ठाडी भाकाकी पर्याय डिक्रा वादी

वादी समुदायकी चर्चित गायिका डिक्रा वादी र सुदूरपश्चिमको ठाडी भाका पर्यायवाची हुन्, उनले गाएका अधिकांश गीतमा जीवन दर्शन र आवाजविहीनका पीडा लुकेको छ।

कार्तिक २२, २०८२

हेमन्त विवश

Synonyms of upright speech: Dikra Wadi

यायावरको जिन्दगी बाँचिरहे मध्य तथा सुदूरका गन्धर्वहरू । तिनका मुख्यतः दुई पेसा थिए– माटाका भाँडाकुँडा बनाउनु र वाद्यवादनमा तल्लीन रही लयसँगै स्वर मिलाउनु । उनीहरूका वाद्ययन्त्रमा पर्थे सारङ्गी, तबला, बीनै, खाकर आदि । गीत गाउँदै गाउँगाउँ पुगी अन्नपानी बटुलेर गुजारा चलाउने समुदायका रूपमा चिनिन्छ वादी अर्थात् गन्धर्व समुदाय ।

आखिर जिन्दगी भन्नु एउटा आलाप न हो । कहिले बिछोडको, कहिले विरहको, कहिले पीडाको त कहिले अभावको आलाप निस्किरहेकै थियो उनीहरूको जीवनको गोरेटोमा । एक प्रकारले गीतसंगीतलाई व्यावसायिक रूपमा प्रयोगमा ल्याउन थाल्नेमा गन्धर्वहरू मानिन्छन् तर यसबारे अनुसन्धान भएको देखिएन । सुदूरपश्चिमका वादीहरूले बाइसै–चौबीसे राजाका पालादेखि नै स्वतन्त्र जिन्दगी बाँचिरहेको पाइन्छ । 

वादी समुदायकी चर्चित पात्र हुन् गायिका डिक्रा वादी । उनी सानैमा सुरिलो स्वरमा गीत गाएर बाजुरास्थित गाउँघरतिरका कैयौंलाई मन्त्रमुग्ध तुल्याउँथिन् । २०५२ सालदेखि त्यो स्वर गुन्जिन थाल्यो रेडियोमा । सुदूरपश्चिममा गाइने ठाडी भाका र उनी एकअर्काका पर्यायवाचक जस्तै लाग्न थाले । त्यो बेला उनले गाएका ठाडी भाका नसुन्ने कमै थिए होलान् सुदूरपश्चिममा । 

समय बित्दै गयो, डिक्रादेवी एकाएक हराइन् गायन क्षेत्रबाट । उनका धेरैजसो गीतसमेत गायब भए । प्रविधिले नयाँ मोड लिएसँगै उनका एल्बमहरूलाई सीडीमा रूपान्तरण गरिदिने मान्छे भएनन् । स्वर सुने पनि जातकै कारण उनलाई त्यति वास्ता गरेनन् कसैले । जिन्दगीका पलहरू चलाउनै व्यस्त भइन् उनी ।

१२ एल्बम निस्केका हुन् उनकै स्वरमा । अरू फुटकर गीत कति गाइन्, कुनै हिसाब छैन । ती क्यासेट रहेनन् उनीसँग । पछिल्लो समय संगीत सौगात प्रालिका सञ्चालक पदम बुढाले उनका गीत खोजेर युट्युबमा अपलोड गरिरहेका छन् । डिक्राका अधिकांश गीतमा जीवन दर्शन र आवाजविहीनहरूको पीडा लुकेको छ । जस्तै– 

‘बाँज बुरासका दाउरा बल्ला गुरुगुरु 

साइकी नाडी मेरा हात चल्ली सुरुसुरु’ 

बाजुरामा जन्मेकी डिक्रा सानैदेखि गाउँथिन डेउडा । हातहातमा टेप रेकर्डर बोक्ने चलन थियो । टेपरेकर्डर बोक्नेहरू प्रायः भारतमा दरबानी गरेर फर्केका लाहुरेहरू हुन्थे । टेपरेकर्डरलाई गाउँघरतिर टेर्पिकाड भनिन्थ्यो ।

डिक्राको स्वर मनपराएर कैयौंले रेकर्ड गर्थे टेर्पिकार्डमा । गायक तथा संगीतकार नरेन्द्रराज रेग्मीका अनुसार डिक्रालाई कुशल नृत्याङ्गनाका रूपमा चिन्थे रे बाजुरावासीले कुनै समय । गायन क्षेत्रमा पाइला टेकेपछि ओझेल पर्दै गयो नृत्यकला । 

१४ वर्षको उमेरमा बझाङका कित्थे वादीकी सानिमाले उनलाई फकाएर बझाङ पुर्‍याएकी थिइन् । डिक्राको बिहे गरिदिए तिनै कित्थे वादीसँग । उनलाई आफू जन्मेको मिति थाहा छैन । उनी श्रीमान्भन्दा दुई वर्ष कान्छी रे । उनका श्रीमान् २०२३ सालका । १० वर्षमा बुबा गुमाएका कित्थे एक्ला सन्तान थिए ।

कित्थेका बुबा डोटीबाट बझाङ बसेका हुन् । आफ्नो जमिन केही नभएका वादी समुदायका नरनारी माटोका सुल्पा हुक्का बनाउने र कथित माथिल्लो जातका घरमा सुल्पा, हुक्का दिएर खलो उठाउने गर्थे । खलो उठाउनु भनेको उनीहरूका लागि छुट्याएको अनाज लिनु हो । खलो बटुल्दै, सारङ्गी रेट्दै गीत गाउँदै जीविका चलाउन निकै गाह्रो हुन थालेपछि २०४९ मा उनीहरू ऐलानी जमिनको खोजीमा धनगढी पुगे ।

जहाँ एक डेढ महिना बसे तर सकेनन् झुप्रो बनाउने ठाउँ ओगट्न । ‘त्यतिबेलाको संघर्ष र पीडाको कुरै नगरौं, अहिले पनि सम्झिँदा आँसु आउँछ,’ डिक्रा भन्छिन्, ‘वन फडानीको आरोपमा १९ दिन जेलसमेत बसें ।’ दुःखकष्ट झेलेर कञ्चनपुरको बङ्क भन्ने ठाउँमा उनीहरूले नौ धुर जमिनमा फुसले छाएर टहरो बनाए । 

२०५२ मा डिक्रा दम्पती धनगढी आएको चाल पाएर गायक नरेन्द्रराज रेग्मी र गोरख थापाले खोजी गरे । नरेन्द्र डिक्रा र कित्थेलाई लिएर भारतको पलियास्थित मिर्चा स्टुडियो पुगे । त्यहाँ कित्थेले सारङ्गी रेटे, मादल बजाए, डिक्राले गीत गाइन् । पहिलो एल्बम (बसिबियाँलो) आयो बजारमा । बिस्तारै बजारमा चिनिन थालिन् डिक्रा ।

त्यसपछि बोलाए गायक अन्तराम बिष्टले । बिष्टले बैजु एल्बमका गाना तयार पारे अनि काठमाडौंमा डिक्रा दम्पतीलाई बस्ने, खाने र आउनेजाने व्यवस्था मिलाएर गीत गाउन लगाए । फर्किने बेला ३० हजार रुपैयाँ पारिश्रमिक दिएर पठाए । त्यसपछि नारायण बिष्टलगायत कैयौंले लगानी गरेर डिक्राकै स्वरमा निकाले एल्बम । 

सुदूरपश्चिममा एउटा भनाइ छ– सियो तिखारेको तिखो, काँडो जन्मिँदैको तिखो । डिक्राको स्वर पनि काँडाजस्तै जन्मिँदै तिखारिएर आएको हो । उनका बुबा र हजुरबुबा दुवै कुशल तवलावादक थिए । मादल, हार्मोनियम पनि बजाइरहन्थे । घरमा नाचगान चलिरहन्थ्यो । 

विगतमा गीत गाउँदा पाएको पारिश्रमिक सम्झिँदा डिक्राको भक्कानो फुट्छ । सँगै गीत गाउने अन्य गायिकाले चलेको दरअनुसार नै पाउँथे भने डिक्रालाई कसैले तीन सय, दुई सय त कसैले सय रुपैयाँ मात्रै पनि दिए । धेरैजसोले अरू भोलिपर्सि मिलाउँला भन्दै आश्वासन मात्र दिए । डिक्राको मनमा कैयौं पल विद्रोह जन्मियो तर बिजुली चम्केझैं क्षणभरमै बिलाएर गयो । आखिरमा धिक्कारिन् आफ्नै कर्मलाई र रचिन् गीत– 

‘खुट्टा खायो चप्पलले हात खायो बालाले

यसै गरी खाएइ भन्यो करिम सालाले’ 

२०६६ देखि डिक्रा हराइन् संगीतिक क्षेत्रबाट । गायन क्षेत्रबाट एकाएक हराउनुको पीडा एकातिर छ भने त्यस समयमा घटेका घटनाहरूको दर्दनाक शृंखला छुट्टै छ । त्यस अवधिमा २० वर्षीया बहिनी, आमा तथा १५ वर्षकी अर्की बहिनीले पालैपालो धर्ती छोडे र दिदी पनि रहिनन् । 

डिक्रा सांगीतिक क्षेत्रबाट हराएको ९ वर्षपछि अमृत भादगाउँलेको संयोजन र हेमन्त विवशको पहलमा काठमाडौंमा उनको एकल सांगीतिक कार्यक्रम भयो । पछिल्ला दिनमा सम्मान र गायनका लागि 

मेला महोत्सवमा उनलाई आमन्त्रण गर्ने गरिएकै छ । गीत रेकर्ड गर्ने अवसर पनि पाएकी छन् । बाँकी रहेको उमेर यही क्षेत्रमा बिताउने सोच उनको छ । ‘कति समयसम्म गाउन सक्नुहुन्छ ?’ भनी सोध्दा भन्छिन्, ‘गाउन त म दिनभरि नै सक्छु । कार्यक्रममा पनि लगातार चार घण्टासम्म गाउन सक्छु ।’

हेमन्त

Link copied successfully