आँबुखैरेनी गाउँपालिकाले चलाएको हाटबजारमा जंगलको गिट्ठा, भ्याकुर र सिस्नो बेचेर चामल किनिरहेका छन् स्थानीय, हाटबजारले बासिन्दाको जीवनशैली फेरिँदो छ ।
काठमाडौँ — समुद्री सतहबाट करिब २ हजार १ सय ३४ मिटर उचाइको छिम्केश्वरी क्षेत्र तनहुँको सबैभन्दा अग्लो पहाडी भू–भाग हो ।
यहाँ आदिवासी–जनजाति समुदायको बाक्लो बस्ती छ । धार्मिक, प्राकृतिक एवं जैविक विविधतायुक्त भए पनि यो क्षेत्र विकासको पहुँचबाट टाढै छ ।
राजमार्ग हुँदै गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको आँबुखैरेनी गाउँपालिकाअन्तर्गत पर्ने छिम्केश्वरीको विकासका लागि अहिले गाउँपालिकाले विशेष कार्यक्रम अगाडि ल्याएको छ । त्यसले यहाँका बासिन्दाको जीवनशैलीमा पनि परिवर्तन देखिन थालेको छ । गाउँपालिकाको वडा नं. ५ र ६ क्षेत्र विकट वडा हुन् । स्थानीय कृषकले उत्पादन गरेको कृषि उपज सहज रूपमै बिक्रीवितरण गर्ने थलोका रूपमा गाउँपालिकाले प्रत्येक हप्ताको सोमबार र शुक्रबार कृषि हाटबजार सञ्चालनमा ल्याएको छ ।
ढुवानी र उत्पादनका आधारमा अनुदानको व्यवस्था भएपछि अहिले स्थानीय कृषकहरू आफूले उत्पादन गरेका उपज हाटबजारबाट बिक्रीवितरण गरी आर्थिक उपार्जन गर्न थालेका छन् । चामल खान चाडपर्वै कुर्नुपर्ने अवस्थालाई यो हाटबजारले अन्त्य गरिदिएको वडा नं. ५ रसौलीकी ४८ वर्षीया सौमती चेपाङ बताउँछिन् । ‘चामलको भात खान कहिले आउँछ दसैतिहार भनेर कुर्नुपर्थ्यो, तर अहिले यो हाटबजार चलेपछि हाम्रो जीवनमा परिवर्तन आएको छ’, चेपाङले भनिन्, ‘वन जंगलमा पाइने कन्दमूल, तरुल खाएर पेट पाल्नुपर्थ्यो अहिले त्यही गिट्ठा, भ्याकुर, सिप्लिकान, सागसिस्नो बिक्री हुँदा घरमा चामल, नुनतेल किन्ने पैसा आएको छ । अहिले हामीलाई चामलको भात खान दुःख छैन ।’
‘पहिलो पटक हाटबजारमा गएर जंगलको निगुरो फिजाएँ, अरूको तरकारी बिक्री भएको देख्दा यो त साँच्ची नै कसैले नखाने रहिछ क्या हो भन्ने लाग्यो,’ उनले भनिन्, ‘पछि एक, दुई गर्दै सबै निगुरो बिक्री हुँदा खुसी लाग्यो । त्यस दिनको कमाइले ५ किलो चामल, १ किलो आलु र नुनतेल, मसला बजारबाट किनेर घर फर्किएँ । त्यसपछि गाउँ र वन जंगलमा पाइने, तर बजारमा सहजै नपाइने कन्दमूल लिएर प्रत्येक हप्ता आँबुखैरेनीको हाटबजार पुग्न थालें र लगेको सबै बिक्री हुँदा अहिले घरमा चामलको भात पनि टुटेको छैन र दुई/चार पैसाको अभाव पनि छैन ।’
छिम्केश्वरी क्षेत्रका बासिन्दाले बारीमा उत्पादन गरेको कोदो, मकै, भटमास, साग, फापर, सिस्नो, वन जंगलमा पाइने कन्दमूल, गिट्ठा, भ्याकुर, टिम्मुर, निगुरो, पानी अमला जस्ता जडीबुटी अहिले हाटबजारमा राम्रो मूल्यमा बिक्री हुने गरेको छ । आफूले उपभोग गरिन सके पशुबस्तुलाई खुवाउने तथा त्यत्तिकै खेर जाने यस्ता उपज अहिले हाटबजारबाट राम्रो मूल्यमा बिक्री हुन थालेपछि आर्थिक रूपमा आफूहरू सक्षम बन्दै गएको वडा नं. ५ लाब्दीकी ४७ वर्षीया संगीता गुरुङ बताउँछिन् ।
हाटबजार सञ्चालनसँगै छिम्केश्वरीकी संगीता गुरुङले ५० हजार रुपैयाँको मादले काँक्रो, १० हजार रुपैयाँको गुन्द्रुक, ३० हजार रुपैयाँ रायोको साग, ३ हजार रुपैयाँको वनतरुल, ५ हजार रुपैयाँको निगुरो, १ हजार रुपैयाँको सिस्नो बिक्री गरी आम्दानी गर्न सफल भएकी छन् । पहिलो यी उपज आफैंले उपभोग गर्ने र उपभोग नभए त्यत्तिकै खेर फाल्दै आएकी
थिइन् । हाटबजारबाट यी वस्तु सहज रूपमा बिक्री वितरण हुन थालेपछि उनले खेती पनि विस्तार गर्दै गएकी छन् र गाउँमै मिहिनेत गरी राम्रो आम्दानीसमेत गर्न थालेकी छन् ।
वडा नं. ४ लोप्राङका ६६ वर्षीय सुकबहादुर गुरुङले पनि हाटबजारमा आफूले उत्पादन गरेको मह बिक्री गरी राम्रो आम्दानी लिन सफल भएका छन् । व्यवसायीक रूपमा मौरी पालन गर्दै आएका गुरुङले पहिले एक/दुई माना मह लिएर घरघर डुल्दै बिक्री गर्दै आएका थिए । तर, अहिले गाउँपालिकाले हाटबजार सञ्चालन गरेसँगै हालसम्म १४० माना मह बिक्री गरेको सुनाए ।
गाउँपालिकाले कृषि कार्यक्रम सञ्चालनका लागि २ करोड बजेट विनयोजन गरेको कृषि शाखा प्रमुख सन्तोष केसीले बताए । गाउँपालिकाको कृषि शाखाको व्यवस्थापनमै हप्ताको दुई दिन कृषि हाटबजार सञ्चालन गरी स्थानीयस्तरमा उत्पादित कृषिउपज खरिद बिक्री गर्ने गरिएको छ । कृषक आफैं उपस्थित भएर बिक्री गर्ने र यदि कृषकको उपज बिक्री नभए गाउँपालिकाले नै खरिद गरी बिक्री गर्दै आएको शाखा प्रमुख केसीले बताए ।
उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत गाउँपालिकाले मास र दूधमा अनुदानको व्यवस्था गर्दै आएको छ । दूधजन्य उत्पादनमा हरेक वर्ष २ रुपैयाँ अनुदान बढाउँदै गएपछि यो वर्ष प्रतिलिटर दूधमा ६ रुपैयाँ अनुदान दिएको कृषि शाखा प्रमुख केसीले बताए । उनले भने, ‘पशु बिमामा एक सय प्रतिशत गाउँपालिकाले जिम्मा लिएपछि गाई पालन, दूध उत्पादक कृषकहरूको संख्या वृद्धि हुँदै गएको छ । बिचौलियाबिनाको बजार व्यस्थापन भएकाले कृषक र उत्पादकको प्रत्यक्ष भेटघाट र सुपथ मूल्यमा गुणस्तरीय वस्तु उपभोग गर्ने आधार तय भएको छ ।’
शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायत क्षेत्रलाई पनि प्राथमिकतामा राखेर कार्यक्रमहरू अगाडि बढाएका गाउँपालिका अध्यक्ष चुमानले प्रत्येक आर्थिक वर्षका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरी सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर पनि अभिवृद्धि गरेका छन् । हरेक विद्यालयमा स्मार्ट बोर्ड र स्मार्ट टीभीको प्रयोग गरी पठनपाठन गरिन्छ । छात्रा बचत खाता कार्यक्रमले प्रत्येक छात्रालाई एक हजार रुपैयाँ उपलब्ध गराउँछ । गाउँपालिकामा २० हजार रुपैयाँ बराबरको स्वास्थ्य बिमा सेवासमेत उपलब्ध गराउँदै आएको अध्यक्ष चुमानले बताए ।
