सालैजो र यानीमाया गाउने खड्ग गर्बुजा

गर्बुजाले ५० हाराहारी सालैजो गीत गाइसकेका छन् । सोरठी, कौडा गीत पनि बनाएका छन् । उनी सालैजो र यानीमाया भाकाका ‘बादशाह’ मानिन्छन् ।

कार्तिक २२, २०८२

विमल खतिवडा

Khadga Garbuja, who sings Salaizo and Yanimaya

What you should know

म्याग्दीको धौलागिरि–६ स्थित, मराङका खड्ग गर्बुजाको सपना लाहुरे बन्ने थियो । बुबा–आमा उनलाई लाहुरे भएको हेर्न चाहन्थे । इन्डियन र ब्रिटिस आर्मीमा भर्ती हुनका लागि निकै प्रयास पनि गरे । कहिले पढाइले साथ दिएन त कहिले समयले ।

पाँच सन्तानमा कान्छा उनका तीन दिदीबहिनी र एक दाइ छन् । सुरुमा बुबा–आमाले दाइ टेकप्रसादलाई लाहुरे बन्नुपर्छ भन्दै अघि सारे । भर्ती हुन जाने कुराकानी चल्दै थियो, घाँस काट्न जाँदा एक दिन रूखबाट लडेर टेकप्रसाद अशक्त बनेपछि उनको लाहुरे बन्ने सपना तुहियो । 

त्यसपछि खड्ग १५ वर्षको उमेरमा लाहुरे बन्न भारत पुगे । तर सफल भएनन् । त्यसताका ब्रिटिस आर्मीमा भर्ती गर्न युवा खोज्दै टोली गाउँ–गाउँ आउँथ्यो । ‘म्याग्दी गलेश्वरमा म पनि पुगें, पहिलो चरणमा पास पनि भएँ,’ खड्ग भन्छन्, ‘पोखरा पुगेपछि फाइनल हुन्थ्यो, त्यसका लागि एक महिनापछि आउन भनिएको थियो ।’

यही बीचमा उनी पनि भीरबाट लडेर घाइते भए । ८ पुस २०३४ मा यो घटना हुँदा उनी १६ वर्षका थिए । ‘सहजै उपचार पाइएन, बुबा–आमालाई अस्पताल लग्नुपर्छ भन्ने ज्ञान पनि थिएन,’ उनी भन्छन्, ‘मेरुदण्ड खुस्किएर बसेको मेरो उपचार नपाउँदा ठीक हुन सकिनँ ।’ त्यसपछि दाइ, न उनी लाहुरे बन्न सकेनन् । उनको कम्मरमुनिको भाग चल्दैन । ह्विलचेयरको सहारामा हिँड्डुल गर्छन् । 

सम्बन्धित समाचार

खड्गको स्याहारसुसारमा खटिएकी आमा उलमतीको पनि उच्च रक्तचापका कारण दाहिने खुट्टा र हात नचल्ने भयो । ‘आमा भित्र र म बाहिर सुतेका हुन्थेम्, न म आमासँग जान सक्थें, न आमा मेरो नजिक आउन सक्नुहुन्थ्यो,’ उनी सम्झन्छन्, ‘आमा भित्र र म बाहिर रुँदै बस्थ्यौं ।’ रेडियोमा अपांगता भएकालाई काठमाडौंमा निःशुल्क खान, बस्न र पढ्न पाइने कुरा सुनेपछि उनले प्रधानपञ्चदेखि जिल्लाका गन्यमान्यसम्मलाई काठमाडौं लगिदिन हारगुहार गरे, कैयौंचोटि बोकाइएर बेनी पुगे ।

बेनी र बागलुङ बजारमा पेन्सन क्याम्प खुलेको थियो । त्यहाँ माहुरी बाजा बजाएर गीत गाए । त्यसपछि बलेवा विमानस्थलबाट रेडियो नेपालमा गीत गाउने सपना बोकेर काठमाडौं उडे । पछि झम्सीखेलस्थित सेन्ट्स जेभियर्स सामाजिक सेवा आश्रममा बसेर प्रवीणता प्रमाणपत्र तहसम्मको पढाइ पूरा गरे । यहीं बसेर २०४७ मा रेडियो नेपालबाट स्वर परीक्षा पनि पास गरे 

२०४७ मै म्युजिक नेपालबाट आफ्नै जीवनका कथाव्यथा समेटेर लेखिएका गीतको पहिलो एल्बम ‘दुःखको भुमरी’ ल्याए । उनका दाइ र बुबा घाँसदाउरा गर्न जाँदा सालैजो भाका गुनगुनाउँथे । त्यो उनले सानैदेखि सुन्दै आएका थिए । ‘सानो छँदा बुबा र दाइले गाउने सालैजो भाका मेरो दिमागमा आइरहन्थ्यो,’ उनी भन्छन्, ‘त्यसपछि २०५३ मा आफ्नै शब्द, संगीतमा पहिलोपटक सालैजो भाका स्रोतामाझ ल्याएँ ।’ 

त्यो रानीवनको तिरतिरे धारो सालैजो 

पानी खायो बाघैले... 

जुन गीत म्युजिक नेपालमा रेकर्ड गराए । त्यो बेला धेरै कलाकारले गीति एल्बम निकाल्थे । तर सालैजो भाका एल्बममा समावेश हुँदैन थियो । ‘गीतमा गाउँघरको ठेट शब्द संकलन गर्ने चलन थियो, यो फेरि सीमित ठाउँमा मात्र गाउने गीत हो,’ उनी भन्छन्, ‘अहिले जस्तो जताततै गाइँदैनथ्यो, धौलागिरी क्षेत्रबाटै सालैजो भाका सुरु भएको कुरा अग्रजहरूको मुखबाट सुन्न पाइन्छ ।’ 

पहिला गुरुङ समुदायमा रोधी बस्ने चलन हुन्थ्यो । ‘मगर भाषामा रोधीलाई ओखरा भनिँदो रैछ,’ उनी भन्छन्, ‘गाउँका युवायुवती कामकाज सकेर बेलुका एउटा घरमा जम्मा भई रमाइलो जमघटमा गाउने क्रममा सालैजो गीत जन्मिएको हो ।’

सालैजोमा मायाप्रेमका कुरा हुन्छन् । यो कुनै पर्व विशेषको गीत नभई बाह्रैमास गाइने उनी सुनाउँछन् । ‘जहिले गाए पनि हुन्छ, गीतको विषयवस्तु जे पनि ल्याउन सकिन्छ,’ खड्ग भन्छन्, ‘गरिबीका कुरा, लाहुरे बन्ने, किसान, गोठाला, मायाप्रेम सबै सालैजो गाउँदा उठान गर्न सकिन्छ ।’ अहिले विशेष रूपमा सालैजोमा मायाप्रेमका कुरा धेरै आउँछन् । 

‘सालैजो हाम्रा पुर्खाहरूले सिर्जना गरेको भाका हो, यसलाई त्यसपछिका पुस्ताले पछ्याउँदै गएका हुन्,’ उनी थप्छन्, ‘पृथ्वीमा जुनबेला मानव सृष्टि भयो, त्यही बेलैबाट लोकसंगीतको पनि सुरुवात भयो ।’ विभिन्न लोकसंगीतमध्ये सालैजो भाका पुरानो रहेको उनले सुनाए ।

‘प्रत्येक समुदायको आ–आफ्नो प्रचलन हुन्छ, त्यसमा पनि सालैजो भाका मगर समुदायबाट विकास भएको भन्ने छ,’ उनी सालैजोबारे थप प्रस्ट पार्छन्, ‘मगर समुदायमा साली ज्यु भन्दै जाँदा सालै जो भएको हो ।’

मायाप्रेम र विवाह गर्नका लागि मामाको छोरीलाई पहिलो हक लाग्ने पनि भनिन्छ । ‘यस्तैमा सालीलाई जिस्काउने क्रममा साली ज्यु, भन्दाभन्दै अपभ्रंश भएर सालैजो बन्न गएको भन्ने भनाइ पनि छ,’ भन्छन्, ‘मगर समुदायमा विकसित भएकाले ठाउँअनुसार यसको गायकी फरक हुन्छ ।’

मगर समुदायमा मृत्यु हुँदा अन्त्येष्टि गरिसकेपछि राति थात कुर्न रातभरि जाग्राम बसिन्छ । ‘जाग्राम त्यसै बस्न सकिँदैन, खानेलाई बिजुली पानी (रक्सी) को व्यवस्था हुन्छ,’ उनी भन्छन्, ‘त्यसपछि सालैजो, यानीमाया, ख्याली भाकाका गीतहरू गाइन्छ, त्यसरी रात काट्ने चलन थियो ।’ 

पछिल्लो समय थात कुर्दा भजन गाउने चलन बढ्दै गएको छ । ‘जन्मेपछि एक दिन सबैको मरण हुन्छ भन्दै सान्त्वना दिने शब्द प्रयोग गरेर भजन गाइन्छ,’ उनी भन्छन् । 

लोकसंगीतको सिंगो रूखभित्र हजारौं हाँगाहरू छन्, यसैमध्ये एउटा हाँगा हो, सालैजो भाका । ‘यसभित्र कौडा, तामाङ सेलो, मारुनी, देउडालगायत भाका लोकसंगीतका हाँगा हुन्,’ उनी भन्छन्, ‘सालैजो भाका भने केटाले गीत उठाउने र केटीले रनी राख्ने (छोप्ने) गर्छन् ।’ उनले थाहा पाउँदा गाउँतिर केटाले सालैजोको सुरुवात गर्ने, केटीले छोप्ने गरिन्थ्यो । पछिल्लो समय नयाँ पुस्ताका गायकले आफ्नो गाउँघरका शब्द जस्ताको तस्तै टिपेर सालैजोमा समावेश गर्ने गरेका छन् । 

जसले गर्दा सालैजोले पुनर्जीवन पाएको महसुस उनलाई भएको छ । ‘कुनै बेला यो लोप हुने अवस्थामै थियो, चले चल्छ, नचले एउटा क्यासेटको रिल भरिन्छ भनेर मैले पनि २०५३ मा रेकर्ड गराएको सालैजो भाका राम्रै चल्यो’, उनी भन्छन् ।

आफैंले बनाएकासहित उनले ५० वटा हाराहारी सालैजो गीत गाइसकेका छन् । उनले सोरठी, कौडा गीत पनि बनाएका छन् । पहिला–पहिला सालैजो गाउँघरमा मादलको तालमा बजाइन्थ्यो । अहिले सुविधा सम्पन्न स्टुडियोमा जुनसुकै बाजा पनि प्रयोग गर्न सकिने उनले सुनाए । 

सालैजो भाका धौलागिरी क्षेत्रमा बढी रुचाइन्छ । त्यसैले धौलागिरी र सालैजो भाका पर्यायवाची जस्तै बनेका छन् । ‘यतातिरको समुदायमा यो धेरै प्रचलित छ, सबै जातजातिले गाउँछन्, मन पराउँछन्, ठाउँअनुसार गीत मन पराउने दर्शक श्रोता पनि हुन्छन्,’ उनले भने, ‘काभ्रे, सिन्धुपाल्चोक, धादिङका तामाङ समुदायमा पुग्दा तामाङ सेलो धेरै रुचाइन्छ, गण्डक प्रदेशमा सालैजो, यानीमाया भाका बढी रुचाइन्छ ।’

आफूले जानेको भाकामा गाउँदा भाव व्यक्त गर्न सकिने उनले सुनाए । भने, ‘सालैजो भाका मादलै नभए पनि गाउन सकिन्छ, यो भाकामा गाउनु भनेको रमाइलो पनि हो । जिस्किने बहाना पनि भयो । गीत, संगीत एक किसिमको मेडिटेसन पनि हो ।’ 

....

‘यानीमाया’ भाका गीत र तालमा पनि फरक हुन्छ । यो पनि बाह्रमासे भाका रहेको उनी सुनाउँछन् । ‘यानीमायामा पहिलादेखि नै केटाकेटीले दोहोरीका रूपमा गाउने चलन थियो, यसमा पनि प्रायः मायाप्रेमकै कुरा आउँछन्,’ उनी भन्छन्, ‘यसमा अपरिचित महिला र पुरुष मिलेर गीत गाइरहेका छन् भने गीतबाटै परिचय गर्ने कुरा आउँछ ।’ यो पनि मगर भाषाबाट नै सुरु भएको मानिने उनको तर्क छ । 

‘यो दोहोरी हो, गाउँदै जाँदा विषयवस्तुले कहाँ पुर्‍याउँछ, थाहा हुँदैन,’ उनी भन्छन्, ‘मगर भाषामा यानी भनेको देउ हो, त्यसैले यानीमाया अर्थात् देउ माया भाका हो ।’ यानीमाया भाका ढिलो खालको हुन्छ । ‘नबुझ्नेलाई त निद्रा नै लाग्छ, बुझ्नेलाई त असाध्यै रस बस्छ, यसमा भाकाको भन्की हुन्छ, गला खेलाएर गाइने हुँदा शब्दमा आकर्षण हुन्छ,’ उनी भन्छन्, ‘भाका नै मन छुने खालको हुन्छ, गीतका माध्यमबाट कथाव्यथा पनि भन्न सकिन्छ ।’ 

दुःखसुखदेखि मायाप्रेमका कुरा गीतमार्फत पोख्न पाइन्छ । विवाह व्रतबन्ध, मरीमराउमा यो गीत गाउने चलन छ । त्यसो त खड्ग सालैजो र यानीमाया भाका गायनमा बादशाह नै मानिन्छन् । उनका प्रायः गीत सालैजो, यानीमाया, ठाडो भाकाका छन् ।

फेरि गण्डकी क्षेत्रमा सालैजो भाका एकदमै रुचाइन्छ । मेलापात, पर्व, सांस्कृतिक कार्यक्रममा गाउनेले यो गीत नगाई सुखै पाउँदैनन् । त्यसो त उनलाई एकदमै चिनाएको गीत भने ‘हेर्दाहेर्दै कान्छीले सोले डाँडा काट्यो मायाले...’ हो । यो गीत २०५७ मा रिमा रेकर्डिङमा रेकर्ड भएको हो । 

जति खायो उति मीठो थाक खोलाको पानी 

बग्ने खोला, मर्ने चोला यस्तै रैछ नानी...

गायिका टीका पुनसँग गाएको यो यानीमाया गीतले पनि राम्रै चर्चा बटुल्यो । ‘अहिले एउटा यानीमाया भाकाको गीत निकाल्ने तयारीमा छु, यानीमाया मन पराउनेले सालैजो पनि मन पराएकै हुन्छन्,’ उनी भन्छन्, ‘सालैजो रुचाउनेले यानीमाया रुचाउँछन् ।’ सालैजोभन्दा यानीमाया सुन्ने र बुझ्ने केही कम रहेको उनी सुनाउँछन् ।

‘गण्डकी प्रदेशमा सालैजो र यानीमाया, कौडा, सोरठी बढी प्रचलित संगीत हो,’ उनी भन्छन्, ‘यो क्षेत्रमा आयोजना गरिने मेला, महोत्सवमा यी गीत नगाइए महोत्सव अधुरै भएको महसुस हुन्छ ।’ 

ठाउँ विशेष, पीडा, सुखदुःख, सबै विषयवस्तु सालैजो, यानीमाया जस्ता भाकामा अट्ने उनले सुनाए । २०५४ मा रेडियो नेपालमा वाद्यवादनतर्फ करारमा सेवा काम सुरु गरेका उनी अहिलेसम्म करारमै छन् । राम्रो हार्मोनियम, मौरी बाजा बजाउने उनी गोंगबु बस्छन् । उनका श्रीमती र दुई छोरी छन् । श्रीमती मीना लोकगायिका हुन् ।

विमल खतिवडा खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully