कर्खा वीरताको बखान मात्र होइन, ऐतिहासिक सत्यको दस्ताबेज हो । गन्धर्वहरूले गाउने कर्खामा सामाजिक सत्यता, प्रशासनिक यथार्थ, राजनीतिक रहस्य, वैज्ञानिक ज्ञान, राष्ट्रिय विवेचना, जातीय स्वाभिमान र शासकहरूको गोप्य विषय समाहित छन् ।
What you should know
पोखरा — २० फागुनको एक शुक्रबार । महोत्तरीबाट माइती गएकी पद्मा गुरुङसिनीको घरमा डाँकाहरूको आक्रमण भयो । यो सामान्य नारीको कथा थिएन । आफ्ना गहना फुकालेर दाहिने हातमा खुकुरी उठाउने, डाँकाको टाउकोमा प्रहार गर्ने र अन्ततः डाँकाहरूलाई पराजित गर्ने यो वीरताको कथा आज सयौं वर्षपछि पनि जीवित छ– गन्धर्व ‘कर्खा’ गीतमा ।
नेपाली बृहत् शब्दकोशले कर्खालाई ‘गीत, कविता, काव्य आदिका फाँटमा वीरता वा वीर पुरुषको प्रशंसा वा सम्झनामा गाइने साहस, वीरता सञ्चारित गर्ने गाथा’ भनी परिभाषित गरेको छ । तर, यो परिभाषाले कर्खाको वास्तविक महत्त्व समेट्न सक्दैन । सारंगीको धुनमा इतिहासको दस्ताबेजीकरण हो, कर्खा ।
पोखरा बाटुलेचौरको गन्धर्व बस्तीमा जन्मिएका संस्कृतिकर्मी पूर्ण नेपालीले १६ वर्षको अध्ययनपश्चात् ‘गन्धर्व : संगीत र संस्कृति’ नामक ग्रन्थ तयार पारे । उनले गन्धर्व–संस्कृतिको विस्तृत विवरण उक्त ग्रन्थमार्फत दस्ताबेजीकरण गरेका छन् ।
‘कर्खा वीरगाथा मात्र होइन, यो राष्ट्रिय विभूति, शासक र वीरहरूको सांगोपांगो परिचय प्रस्तुत गर्ने माध्यम हो,’ उनी भन्छन्, ‘यसमा ऐतिहासिक घटना, भौगोलिक विवरण, सामाजिक सत्यता, प्रशासनिक यथार्थ, राजनीतिक रहस्य र शासकहरूको गोप्य कुरासमेत समाहित हुन्छ ।’
जब सञ्चारको कुनै माध्यम थिएन, त्यतिबेला कर्खा गाउँदै गाउँ–गाउँ पुग्थे गोरखाका मनिराम गाइनेहरू । कास्की, पाल्पा, तनहुँका गन्धर्व उसैगरी गन्धर्व राग अलाप्थे । उनको किताबमा पृथ्वीनारायण शाहको पालादेखि गाइने कर्खाको लिखित रूप छ । शाहवंशको कर्खादेखि भक्ति थापा, अमरसिंह थापा, जंगबहादुर, चन्द्रशमशेरसम्मका कर्खा सुरक्षित छन् ।
बाटुलेचौरमा हुर्केका पूर्ण नेपालीका सम्झनाहरू गन्धर्व संस्कृतिको जीवन्त चित्र हुन् । ‘म सानो छँदा मेरो गाउँ बाटुलेचौरमा कुनै पूजा–आजा, विवाह, व्रतबन्ध, चाडपर्वका खुसियालीहरूमा मेरा पूर्वजहरूले अरबाजो, सारंगी, मादल, कठताल, मुजुरा बजाउँदै पिंगल, मंगल, बेलोल, माहाल, मालश्री, कर्खा, सवाई, गाउँदै हातमा तरबार लिएर नाचेका दृश्य मलाई अति नै मन पर्थ्यो,’ उनी सम्झन्छन् ।
यी दृश्य केवल सांस्कृतिक अनुष्ठान थिएनन्, यो एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुने ज्ञान र सीपको प्रदर्शन थियो । प्रत्येक गीत, राग र तालले एउटा कथा बोकेको हुन्थ्यो । नेपाली समाजको सांस्कृतिक बुनोटमा गन्धर्वको भूमिका सांस्कृतिक दस्ताबेजकर्ताको रहेको छ ।
उनीहरू मनोरञ्जक मात्र होइन, बरु समाजको स्मृति, इतिहासका वाहक र सामुदायिक समाचारका प्रसारक थिए । उनीहरूको मुख्य शस्त्र थियो– कर्खा । वीरतापूर्ण घटनाहरू, ऐतिहासिक विजयहरू र सामाजिक परिवर्तनलाई संगीतको सुरमा ओतप्रोत गरी, उनीहरू मौखिक इतिहासलाई जीवन्त राख्थे । ती गीतहरूमा राजनीतिक षड्यन्त्रदेखि साधारण मानिसको बहादुरीसम्म, प्रकृतिको सौन्दर्यदेखि मानवीय संघर्षसम्मका विषय समेटिन्थे ।
कर्खा सामूहिक स्मृतिको संगीतमय अभिव्यक्ति थिए । सारंगी र अरबाजोको साथमा, यी गीतले श्रोतालाई एउटा यस्तो यात्रामा लैजान्थे, जहाँ इतिहास र कलाको अद्भुत मेल हुन्थ्यो । प्रसिद्ध पद्मा रानीको वीरगाथा होस् वा भक्ति थापाको त्यागको कथा, प्रत्येक कर्खाले एउटा जीवन्त चित्र प्रस्तुत गर्थ्यो । यी गीतमा केवल घटनाको वर्णन हुँदैनथ्यो, बरु त्यसको सामाजिक प्रतिक्रिया, मानवीय भावना र ऐतिहासिक सन्दर्भलाई पनि सुमधुर रूपमा प्रस्तुत गरिन्थ्यो ।
कर्खा वीरताको बखान मात्र होइन, ऐतिहासिक सत्यको दस्ताबेज हो । गन्धर्वहरूले गाउने कर्खामा सामाजिक सत्यता, प्रशासनिक यथार्थ, राजनीतिक रहस्य, वैज्ञानिक ज्ञान, राष्ट्रिय विवेचना, जातीय स्वाभिमान र शासकहरूको गोप्य विषय समाहित छन् । गन्धर्वहरूले गाएका गीतहरू भावगाम्भीर्यका दृष्टिले, विषयव्यापकताका दृष्टिले र श्रुतिमाधुर्यका दृष्टिले पनि नेपाली साहित्यका अमूल्य कृतिहरू हुन् । यद्यपि ती कृतिका रचनाकार तथा साहित्यकारहरू अज्ञात होलान् तर तिनको महत्त्व कम छैन ।
कर्खा केवल मनोरञ्जनको माध्यम थिएन, यो राष्ट्र निर्माणको एउटा शक्तिशाली उपकरण थियो । कर्खाले वीर पुरुषहरूको प्रशंसा प्रसारित गर्दै उनीहरूलाई प्रोत्साहन दिन्थ्यो । प्रशंसाले व्यक्तिलाई प्रोत्साहित गर्छ र वीर पुरुषहरूलाई प्रोत्साहित गर्नु भनेको राष्ट्र रक्षामा परोक्ष योगदान पुर्याउनु हो ।
कर्खा–बनाउनु र गाउनु जति जटिल विषय हो, त्यसभन्दा पनि जटिल विषय त कर्खाभित्र वर्णित व्यक्तित्वको गुण–दोष केलाई उचित एवं योग्य व्यक्तित्वको चयन गर्नुपर्ने हो । यसका लागि अन्वेषण र मूल्यांकनको क्षमता बलियो हुनु आवश्यक छ । गन्धर्वहरूले केवल पुरुष वीरहरूको होइन, वीर नारीहरूको पनि कर्खा गाएका छन् । पद्मा गुरुङसिनीको कर्खा यसको उत्कृष्ट उदाहरण हो ।
महोत्तरी माइती गएकी पद्मा रानीको विवाह लालसिंहसित भएको थियो । फागुन २० गते शुक्रबारका दिन डाँकाहरू उनलाई लुट्न आए । तर, पद्मा रानीले आफ्ना गहनाहरू फुकालेर दाहिने हातमा खुकुरी लिएर डाँकाको टाउकैमा प्रहार गरिन् । डाँकाहरूले उनलाई जित्न नसकी भाग्नुपर्यो । यो कर्खाले पद्मा रानी पञ्चवीर सुबेदारकी छोरी थिइन् र उनका पति लालसिंह गुरुङ थिए भन्ने ऐतिहासिक जानकारीसमेत दिन्छ । गीतमा भनिएको छ :
‘जनमन पाइन पद्मा रानी हिजकी कमाइ
फलिताका रुन्का कुला र उदायी
आबै मोहोत्तारी छेवै रानीको जसिलो र पुदा
पैदा भइन् सुदिनको घरी’
भक्ति थापाको कर्खा गन्धर्व साहित्यको सर्वोत्कृष्ट नमुना हो । वीर अमरसिंह थापाका पाँच भाइ छोरामध्येका एक भक्ति थापामा देशभक्ति र राजभक्तिको अद्भुत संगम थियो । यो कर्खाले भक्ति थापाको विजय यात्रा तनहुँ, लमजुङदेखि चौबीसी राज्यसम्म, भेरी, कर्णाली र महाकालीसम्मको वीरगाथा वर्णन गर्छ । तिनले युद्धमा जितेका धन–सम्पत्ति राष्ट्र रक्षातर्फ खर्च गरे ।
पूर्ण नेपाली भन्छन्, ‘अन्तमा काँगडा हान्ने जिम्मा पनि उनैले पाए । भनिन्छ, त्यस युद्धमा जाने इच्छा भीमसेन थापाले व्यक्त गरेका थिए तर त्यो सुअवसर भक्ति थापाले नै पाए । यसकारण युद्धका लागि आवश्यक पर्ने खर्च माग गरेको पत्र भीमसेन थापाले नै राजासमक्ष पेस दिएनन् र अर्थाभावका कारण रणसंग्राममा भक्ति थापाले प्राण छोड्नुपर्यो ।’ यो कर्खाले ऐतिहासिक रहस्यलाई पनि उजागर गर्छ– कसरी राजनीतिक षड्यन्त्रले एक वीर योद्धाको पतन गर्यो ।
गोरखाका संस्थापक दृव्य शाहदेखि नरभूपाल शाहसम्मका कर्खाहरू अति नै दुर्लभ भएका छन् । रेडियो नेपालमा रेकर्ड गरिएका डाँफे चराको गीतजस्ता अमूल्य सामग्रीहरू पनि ढुसी लागेर बज्न नसक्ने अवस्थामा छन् ।
अहिलेको समयमा, यो गौरवशाली परम्परा गम्भीर संकटको सामना गर्दै छ । आधुनिकताको आँधीले यस पुरातन कलालाई मूक बनाउँदै छ । नयाँ पुस्ता यस प्रकारको जटिल कलाप्रति आकर्षित हुन सकिरहेको छैन । पोखरा हेम्जाका सम्मरबहादुर गायकले पछिल्लो समयमा गरेका कुरा चिन्ताको विषय हो । उनले स्पष्ट रूपमा भने, ‘कर्खा गायन अप्ठेरो भएर नयाँ पुस्ताका गन्धर्वमा आकर्षण नभएको हो ।’
हेम्जामा बालबालिकालाई सारंगी सिकाएका उनी राग बुझ्दै गएपछि कर्खा पनि सिकाउने प्रयत्नमा छन् । जुन कला कुनै समय गौरवको विषय थियो, आज त्यो आर्थिक र सामाजिक रूपमा अपर्याप्त देखिन्छ ।
यो चित्र अझै गहिरो हुन्छ जब हामी बाटुलेचौरका ९० वर्षीय खिमबहादुर गन्धर्वको अवस्थासँग भेट्छौं । २०१३ सालमै चीन पुगेर माओत्सेतुङलाई गीत सुनाएका उनी उच्च रक्तचापले गर्दा देब्रे हात चलाउन नसक्ने अवस्थामा छन् । उनी आफ्नो ज्ञानको खजाना अर्को पुस्तालाई हस्तान्तरण गर्न असमर्थ छन् । जीवनको उत्तरार्द्धमा पुगेका उनी चिन्तित सुनिए, ‘मसँगै यो कर्खा परम्परा पनि हराउने भयो ।’
सम्मरबहादुर यो परम्परालाई बचाउन व्यवस्थित र रचनात्मक प्रयास आवश्यक देख्छन् । उनीसँग उपाय छ– बाँचेका वरिष्ठ गन्धर्वहरूको कर्खा गायनलाई अडियो–भिडियो रूपमा रेकर्ड गरेर डिजिटल लाइब्रेरी निर्माण गर्ने, स्थानीय सांस्कृतिक संस्था, स्कुल, कलेजमा कर्खा गायन र सारंगी वादनलाई पाठ्यक्रमको हिस्सा बनाउने, युवा पुस्तालाई यस कलाप्रति आकर्षित गर्न आधुनिक संगीतसँग यसको फ्युजन गरी प्रस्तुत गर्ने र यसबाट आयआर्जनको वैकल्पिक मार्गहरू खोल्ने । ‘सरकारले राष्ट्रियस्तरमा यस परम्पराको महत्त्वलाई मान्यता दिएर संरक्षण र प्रवर्द्धनका लागि विशेष योजना लागू गर्नुपर्छ,’ उनी भन्छन् ।
कर्खा केवल गीत होइन, यो हाम्रो सामूहिक चेतनाको स्वर हो । यसले हाम्रा पुर्खाको साहस, बुद्धिमत्ता र भूगोलको कथा समेटेको छ । गन्धर्वका लागि, सारंगीका तारहरू जीवनका तारहरू जस्तै थिए । तर आज ती तारहरू झरिरहेका छन् र तिनका साथै इतिहासको एउटा सम्पूर्ण अध्याय पनि बन्द हुँदै छ ।
जब कुनै समय नेपालका पहाडी बाटोमा सारंगीको मीठो स्वर गुन्जिन्थ्यो, त्यो केवल संगीतको लहर हुँदैनथ्यो । त्यो एउटा जीवन्त पुस्ता हुन्थ्यो, एउटा चल्ती इतिहासको पाना हुन्थ्यो । गन्धर्वहरूको त्यो स्वरले वीरताका कथाहरू बोकेर गाउँगाउँ घुम्थ्यो, समयको पानामा इतिहास लेख्थ्यो । तर, आज त्यो स्वर विरलिएको छ र त्यससँगै एउटा सम्पूर्ण सांस्कृतिक विरासत पनि अस्तित्वको संकटमा छ ।
खिमबहादुर गन्धर्वको नचल्ने हात र हेम्जाका सम्मरबहादुरको निराशा हामीलाई एउटा संकेत दिँदैछ– समय सीमित छ । यदि हामीले अहिले चेतेनौं भने भोलिको पुस्ताले सारंगीको स्वर सुन्नेछ, तर त्यसले बोकेको इतिहास र संस्कृतिको गहिरो अर्थबाट वञ्चित हुनेछ । के हामी त्यो भविष्य चाहन्छौं ? वीरताका गीतहरूलाई मात्र गीत बनिरहन दिने वा उनीहरूलाई जीवित इतिहासका रूपमा पुनर्जीवित गर्ने, यो हाम्रो चयनमा नै निर्भर गर्छ ।
