अकबरे खुर्सानी अहिले दोर्दीको अर्थतन्त्र मात्रै होइन, भविष्यप्रतिको भरोसा पनि बनेको छ ।
What you should know
दोर्दी (लमजुङ) — बाँदर–भालुले मकै र कोदो बाली खान थालेपछि दोर्दी गाउँपालिका–७, फलेनी नागीका कुमबहादुर तामाङ खेतीप्रति निराश भए । केही वर्ष त उनले खेती नै छाडे । बाँदर र भालुले नखाने बालीको खोजी गरे तर भेटेनन् ।
त्यही बेला ‘अकबरे खुर्सानी रोपे प्रतिरोपनी ५ हजार रुपैयाँ सहयोग गर्ने सूचना’ आयो– गाउँपालिकाबाट । त्यसपछि उनले अकबरे खेती गर्ने आँट गरे । बीउ कहाँबाट ल्याउने ? कसरी खेती गर्ने ? थाहै थिएन । तर, ‘गाउँपालिकाले सहयोग गर्ने’ भनेपछि उनले आफ्नै बाँझो र छिमेकीको समेत गरी १८ रोपनी जमिन तयार पारे ।
५० प्रतिशत अनुदानमा बीउ र मल्चिङ सामग्री पाएपछि उनले अकबरे रोपे । ‘यत्तिको चिसो ठाउँमा पनि अकबरे राम्रै फल्यो । तल बेंसीतिर झनै लटरम्मै फल्यो,’ तामाङ भन्छन्, ‘बाँदर र भालुले नखाने अकबरे फलेर काइदा भएको छ ।’ उनले हालसम्म ३५ क्विन्टल अकबरे बिक्री गरिसकेका छन् । अझै ३–४ क्विन्टल बारीमै छ । एउटा बोटमा कम्तीमा १ किलो फल्ने उनी बताउँछन् । जेन–जी आन्दोलनका कारण प्रतिकिलो १ सय ५० देखि २ सय रुपैयाँसम्ममा मात्रै बेच्नुपरेको थियो । गाउँपालिकाबाट ८५ हजार रुपैयाँ बराबरको अनुदान पाएका तामाङले कम्तीमा साढे ५ लाख रुपैयाँ आम्दानी भएको बताए ।
दोर्दी गाउँपालिका–२, अर्चलबोटेका रवीन्द्र अधिकारीले अकबरेबाट राम्रो आम्दानी गरे । उनी गाउँपालिकाबाट पुरस्कृत उत्कृष्ट किसानसमेत हुन् । १५ रोपनीमा ३९ क्विन्टल अकबरे फलाएर उनले प्रतिकिलो २ सयदेखि ४ सय रुपैयाँसम्ममा बिक्री गरे । करिब १२ लाख रुपैयाँ आम्दानी भएको उनको भनाइ छ । ‘एक जना व्यापारीसँग सहमति गरेर मैले अकबरे बिक्री गरें,’ उनी भन्छन्, ‘जेन–जी आन्दोलनपछि भाटभटेनी जल्यो, धेरैजसो त्यहींबाट बिक्री हुने रहेछ ।’ साउन–भदौमै फल्न थाले पनि मूल्य घटेर किलोको २ सय रुपैयाँमा बेच्नुपरेको उनले बताए । गाउँपालिकाबाट उनले ७० हजार रुपैयाँ अनुदान पाएका थिए । ‘मेरो खेतबारी पनि बाँझै थियो । छिमेकीको बाँझो खेत भाडामा लिएँ । मकै र कोदो फल्ने खेतमा अहिले अकबरे फलेको छ,’ अधिकारी भन्छन् । उनले वैशाखमा बिक्री गर्ने गरी अलैंची खेतीलाई बढावा दिएको बताए ।
तामाङ र अधिकारी मात्रै होइनन् । दोर्दी गाउँपालिकामा व्यक्तिगत र सामूहिक गरी करिब २ सय घरधुरीले यो वर्ष ७ सय रोपनीमा अकबरे खुर्सानी फलाएका छन् । धेरै किसान कृषि समूह बनाएर सामूहिक रूपमा खेतीमा लागेका छन् ।
दोर्दी गाउँपालिका–४, कामचोकस्थित कामचोक कृषक समूहका अध्यक्ष यमबहादुर गुरुङका अनुसार, समूहमा आबद्ध ४५ जनाले ३७ रोपनीमा अकबरे खेती गरेका छन् । गाउँपालिकाले बीउ, मल्चिङलगायतमा १ लाख ८५ हजार रुपैयाँ सहयोग गरेको थियो ।
उनीहरूले यस वर्ष ५० क्विन्टल अकबरे फलाएका छन् । ‘सुरुमा किलोको ३ सय ८० रुपैयाँसम्म बिक्री भयो । पछि २ सय २०, १ सय रुपैयाँसम्म झर्यो । घाटा भने लागेन,’ गुरुङ भन्छन् । यही समूहले करिब १२ लाख रुपैयाँ आम्दानी गरेको छ । दोर्दी गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा वडा नं. ४ का कामचोक, बाँसबोट र कुखुरेढुंगामा २० रोपनीमा परीक्षणका रूपमा अकबरे रोपेको थियो । परिणाम उत्साहजनक आएपछि व्यावसायिक खेती सुरु गरिएको हो । बीउ, नर्सरी, मल्चिङ, उपकरण, तालिम र बजार व्यवस्थापनमा पालिकाले सक्रिय भूमिका खेलेको छ ।
दोर्दी गाउँपालिका–४ का अगुवा कृषक सुकबहादुर गुरुङका अनुसार, अकबरेले किसानको सोचै बदलिदिएको छ । ‘स्याहारसुसार राम्रो गर्नेले एक सिजनमै डेढ लाख रुपैयाँको अकबरे फलाएका छन् । बारीमै प्रतिकिलो ४ सय रुपैयाँसम्म बिक्री भयो,’ उनी भन्छन् । उनका अनुसार, अकबरेलाई यत्तिकै बिक्री मात्रै नगरी किसानहरू अचार बनाएरै बिक्री गर्छन् ।
दोर्दी गाउँपालिका कृषि इकाइ प्रमुख नीराजन पौडेलका अनुसार, समुद्री सतहको ८ सयदेखि १ हजार ७ सय मिटर उचाइसम्मका भूभागमा अकबरे खेती गरिएको छ । प्रायः बाँझो खेत सदुपयोग गरिएको छ । सहकारी र व्यापारीको तथ्यांकअनुसार, यो वर्ष हालसम्म १ लाख ८ हजार किलोभन्दा बढी अकबरे बिक्री भइसकेको छ । ‘औसतमा प्रतिकिलो २ सय रुपैयाँ मान्दा सवा २ करोड रुपैयाँ भित्रिएको छ,’ पौडेल भन्छन् । व्यक्तिगत रूपमा बिक्री भएको करिब १० हजार किलोको तथ्यांक आउन बाँकी रहेको र त्यसबाट थप २० लाख रुपैयाँ भित्रिएको अनुमान छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा अकबरे खेतीका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । १ हजार रोपनी लक्ष्य राखिए पनि परीक्षणबाहेकको पहिलो वर्ष भएकाले करिब ७ सय रोपनीमै खेती सुरु भयो । विनियोजितमध्ये २० लाख रुपैयाँ खर्च भयो । सुरुमा पाल्पाबाट ल्याइएको बीउबाट परीक्षण गरिएको र अहिले स्थानीय अगुवा किसानले नै बीउ उत्पादन गर्न थालेको पौडेलले बताए ।
गाउँपालिका अध्यक्ष युवराज अधिकारीका अनुसार, केही वर्षअघि कोदो, मकै वा बाँझै रहेका पाखाबारीमा अहिले ‘रातो हिरा’ झुन्डिएको छ । ‘यो उपमा मात्र होइन, किसानको जीवनमा देखिएको आर्थिक परिवर्तनको प्रतीक हो,’ उनी भन्छन् । उनका अनुसार, अकबरेलाई दोर्दीको स्थायी पहिचान बनाउने योजनामा गाउँपालिका अघि बढेको छ । बर्सेनि ५–६ करोड रुपैयाँ भित्र्याउन सकिन्छ । काठमाडौं, पोखरा, चितवन र बुटवलसम्म दोर्दीको अकबरे पुर्याउने तयारी भइरहेको छ ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेका अनुसार, अकबरे नगदे बालीका रूपमा किसानको मुख्य आम्दानीको स्रोत बन्दै गएको छ । उत्पादन र बजारीकरण दुवैमा पालिका सक्रिय छ । उपाध्यक्ष बिच्छबहादुर घलेका अनुसार बाँझो खेत नछाड्ने नीतिमा ९ वटै वडामा अकबरे खेती विस्तार गरिएको छ । अकबरे खुर्सानीलाई मायाको चिनोका रूपमा पनि प्रयोग गर्ने गरिएको छ ।
लामो समय कृषि सेवामा सक्रिय भई सेवा निवृत्त कृष्णभद्र अधिकारी भन्छन्, ‘कोदो र मकैको खेतीबाट अकबरेको व्यापारसम्म आइपुगेका दोर्दीका किसानका लागि खुर्सानी साँच्चिकै ‘रातो हिरा’ बनेको छ ।’ उनका अनुसार, अकबरे खुर्सानी अहिले दोर्दीको अर्थतन्त्र मात्रै होइन, भविष्यप्रतिको भरोसा पनि बनेको छ ।
