रैथाने संगीतका सारथि जनजाति

लिम्बूले पालम गाउादा राई साकेला नाच्छन् । घाटुमा गुरुङले मारुनी नाच्दा तामाङ फापरे गाउाछन् । यता डाफा भजनमा मस्त देखिन्छन् नेवाः समुदाय । बच्चा जन्मादा गाइन्छ, एउटा गीत । त्यही बच्चालाई समुदायको हिस्सा बनाउादा व्रतबन्धमा गाइन्छ अर्को गीत ! ऋतु फेरिादा गाइने गीत होस् या धान काट्दा गाइने गीत ! मेलापात होस् या चाडपर्व । धार्मिक, सांस्कृतिक विभिन्न गतिविधिमा अपरिहार्य हुन्छ, संगीत ।

कार्तिक २२, २०८२

रीना मोक्तान

The tribal people who lead folk music

What you should know

रैथाने संगीत र आदिवासी जनजाति एकअर्काका परिपूरक हुन् । विभिन्न संस्कार, संस्कृति र धार्मिक गतिविधिबिना आदिवासी जनजातिको जीवन कल्पनासम्म गर्न सकिन्न । त्यही संस्कृति, संस्कारमै संगीत जोडिन्छन् ।

 त्यस अर्थमा मेलापातमा गाउने भाका होस् या कृषि कार्यमा प्रयोग हुने गीत, संगीत । आदिवासीको जन्मदेखि मृत्यु संस्कारसम्ममा संगीत जोडिएको हुन्छ । त्यसैले आदिवासी जनजाति समुदायको जीवन पद्धति र चालचलन वास्तवमै सांगीतिक छ । उनीहरूलाई बुझ्न, महसुस गर्न तिनका संगीतलाई सुने, बुझे पुग्छ । 

पहिला उपत्यकाकै कुरा ! नेवा समुदायको संगीत विशेषतः धार्मिक र संस्कारजन्य क्रियाकलापसँग जोडिएका छन् । यही सांस्कृतिक गतिविधिमै यी संगीत संरक्षित छन् । जस्तै– चरिया नृत्य । यसमा गीत हुन्छ, नृत्य जोडिन्छ । बज्रचार्यहरूले अहिले पनि धार्मिक कार्यमा चरिया नृत्य प्रस्तुत गर्छन् ।

चरियामा विभिन्न प्रकारका देवताको वर्णन गरिएको हुन्छ । नेवाः समुदायको अर्को रैथाने संगीत हो, डाफा भजन । साँझतिर मन्दिरको फल्चामा बुढापाका भेला भएर गाइन्छ डाफा भजन । युवा गायक कुमः सागरले गर्दा पनि डाफा भजन यति बेला युवामाझ प्रचलित बन्दै छ । 

नेवा समुदायका संगीत पर्व विशेष छन् । फागु पूर्णिमामा गाइने गीतभन्दा छुट्टै हुन्छ, दसैंमा गाइने मालश्री धुन । चैत महिनामा धनाश्री गाइन्छ । अझ ऋतुपिच्छे गाइने गीत पनि फरक–फरक सुनिन्छन् । जात्रामा गाइने बाजा त विशेषता नै भइहाल्यो । रातो मत्स्येन्द्रनाथ होस् वा सेतो मत्स्येन्द्रनाथ, इन्द्र जात्रामा अनिवार्य रूपमा बाजा बजाउनै पर्छ । ज्यापू समुदायमा व्रतबन्ध गर्दा ज्यापू संस्कार सिक्नैपर्ने हुन्छ, ज्यापू बाजा धिमे सिक्न निश्चित समयावधि नै छुट्याइन्छ । समुदायको गुठीमै पनि बाजा जोगाउने शाखा हुन्छन्, खलः हरू । 

नेवाःमा विभिन्न संस्कारमा बजाइने बाजालाई पनि उत्तिकै महत्त्व दिइन्छ । जन्मदेखि मृत्युसम्मै बाजा नभई हुँदैन । यस्तै संस्कार र संस्कृतिले नै नेवाः समुदायमा रैथाने संगीत संरक्षित हुँदै आएको अध्येता सुरेश किरण बताउँछन् । ‘विभिन्न चाडपर्व र जात्राहरूले गर्दा नै लोक संगीत बच्दै आएको हो,’ किरणले भने । 

नेवाः समुदायमा लोक संगीत प्रचलित छ । जहाँ समाजका घटनालाई लोक संगीतमा ढालिन्छ । उदाहरणका लागि ‘शिलु म्हे’, ‘शीतला म्हेजु’ देखि ‘राजामती’ छन् । सुरेशका अनुसार यी गीतमा समाजमा घटेका घटनालाई समेटिन्छ । शिलु म्हे गोसाइँकुण्ड जाँदा गाइने लोकगीत हो । शिलुको अर्थ हो, गोसाइँकुण्ड ।

राजामतीमा राम्री सुन्दरीको वर्णन गरिएको छ । रणबहादुर शाहको पालामा बिफर आउँदा राज्यले गरेको दमन समेटिएर गाइन थालिएको हो, शीतला म्हेजु । धान रोप्दा गाइने असारे गीत होस् या खेत गोडमेल गर्दा गाइने गीत । धान काट्दा गाइने एउटा गीत र त्यही धान सुकाउँदा अर्को गीत । पेसागत रूपले पनि रैथाने संगीत जोगिएको किरण सुनाउँछन् । ‘नेवाः संगीतलाई संस्कार, संस्कृति, धार्मिक कार्य, परम्परागत जनजीवनले बचाइरहेको छ । पहिला जति थिए, त्यसमध्ये धेरै त लोप नै भएका छन् । तर, जति छन् त्यो भने यसरी अस्तित्वमा छन्,’ किरणले भने ।

तामाङ समुदायको संगीत त उनीहरूका बसाइ र जीवनशैलीमै भेटिन्छ । यो समुदायको सौन्दर्य नै संगीतको मिठासमा व्याप्त छ । सिन्धुपाल्चोकतिरका तामाङले गाउने खाङ्दोके नुवाकोटका तामाङले गाउँदैनन् । सिन्धुलीका तामाङ फापरे गाउँछन् । ताम्बाले गाउने गीत पनि भेगअनुसार फरक छ । ताम्बा ह्वाई (गीत) एउटै सुनिए पनि तामाङ भाकाहरू विभिन्न ठाउँपिच्छे फरक छन् ।

रसुवामा गाइने सेप्रु भाका फरक सुनिन्छ । सिन्धुलीको तामाङ भाका नुवाकोट, रसुवा, धादिङका तामाङले गाउने भाकासँग मिल्दैन । धादिङका तामाङमा प्रचलित ‘म्हेन्दो माया’ गीतलाई सिन्धुपाल्चोक वा सिन्धुली र काभ्रेमा खोजेर भेटिँदैन । रसुवाले समातेको भाका अन्य क्षेत्रका तामाङ समुदायले गाउनेभन्दा फरक छ । त्यसैले पनि तामाङको रैथाने संगीत विविधताका कारण नै सुन्दर भएको गायक तथा संगीतकार शुभ तामाङ बताउँछन् । 

‘तामाङको मौलिक गीत त एउटै हुनुपर्ने तर भेगीय हिसाबले फरक–फरक छ,’ शुभ भन्छन्, ‘तामाङ समुदायको रैथाने गीत निश्चित समुदायको हुन्छ । त्यो ठाउँको खानपिन, लवाइखवाइ, त्यहाँको बस्ती, डाँडाकाँडा र खोलानालाले गर्दा नै तामाङ रैथाने गीत अस्तित्वमा आएको मानिन्छ ।’ उनी तामाङ समुदायको संगीत निकै गहिरो रहेको सुनाउँछन् ।

भन्छन्, ‘खासमा खाङ्दोके नै हेर्ने हो भने पनि भेगअनुसार फरक–फरक छन् । तामाङ समुदायमा पनि बोन, लामाहरूले अध्यात्मिक हिसाबले जोगाउँदै आएको लय थुप्रै छन् । त्यसैका आधारमा मौलिक गीतहरू सिर्जना भए । सेलो तामाङ समुदायको ‘प्याट्रन’ हो । तामाङको रैथाने संगीतलाई सेलोमै सीमित गराउनु पनि भएन । यो समुदायमा ‘म्हेन्दो माया’ मात्रै होइन, ‘जुहारी भाका’ पनि प्रचलनमा छन् ।’ 

तामाङ समुदायले एकतर्फीभन्दा पनि आदानप्रदान गरिने दोहोरी शैलीका जुहारी गीतलाई पहिल्यैदेखि पक्रिँदै आएको देखिन्छ । राई, लिम्बू, तामाङ, गुरुङ, मगर मात्रै होइन, अधिकांश आदिवासी जनजातिका रैथाने गीत/संगीत उनीहरूका चाडपर्व र संस्कृति सँगसँगै यात्रा गर्दै आएको देखिन्छ । यद्यपि यही समुदायमा पनि बहुसंख्यक जातिको संगीतले अल्पसंख्यकको रैथाने भाका, लयलाई छायामा पारेको देखिन्छ । ‘तामाङ समाजमा सांगीतिक माहोल बढी छ । बोन्बोले ढ्यांग्रो ठटाएरै गीत गाउँछन् । खाने, बस्ने, उठ्ने सबै लयमै । एकअर्कासँग भेट्दासमेत संगीत 

प्रयोगमा आउँछ । जस्तै मेलापातमा गएर आफ्नी प्रेमिकालाई गीत गाएरै फकाउँछु भन्ने सोचेर प्रेमीहरूले गीतका शब्द, भाका साँचेका हुन्छन्,’ तामाङ गीतसम्बन्धी ‘सेलो राग’ र ‘तामाङ ह्वाइकाई’ जस्ता पुस्तक लेखिसकेका उनी तामाङ रैथाने संगीतको विश्लेषण गर्दै भन्छन् । आखे (बाजे) हरूले यसरी मेलापातमा भेटघाट गर्ने माध्यमका रूपमा संगीतलाई प्रयोग गरेको हुँदा तामाङ रैथाने संगीत हन्तान्तरण हुँदै आएको उनी मान्छन् । 

राई/लिम्बूकै रैथाने संगीत पनि परम्परागत मेलापात, चाडपर्वले पक्रँदै यहाँसम्म ल्याइपुर्‍याएको सांस्कृतिक अध्ययनकर्ता तीर्थ मुकारुङ राई बताउँछन् । लिम्बूले पालम गाउँछन्, राई साकेला नाच्छन् । मंसिरे पूर्णे र वैशाखे पूर्णेमा उनीहरूले साकेला नाच्छन् । साखेवा चाडमा सहभागी हुँदै सबै उमेर समूहकाहरू सँगै बसेर नाच्छन्, बाजा बजाउँछन् । साकेलामा अन्य समुदायलाई पनि बोलाइन्छ । त्यसैले टुँडिखेलमा साकेला नाच्नेहरूमा गैरराई पनि सहभागी भइरहेका हुन्छन् ।

साकेला नाच्न युवादेखि उमेर ढल्केकाहरू गोडाका ताल मिलाउन आइपुग्छन् । प्रकृति र जीवनयापनसँग सम्बन्धित पर्वले यी रैथाने भाका, ताल र लय जोगाएको देखिन्छ । बालीनाली उठाएर खुसी मनाउने समयमा उँधौली पर्व मनाइन्छ । अनि बाली लगाउने समयलाई उँभौलीका रूपमा मनाइन्छ ।

‘प्रकृतिसँग सम्बन्धित जीवनयापन छ हाम्रो । जिउनका लागि हामी खेतीबाली लगाउँछौं । त्यसैले त्योसँग सम्बन्धित गीत–संगीत बढ्दै र हस्तान्तरण हुँदै आयो,’ तीर्थ सुनाउँछन् । अरू समुदायसँग सम्मिलित हुँदै, एकअर्कासँग एकाकार हुँदै राई र लिम्बू समुदायले रैथाने संगीत संरक्षित गर्दै आएको पनि तीर्थको तर्क छ । 

नेपाली भाषा, लोकगीतले गुरुङ समुदायको रैथाने गीत हराइसकेको धारणा राख्छन्, अध्येता कृष्ण गुरुङ । ‘अर्घौं’ मा गाइने शेर्का गीत गुरुङ जातिको मौलिक गीत हो । ४५/४६ पन्नाको यो गीत गाउनलाई नै २ दिन लाग्ने उनी सुनाउँछन् । सोरठी, कृष्णचरित्र, घाटुजस्ता गीतहरू अझै प्रयोगमा छन् । यी गीत नेपाली भाषामा भए पनि यसका भाकालाई गुरुङ समुदायले जोगाउँदै आएका छन् । कृष्णचरित्र एउटा यस्तो नाच हो, जुन सामूहिक रूपले नाचिन्छ । 

यसमा भगवान् कृष्णको वर्णन गरिएको छ । मारुनी भएरै कृष्णचरित्र नाचिन्छ । ‘हो, सोह्र सय गोपिनी नामी । जमुनामा नुहाउन जाम’ जस्ता शब्द कृष्णचरित्रमा प्रयोग गरिन्छन् । सोरठी, कृष्णचरित्र शरद ऋतुमा नाचिन्छ । घाटु वैशाख पूर्णिमामा नाचिन्छ । त्यसमा पर्शुराम राजा र अम्बावती रानीको कथा समेटिएको छ । सती घाटु विधि पुर्‍याएरै नाच्नुपर्छ । श्रीपञ्चमीमा सुरु गरेपछि वैशाख पूर्णिमामा सिध्याउनुपर्छ । यो नाच पाँच महिना 

नाचिन्छ । फेरि अर्को घाटु हुन्छ, जुन बाह्रैमास नाचिन्छ । ‘आफ्नै भाषाका गीतहरू पनि थिए हाम्रो पहिले । सुगम गीतहरू आउँदा हाम्रो गुरुङ गीत लोप हुँदै आएको हो,’ कृष्णले भने । 

२०३७ मा पहिलो पटक युक्त गुरुङले गुरुङ भाषामा रेडियो नेपालमा गीत रेकर्ड गराएका थिए । रेडियो नेपालको ‘फूलबारी’ कार्यक्रम सुरु गर्दै जब विभिन्न भाषाको गीत रेकर्डिङ हुन थाल्यो, तब नै पहिलो पटक गुरुङ भाषामा पनि गीत रेकर्ड भएको इतिहास भेटिन्छ । २०३८ बाट कृष्ण आफैंले पनि गुरुङ गीत गाउन थालेका हुन् । २०४५ मा गुरुङ भाषाको पहिलो एल्बम निकाल्ने पनि उनै हुन् ।

स्याङ्जाको हर्कबहादुर गुरुङले गाउँ–गाउँमा जनचेतनामूलक गीत गाउँदै हिँडेका थिए । हर्क आफ्नै भाषामा यसरी गाउँ–गाउँ पुगेर गीत गाउँथे । गुरुङ समुदाय त्यसैले पनि उनलाई आदिकवि मान्छन् । ‘विकासका क्रममा मौलिक कुराहरू हराउँदै जाँदो रहेछ । गुरुङ भाषाको हाम्रो पुरानो गीत त्यसरी नै लोप हुँदै गएको हो,’ कृष्णले भने ।

राई, लिम्बू, तामाङ, गुरुङ मात्रै होइन, अधिकांश आदिवासी जनजातिका संस्कृति र संस्कार नै संगीतको संरक्षक हो । यद्यपि बहुसंख्यक जातिको संस्कार, संस्कृतिले त्यसभित्रकै अल्पसंख्यक समुदायको संगीतलाई छायामा पारेको देखिन्छ ।

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully