शिक्षा र स्वास्थ्यमा प्रगति गरिरहेको ठोरी गाउँपालिका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकन मधेशकै सर्वोत्कृट ठहरिएको छ ।
What you should know
काठमाडौँ — साबिक सुवर्णपुर, निर्मलबस्ती र ठोरी गरी तीन गाविस मिलाएर २७ फागुन २०७३ मा बनाइएको ठोरी गाउँपालिका हरेक हिसाबले जिल्लाका अन्य पालिकाभन्दा पछाडि थियो । तर पछिल्लो समय यसको पहिचान फेरिँदै छ ।
पालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा उदाहरणीय काम गरिरहेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले २०८१/०८२ मा गरेको कार्यसम्पादन मूल्यांकनमा ठोरी गाउँपालिका प्रदेशमै सर्वोत्कृष्ट बन्न सफल भएको छ ।
पालिकाको अगुवाइमा हरेक वर्ष वैशाख पहिलो र दोस्रो साता विद्यालय भर्ना अभियान सञ्चालन गरिन्छ । अभियानमा गाउँपालिकाका कर्मचारी, विद्यार्थी र शिक्षकसमेत सहभागी हुने गरेका छन् । त्यस क्रममा शिक्षक र अभिभावकबीच प्रत्यक्ष संवाद पनि गराइन्छ ।
पालिकामा रहेका २१ वटै सामुदायिक विद्यालयले प्रत्येक महिना आफ्नो प्रगति विवरण गाउँपालिकाको कार्यालयमा बुझाउँछन् । ती विद्यालयमा रहेका समस्या समाधान तथा अन्य योजना निर्माणका लागि प्रधानाध्यापक, गाउँपालिकाको शैक्षिक महाशाखा प्रमुख तथा कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत सरोकारवालाको नियमित मासिक बैठक बस्ने गर्छ ।
पालिकाका २१ वटै सामुदायिक विद्यालयको पूर्वाधारलाई व्यवस्थित राख्ने प्रयास गरिएको छ । विद्यालयमा रहेका बाल विकास कक्षाहरूलाई अत्याधुनिक रूपसमेत दिइएको छ । सामुदायिक विद्यालयहरू पूर्वाधारले सुसज्जित छन् । गाउँपालिकाले शैक्षिक जागरण अभियानमा जोड दिँदै आएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकन नतिजाअनुसार आव २०८०/०८१ मा ठोरीमा कक्षा १ देखि ८ सम्मको औसत खुद विद्यार्थी भर्नादर ९८.१९ प्रतिशत रहेको छ । त्यो वर्ष विद्यालय जाने उमेरका बालबालिका पालिकामा १ हजार ७ सय ६८ जना रहेकामा १ हजार ७ सय ३६ जना विद्यालय भर्ना भएका थिए ।
गाउँपालिकामा कक्षा ९ मा विद्यार्थी टिकाउ दर पनि ९०.४ प्रतिशत रहेको छ । आव २०७९/०८० मा पालिकाका विद्यालयमा ४ सय जना भर्ना भएकामा २०८०/०८१ मा कक्षा ९ मा रहेका विद्यार्थीको संख्या ३ सय ६२ थियो ।
ठोरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार चौधरी विद्यालयको शैक्षिक गुणस्तर थप वृद्धि गर्न तथा विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न चालु आर्थिक वर्षमै नयाँ–नयाँ योजनाहरू कार्यान्वयन गर्न लागिएको बताउँछन् । ‘शिक्षकलाई पाठयोजना बनाउन र विद्यार्थीलाई नियमित रूपमा गृहकार्य दिन पालिकाबाटै डायरी दिने योजना अन्तिम चरणमा रहेको छ,’ उनी भन्छन्, ‘जिल्लाका अन्य पालिकामा सामुदायिक विद्यालयका शिक्षकलाई त्रैमासिक रूपमा तलब वितरण गरिन्छ, ठोरीमा भने मासिक रूपमै तलब वितरण गर्ने व्यवस्था मिलाइएको छ ।’ स्थानीय शिक्षक चिरञ्जीवी सापकोटा गाउँपालिकाले लिइरहेको पहलकदमीले शिक्षक र विद्यार्थी दुवै खुसी रहेका बताउँछन् ।
गाउँपालिकास्थित स्वास्थ्य संस्थाहरूबाट दिइने सेवाको पहुँच अधिकांश स्थानीयसम्म पुगेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकन प्रतिवेदनमा उल्लेख छ । आव २०८०/०८१ मा पालिकाका कुल ३ सय ५५ गर्भवतीमध्ये ३ सय १५ जना (८८.७३ प्रतिशत) ले चार पटक गर्भ जाँच गराएका थिए । आव २०८०/०८१ मा पूर्ण खोप (बीसीजी, पोलियो, डीपीटी, हेपाटाइटिस, दादुरा रुबेला, जापानिज इन्सेफ्लाइटिस, टीडी) सुविधा लिएका २४ महिनासम्म उमेर समूहका बालबालिकाको अनुपात प्रतिशत १०६.३३ छ । पालिकामा २४ महिनासम्मका बालबालिकाको संख्या ५ सय २१ रहेकामा ५ सय ५४ ले पूर्ण खोप लिएका थिए । ‘सीमापारि भारतीय गाउँका बालबालिकाले पनि यहाँका स्वास्थ्य संस्थामा खोप लगाएका कारण संख्या बढी देखिएको हो,’ प्रमुख प्रशासकीय अधिकृत चौधरी भन्छन् ।
गाउँपालिकामा तीन स्वास्थ्यचौकी, दुई आधारभूत स्वास्थ्य सेवा केन्द्र, दुई सामुदायिक स्वास्थ्य इकाइ, १ सर्पदंश उपचार केन्द्र, तीन बर्थिङ सेन्टर, १ स्थानमा नाक, कान, घाँटीसम्बन्धी समस्या समाधानका लागि टेली मेडिसिन सेवा र दुई आयुर्वेद औषधालय छन् ।
पर्यटनमा पनि फड्को मार्दै
भारतसँग सिमाना जोडिएको ठोरी गाउँपालिका भारतीय पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै आएको छ । भारतको बिहार र उत्तर प्रदेशबाट ठूलो संख्यामा भारतीय पर्यटक ठोरीमा आउने गरेका छन् ।
स्थानीय युवाको लगानीमा ठूल्ठूला रिसोर्ट र होटल खुलेका छन् । गाउँपालिकाको कार्यालयले सुन्दर बस्तीमा कृष्ण मन्दिर क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न पूर्वाधार तयार गरिरहेको छ । गोलेडाँडालाई पर्यटकीयस्थलका रूपमा विकास गर्न पालिकाले टेन्डर आह्वानसमेत गरेको छ ।
‘पिकनिक स्पट’ का रूपमा चर्चित रहेको गणेशमान पार्कमा थप पूर्वाधार निर्माणका लागि संघीय सरकारले १ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको छ । ठोरी गाउँपालिकामा रहेको ठुटे खोला, सेते भीर, भ्यु टावर, झोलुंगे पुल, रातो पहाड आदिले पर्यटकलाई तान्ने गरेका छन् ।
एक दशकदेखि ठोरी–५ सुवर्णपुरमा ‘होम स्टे’ सञ्चालन गरिएको छ । तामाङ बस्तीमा सञ्चालित होमस्टेअन्तर्गत ३० घरमा ६० पाहुना बस्न सक्छन् । यहाँ तामाङ नृत्य, जिप सफारी, हात्ती सफारी आदिको सुविधा उपलब्ध छ ।
