‘माया धराने’ को विश्व यात्रा

स्थानीय मात्रै होइन, विदेशी बजारमा पनि ‘माया धराने’ बेसारको माग बढ्दै गएको छ । यूके, हङकङ, जापान, अमेरिका, पोल्यान्ड, कोरियासम्म निर्यात भइरहेको छ– ‘माया धराने’ ।

पुस १९, २०८२

एलिना राई

The world tour of 'Maya Dharane'

What you should know

धरान — धरान उपमहानगरपालिका वडा नं. २० मा सुरु भएको ‘माया धराने’ बेसार उद्योगले किसानको आय मात्रै बढाएको छैन, स्थानीय समुदाय, युवा उद्यमशीलता र महिला रोजगारीलाई पनि नयाँ दिशा दिएको छ ।

यहाँ ३ सय ५० घरपरिवारले उत्पादन गरेको बेसारलाई स्थानीयस्तरमै प्रशोधन र ब्रान्डिङ गरी बजारमा पुर्‍याइएको छ । तर, यसको प्रभाव उत्पादन र बिक्रीमा मात्रै सीमित छैन । यसले स्थानीय अर्थतन्त्र, युवा रोजगारी र बजार नेटवर्कको विकासमा योगदान दिएको छ ।

कृषक भुवन राई भन्छन्, ‘पहिले हाम्रो उत्पादन बिक्रीको चिन्ता र बजारसम्म पुग्ने उपाय खोज्नु चुनौती थियो । तर, ‘माया धराने’ फ्याक्ट्री खुल्दा बिक्री मात्रै सुनिश्चित भएको छैन, हामी युवाका लागि रोजगारी र बजार पहुँच पनि पाएको छ । अब हाम्रो मिहिनेतले मूल्य पाउने निश्चित छ ।’ एक सिजनमा १ लाख २० हजार रुपैयाँको बेसार बेचेको उनले बताए ।

धरान– २० निवासी पुनम राई भन्छिन्, ‘पहिले धरान बजारमा लगेर बेसार बेच्नुपर्ने बाध्यता थियो । उद्योग नभएकाले व्यापारीसँग सस्तो मूल्यमा बेच्नुपर्थ्यो । उनीहरूले भाउ नदिएपछि आफूले पिसेर गल्ली–गल्लीमा डुलाएर बेच्नुपर्थ्यो । तर, उद्योग सञ्चालनमा आएसँगै ढुक्क भएको छ । अब बिक्री हुने–नहुने पीर हटेको छ । हामीले प्रतिकिलो ३ सय २० रुपैयाँमा बेच्दै आएका छौं । अहिलेसम्म माया धरानेलाई चार सय किलो बेसार बेचिसकेको छु ।’

उद्योगमा १४ जना कर्मचारी कार्यरत छन्, जसमा धेरै युवा र महिला छन् । प्याकेजिङ, धुने र सुकाउने काममा संलग्न उनीहरूले आर्थिक स्वतन्त्रता र सीप विकासको अनुभव पाएका छन् । समितिका सदस्य समीर तामाङ भन्छन्, ‘हामी बिक्रीमा मात्रै केन्द्रित छैनौं । मुख्य लक्ष्य स्थानीय उत्पादनलाई ब्रान्डिङ र गुणस्तर सुनिश्चित गर्दै अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनु हो । यस क्रममा युवा र महिलालाई रोजगारी दिने प्राथमिकता हो ।’

धरानको वडा नं. २० कृषि पकेट क्षेत्र मानिन्छ । विशेष गरी बेसार बजारमैत्री बनिसकेको छ । किसान रामबहादुर राई भन्छन्, ‘अब जति केजी बेसार उत्पादन गरे पनि बजारको भरोसा छ । युवा र उद्योगको सहकार्यले हाम्रो मिहिनेतको मूल्य बढाएको छ ।’

स्थानीय बजारमा मात्रै नभई विदेशी बजारमा पनि बेसारको माग बढ्दै गएको छ । यूके, हङकङ, जापान, अमेरिका, पोल्यान्ड, कोरियालगायतका देशमा निर्यात हुने क्रममा ‘माया धराने’ ब्रान्डले नेपाली उत्पादनको पहिचान विश्वस्तरमा पुर्‍याएको छ । पर्यटकहरू धरान आउँदा बेसार किन्न छुटाउँदैनन्, सामाजिक सञ्जालमा प्याकेटको फोटो राखेर प्रचार गर्छन् । 

उद्योगले आर्थिक लाभ मात्रै दिएको छैन, स्थानीय समुदायमा आत्मनिर्भरता र सु–संवाद बढाएको छ । ‘माया धराने’ बेसार कम्पनीका सचिव ओम सुच्चा राई भन्छन्, ‘स्थानीय उत्पादनको प्रोत्साहन र ब्रान्डिङबाट युवा, महिला र कृषकलाई लाभ भएको छ । यो केवल व्यापार होइन, सामाजिक विकासको उदाहरण हो ।’

उनका अनुसार, अहिले दैनिक २ सय केजी बेसार उत्पादन हुँदै आएको छ । स्थानीय किसानले उत्पादन गरेको बेसार प्रशोधन गरी अर्गानिक बेसार बनाइन्छ । एक किसान बराबर ९ सय केजीसम्म बेसार किनेको उनले बताए । उनी भन्छन्, ‘किसानले उत्पादन गरेको बेसारको क्वालिटी हेरेर ३ सयदेखि ३ सय २० रुपैयाँ प्रतिकिलोमा किनिरहेका छौं । अहिलेसम्म धरान–२० भरिका किसानले उत्पादन गरेको बेसार खपत भइरहेको छ,’ उनले भने ।

नगरपालिकाको पहलले उद्योग सञ्चालनमा सहजता ल्याएको छ । भवन निर्माणदेखि प्रशोधनका लागि आवश्यक मेसिनसम्म उपमहानगरपालिकाले उपलब्ध गराएको हो । नाफाको ३४ प्रतिशत नगरपालिकाले पाउने सम्झौता गरिएको छ । मेयर हर्क साम्पाङको परिकल्पनाअनुसार, वडा २० मा उद्योग खोल्ने प्रस्ताव कार्यपालिका बैठकले अनुमोदन गरेको थियो । उद्योग भवन निर्माणमा नगरपालिकाको १६ लाख ५० हजार र उपभोक्ताको २ लाख ८ हजार ६ सय ११ रुपैयाँ लगानी भएको निर्माण समितिले जानकारी दिएको छ ।

स्थानीय उत्पादनलाई व्यवस्थित र ब्रान्डिङमार्फत बजारमा पुर्‍याउँदा कृषकको मिहिनेतको मूल्य सुनिश्चित भएको छ, युवाहरूले रोजगारी पाएका छन् र महिलाहरूको आर्थिक सहभागिता सुनिश्चित भएको छ । दिनमा ३ सय केजी बेसार उत्पादन हुन्छ । अहिलेसम्म ‘माया धराने’ ले ९५ लाख रुपैयाँ बराबरको बेसार बिक्री गरिसकेको छ । आज ‘माया धराने’ उद्योगको नाम मात्रै होइन, कृषकको मिहिनेत, युवा उद्यमशीलता, महिला सहभागिता र स्थानीय प्रशासनको दूरदर्शी सोचको प्रतीक बनेको छ । यसले प्रमाणित गरेको छ– स्थानीय उत्पादनलाई प्राथमिकता दिएर सहकार्य गरे धरान मात्रै होइन, समग्र नेपाल नै आत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढ्न सक्छ ।

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully