बिहान स्कुल आइपुगेपछि ज्येष्ठ नागरिकहरू पढाइका अलावा भजनकीर्तन, योगाभ्यासमा रमाउँछन्, स्कुलले उनीहरूका लागि स्वास्थ्य जाँच, थेरापी र विभिन्न शारीरिक अभ्यास गराउनुका साथै दैनिक विभिन्न मनोपरामर्श पनि दिने गरेको छ ।
What you should know
पाल्पा — पाल्पाको रामपुर नगरपालिका–६, दरैठाँटी विजयपुरकी राधादेवी आचार्य उमेरले ८२ वर्ष पुगिन् । उनमा अहिले पनि जोस, जाँगर भने उत्तिकै छ ।
बुधबार र बिहीबार बस चढेर ज्येष्ठ नागरिक स्कुल पुग्छिन् । ‘हाम्रा पालामा कहाँ विद्यालय थियो र ?’ उनले भनिन्, ‘भए पनि छोरीलाई कमै मात्र विद्यालय जान दिन्थे । बुढेसकालमै भए पनि धेरै कुरा सिक्दै आएकी छु ।’ यति बेला ज्येष्ठ नागरिक स्कुलमा पढ्न पाउँदा फरक खालको अनुभूति भएको उनी बताउँछिन् ।
रामपुर नगरपालिका–५ का ज्येष्ठ नागरिक गुरुप्रसाद रेग्मी पनि दैनिकजसो ज्येष्ठ नागरिक स्कुल पुग्छन् । बुढेसकालमा स्कुल गएर समय बिताउन पनि निकै सहज भएको उनको अनुभव छ । ‘हामीलाई कालीगण्डकी नदीको किनारमा आएर दिन बिताउन कुनै समस्या छैन,’ उनले भने, ‘यो नयाँ सोचले सबै ज्येष्ठ नागरिकलाई फाइदा पुगेको छ ।’
फरक सोचका साथ रामपुर नगरपालिकाले यही २४ मंसिरदेखि रामपुर नगरपालिका–५, रामघाटमा रामपुर ज्येष्ठ नागरिक स्कुल सञ्चालनमा ल्याएको हो । स्कुलको प्रमुख उद्देश्य अनुभव र ज्ञानको आदानप्रदान गर्नुका साथै ज्येष्ठ नागरिकलाई सम्मान गर्नु रहेको रामपुर नगर प्रमुख रमणबहादुर थापाले बताए । उनका अनुसार ज्येष्ठ नागरिक स्कुल सञ्चालनका लागि कार्यविधि बनेको छ । त्यही कार्यविधिअनुसार बजेट विनियोजन गरेर स्कुल सञ्चालन गरिएको हो । ‘कस्तो चलेको छ भनेर समय–समयमा स्कुलमा अनुगमनका लागि जाने गरेको छु,’ उनले भने, ‘सबैले नगरपालिकाको राम्रो सोच भनेर प्रतिक्रिया दिनुभएको छ । यसले मलाई पनि सन्तुष्टि दिलाएको छ ।’
ज्येष्ठ नागरिकहरू १० बजेपछि स्कुल आउन सुरु गर्छन् । टाढाका विद्यार्थीका लागि बसको व्यवस्थापन गरिएको छ । कतिपयले वृद्ध बाआमालाई आफैं स्कुलसम्म लाने, लैजाने गर्छन् । एउटा मात्र स्कुल बस भएकाले रुट भने फरक–फरक पारिएको छ । कालीगण्डकी करिडोर सडक छेउछाउबाट आउने बढी छन् । सोमबार र मंगलबार पूर्वतर्फ अर्थात् १ देखि ५ नम्बर वडामा बसोबास गर्नेलाई बसले ल्याउँछ । बुधबार र बिहीबार पश्चिमतर्फका ५ देखि १० वडासम्मका ज्येष्ठ नागरिक ल्याउने व्यवस्था गरिएको छ । शुक्रबार र शनिबार भने ४, ५, ६ र ७ वडाका नागरिकका लागि बस व्यवस्थापन गरिएको रामपुर ज्येष्ठ नागरिक स्कुल सञ्चालक समितिका सचिव सुरज गौतमले बताए ।
‘हामीलाई एउटा मात्र बसले नपुग्ने भइसकेको छ,’ उनले भने, ‘दैनिक आउन चाहना गर्नेहरू धेरै भइसक्नुभएको छ ।’ नगर प्रमुख थापासमक्ष एउटा बसले मात्र नपुग्ने जानकारी गराइसकेको उनले बताए । स्कुल आउन चाहने धेरै भइसकेका छन् । अहिलेसम्म ६ सय बढीलाई स्कुलको परिचयपत्र वितरण भइसकेको छ । ९ सय बढीले नाम लेखाइसकेको सञ्चालक समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मीले बताए । ‘हामीसँग अझै पनि पढ्नका लागि सम्पर्कमा आउने धेरै हुनुहुन्छ,’ उनले भने ।
बिहान ११ बजेसम्म स्कुल आइपुगेपछि ज्येष्ठ नागरिकहरू केही समय भजनकीर्तनमा रमाउने गर्छन् । ज्येष्ठ नागरिकलाई स्वास्थ्य जाँचका लागि एक जना नर्सको व्यवस्था गरिएको छ । पढाइका अलावा उनीहरू थेरापी गर्ने, मसाज चियरमा बस्ने, भाइब्रेटरले शरीरलाई ऊर्जाशील बनाउने, ढाड, कम्मरका लागि शारीरिक अभ्यास गर्छन् । स्कुलले दैनिक विभिन्न मनोपरामर्श पनि दिने गरेको छ । योगाभ्याससमेत हुने गर्छ । पण्डित प्रवीण आचार्य ज्येष्ठ नागरिक स्कुलमै बसेर विभिन्न योग, ध्यान, धार्मिक विषयमा प्रवचन दिने गर्छन् । दोस्रो साता चिकित्सकबाट स्वास्थ्य जाँच गरिन्छ ।
स्कुलसम्म आउनेलाई नगरपालिकाले दैनिक खाजाको समेत व्यवस्था गरेको छ । ‘घरमा यत्तिकै बस्नुभन्दा स्कुल आउँदा धेरै कुराको फाइदा भएको छ,’ रामपुर नगरपालिका–५ का ७३ वर्षीय चन्द्र ढकालले भने, ‘सकेसम्म दैनिक आउने योजना बनाएको छु । यहाँ आइसकेपछि धेरै ज्ञानगुनका कुरा सिक्न पाइने भएकाले पनि आउन मन लागेको छ ।’ नगरपालिकाको सहयोगमै सञ्चालित बसले बेलुकी सबै ज्येष्ठ नागरिकलाई पायक पर्ने स्थानसम्म पुर्याउने गर्छ । नजिकमा हुनेहरू पैदल हिँडेर पनि आउने गर्छन् ।
चालु आर्थिक वर्षमा स्कुलका लागि रामपुर नगरपालिकाले ३० लाख बजेट विनियोजन गरेको छ । यसबाट साउन्ड सिस्टमलगायत शारीरिक अभ्यासका लागि सामग्री खरिद गरिएको हो । सवा एक करोडमा निर्माण भएको स्कुलका लागि संघ, प्रदेश र स्थानीय तहदेखि स्थानीयले समेत सहयोग गरेका हुन् । ज्येष्ठ नागरिकलाई सम्मानसहितको सक्रिय जीवन निर्वाहसँगै संस्कार र संस्कृतिको संरक्षणमा स्कुलले सहयोग पुर्याएको ज्येष्ठ नागरिक रामपुरका अध्यक्ष कृष्णप्रसाद अर्यालले बताए ।
स्कुलमा विभिन्न चित्रकलाका साथै ढिकी, जाँतोहरू राखिएको छ । ‘अझ पुराना सामग्री राखेर सीप हस्तान्तरण केन्द्रका रूपमा समेत यसलाई विकास गर्ने लक्ष्य छ,’ अर्यालले भने, ‘पाकापुस्ताको अनुभव र ज्ञान नयाँ पुस्तासम्म पुर्याउने प्रमुख उद्देश्यका साथ यो स्कुल खोलिएको हो ।’ पाकापुस्तालाई आफ्ना दौंतरीसँग दिन बिताउने वातावरण पनि यो स्कुलले प्रदान गरेको अध्यक्ष अर्यालले बताए ।
पाकापुस्ताहरूले आफूले सिकेको सीप, संस्कार र संस्कृतिसँगै परम्परागत सीप अहिलेका पुस्तामा हस्तान्तरण गर्ने गरी रामपुर नगरपालिकाले स्कुल सञ्चालन गरेको वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले बताए । सञ्चालक समितिले बत्ती कात्न धागो किनिदिने, दुना–टपरीका लागि पातको व्यवस्थापन गर्ने योजना अघि बढाएको छ । ‘यहाँ फुर्सदको समयमा हातमा भएका सीपयुक्त काम गर्न लगाइनेछ,’ सञ्चालक समितिका अध्यक्ष रेग्मीले भने, ‘यसबापत ज्येष्ठ नागरिकलाई उचित पारिश्रमिकसमेत दिइनेछ ।’
ज्येष्ठ नागरिकले स्कुलमा बसेर उत्पादन गरेका सामग्री बिक्रीवितरणको जिम्मा नगरपालिकाले लिने उपप्रमुख बालकुमारी थापाले बताइन् । बेझाडमा रहेको उपप्रमुख कोसेली घरमार्फत ज्येष्ठ नागरिकले उत्पादन गरेको सामग्री बिक्री गरिनेछ । ज्येष्ठ नागरिकबाट परम्परागत सीप र संस्कार नयाँ पुस्तालाई जानकारी दिने योजनाअनुरूप हरेक महिनाको अन्तिम शनिबार विभिन्न विद्यालयका विद्यार्थीलाई ज्येष्ठ नागरिक स्कुल ल्याउने र पाकापुस्ताको अनुभव सुनाइने योजना रहेको उनले सुनाइन् ।
रामघाटमा झन्डै एक करोडको लागतमा स्कुलको भवन निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले बताए । स्कुल भवनसँगै परिसरमै आचार्य (पण्डित) निवास, ज्येष्ठ नागरिक केन्द्र, आवास भवन, व्यायामका सामग्री हल, भोजनालय भवनलगायतका संरचना निर्माण गरिएका छन् । ज्येष्ठ नागरिकलाई आवाससँगै दिवा खाजाका लागि चमेनागृह र स्वास्थ्य जाँचका लागि स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ । आगामी दिनमा कालीगण्डकीको रामघाटमा सन्ध्याकालीन आरतीको व्यवस्था पनि गरिएको रामपुर नगरका प्रवक्ता कपिलबहादुर खाँडले बताए । ‘दिवाकालीन समयमा हेरचाह केन्द्र सञ्चालन गरेको थाहा पाइएको हो,’ उनले भने, ‘तर यसरी पालिकाले नै सबै खर्च बेहोरेर ज्येष्ठ नागरिक स्कुल सञ्चालन गरेको यो पहिलो हो ।’ स्कुल सञ्चालनका लागि बुद्धिप्रकाश रेग्मीको अध्यक्षतामा ११ सदस्यीय सञ्चालन समिति गठन गरिएको छ ।
