संविधानसभा : संघीयताको जननी, समावेशिताको आधार

सशस्त्र संघर्षबाट आएको माओवादीलाई २०६४ को पहिलो संविधानसभा निर्वाचनले अनुमोदन गर्‍यो, २०७० को चुनावपछि गठित दोस्रो संविधानसभाले नयाा संविधान निर्माण पूरा गर्‍यो।

पुस ५, २०८२

गंगा बीसी

Constituent Assembly: Mother of federalism, foundation of inclusiveness

What you should know

काठमाडौँ — नेपालको इतिहासमा २०६२ अघि संविधानसभाबाट संविधान बनाउने सामान्य कल्पना मात्र थियो । त्यसअघि बनेका संविधानहरू संवैधानिक आयोगबाट लेखिँदै आएका थिए । तर २०६२/६३ को आन्दोलन र १० वर्षे सशस्त्र द्वन्द्वका कारणले संविधानसभा बन्यो र त्यसबाट नेपालको संविधान जारी भयो । यो नेपालको राजनीतिक इतिहासको महत्त्वपूर्ण घटना हो ।

माओवादीले १ फागुन २०५२ मा सशस्त्र द्वन्द्व सुरु गर्नुअघि सरकारलाई बुझाएको ४० बुँदे ज्ञापनपत्रमा प्रमुख मागमध्ये एक थियो, जनप्रतिनिधिबाट संविधान निर्माण गर्ने । सशस्त्र संघर्षबाट राज्यसत्ता कब्जा गर्ने मुख्य नीति लिएको उसको जनप्रतिनिधि अर्थात् संविधानसभाबाट ‘जनताको संविधान’ निर्माण गर्ने माग थियो ।

माओवादीले भनेअनुसार संविधानसभाको बाटोमा पुग्न नेपालका राजनीतिक दलहरूलाई १० वर्ष लागेको थियो । मुलुक संविधानसभाको बाटोमा पुग्न १० (२०६३ साल) वर्षे युद्ध भोग्न र करिब १७ हजार व्यक्तिको ज्यान जानुपर्‍यो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएर दलहरूलाई निषेध गरेपछि युद्धमा भएको माओवादी र शान्तिपूर्ण आन्दोलन गरिरहेका कांग्रेस, एमालेलगायत सात दल गणतन्त्रको बाटोमा अघि बढ्ने निष्कर्षमा पुगेका थिए ।

सशस्त्र द्वन्द्वका बेला माओवादीले नयाँ संविधान निर्माण गर्नुपर्ने मागसहित २०५८ जेठको केन्द्रीय कमिटी बैठकले ‘अन्तरिम सरकार, नयाँ संविधन र गणतन्त्रको संस्थागत विकास गर्ने’ मार्गचित्र अघि सारेको थियो । यसलाई मूर्तीकरण गर्न माओवादी र सात दलले २०६२/६३ को जनआन्दोलनमा जानुपर्‍यो । जनआन्दोलन–२ पश्चात् शाही घोषणमार्फत 

११ वैशाख २०६३ मा प्रतिनिधिसमा पुनःस्थापित भएको थियो । १५ वैशाखमा पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै राजाका अधिकार कटौती सुरु भएको थियो । त्यही सभाले ४ जेठ २०६३ मा दरबारमा रहेको राजकीय अधिकार खोसेर सार्वभौम संसद्मा ल्याएको थियो । 

प्रतिनिधिसभा पुनःस्थापनापछि तत्कालीन माओवादीलाई ल्याउनका लागि अन्तरिम संसद्को व्यवस्था गरियो । अन्तरिम संसद्मा ३ सय ३० सदस्य रहने व्यवस्था गरियो । १० वर्ष सशस्त्र संघर्ष गरेको माओवादी पहिलो पटक संसदीय बाटोमा अघि बढेको थियो । २०६३ मा जारी गरिएको अन्तरिम संविधानअनुसार २०६४ मा निर्वाचन भई ६ सय १ सदस्यीय संविधानसभाको गठन भयो । तत्कालीन राजाका निरंकुशशैलीले प्रजातन्त्र बन्धक बनाइएको अवस्थामा कांग्रेस, एमालेलगायत संसदीय दल र गणतन्त्रका लागि हतियार उठाएको माओवादीबीच गणतन्त्रको बाटोमा अघि बढ्ने सहमति जुट्यो । 

७ मंसिर २०६२ मा भएको १२ बुँदे सम्झौताले संविधानसभाबाट संविधान निर्माण गर्ने बाटो खोलेको थियो । त्यसका आधारमा माओवादी मूलधारको राजनीतिमा आएको थियो । संविधानसभाको पहिलो निर्वाचनले सशस्त्र संघर्षमा आएको माओवादीलाई अनुमोदन गरेको थियो । २०६४ मा भएको निर्वाचनमा माओवादी पहिलो पार्टी बन्यो, पुराना दल कांग्रेस दोस्रो र एमाले तेस्रो दल बनेका थिए ।  त्यसअघि राजनीतिक प्रणालीले कल्पना नगरेको प्रतिनिधित्व संविधानसभामा भएको थियो । तर मुख्यगरी संघीयता, शासकीय स्वरूप, धर्मनिरपेक्षता, प्रदेशको संख्यालगायतमा दलहरूबीच ठूलो मतभेद भयो । जसका कारण पहिलो संविधानसभा विघटन भयो । 

संविधानसभाले संविधान निर्माणसँगसँगै संसद्को काम पनि गर्ने संवैधानिक व्यवस्था थियो । पहिलो संविधानसभा १४ जेठ २०६९ मा संविधान जारी गर्न असफल भई विघटन भयो । ८ माघ २०७० मा दोस्रो संविधानसभाको गठन नभएसम्म देश संसद्विहीन अवस्थाबाट गुज्रिन पुग्यो । चैत २०६४ मा पहिलो र मंसिर २०७० मा दोस्रो संविधानसभा निर्वाचन भएको थियो । ३ असोज २०७२ मा नेपालको संविधान जारी भएको थियो । संविधानसभा जारी भएपछि निर्माण भएको संविधानलाई कार्यान्वयन गर्ने विषयमा दलहरू उदासीन हुँदा संघीयतामाथि प्रश्न उठेको छ । 

तत्कालीन माओवादी उपाध्यक्ष एवं संविधानसभा संवैधानिक तथा राजनीतिक संवाद समितिका सभापति बाबुराम भट्टराईले नेपालको इतिहासमा संविधानसभा इतिहासकै ठूलो घटना भएको बताए । ‘नेपालको इतिहासमा संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी हुनु, नेपाली इतिहासमा लोकतन्त्र आउनु सबभन्दा महत्त्वपूर्ण परिघटना हो,’ उनले भने, ‘मैले संविधान जारी भएपछि यो संविधान आधा गिलास भरी छ र आधा खाली छ भनेको थिएँ । यो १० वर्षको अनुभवले संविधान जारी भएपछि पनि राजनीतिक स्थिरता आउन सकेन । मुख्यगरी शासकीय स्वरूपको त्रुटिको कारणले र निर्वाचन प्रणालीको त्रुटिको कारणले त्यो अस्थिरता पैदा भयो ।’ 

Constituent Assembly: Mother of federalism, foundation of inclusiveness

दुई संविधानसभा निर्वाचन, जसले दलहरूको परीक्षण गरेको थियो । संविधान निर्माणमा जतिसक्दो बढी जनप्रतिनिधिको सहभागितामा संविधान निर्माण गर्ने यसको ध्येय थियो । २०७० को निर्वाचनमा कांग्रेसले समानुपातिकमा ९१, प्रत्यक्षमा १ सय ५ गरी १ सय ९६ सिट ल्याएको थियो । तर २०६४ को निर्वाचनमा समानुपातिकमा ७३, प्रत्यक्षमा ३७, मनोनीतमा पाँच गरी ११५ सिट ल्याएको थियो । एमालेले २०७० को निर्वाचनमा समानुपातिकमा ८४ र प्रत्यक्षमा ९१ गरी १ सय ७५ सिट ल्याएको थियो । 

२०६४ मा समानुपातिक ७०, प्रत्यक्ष निर्वाचनमा ३३ र मनोनीत ५ गरी १ सय ८ सिट ल्याएको थियो । तत्कालीन एनेकपा माओवादीले २०७० मा समानुपातिकमा ५४, प्रत्यक्षमा २६ गरी ८० ल्याएको थियो । २०६४ मा समानुपातिक १ सय, प्रत्यक्षमा १ सय २० र मनोनीत ९ गरी २ सय २९ ल्याएको थियो । पहिलो संविधानसभामा पहिलो दल बनेर सरकारको नेतृत्व गरेको थियो ।

संविधानसभामा मधेशकेन्द्रित दलहरू उदय भए । को उदय भई हालसम्म पनि अस्तित्वमा रहेका छन् । राप्रपाले २०७० मा समानुपातिक १०, प्रत्यक्षमा ३ गरी १३ ल्याएको थियो । उसले २०६४ मा समानुपातिकमा ८ मात्र पाएको थियो । उसले कुनै पनि प्रत्यक्ष जित्न सकेन । नेपाल मजदुर किसान पार्टीले २०७० मा समानुपातिकमा ३, प्रत्यक्षमा १ गरी ४ स्थान ल्याएको थियो । २०६४ मा समानुपातिकमा २, प्रत्यक्षमा २ र मनोनीत १ गरी ५ सिट ल्याएको थियो । राष्ट्रिय जनमोर्चा २०७० को संविधानसभामा प्रत्यक्षमा ३ सिट पनि जित्न सकेन । २०६४ मा समानुपातिकमा ३ र प्रत्यक्ष १ गरी ४ स्थान ल्याएको थियो । 

 राप्रपा नेपालले २०७० मा प्रत्यक्षमा एक सिट नजिते पनि समानुपातिकमा २४ ल्यायो । २०६४ मा समानुपातिक ४ मात्र ल्याएको थियो । फोरम नेपालले २०७० मा समानुपातिक ८ र प्रत्यक्ष २ गरी १० सिट ल्याएको थियो । २०६४ मा समानुपातिकमा २२ र प्रत्यक्षमा ३० गरी ५२ सिट ल्याएको थियो । फोरम लोकतान्त्रिकले २०७० मा समानुपातिकमा १० र प्रत्यक्षमा ४ गरी १४ ल्याएको थियो । २०७० मा यो दल कांग्रेससित मिलेको थियो ।

तत्कालीन तमलोपाले २०७० मा समानुपातिक ७ र प्रत्यक्ष ४ गरी ११ सिट र २०६४ मा समानुपातिक ११, प्रत्यक्ष ९ र मनोनित १ गरी २१ ल्याएको थियो । सद्भावना पार्टी २०७० मा समानुपातिकमा ५ र प्रत्यक्ष एक गरी ६ सिट ल्याएको छ । २०६४ समानुपातिकमा ५ र प्रत्यक्ष ४ गरी ९ जना सिट पाएको छ । त्यस्तै, नेकपाले २०७० मा समानुपातिक ५ सिट ल्याएको थियो । २०६४ मा समानुपातिक ८ र मनोनीत १ गरी ९ सिट ल्याएको थियो ।

गंगा बीसी

Link copied successfully