नेपाली समाजको जन्मदेखि मृत्युसम्मका लय हुन्– गीत, लोकगीत, शोकगीत र बाजाहरू । दुःख–कष्टका क्षणदेखि उत्सवका दिनसम्मै नेपाली जनजीवन संगीतमय भइरहन्छ।
What you should know
ज्ञात–अज्ञात तमाम सर्जकले संगीतमै जीवन उत्सर्ग गरे । ती दिग्गजप्रति सदा आभारी छ– रैथाने संगीत । क्लब, डिस्कोमा ‘अरू’ नै गीत बजून्, ‘जरातिर फर्कनेहरू’ भने हाम्रा लोक–कथा, मिथक खोज्दै रैथाने–धाम धाउँछन् ।
रैथाने–धामको खोजीमा सिनेमा हलतिर बरालिएका दर्शक संगीतमय फिल्म ‘जारी २– सङ अफ च्याब्रुङ’ मा भेट्छन्– च्याब्रुङको ताल, लिम्बू जीवनको महिमा, च्याब्रुङमा मिसिएको इतिहासको धुन– आहान, कथा र किंवदन्ती ।
पूर्वी नेपालका लिम्बूहरू सुख र खुसीमा च्याब्रुङ बजाउँदै जीवनबोध गर्छन्, जो समृद्ध छन्– सांस्कृतिक लयले । च्याब्रुङको ताल र रैथानेपनले ती कति वैभवपूर्ण छन् ? त्यो कथा भन्छ– ‘जारी २’ ले ।
नेपाली जीवन संगीतमय छ । जस्तो च्याब्रुङ नाच रैथाने लोकनृत्य हो, जहाँ लिम्बू जीवन र लोककथा बाँचिरहेको छ । बिहे–बटुलो, खुसी, उत्सवमा नाचिन्छ– च्याब्रुङ । च्याब्रुङ नाच्नेहरूको पवित्र कामना छ– घरपरिवारमा कुनै अपशकुन नआओस्, प्राकृतिक प्रकोपले नदुखाओस्, नष्ट हुन् रोगव्याधि, कहिल्यै नहोस् अनिष्ट । त्यसैले च्याब्रुङ हो– एक विशिष्ट सांस्कृतिक साधना र प्रार्थना ।
उहिले नै राज्य चलाएका च्याब्रुङ बजाइहिँड्ने लिम्बू बाजेहरू सुविख्यात हुनुपर्ने हो, तर सायद नेपाली मानसमा गायब छन्, तिनका स्मृतिहरू । घरको मूलखाँबोमा सानले झुन्डिरहेको हुन्छ– च्याब्रुङ । भनिन्छ– च्याब्रुङले घरलाई भूत–प्रेत र प्रकोपबाट सदा रक्षा गर्छ ।
जीवनपद्धति, विश्वास, सम्बन्ध, स्मृतिहरूमा छ– रैथाने संगीत । त्यो हो नेपाली आत्माको प्रतीक, जसले स्मृतियानमा सवार गराएर पूर्वज सम्झन्छ । विधि, संस्कार, पर्व वा सम्बन्धका धड्कन हुन्– रैथाने संगीत ।
हिमालदेखि तराईसम्मका अनेकन् जातजातिको रीति–रिवाज, वेश–भूषा र भाषा–संस्कृतिको सांगीतिक सम्पदा हो– रैथाने संगीत, नेपाली जनजीवनको असाध्यै नजिकको हिस्सा ।
मनोहारी नेपाली साझा फूलबारीको जन्मदेखि मृत्युपर्यन्तका माला हुन्– गीत, लोकगीत, शोकगीत र बाजाहरू । दुःख र कष्टमय दिनदेखि उत्सवपूर्ण खुसीका दिनसम्मै नेपाली जनजीवन संगीतमय भइरहन्छ । प्राचीनकालदेखि नै महाकालीदेखि मेचीसम्मै संस्कार, ऋतु, धार्मिक–कार्यमा हाम्रा विविध लोकगीत र लोकबाजा छन्, जुन उत्सवदेखि विरहसम्मै गाइन्छ, बजाइन्छ ।
हाम्रा प्रत्येक समुदाय र संस्कृतिसँग आफ्नै वाद्ययन्त्र छन्, जसमार्फत बजाइने पारम्परिक संगीत नै हो– रैथाने संगीत । असलमा नेपाली दैनिकी हुन् हाम्रा रैथाने लोकबाजा, जसले युगौंदेखि समाज ब्युँझाइरहेका छन्— ढोलक, मादल, नगरा, मुरली, बाँसुरी, तबला, सहनाई, नरसिंगा, दमाहा, डमरू, च्याब्रुङ, सारङ्गी, बिनायो, अरबाज, मुर्चुङ्गा, ढ्याङ्ग्रो, झ्याली, कर्णाल, खैंजडी, ट्याम्को, टुङ्ना, पन्चै, एकतारे, नायखीं, मुजुरा, खीं, डम्फु, टुङ्ना, हुड्का...।
लोकगीत, भजनकीर्तन, जुहारी गीत, चाडपर्वका लोकगीत, ऋतुप्रधान लोकगीत, वीरताका लोकगीत, चुट्का, बालन, मागल गीत, सोरठी, मारुनी, घाटु, रोधी, दोहोरी, हाक्पारे–ख्याली, संगीनी, देउसी–भैली, मालश्री, असारे, भदौरे, चाँचरी, रामलीला, कृष्णचरित्र, रत्यौली, धाननाच, साकेला, सिलोक, बाह्रमासा, देउडा, झ्याउरेहरूले हाम्रै जीवन, संघर्ष र जीविकाका लामो आख्यान सुनाउँछन् ।
‘संगीत परिक्रमा’ किताबमा संगीत अन्वेषक रामशरण दर्नालले लेखेका छन्, ‘एक नेपाली जस्तोसुकै थकाइले चुर भएको किन नहोस्, कतै गीतका स्वरलहरी गुन्जेको सुन्नासाथ ऊ गीत गाउन तत्पर हुन्छ । कतै मादल घन्केको सुनेर उसका पदहरू त्यसै–त्यसै उचालिन थाल्छन् ।’ त्यसैले त नेपाली जीवन संगीतमय छ– उषाकालदेखि सन्ध्याकालसम्मै । वर्षैभरि संगीतको मिलनस्थल हो नेपाल, जहाँ गाउँदेखि सहरसम्मै गीत–बाजा र नाचको महोत्सव चल्छ ।
जसरी जीवनका खुसी, उत्सवमा लिम्बूहरू च्याब्रुङ नाच्छन्, उस्तै नेवाः संगीत पनि जीवनसँग प्रत्यक्ष गाँसिन्छ, नेवाः समुदायको जीवनशैली नै संगीतमय छ । जस्तो गर्भावस्थामै भविष्यमा संसार देख्दै गरेको सन्तानको सुस्वास्थ्य कामना गर्दै पूजा गरिन्छ, पूजामा बाजा बजाइन्छ । बिहे, जङ्को (बूढो पास्नी), मृत्युमा पनि बाजै बज्छ । तर, बेग्लै हुन्छ– मृत्युमा मलामी जाँदा र दागबत्ती दिँदा बजाइने बाजा (नाय्खिं बाजा) को बोल ।
नेवाः संस्कृतिका ठूला जात्रा (इन्द्रजात्रा, बिस्काः जात्रा, रातो मत्स्येन्द्रनाथको जात्रा, पाहांचःर्हे (घोडेजात्रा) मा पनि बाजै बज्छ । ऋतु म्ये (गीत) अर्थात् ६ वटा ऋतुमा ६ प्रकारकै गीत गाइन्छ, जस्तो दसैंमा मालश्री, घोडेजात्रामा धनाश्री । ‘नेवाःको ज्यापु समुदायको एउटा टोलमा दुइटा गुठी हुन्छ । एउटा सामाजिक गुठी, अर्को बाजा गुठी । बाजा गुठीले बाजा सिकाउँछ । यहाँ बाजा नसिकीकन कोही पनि ज्यापु केटा ज्यापु समुदायको सदस्य बन्नै सक्दैन,’ संस्कृति–अध्येता सुरेश किरण भन्छन् ।
त्यसैले नेवाः दैनिकीमै छ– लोकगीत, जुन सधैंका कृषि–कर्मसँग जोडिन्छ– धान रोप्दा होस् वा गोडमेल गर्दा, छुट्टाछुट्टै गीत गाइन्छ ।
सञ्चारमाध्यम नहुँदा कर्खा गाउँदै गाउँ–गाउँ पुग्ने गन्धर्वहरूले पनि जोगाएका हुन्– हाम्रा संगीत, धुन र बाजा । तिनको जीविका र जीवन नै ‘आफ्नै’ भाका हो, जसले सारंगीजस्तै रेटिएर सारंगी रेट्दै कर्खा गाए । गाइरहे– आफ्नै चिसा पीडा– दुःख–वेदना, जसले गीत र काव्यमार्फत नेपाली समाजको साहस र वीरता–गाथा पनि सञ्चारित गरिरहे । सारंगी रेटेर बजेको धुनमा तिनले इतिहास–कथा गाए ।
संगीतबिना हाम्रो जीवन अधुरै–अधुरो छ । जसरी लिम्बू समुदायमा च्याब्रुङ छ, राई समुदायमा बिनायो बाजाको उस्तै विशिष्ट सान–मान छ । जाँतोमा कोदो–मकै पिस्दा वा ढिकीमा धान कुट्दा वा रक्सी पार्दा बिनायो बजिरहन्छ । राईहरूको पहिचान–कथा भन्ने ‘थाङ्ग्रा’ उपन्यासकी लेखक प्रगति राईको बिनायोसँग अनुपन अनुभूति छ– रक्सी पारेको तातो पानीले आनन्दसाथ अँध्यारोमा खुलमखुल्ला नुहाउने, चट्ट एक गिलास रक्सी पिउने अनि आधा रातसम्मै घण्टौं बिनायो बजाउने ।
‘मायालुको याद जति गहिरो हुन्थ्यो, उति बिनायोका धुनहरू फेर्दै बजाइरहनु एउटा स्वर्णिम क्षण हुन्थ्यो,’ प्रगति भन्छिन्, ‘आदिवासीहरू कृषि पेसामै जीवन बिताउँछन् । बस्तु चराउन जाँदा फुर्सदी समयमा के गर्ने ? मालिङ्गो काटेर बाजा बनाउने । त्यसैगरी बनाइए– मादल, बिनायो, चरी–बाजा ।’
प्रगतिको अनुभूतिमा गोठालो गर्दै जंगलमा बिनायो बजाउनुको मज्जा र सुन्नुको आनन्द जीवनमा अद्भुत हुन्छ । ‘बिनायो बाँसुरीभन्दा मधुर आवाजको हुन्छ, त्यसैले घरभित्र महिलाहरूले बजाउन थाले । बिहान होस् वा बेलुका– बिनायो बजिरहन्थ्यो ।’
बिनायो एक किराती बाजा हो र आदिम युगमा विकास भएको हो– किराती संगीत । यो रैथाने संगीतको आफ्नै विशिष्ट महिमा छ । यसका अनेक साक्ष्य छन्, जसमध्ये एक हो– अर्नाको सिङलाई बाजाका रूपमा प्रयोग गर्नु । खालिङ, कुलुङ, थुलुङ, बायुङलगायतका राईले यस बाजाको प्रयोग अझै जीवित राखेका छन्, जसलाई खालिङ राईहरू ‘भ्वाम’ भन्छन् ।
मुन्दुम अध्येता भोगीराज चाम्लिङको अध्ययनमा ‘भ्वाम’ बाजालाई काठमाडौं उपत्यकाको नेवार समाजमा ‘नेकु’ बाजा भनिन्छ, जुन अर्नाकै सिङबाट बनाइएको हो । ‘अर्नाको सिङलाई बाजाका रूपमा प्रयोग गर्ने नेवार र राई संस्कृतिमा रहेको यस समानताले काठमाडौं उपत्यकासँग पूर्वी नेपालका किरातीहरूको प्राचीनकालमा सम्बन्ध थियो, उनीहरूका पुर्खा काठमाडौं उपत्यकामा थिए भन्ने तथ्य उजागर गर्छ । नेवार र किरातीहरू प्राचीन कालमा एकै वंशका थिए भन्ने संकेत पनि गर्छ,’ भोगीराज भन्छन् ।
किराती मुन्दुमी संगीत मनोरन्जनका लागि होइन, श्रम सहज बनाउन र प्रकृतिसँग अनुकूलन हुन विकास भएको थियो । त्यसैले किराती मुन्दुमी संगीतमा श्रमको अनुकरण हुन्छ र प्रकृतिको नक्कल गरिन्छ । भोगीराज किराती संगीतको उदाहरणसहित व्याख्यान दिन्छन्–
एक– प्रकृतिको अनुकरणको एउटा उदाहरण : मुन्दुमअनुसार मबुमी कुपुमी (काफल पाक्यो) चराबाट सिकेर मानवहरू धामी बनेका हुन् । र, प्रथम मानवधामी हर्कबुङ थिए । किरात राईहरू हर्कबुङका सन्तान मानिन्छन् । चराहरूलाई प्रथम धामी मान्नुको अर्थ हो– चराहरूबाट गायन कला अनुकरण गर्नु ।
गायन मात्रै होइन, बाजाका तालहरू पनि चराबाट सिकेको कुरा मुन्दुममा आउँछ । धामीले घरपरिवारको शान्तिसुरक्षा अथवा मृतात्मालाई बाटो लगाउने चिन्ता गर्दा ढोलको एउटा ताल बजाइन्छ, जसलाई धोबी ताल भनिन्छ ।
धोबी चरा भुइँमा जसरी उफ्रिन्छ, कुद्छ त्यही चाल अनुकरण गरेर बजाइने ताल हो धोबी ताल । यसरी किराती गायन र वाद्यवादन दुवै चराबाट प्रभावित र चराकै अनुकरण गरेको देखिन्छ । पुरातात्त्विक अध्ययनहरूले पनि यो कुरा तथ्ययुक्त रहेको देखाउँछन् ।
दुई– श्रम अनुकरणको एउटा उदाहरण : साकेला सिली नाच्दा किरातीहरूले भस्मे फाडेकोदेखि अन्न उत्पादन गरेर उपभोग गरेकोसम्म नृत्यात्मक रूपमा अभिनय गर्छन् । त्यस्तै, सिकार गरेको अभिनयात्मक नृत्य गर्छन् । श्रमसँग सम्बन्धित यो नृत्यात्मक अभिनयसँग केर (ढोल) को ताल पनि अलगअलग रूपमा बजाइन्छ । भन्नुको अर्थ हो, श्रमको अनुकरण गरेर त्यसअनुसार ताल निर्माण गर्नु ।
किराती मुन्दुमी संगीतमा श्रमको अनुकरण गरेर सिली गरिन्छ र प्रकृतिको अनुकरण गरेर धोबी चराको चालमा केर (ढोल) बजाइन्छ । यसका आधारमा भन्न सकिन्छ, किराती संगीतको विकास जीविका र जीवनकै लागि भएको थियो । त्यसैले किराती मुन्दुमी संगीतका दृष्टिबाट ‘कला कलाका लागि’ होइन, ‘कला जीवनका लागि’ विकास भएको हो ।
मुन्दुम संगीत विमर्शपछि हिमाली भेकका शेर्पा सम्झिऔं । शेर्पाको सम्पूर्ण जीवन संगीतमय छ– जन्मदेखि मृत्युसम्मै, जो लोकगीत र लोक बाजाका धुनमा आफूलाई खोज्छन्– गाउँछन्, बजाउँछन्, नाच्छन् । र, जीवनका सबै संस्कार संगीतकै ताल–सुरमा गर्छन्– खुसीदेखि शोकसम्मै गीत (मन्त्र) र बाजा घन्काउँछन् । ‘संगीत परिक्रमा’ किताबमा दर्नाल लेख्छन्, ‘हिमाली भेकमा बसोबास गर्ने नेपालीको संस्कृति र जीवनमा संगीत एक मूलखम्बाका रूपमा रहेको छ ।’
हुम्लाकी लेखक कुन्साङ चिसो काठमान्डुमा हिमालको ‘स्याब्रु’ याद गरिबस्छिन् । हिमाली क्षेत्रका आदिवासी–जनजातिको महत्त्वपूर्ण अंग हो– ‘स्याब्रु’ । समूहमा गोलो घेरा बनाएर स्याब्रु नाचिन्छ/गाइन्छ । ‘स्याब्रु गीतमा प्रकृतिलाई सम्बोधन/आराधना गरिन्छ, तर यसमा बाजाको प्रयोग हुँदैन । समूहमा नाचिने/गाइने परम्पराले सामुदायिक रूपमा बाँच्ने शैलीलाई प्रतिबिम्बित गर्छ । यो गीतमा सृष्टि, प्रकृति र जीवनबारे वर्णन छ,’ कुन्साङ भन्छिन् ।
देशको चिनारीमा आ–आफ्नै भाषा, संस्कृति र भूगोलले गहिरो भूमिका खेल्छन् । र, मानवीय–प्राकृतिक सहकार्यबाटै मौलिक र विशिष्ट संगीतको जन्म हुन्छ ।
समीक्षक, संगीत पारखी गुरुङ सुशान्तको विचारमा नेपाल बहुसांस्कृतिक मुलुक भएकाले नेपाललाई रैथाने संगीतको खानी भने हुन्छ । ‘रैथाने संगीतका बाजा, लय र स्वरध्वनिको निर्माणमा बेग्लाबेग्लै सांस्कृतिक उत्सव, ऐतिहासिक पदचाप र अर्थ राजनीति लुकेर बसेका हुन्छन् । खासमा नेपालका विभिन्न समुदायका रैथाने संगीतलाई बुझ्नु भनेको ती समुदायलाई नजिकबाट बुझ्नु त हुँदै हो, नेपालको मौलिक इतिहासलाई छाम्नु पनि हो ।
एउटा समुदायको रैथाने संगीतले आफ्नै समुदायभित्र सुखदुःख र दर्शन आदानप्रदान मात्रै नगरी देशभित्रका अरू समुदायसँग संवाद गरिरहेको हुन्छ,’ सुशान्त भन्छन्, ‘एउटा समुदायले आविष्कार गरेको वाद्ययन्त्र र लय अरू समुदायका जीवनमा देन भइरहेको हुन सक्छ । कारण— कुनै समुदायमा प्र्रचलित बाजा र धुन लहडमा जन्मिएको हुँदैन ।
ऐतिहासिक आवश्यकता, साझा मिहिनेत र सांस्कृतिक यात्राका क्रममा जन्मिएका संगीत तथा बाजाले सामूहिक दर्शन बोकेका हुन्छन् ।’ यसर्थ आफैंभित्र व्यक्ति–व्यक्तिमा खण्डित जीवन बाँचिरहेको पुँजीवादी युगमा रैथाने संगीतलाई जोगाउनु भनेको ‘हामी’ हुनुको बोध गर्नु पनि हो । हिमाली, पहाडी, तराईको संगीत त्यहाँ बसोबास गर्ने मानिसका पग–पगमा गाँसिएको छ ।
ताप्लेजुङदेखि दार्चुलासम्मको नेपाली भूभाग असाध्यै समृद्ध छ– रैथाने संगीतले । दर्नालले लेखेका छन्, ‘अनेक परम्परागत गीत, संस्कार–गीत, धार्मिक–गीत, मेलापातका–गीत, जात्रा–मात्राका गीत, खुसीयालीमा उफ्रने गीतदेखि लिएर शोकमा चुर्लुम्म डुबेर व्यथा व्यक्त गर्ने गीतहरू जन–जनका गलामा भरिएर रहेका छन् ।’
संगीतसँग लहसिएका गीतकार, कवि विप्लव प्रतीकको विचारमा रैथाने संगीत त्यो हो, जसले आफ्नो परिचय, इतिहास र परम्परालाई मौलिक वाद्ययन्त्र, स्वरमाधुर्य एवं तालसही प्रस्तुत गर्छ । रैथाने संगीत समुदायको सामाजिक, धार्मिक र सांस्कृतिक अभ्यासमा मिसिएको हुन्छ र पिढीगत रूपमा समकालीन समाजसम्म यसको शृंखलाबद्ध यात्रा हुन्छ, धुन प्रधान हुन्छ, शब्द प्रधान हुँदैन । ‘तर, अपवादका रूपमा यदाकदा यसमा शब्द मुखर रूपमा आएको पनि हुन्छ । यसले सुर, मेलोडी र सामूहिक स्वरलाई पिढीदरपिढी काँधमा बोकेर हिँडेको हुन्छ,’ प्रतीक भन्छन् ।
उनको बुझाइमा आफ्नै व्यूहमा फसेको सरकारबाट कला, साहित्य, रंगमञ्च, खेलकुद र संगीतबारे ठोस ध्यान र हौसला हुन्छ भन्ने लाग्दैन । त्यसैले रैथाने संगीतको स्थानीय समुदायले नै रक्षा गर्नुपर्छ । रैथाने संगीत जोगाउने स्रष्टाको सम्झना गर्छन् र रैथाने–आधुनिक गीतमाथि विप्लव उदाहरण दिन्छन्–
एक– जुन जुन कुरामा विगतको सरकारको ध्यान गएको थिएन, तिनै कुरा बडो मुखर भएर आएका छन् । समय त्यसको साक्षी छ । त्यसैले केही समर्पित नामहरूको कामै काफी छ । लोकगीत र रैथाने संगीतमा अभिलेखीकरणका हिसाबले मैले यतिखेर सम्झेसम्म तुलसी दिवस र सांगीतिक अभियानका रूपमा प्रेमदेव गिरी र झुमा लिम्बूका प्रयास स्तुत्य छन् ।
सकिन्छ भने उद्योगीहरूको संस्थाले यस्ता विषयलाई पहिचान गरेर सक्दो भरथेग गरिदिए त्यो पुण्यको काम हुनेछ । कुनै पनि सरकारको दाग लागेको कलाको संरक्षण दुनियाँमा कहिल्यै दिगो भएको छैन र हुन पनि सक्दैन ।
दुई– रैथाने संगीतका आधारमा आधुनिक गीत बनेका थुप्रै उदाहरण छन् । ती गीतहरू श्रोताको हृदयमा कुदिन्छन् र तिनले बेग्लै पहिचान बनाउँछन् । नेपालमा नातिकाजी, गोपाल योञ्जन, नारायणगोपाल, फत्तेमान, दीप श्रेष्ठ, बुलु मुकारुङ, न्हयु बज्राचार्य र सुरेश अधिकारी आदिले ‘कम्पोज’ गरेका निश्चित गीतहरू त्यसका उदाहरण हुन् ।
हिन्दुस्तानका एसडी बर्मन रचित कतिपय गीतहरू पनि त्यसका उदाहरण हुन् । अंग्रेजी गीतहरूमा लेड जेप्पेलिनको ‘काश्मीर’, रोलिङ स्टोनको ‘पेन्ट इट ब्ल्याक’ र बिटल्सको ‘नर्वेजियन वुड’ लाई पनि उदाहरणका रूपमा लिन सकिन्छ, तर तिनीहरूले पूर्वीय शास्त्रीय वा कुनै देश विशेषको संगीतप्रति अनुराग राखेर संगीत सिर्जना गरेका थिए ।
गीतकार/कवि श्रवण मुकारुङलाई सधैं लागिरहन्छ– रैथाने गीत–संगीतलाई विद्रूप बनाइएको छ । ‘हाम्रो परम्परागत गीत–संगीतको शोध अनुसन्धान, संरक्षण, प्रचारप्रसार हुनुपर्छ । सिर्जनात्मक गीत–संगीतको क्षेत्रमा लागेका साथीहरूले यसलाई अनुमति लिएर ठीक ढंगले प्रयोग गर्नुपर्छ । अफसोच अहिले आफ्नै मौलिक सिर्जनाजस्तो गरेर वा तोडमोड गरी विद्रूप बनाई रैथाने संगीत प्रयोग भएको हामी पाउँछौं,’ उनी भन्छन्, ‘यसो गर्नु एकातिर दण्डनीय त हुन्छ नै, अर्कातिर उहाँहरूको सिर्जनात्मकतामाथि पनि प्रश्न उठ्ने नै भयो ।’
रैथाने बाजा, गीत र नाचको संरक्षण वा अर्काइभ कसरी गर्ने ? बेलाबेला विमर्श चल्छन् । रैथाने संगीतको शैली, पद्धति र प्रभाव जोगाए मात्रै हाम्रा सांस्कृतिक सम्पदा समृद्ध रहन्छन् । युगौंसम्म अजम्मरी फुलिरहून्– रैथाने संगीतका फूल–थुंगा ।
०००००
‘डिस्को र बारमा पनि रैथाने संगीत गुन्जिऊन्’
झुमा लिम्बू, रैथाने संगीतकी अभियन्ता, संगीतकार र गायक
२१ भदौमा काठमाडौंको ठमेलस्थित एलओडी क्लबमा 'झुमा लिम्बू एन्ड दि रैथाने ब्यान्ड’ को कन्सर्ट थियो, के अब रैथाने संगीत मूलधारमा आएको हो ? रैथाने संगीत सुन्न मान्छेहरू टिकट काटेरै आउने दिन आयो हो ?
रैथाने के हो ? थाहा होस् सहरियालाई भनेर यस्तो कन्सर्ट आयोजना गरिएको थियो । नेपालकै सबैभन्दा ठूलो क्लब एलओडीमै कन्सर्ट हुँदा त्यसले धेरैको ध्यान खिच्यो । ठूल्ठूला बार र क्लबहरूमा मान्छेले डिस्को म्युजिक मात्रै किन सुन्ने ? हाम्रा रैथाने गीत पनि सुनून् भन्ने पनि हो । टिकट जाँदो रहेछ हौ । यो रैथाने संगीतप्रति हामी संवेदनशील हुनुपर्छ, यो हाम्रो संगीत हो भन्ने विचार मान्छेहरूमा पलाउन थालेको छ ।
यो हाम्रो स्थानीय संगीत हो भनेर रैथाने खाना रोजेजस्तै मान्छे रैथाने संगीत खोज्न थालिसके । जे–जे कुरा छन् हाम्रो, त्यो स्थानीय प्रोपर्टी बाहिर आउन थालेको धेरै समय भएको छैन, बढीमा एक दशक भयो होला । अझ बढीमा ६० दशकको जनआन्दोलनपछि होला । मलाई अहिले लाग्न थाल्यो– रैथाने संगीत मूलधारमा छ ।
अहिले मैले गीत गाएरै भात खाने दिन आएको छ, उति बेला थिएन । प्रायः विश्लेषकसँग कुरा गर्यो भने ‘यो हाम्रो रैथाने संगीत एकदम संकटमा छ, संकटउन्मुख छ, गाह्रो छ बाहिर आउन’ भनेको सुन्छु । त्यो उहाँहरूलाई थाहा नभएर हो । त्यति चिन्तित हुनुपर्दैन । हामीले काम गरिरहेछौं ।
रैथाने संगीत यात्रा काठमाडौंबाहेक अरू सहरहरूमा पनि हुँदै छ, तपाईंहरूको उद्देश्य के हो ?
रैथाने ब्यान्डले सांगीतिक यात्रामार्फत सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ । विभिन्न सहर–गाउँ पुगेर स्थानीय लोक–संगीत— हाक्पारे, पालाम, च्याब्रुङ, घाटु, सोरठी, देउडा, मारुनीलगायत संगीत र नृत्यलाई केन्द्रमा राखेर ब्यान्ड गुन्जनेछ । यस यात्राले गाउँ र सहरको संगीत जोड्छ । संस्कृति र संगीतलाई नयाँ पुस्तामा पुर्याउने पनि हाम्रो आशा छ । रैथाने घुमफिर गाउँ–सहरको संगीत र संस्कृति जोड्न पुलका रूपमा उभिनेछ ।
रैथाने भाका, गीत र संगीतलाई कसरी जनजीवनसँग जोडिन्छ ?
रैथाने भाषा त्यहाँको भूबनोटबाट निर्धारित भएजस्तै संगीत पनि भूबनोटसँग सम्बन्धित र प्रभावित हुन्छ । लिम्बूहरूको मूल थलो कहीँ अत्यन्तै भिरालो, विशाल चट्टानले बनेको पहाड र कहीँ समथर छ । हाम्रो हाक्पारेको नोटेसन हेर्यौं भने त्यसको संगीत बनोटमा पनि ती ठाउँहरूको प्रभाव भेटिन्छ । लिम्बू भाषाको बनावटबाट र यी जाति कस्तो ठाउँमा बस्छन् भन्ने सजिलै थाहा पाउन सकिन्छ ।
जस्तै अरू भाषामा तल–माथि, वर–पर चारै दिशाबाट कसैलाई बोलाउँदा ‘यता आऊ’ भने पुग्छ । तर, लिम्बू भाषामा माथिबाट तलकालाई बोलाउँदा ‘येः’ भनिन्छ । तलबाट माथिकालाई बोलाउँदा ‘थाङेः’ भनिन्छ । सम्म ठाउँ अथवा वर–पर बोलाउँदा भने ‘फेरेः’ भनिन्छ । हाम्रो हाक्पारे छ । त्यसमा सप्पै सृष्टि, समाज, सभ्यता छ । अनि जीवन जोडिएन त ?
हामीले रैथाने संगीतको किन जगेर्ना गर्नुपर्छ ?
नेपाल विविध भाषा, संस्कृति, भूबनोट, वनस्पति, जनावर–पन्छीमा गर्व गर्न सकिने मुलुक हो । नयाँ पुस्ताले यो बुझ्नुपर्छ । नत्र इतिहास नामेट हुनेछ । हामी सबैले आपसका भाषा, संगीत र संस्कृतिको अन्तरमनदेखि स्वीकार र त्यसमा गर्व गर्ने अभ्यास गर्नु जरुरी छ । मानव सभ्यतालाई यहाँसम्म ल्याइपुर्याउने मुख्य कडीमध्ये कला संस्कृति हो, रैथानेपन हो । अनेक संस्कृति मिलेर एउटा सभ्यता अगाडि बढ्छ भन्ने सबैले बुझ्नुपर्छ । रैथाने हावापानी, माटो भूगोलसँग जोडिन्छ । संस्कृति, भाषा सबै जोडिन्छन् ।
पहिले लोकगीत अथवा लोक संगीत भन्ने कुरा थियो तर रैथाने भन्यो भने त्यसले सबै समेटिन्छ । लोक मात्रैले समेट्दैन, रैथाने चीजहरूमा सबै कुरा समेटिन्छ । तर, लोक र रैथाने छुट्याउने रेखाचाहिँ छैन । हाम्रोमा स्थानीयता अझै खोज्नुपर्ने अवस्थामा छ । संगीत त छ तर नेपाली संगीत कहाँ छ ? त्यो खोज्दा निराश हुनुपर्ने अवस्था छ ।
भाषा त हाम्रै छ तर संगीत अरूको छ । हामीले लोक गुमायौं, आफ्नो पहिचान र आफ्ना कुरा गुमायौं । नेपाली संगीतले आफ्नै मौलिक पहिचान बनाएर विश्व मञ्चमा उभिएको हेर्ने मेरो ठूलो सपना छ । बिस्तारै त्यो दिन पनि आउला, हामीलाई आफ्नै संस्कृति थाहा छैन । त्यो थाहा पाउने मान्छेहरू आउनुपर्यो भन्ने हो ।
नेपाली रैथाने बाजाहरू मूलधारमा किन आएनन् ?
नेपालमा भाषा, जातिको संख्या बराबरै बाजा छन् । तर, ती बाजा जातीय र क्षेत्रीय रूपमै सीमित पारिए । बाजा त धेरै छन् तर तिनको पहिचान भएको छैन । नेवारीबाहेक अरू बाजा व्यावसायिक बन्न सकेनन् । बरु मगर समुदायको मादल नेपालैभरि फैलिएको छ । नेपालका बाजामध्ये दर्जनलाई मात्रै मूलधारमा ल्याउने हो भने नेपाली संगीत कति माथि पुग्थ्यो–पुग्थ्यो ।
रैथाने संगीतको अर्थ विस्तार कत्तिको भएको छ ? नेपालीको संगीत साक्षरता कस्तो छ ?
हामीकहाँ ‘म्युजिक एजुकेसन’ भएन । कोर्समा राखेर शास्त्रीय–लोक–रैथाने पढाउनुपर्ने हो । तर हामीले कहिल्यै त्यसो गरेनौं । तर सौभाग्यवश, हाम्रै पालामा ज्याज स्कुल खुल्यो हो, अनि संसारभरिको म्युजिसियन ठोक्किने ठाउँ पनि भयो । ‘म्युजिक एजुकेसन’ नभएपछि हामीले हाम्रा भाका, गीत, बाजालाई गम्भीर रूपमा लिएनौं । पछिल्लो समय काठमाडौं विश्वविद्यालयमा ‘एथनिक म्युजिक’ पढाइ हुन थालेपछि त्यसकै प्रभावले केही ब्यान्ड जन्मिइरहेका छन् । हामी भर्खर सुरुवातमा त छौं । यसको परिणाम देशले पाउन त्यो अभियान सुरु भएदेखि ५०/६० वर्ष कुर्नुपर्छ । हामी अहिले सुरुवाती चरणमा छौं ।
रैथाने गीत–संगीतमाथि के काम गर्दै हुनुहुन्छ ?
थुप्रै गर्दै छु नि । एल्बमै आउँदै छ । पहिलाचाहिँ मैले धेरै भाषामा काम गरें, तामाङ वा लिम्बू भाषामै । अब नेपाली भाषामा काम गर्दै छु
