नरहरिनाथ गाउँपालिकाले गत वर्ष मात्रै १५७ किसानलाई वार्षिक १० हजार रुपैयाँका दरले ‘गोठालो भत्ता’ बाँडेको छ ।
What you should know
सुर्खेत — कालीकोटको नरहरिनाथ गाउँपालिका–४ का किसान दलबहादुर शाहले ५ वटा भैंसी पालेका छन् । दिनको १० लिटर दूध स्थानीय बजारमा बिक्री गरेर सात सय रुपैयाँ कमाइ गरिरहेका उनले वार्षिक ५०/६० हजार रुपैयाँको घिउ पनि बेचिरहेका छन् ।
‘भैंसीपालनकै आम्दानीले घर खर्च राम्ररी चलिरहेको छ, दुई छोराछोरीलाई सुर्खेतको निजी विद्यालयमा पढाइरहेको छु,’ उनले भने, ‘अहिले त पालिकाले भत्ता दिन पनि थालेको छ, जसले भैंसीपालनलाई थप व्यवस्थित र व्यावसायिक बनाउन मद्दत पुगेको छ ।’
कालीकोटकै शुभकालिका गाउँपालिका–५ का बलिन्द्र शाहीको मुख्य पेसा पनि भैंसीपालन नै हो । उनको गोठमा पनि ५ वटा भैंसी छन् । ‘पशुपालनबाटै वार्षिक ३ लाख रुपैयाँ कमाइरहेको छु,’ उनले भने, ‘घर खर्च चलाएर बचेको रकमले सदरमुकाममा एउटा घडेरीसमेत जोड्न सकियो ।’
कालीकोटका नरहरिनाथ र शुभकालिका गाउँपालिकाले पशुपालन गर्ने किसानलाई प्रोत्साहन गर्न ‘गोठालो भत्ता’ दिन थालेपछि व्यावसायिक किसानको संख्या बढ्दै गएको छ । गत वर्ष नरहरिनाथले १ सय ५७ जना किसानलाई वार्षिक १० हजार रुपैयाँका दरले ‘गोठालो भत्ता’ वितरण गर्यो । यो वर्ष पनि पालिकाले २० लाख रुपैयाँ बजेट छुट्याएको छ । ५ वटा भैंसी, ५१ बाख्रा र ५७ वटा भेडा पाल्ने किसान परिवारलाई ‘गोठालो भत्ता’ बापत अनुदान वितरण गरिरहेको गाउँपालिका उपाध्यक्ष कमलकुमार शाहले बताए ।
‘पशुपालन गर्ने किसानलाई प्रोत्साहन गरी गाउँमै आत्मनिर्भर बनाउन खोजेका छौं, यसले युवा पुस्ताको पशुपालनतर्फ आकर्षण बढिरहेको छ,’ शाहले भने, ‘यसले पालिकाको अर्थतन्त्र सुधार्न पनि मद्दत पुगेको छ ।’ पालिकाभरि झन्डै ४ हजार २ सय घरधुरीमध्ये प्रायः ले पशुपालन गरिरहेका छन् । सबै घरधुरीमा परम्परागत तरिकाले पशुपालन भइरहे पनि व्यावसायिक बनाउन भत्ताको व्यवस्था गरिएको उनको भनाइ छ । सानै रकम भए पनि पालिकाले प्रोत्साहन रकम दिन थालेपछि आफूले व्यावसायिक बाख्रापालन गरिरहेको नरहरिनाथ–९ चौथाका ३५ वर्षीय मेगराज बुढाले जनाए । स्नात्तक तह उत्तीर्ण उनले जागिरतिर नलागेर ५ वर्षदेखि ५६ वटा बाख्रा पालिरहेको बताए । ‘चरन क्षेत्र पनि राम्रो छ, पशुपालनले क्रमशः आत्मनिर्भर बनाइरहेको छ,’ उनले भने, ‘गाउँमै बसेर वार्षिक २ लाख ५० हजारसम्म आम्दानी गरिरहेको छु ।’
अस्थायी शिक्षकको जागिर छोडेर चार वर्षदेखि ५ वटा भैंसी पालिरहेको चौथाकै दिलकुमार बुढाको भनाइ छ । उनले दिनको १० लिटर दूध बिक्री गरिरहेका छन् भने वार्षिक ४० किलोसम्म घिउ उत्पादन गरिरहेका छन् । ‘चरन क्षेत्र पर्याप्त भएकाले यहाँ पशुपालनका लागि उपयुक्त छ, बजारको पनि समस्या छैन भने पशुजन्य उत्पादनको भाउ पनि बढिरहेको छ,’ उनले भने, ‘दुःख धेरै नहुँदा गाउँमै बसेर राम्रो आम्दानी गरिरहेको छु ।’ स्थानीय बजारमा दूधको मूल्य प्रतिलिटर ७० रुपैयाँ र घिउ प्रतिकिलो एक हजार रुपैयाँमा बिक्री भइरहेको छ ।
गाउँपालिकाले तीन वर्षदेखि किसानलाई भत्ता दिने कार्यक्रम सञ्चालन गरिरहेको पशु सेवा शाखा प्रमुख कटकबहादुर बुढाले बताए । ‘हामीले पशुपालनमार्फत कृषिमा पनि किसानलाई आत्मनिर्भर बनाउन खोजेका हौं,’ उनले भने, ‘खेतबारीमा गाईभैंसी र भेडाबाख्राको मल प्रयोग गर्नसमेत यसले प्रेरित गर्छ, जसले रासायनिक मलको प्रयोग कम भई अर्गानिक खेती प्रणाली अवलम्बन गर्नसमेत सहज भएको छ ।’ उपयुक्त हावापानी र प्रशस्त चरन क्षेत्र भएकाले पालिकामा पशुपालनको सम्भावना राम्रो देखिएको उनको भनाइ छ । उनका अनुसार वडा नम्बर ५ लाई भैंसीको पकेट क्षेत्र घोषणा गरिएको छ भने ७ नम्बर वडालाई भेडाबाख्राको पकेट बनाउने तयारी छ ।
शुभकालिकाले २०७६ सालदेखि कार्यविधि बनाएर वार्षिक ५ हजार रुपैयाँसहित किसानलाई त्रिपालको व्यवस्था गरेको छ । ‘पशु चौपायाको चरनका लागि किसानहरू विभिन्न पाटनमा पुग्छन्, उनीहरूलाई त्यहाँ बस्न समस्या नहोस् भनेर एउटा अस्थायी टहरो बनाउन पुग्ने त्रिपाल पनि दिइरहेका छौं,’ गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद आचार्यले भने, ‘पालिकाले भत्ताको व्यवस्था गरेपछि युवा पुस्तामा समेत व्यावसायिक पशुपालनको लहर चलेको छ ।’
यो कार्यक्रमका लागि बर्सेनि ५ लाख बजेट छुट्याइरहेको छ । अपुग रकम अन्य शीर्षकबाट रकमान्तरण गरिने उनले जानकारी दिए । कार्यविधिअनुसार ५ भैंसी र ५०/५० वटा भेडा पालेका किसानलाई ‘गोठालो भत्ता’ वितरण भइरहेको हो । गत वर्ष ९७ जना किसानले यो रकम पाएको गाउँपालिकाले जनाएको छ । पालिकाका अनुसार सुरुको आर्थिक वर्ष २०७६/७७ मा २५ जना किसानले भत्ता लिएका थिए । पालिकाभरिका झन्डै ३ हजार ९ सय किसानले करिब ८ हजार दुई सय भैंसी र ११ हजार बाख्रा पालेको तथ्यांक छ । गाउँपालिकाले मासुमा आत्मनिर्भर बनाउने योजनासहित अनुदान कार्यक्रम ल्याएको पशु सेवा प्राविधिक धनजित बुढाथोकीले बताए । ‘किसानलाई आत्मनिर्भर बनाउन र मासुलगायत पशुजन्य उत्पादन बढाउन भत्ताको व्यवस्था गरेका हौं,’ उनले भने, ‘भत्ता रकम बर्सेनि बढाउँदै लैजाने हाम्रो योजना छ ।’
