अटिजम भएका विद्यार्थीका लागि विराटनगरमा निःशुल्क केन्द्र

विराटनगर महानगरपालिकाले स्थापना गरेको केन्द्र एउटा भौतिक संरचना मात्र होइन, वर्षौंदेखि अभिभावकले बोकेका पीडा, चिन्ता र आशाको साझा जवाफ हो ।

पुस १९, २०८२

पर्वत पोर्तेल

Free center in Biratnagar for students with autism

What you should know

विराटनगर — बिहानको ९ बज्नै लाग्दा विराटनगर–४, दूध फारम दक्षिणतर्फको शान्त गल्लीमा बालबालिकाको हाँसो मिसिएको हल्का कोलाहल सुनिन्छ ।

कोही ट्रेम्पोलिनमा उफ्रँदै आफ्नो ऊर्जा पोखिरहेको छन्, कोही रंगीन बल समाउँदै संसारलाई नयाँ ढंगले बुझ्ने अभ्यासमा छन् । 

बाहिरबाट हेर्दा साधारण देखिने यो भवनभित्र भने मौनतामा बाँचेका धेरै बालबालिकाको सपनाले आकार लिन थालेको छ । जहाँ सञ्चालनमा छ, ‘महानगर अटिजम सेवा केन्द्र’ ।

विराटनगर महानगरपालिकाले अटिजम भएका बालबालिकाका लागि निःशुल्क सेवा दिने उद्देश्यले स्थापना गरेको यो केन्द्र एउटा भौतिक संरचना मात्र होइन, वर्षौंदेखि अभिभावकले बोकेका पीडा, चिन्ता र आशाको साझा जवाफ हो । महानगरका मेयर नागेश कोइरालाले अघिल्लो वर्ष ७ कात्तिकमा उद्घाटन गरेको केन्द्रलाई करुणा फाउन्डेसनको प्राविधिक आडभरोसा छ । 

अटिजम भएका बालबालिकाको हेरचाह, उपचार र सिकाइलाई  संस्थागत रूपमा अगाडि बढाउन विराटनगर महानगरपालिकाले कार्यविधि नै बनाएर केन्द्र सञ्चालन गरेको छ । कार्यविधिले अटिजम भएका बालबालिकालाई ‘दया’ होइन, ‘अधिकार’ का रूपमा सेवा दिनुपर्ने स्पष्ट दृष्टिकोण अघि सारेको छ ।

महानगरले अघिल्लो आर्थिक वर्षमा अटिजम सेवा केन्द्रका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो रकममध्ये ३० लाख रुपैयाँको लागतमा केन्द्र सञ्चालनमा ल्याइएको स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीप यादव बताउँछन् । ‘यो सुरुवात हो,’ उनी भन्छन्, ‘छिट्टै नै केन्द्रका लागि छुट्टै भवन निर्माण गरेर दीर्घकालीन रूपमा सेवा विस्तार गर्ने योजनामा हामी छौं ।’ यस वर्ष करिब ७० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । 

केन्द्र बिहान ९ देखि दिउँसो ३ बजेसम्म सञ्चालन हुन्छ । तराईमा शीतलहर बढेसँगै एक घण्टाअगावै बिदा हुन थालेको छ । हाल १७ जना बालबालिकाले सेवा लिइरहेका छन् । महानगरको तथ्यांकअनुसार विराटनगर क्षेत्रमा मात्र अटिजम भएका बालबालिका ५१ जना छन् । बाँकी बालबालिकालाई पनि क्रमशः समेट्ने तयारीमा महानगर रहेको केन्द्रकी समन्वयकर्ता रश्मी निरौलाले जनाइन् । बालबलिकाको सम्पूर्ण खर्च महानगरले बेहोर्छ । ‘खानेदेखि नानीहरूलाई बस चढाएर ल्याउने सबै काम निःशुल्क हुन्छ,’ निरौलाले सुनाइन् । 

Free center in Biratnagar for students with autism

केन्द्रभित्रको वातावरण सामान्य विद्यालयभन्दा फरक छ । यहाँ करकाप होइन, सहजता छ । बालबालिकाको संवेदनशीलतालाई ध्यानमा राखेर ट्रेम्पोलिन, चिप्लेटी, चाकाचुली, पुल बल, रकिङ हर्स, घुम्ने पिङ, टेबल टेनिसजस्ता खेलौना राखिएका छन् । यी खेलौना मनोरञ्जनका साधन मात्र होइनन्, बालबालिकाको शारीरिक सन्तुलन, समन्वय, आत्मविश्वास र सामाजिक अन्तरक्रिया विकास गर्ने उपचारात्मक माध्यम हुन् ।

महानगर अटिजम सेवा केन्द्रले फिजियोथेरापी, स्पिच थेरापी (बोल्न सिकाउने), मनोचिकित्सक सेवा प्रदान गर्छ । तर, सेवा यतिमै सीमित छैन । केन्द्रमा भर्ना भएका बालबालिकालाई उपचारसँगै आधारभूत अध्ययन पनि गराइन्छ । डा. यादवका अनुसार हाम्रो लक्ष्य बालबालिकालाई यहाँ ‘थुन्ने’ होइन, यहाँ तयार पारेर समाजमा पठाउने हो । उपचारपछि उनीहरूलाई अन्य विद्यालयमा भर्ना गरिन्छ । यसरी केन्द्र बालबालिकाका लागि उपचार र औपचारिक शिक्षाबीचको सेतु बनेको छ ।

अटिजम भएका बालबालिकाको जीवनमा अभिभावकको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुने शिक्षिका अमिता दास बताउँछिन् । कार्यविधिले पनि अभिभावकलाई केन्द्रको सहयात्री मानेको छ । अभिभावकलाई तालिम दिइन्छ, घरमै कसरी हेरचाह गर्ने भन्ने सिकाइन्छ । केन्द्रमा आउने एक आमाको भनाइले केन्द्रको महत्त्व थप झल्काउँछ । ‘पहिले बच्चा बोल्दैन, बुझ्दैन भनेर समाजले दोष दिन्थ्यो । हामी आफैं दोषी ठान्थ्यौं । यहाँ आएपछि बुझ्यौं, समस्या बच्चामा होइन, हाम्रो बुझाइमा रहेछ ।’

कार्यविधिले केन्द्रलाई प्रारम्भमा ‘दिवा सेवा केन्द्र’ का रूपमा सञ्चालन गर्ने र दीर्घकालमा आवासीय सेवा केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ । अनुभव र सिकाइका आधारमा यसलाई ‘सेन्टर अफ एक्सिलेन्स’ बनाउने महत्त्वाकांक्षा पनि समेटिएको छ । यसको अर्थ, विराटनगरमा सुरु भएको यो अभ्यास भविष्यमा अन्य स्थानीय तहका लागि नमुना बन्न सक्छ । अटिजमका क्षेत्रमा काम गर्न चाहने संघ–संस्थाका लागि यो केन्द्र स्रोत केन्द्रका रूपमा पनि विकसित हुने अपेक्षा गरिएको छ ।

केन्द्रले बालबालिकाको जीवनमा मात्र परिवर्तन ल्याएको छैन, यसले समाजको दृष्टिकोण बदल्ने प्रयास पनि थालेको शिक्षिका दासको अनुभव छ । ‘अटिजमलाई लुकाउनुपर्ने ‘लाज’ होइन, बुझ्नुपर्ने अवस्था हो भन्ने सन्देश केन्द्रको हरेक गतिविधिमा देखिन्छ,’ उनले भनिन् । 

विराटनगर महानगरको यो पहलले देखाएको छ, स्थानीय सरकारले नीति, बजेट र संवेदनशीलता एकै ठाउँमा ल्याउन सके, मौनताभित्र पनि आवाज पैदा गर्न सकिन्छ । दूध फारम दक्षिणको त्यो सानो भवनभित्र आज शब्दहरू कम छन् तर सम्भावना असंख्य छन् । यहीँबाट सुरु हुँदै छ, अटिजम भएका बालबालिकाको नयाँ यात्रा, जहाँ उनीहरू ‘फरक’ होइनन्, ‘सम्भावनायुक्त’ छन् ।

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully