नगरपालिकाले पटक–पटक डाक्टर माग गर्दा पनि कोही नआएपछि आफ्नै पालिकाका विद्यार्थीलाई डाक्टर बनाउन आर्थिक सहयोग गर्दै छ भने एचए र स्टाफ नर्सलाई पनि छात्रवृत्ति दिएको छ ।
What you should know
सुर्खेत — दैलेखको आठबीस नगरपालिका–९ छेपाडीका २६ वर्षीय राजकुमार सिजापति छिमेकीलाई स्वास्थ्य सेवा दिन पाउँदा निकै खुसी छन् ।
राकमकर्णाली आधारभूत अस्पतालमा ११ मंसिरदेखि अस्पताल प्रमुखका रूपमा कार्यरत सिजापतिलाई आठबीस नगरले नै एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराएको थियो ।
काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस अध्ययन पूरा गरी उनी नगरपालिकामै फर्किएका हुन् । ‘मेरो डाक्टर बन्ने सपना पालिकाले पूरा गरिदियो,’ सिजापति भन्छन्, ‘आफ्नै गाउँ–ठाउँमा सेवा गर्न पाउनु त्योभन्दा ठूलो उपलब्धि अरू के नै हुन सक्छ र ?’ स्थानीय सरकारले छात्रवृत्तिमा पढाएका विद्यार्थीले सोही क्षेत्रमा कम्तीमा दुई वर्ष सेवा गर्नुपर्ने व्यवस्था छ । ‘गाउँलेबाटै उठाएको करबाट पढेर पुनः तिनै गाउँलेको सेवा गर्न पाउनु गौरवको विषय हो,’ सिजापति भन्छन् । उनका अनुसार अब पालिकाले बाहिरबाट डाक्टर खोज्नुभन्दा आफ्नै जनशक्ति उत्पादन गरी स्थानीयमै काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ ।
सिजापति पाँच वर्षको अध्ययन सकेर सेवा गर्न पालिकामै फर्किएका हुन् । ‘म जस्तै अन्य धेरै युवाले पनि स्थानीय सरकारबाट सहयोग पाएर आफ्नै ठाउँमा काम गर्ने वातावरण पाउनुपर्छ,’ उनी भन्छन् । अस्पताल प्रमुखका रूपमा आएपछि उनले दैनिक २५ देखि ३० जनासम्म बिरामीको स्वास्थ्य परीक्षण गर्दै आएका छन् । ‘गाउँलेहरू हाम्रो डाक्टर भन्दै निर्धक्क स्वास्थ्य समस्याबारे कुरा गर्नुहुन्छ,’ उनी भन्छन् । यद्यपि, अझै पनि यहाँका स्थानीय सामान्य विशेषज्ञ सेवाका लागि पनि सुर्खेत वा अछाम जानुपर्ने बाध्यता कायमै रहेको उनी सुनाउँछन् ।
नगरपालिकाले पटक–पटक डाक्टर माग गर्दा पनि कोही नआएपछि आफ्नै लगानीमा डाक्टर उत्पादन गर्ने निर्णय गरेको उपप्रमुख कल्पना थापाले बताइन् । ‘आफ्नै गाउँका डाक्टर भएपछि स्थानीयले उपचारका लागि अन्य जिल्ला धाउनुपरेको छैन,’ उनले भनिन् । नगरपालिकाले प्रत्येक वर्ष डाक्टर, एचए र स्टाफ नर्स अध्ययनका लागि छात्रवृत्ति दिने कार्यविधि बनाएको छ । हालसम्म पालिकाले दुई जना डाक्टर, एक जना एचए र दुई जना स्टाफ नर्सलाई छात्रवृत्तिमा अध्ययन गराइसकेको छ । अध्ययन पूरा गरेपछि कम्तीमा दुई वर्ष पालिकामै सेवा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यस्तै आठबीस नगरपालिका–९ कै जीवलाल बडुवाल काठमाडौं विश्वविद्यालयबाट एमबीबीएस अध्ययन सकेर आगामी भदौमा पालिका फर्कने तयारीमा छन् । बाहिरबाट आएका डाक्टरहरू धेरै समय नटिक्ने समस्या देखेपछि उनले पनि डाक्टर बनेर आफ्नै गाउँ–ठाउँमा सेवा गर्ने सोच बनाएका हुन् । उनको सोचअनुरूप पालिकाले आर्थिक सहयोग गरिदिएपछि उनको सपना साकार हुँदै छ । जीवलालको अध्ययनमा हालसम्म २७ लाख ७७ हजार रुपैयाँ खर्च भइसकेको छ, जसको ७५ प्रतिशत पालिकाले बेहोरेको हो । ‘पालिकाले म जस्ता युवाले पनि डाक्टर बन्ने सपना देख्न सक्ने वातावरण बनाएको छ,’ उनी भन्छन्, ‘अब यहीँ बसेर राम्रो काम गर्नेछु ।’
पालिकाले नर्स सुनिताकुमारी थापा र पार्वतीकुमारी सिजापतिलाई पनि जनही ३ लाख ५६ हजार तथा एचए कमल माझीलाई ३ लाख रुपैयाँ खर्चमा पढाइरहेको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार माझीले जानकारी दिए । उनका अनुसार हालसम्म कुल ६६ लाख ६० हजार रुपैयाँ छात्रवृत्तिमा खर्च भइसकेको छ । ‘हामीले लगानी गरेका छौं, अब त्यो लगानीको प्रतिफल कस्तो हुन्छ भन्ने उहाँहरूको कर्ममा भर पर्छ,’ उनले भने ।
यसैगरी मुगुको छायाँनाथ रारा नगरपालिकाले डाक्टर, चार्टर्ड एकाउन्टेन्ट, एचए र इन्जिनियरसहित २१ जनालाई विभिन्न क्षेत्रमा छात्रवृत्तिमा अध्ययन गराइरहेको छ । यही नगरपालिकाकी कामना मल्ल हाल नेपाली सेनाकी उपसेनानी हुन् । एमबीबीएस अध्ययनका क्रममा पालिकाले ६ लाख रुपैयाँ सहयोग गरेको बताउँदै उनले स्थानीय तहको सानो सहयोगले पनि ठूलो मनोबल बढाउने सुनाइन् । एमबीबीएस सकेर २०८१ सम्म उनले जिल्लामै काम गरेकी थिइन् । ‘हुन त मलाई एमबीबीएस अध्ययन गर्दा ४० लाख लाग्यो तर पनि त्यो समयमा पालिकाले गरेको सहयोग नै ठूलो हो,’ उनले भनिन्, ‘हामीजस्ता विद्यार्थीका लागि छात्रवृत्ति भनेको मनोबल उच्च राख्न मद्दत गर्नु पनि हो ।’ नगरपालिकाले आफूलाई गरेको लगानीअनुसार मुगुमा काम गरिसकेको उनले बताइन् । कामनाका अनुसार पढाइमा अब्बल भए पनि आर्थिक अवस्था कमजोर भएर पढ्न नसकेकाहरूका लागि स्थानीय सरकारको सहयोगले ठूलो राहत हुँदै आएको छ ।
नगर प्रमुख विष्णुकुमार भामका अनुसार बाहिरबाट डाक्टर नआउने वा नटिक्ने समस्याको समाधानका लागि स्थानीय सरकारले आफ्नै जनशक्ति उत्पादन गर्ने नीति लिएको हो । यही क्रममा देवीकृष्ण विश्वकर्मा हाल बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनको अन्तिम वर्षमा छन् । स्थानीय तहको यो प्रयासले गाउँमै दक्ष जनशक्ति उत्पादन भई दीर्घकालीन रूपमा स्वास्थ्य सेवा सुदृढ हुने अपेक्षा गरिएको छ ।
यसैगरी जाजरकोटको कुशे गाउँपालिकाकी ज्योत्सना कार्की पाटन अस्पतालमा एमबीबीएस अन्तिम वर्षको अध्ययन गर्दै छिन् । पटक–पटक नाम निकाल्दा पनि आर्थिक अभावका कारण पढ्न नपाएकी उनले स्थानीय तहबाट सहयोग पाउनु अकल्पनीय भएको बताइन् । ‘गाउँपालिकाले मेरो सपना पूरा गरिदियो, अब म पनि गाउँपालिकाको सपना पूरा गर्नेछु,’ उनले भनिन् । कुशे गाउँपालिका प्रथम अध्यक्ष छात्रवृत्ति कोष स्थापना गरी ज्योत्सनालाई एमबीबीएस अध्ययनका लागि ३८ लाख रुपैयाँ सहयोग गरेको गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र बस्नेतले जानकारी दिए । जाजरकोटकै बारेकोट गाउँपालिकाका पनि दुई जना एमबीबीएस छात्रवृत्तिमा अध्ययनरत छन् ।
लेकबेसी नगरपालिका–१ का नितेश पौडेल हाल एमबीबीएस अध्ययनको अन्तिम चरणमा छन् । काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सेसमा उनले चार वर्षको अध्ययन पूरा गरिसकेका छन् र अब एक वर्षभित्र अध्ययन सम्पन्न गरी पालिकामा फर्कने तयारीमा छन् । पालिकाले नितेशको पढाइ तथा होस्टेल खर्चका लागि ४१ लाख ३१ हजार रुपैयाँ बेहोरेको छ भने अर्का विद्यार्थी भूपेन्द्र ढकालको अध्ययनका लागि पनि ३१ लाख रुपैयाँ खर्च गरेको छ । ‘मेरो अध्ययन नतिजा उत्कृष्ट भएकाले पालिकाले मलाई पूर्ण छात्रवृत्ति उपलब्ध गरायो,’ नितेश भन्छन्, ‘आर्थिक अवस्था कमजोर भएका विद्यार्थी मात्र होइन, राम्रो अध्ययन गर्ने विद्यार्थीलाई पनि प्रोत्साहन गर्न थालेपछि सबैको मिहिनेत गर्ने बानी विकास हुन्छ ।’ आफूले पालिकाले तोकेको मापदण्ड पूरा गरेकाले छात्रवृत्तिमा छनोट भई डाक्टर बन्ने सपना पूरा हुन लागेको उनले बताए ।
‘पालिकाले गरेको सहयोगको सम्मानस्वरूप म अध्ययनपछि यहीँ बसेर सेवा गर्नेछु र नगरपालिकासँग गरिएको सम्झौता पूरा गर्नेछु,’ उनले भने, ‘यति ठूलो लगानी गरेपछि कम्तीमा दुई वर्ष आफ्नै पालिकामा बसेर काम गर्न कुनै समस्या छैन । आफ्नै गाउँ–ठाउँमा बसेर सेवा गर्न पाउनु त झन् खुसीको कुरा हो ।’ नगर प्रमुख उमेश पौडेलका अनुसार छात्रवृत्ति प्रदान गर्दा प्रतिस्पर्धीलाई अंक (स्कोर) का आधारमा छनोट गर्ने गरिन्छ । उनका अनुसार एमबीबीएस प्रवेश परीक्षामा सबैभन्दा बढी अंक ल्याउने आवेदकलाई नगरपालिकाले छात्रवृत्तिका लागि छनोट गर्ने व्यवस्था गरिएको छ । लेकबेसी नगरपालिकाले दुई विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि ७२ लाख ३१ हजार रुपैयाँ खर्च गरेको छ । नगरपालिकाले २०८४/८५ सम्म प्रत्येक वर्ष एक जनालाई एमबीबीएस छात्रवृत्ति दिने निर्णय गरेको छ । अध्ययनपछि कम्तीमा दुई वर्ष पालिकामै सेवा गर्नुपर्ने सर्त राखिएको छ । कर्णालीमा स्थानीय तहले पालिकामा विभिन्न क्षेत्रका कर्मचारीहरू आउन नमानेपछि आफ्नै लगानीमा कर्मचारी उत्पादन गर्न सुरु गरेका हुन् । भौगोलिक हिसाबले दुर्गम रहेको कर्णालीमा स्थानीय तहले आफैं कर्मचारी उत्पादन गर्न सुरु गरेको हो । डाक्टर, इन्जिनियर, स्टाफ नर्स पढाएर आफ्नै पालिकामा सेवा गर्न छात्रवृत्ति वितरण गरेको थियो ।
