापनको सबैभन्दा ठूलो आधार फोहोर संकलनभन्दा पनि फोहोर नफाल्ने बानी विकास गराउनुलाई मानेको छ । त्यसका लागि उपमहानगरले जनचेतना पहिलो खुड्किला मानेको हो । विद्यालयदेखि समुदायसम्म टोलटोलमा सरसफाइ समिति गठन गरिएका छन् । नगरभरि चार सयभन्दा बढी सरसफाइ समिति सक्रिय छन् । 

सरसफाइ उठाउनेभन्दा पनि आम नागरिकले फोहोर नगर्ने कुरा प्रमुख कार्य भएको उपमहानगरको बुझाइ छ । ‘नगरवासीले साथ दिएकाले धनगढीले सरसफाइमा सफलता प्राप्त गरेको हो,’ अवस्थी भन्छन्, ‘नगरवासी र बाहिरबाट आउनेहरूलाई फोहोर नफाल्न सचेत गराउने कार्यलाई प्राथमिकता दिएका छौं । त्यसका लागि हामी बजार क्षेत्रमा नियमित माइकिङलगायत प्रचारप्रसारका काम गर्दै आएका छौं ।’ 

सार्वजनिक स्थलमा फोहोर गर्नेलाई उपमहानगरले ऐनअनुसार जरिवाना तिराउँछ । अवस्थीका अनुसार गत वर्ष जरिवानाबापत साढे ६ लाख रुपैयाँ संकलन भएको थियो । ‘ऐनको व्यवस्थाअनुसार सार्वजनिक स्थलमा फोहोरमैला गरे ५ सयदेखि १५ हजारसम्म जरिवाना गर्ने गरिएको छ,’ उनले भने । 

अर्कातिर, उत्कृष्ट काम गर्ने सरसफाइ समिति, विद्यालय र इको क्लबलाई उपमहानगरपालिकाले आफ्नो स्थापना दिवस समारोहमा हरेक वर्ष पुरस्कृत गर्दै आएको छ । ०८०/८१ को स्थापना दिवसमा धनगढी उपमहानगर २ को आदर्श टोल सरसफाइ समितिलाई १० लाख नगद पुरस्कार प्रदान गरिएको थियो । यस्तै, वडा नम्बर १६ मा रहेको बेहडाबाबा मावि र वडा नम्बर ६ को राइजिङ स्टार इंग्लिस स्कुललाई पाँच–पाँच लाख रुपैयाँले पुरस्कृत गरिएको थियो । 

'जिरो वेस्ट’ तर्फको यात्रा

नगरप्रमुख गोपाल हमाल फोहोरको पुनः प्रयोग र पुनः प्रशोधनलाई व्यावसायिक मोडलमा लैजाने तयारीमा छन् । ‘प्रविधिमा आधारित फोहोर व्यवस्थापन प्रणालीमार्फत दिगो समाधान खोज्दै छौं,’ नगरप्रमुख हमाल भन्छन्, ‘प्लास्टिक निषेध, प्लास्टिक बोतल संकलन उपकरण, सार्वजनिक शौचालय स्तरोन्नति, सोलिड वेस्ट म्यानेजमेन्ट सिस्टम र दिसाजन्य लेदो व्यवस्थापनका लागि कानुनी संरचना निर्माण प्राथमिकतामा राखेका छौं ।’

Dhangadhi Sub-metropolitan City is earning income from waste management

नेपाल सरकारको क्षेत्रीय सहरी विकास कार्यक्रमअन्तर्गत धनगढी ७ पटेलामा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणाधीन छ । यही प्रयासका कारण धनगढी ‘जिरो वेस्ट नेटवर्क सिटी’ को संस्थापक सदस्यका रूपमा अन्तर्राष्ट्रिय सम्मानसमेत पाउन सफल भएको उपमहानगरले जनाएको छ ।

अरू पनि छन् राम्रा काम

स्वतन्त्र रूपमा उम्मेदवारी दिएर हमाल नगरप्रमुखमा निर्वाचित भएपछि राम्रा कामको फेहरिस्त लामै छ । धनगढी उपमहानगरपालिकाले ०७९ साउनदेखि महिनाको एक दिन हरेक वडामा विपन्न परिवारका लागि निःशुल्क विशेषज्ञ वडा क्लिनिक सञ्चालन गर्दै आएको छ । आर्थिक अवस्था कमजोर भएका परिवारको सदस्यको मृत्युमा अन्तिम संस्कारका लागि उपमहानगरबाट नगद सहायता दिने गरिन्छ । 

उपमहानगरको टोली घरघरमै पुगेर सर्पदंश रोकथामको अभियान चलाउँछ । वृक्षरोपण गरेर सडक क्षेत्रमा हरियाली बढाइएको छ । ‘सुदूरपश्चिमको मुख्य केन्द्र हो धनगढी,’ स्थानीय महेन्द्र साउद भन्छन्, ‘धनगढीले मुहार फेरेको छ, सुन्दर र आकर्षक बन्दै छ ।’ 

नगरप्रमुख हमाल धनगढीको विकास नै आफ्नो एकमात्र उद्देश्य रहेको बताउँछन् । ‘सरसफाइ अभियानमा पनि नगरवासीको उत्साहजनक सहभागिताले हामी सफल हुँदै छौं,’ उनी भन्छन्, ‘विकासका लागि नेतृत्वले नागरिकमा विश्वास र आशा जागृत गराउनुमा सफलता निर्भर हुन्छ ।’

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully