भरतपुरमा दुग्ध किसानलाई अनुदानको भर

महानगरले उत्पादनमा आधारित रहेर दूध किसानहरूलाई वर्षको नौ करोड रुपैयाँ हाराहारीमा अनुदान दिने गरेको छ ।

पुस १९, २०८२

रमेशकुमार पौडेल

Dairy farmers in Bharatpur rely on subsidies

What you should know

चितवन — उमेर ८० कटेका होमनाथ पोखरेल र उनकी श्रीमती मीना प्रायः गाईगोठमै व्यस्त देखिन्छन् । कुनै बेला दिनको सय लिटरसम्म दूध बिक्री गरेका पोखरेल दम्पतीले अहिले अलि नसकिएको भनेर गाईको संख्या घटाएका छन् ।

२०४१ सालदेखि उनले गाई पालेर दूध बेच्न सुरु गरेका हुन् । गोरखाबाट बसाइँ सरेर चितवन पर्सा आएका पोखरेल पर्सापछि पनि भरतपुरका दुई ठाउँ सरे ।

अहिले भरतपुर महानगरपालिका–६ केशरबागमा बस्ने उनी गाईभैंसी पाल्ने सोच भने परिवर्तन नगर्ने बताउँछन् । ‘अलि सन्चो नहोला जस्तो भएर केही गाई बेचेको हुँ । ज्यान ठीक भयो भने फेरि सय लिटर पुर्‍याउने गरेर गोठ भर्छु,’ उनले सुनाए । यति लामो समयदेखि पशुपालनमा लागे पनि न उनले बैंकबाट ऋण निकाले, न कुनै सरकारी अनुदानको आशामा कतै कागजपत्र पेस गरे ।

दूध बेचेकै आधारमा उनको खातामा केही वर्षयता खुरुखुरु पैसा जम्मा हुन लागेको छ । ‘अघिल्लो वर्ष ७० हजार रुपैयाँ जति आएको रहेछ । त्यसमा २० हजार रुपैयाँ थपेर एउटा गाई किनें । मैले बोनस पाएको रकमले पनि गाई नै किन्छु । त्यसैले गोठमा गाई बढ्दै गएका हुन्,’ पोखरेलले भने । गोठमा गाई थप्न सहयोग हुने गरेर उनको बैंक खातामा गएको ७० हजार रुपैयाँ स्थानीय तहको अनुदान रकम हो ।

भरतपुर महानगरपालिकाले महानगरभित्र सहकारीमा दूध बिक्री गर्ने किसानलाई प्रतिलिटर चार रुपैयाँका दरले अनुदान दिने गरेको छ । यसैको लाभ लिएका हुन् पोखरेलले । नभए यसअघि कुनै पनि खाले अनुदान रकम नपाएको र आफ्नै मिहिनेत पौरखका आधारमा गाई पाल्दै फैलाउँदै आएको पोखरेलले बताए । महानगरपालिकाले आर्थिक वर्ष ०७४/७५ देखि दूधमा अनुदान दिन सुरु गरेको हो ।

Dairy farmers in Bharatpur rely on subsidies

सुरुमा महानगरले दिने अनुदान एक लिटर दूधमा २५ पैसा थियो । दुई वर्षपछि बढेर एक रुपैयाँ पुग्यो । आर्थिक वर्ष ०७८/७९ देखि अनुदान रकम प्रतिलिटर तीन रुपैयाँ कायम भयो । आर्थिक वर्ष ०८१/८२ मा चार रुपैयाँ पुग्यो । महानगरका ७८ दुग्ध सहकारीले १० हजार ५ सय ६० किसानलाई अनुदान वितरण गरेको महानगरको आर्थिक विकास महाशाखाका प्रमुख तेजेन्द्रप्रसाद पौडेलले बताए । अनुदान रकम सुरुवात हुने कथा सुनाउँदै दुग्ध उत्पादक किसान भागीरथ तिमिल्सिना भन्छन्, ‘०७४ सालको पुस–माघतिर होला, हामी अनुदानको कुरा गर्न महानगरका मेयरसमक्ष गएका थियौं । त्यहाँ पशुपालनमा वर्षको १६ लाख रुपैयाँ बजेट रहेछ । यही बजेटलाई के गर्ने भन्ने छलफल सुरु भयो ।’ भरतपुर महानगरपालिका–६ केशरबागका तिमिल्सिनाले ०४३ सालदेखि गाईपालन गरिरहेका छन् । 

दुग्ध सहकारीको केन्द्रीय समितिसम्म पुगेका तिमिल्सिनाले दूध उत्पादनमा अनुदान दिइयोस् भनेर कृषि मन्त्रालय र पशुसेवा विभागमा पटकपटक कुरा राखे । तर उनको प्रस्ताव जसले सुन्थ्यो, उसले असम्भव भनेर पन्छाउँदै आए । यही असम्भव लाग्ने कुरा महानगरमा सुरु गर्ने मनसायले उनले मेयर रेनु दाहालसमक्ष प्रस्ताव गरे, ‘यो पैसाले अरू केही नगरौं । जति हुन्छ, दूध उत्पादनका आधारमा अनुदान दिऊँ ।’

भरतपुर महानगरस्तरका दुग्ध सहकारी संस्थाका प्रतिनिधि सम्मिलित उक्त बैठकमा बजेट उत्पादनमा आधारित अनुदान दिनमै खर्च गर्ने विषयमा सबै सहमत भए । उक्त वर्ष महानगरस्तरका सहकारीमा ६७ लाख लिटर दूध संकलन भएछ । त्यसका आधारमा अनुदान दिँदा १६ लाख ७५ हजार रुपैयाँ खर्च भयो । ‘पशुपालन क्षेत्रमा लागेका किसानले अरू पर्दैन, दूध किसानलाई उत्पादनका आधारमा अनुदान दिनुहोला भन्ने प्रस्ताव गरेपछि यो कार्यक्रम सुरु भएको हो,’ भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भनिन् । सुरुमा जेजति बजेट छ, त्यसबाट सुरुवात गरे पनि यसले राम्रो प्रभाव देखाएको उनले जनाइन् । महानगरको आर्थिक विकास महाशाखाबाट प्राप्त विवरणअनुसार सुरुका वर्ष आर्थिक वर्ष २०७४/७५ मा ६७ लाख लिटर दूध संकलन भएकामा २०८१/८२ मा २ करोड ३८ लाख ८८ हजार ४ सय ८४ लिटर दूध सहकारीमार्फत बिक्री भएर अनुदान रकम प्राप्त गरेका छन् । अनुदानले दूध उत्पादनका लाग्ने किसान संख्या बढ्यो ।

‘किसान निकै खुसी देखिए । सहकारीलाई प्रोत्साहन भयो । यो योजना निकै परिणाममुखी भयो । यसको प्रभाव दूध उत्पादनमा राम्रो पर्‍यो,’ मेयर दाहालले भनिन् । महानगरले सहकारीमा दूध बिक्री गर्ने किसानलाई अनुदान दिने गरेको छ । निजी फार्मले पनि दुग्ध विकास संस्थान (डीडीसी) लाई दूध बिक्री गर्छन् भने त्यस्तालाई पनि अनुदान दिने आर्थिक विकास महाशाखा प्रमुख पौडेलले बताए । ‘सहकारीले दूध संकलन भएको विवरणका आधारमा महानगरपालिकामा रकम माग गर्छन् । हामीले विवरण भेरिफाई गरेर सहकारीलाई रकम पठाउँछौं । सहकारीले दूध बिक्री गरेका प्रत्येक किसानलाई बैंक खातामै रकम पठाएको हरेकको विवरण हामीलाई बुझाउनुपर्छ,’ पौडेलले भने । बैंकमा खाता नहुने दूध किसानलाई रकम नदिने नियम छ, यस्ता किसान खासै भेटिँदैनन् ।

Dairy farmers in Bharatpur rely on subsidies

सहकारीमध्ये महानगरबाट धेरै रकम अनुदान लैजानेमा भरतपुर–६ को अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था हो । गत वर्ष संस्थाले अनुदानस्वरूप महानगरबाट ८८ लाख रुपैयाँ बुझेको सहकारीका अध्यक्ष प्रदीप तिमिल्सिनाले जनाए । ‘हाम्रोमा दिनमा एक/दुई लिटर दूध ल्याउनेदेखि पाँच सय लिटर दूध ल्याउने करिब ६ सय ५० किसान छन्,’ अध्यक्ष तिमिल्सिनाले भने । सबै किसान अनुदानको हकदार भएको तिमिल्सिनाको भनाइ छ । ‘महानगरको अनुदानले के सजिलो भयो भने उत्पादन गरेपछि पैसा आयो । न कतै प्रस्ताव लेख्नुपर्‍यो, न कसैको पहुँच लगाउनुपर्‍यो । सिधै जति उत्पादन गर्‍यो, त्यत्तिको पैसा किसानले सिधै पायो,’ उनले भने । थोरै गाईभैंसी पालेर थोरै दूध बेच्दै आएका या धेरै उत्पादन गरे पनि पहुँच नभएकाहरूले अनुदानको अनुभव गरेका थिएनन् ।

तर महानगरको अनुदान नीतिले सबैले पैसा पाउने वातावरण बनेको भागिरथ तिमिल्सिनाले सुनाए । ‘मैले यस्तो किसानमुखी अनुदानका लागि मन्त्रालय र विभागमा ०६७/०६८ सालदेखि कुरा राख्दै आएको हुँ । तर कुरा सुन्यो स्थानीय सरकारले,’ उनले भने । लामो समयदेखि दूध उत्पादनमा लागेका र वृद्ध हुँदासमेत यो पेसाबाट विमुख नभएका होमनाथ पोखरेललाई अझै प्रोत्साहनको खाँचो छ । यो आवश्यकता देखेका हुन्, रत्ननगर पिठुवाबाट पोखरेलको गोठमा गाई खरिद गर्न आएका डिल्लीप्रसाद गौतमले । ‘स्थानीय तहले अनुदान दिएको रहेछ, यस्ता मिहिनेती किसानलाई यो राम्रो कुरा हो । तर यस्ता मिहेनतीलाई पालिकाले उनीहरूकै हातमा अनुदान रकम राख्दिए यो झनै उत्प्रेरणा जगाउने काम हुने थियो भन्ने मैले देखेको छु । किनकि पोखरेलको लगाब गज्जबको छ,’ गौतमले भने । 

भरतपुर महानगरपालिकाको वार्षिक बजेट ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँ छ । महानगरले उत्पादनमा आधारित रहेर दूध किसानहरूलाई वर्षको नौ करोड रुपैयाँ हाराहारीमा अनुदान दिने गरेको छ । ‘विदेशमा कृषि क्षेत्रमा राम्रो अनुदान छ । ठूलो अनुदान दिन नसके पनि केही न केही टेवा दिऊँ भनेर भन्ने हामी लागिपरेका छौं,’ आर्थिक विकास महाशाखा प्रमुख पौडेलले भने । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully