भेडीखर्के साहिँलाका कर्पुटारे भाका

कर्पुटारे भाका अर्थात् लमजुङे ठाडो भाकामा मादल र मुजुरा बजाइन्छ । गायनमा पुरुष र महिलाको सहभागिता भयो भने रोमाञ्चक हुन्छ । नृत्यको चालामाला अन्य गीतभन्दा भिन्न हुन्छ ।

कार्तिक २२, २०८२

कुसुमाकर न्यौपाने

The barking of a wolf, the

What you should know

डीखर्के साहिँलाको न्वारनको नाम दीर्घराज अधिकारी हो । लमजुङको सिल्दुजुरे, तुर्लुङकोटका बलभद्र र नन्दकुमारी अधिकारीका साहिँला छोरा दीर्घराजको जन्म ३१ भदौ १९९० मा भएको हो ।

जीवनभरि कृषि पेसा अँगालेर जीवन बिताएका उनी सधैं नेपाली लोकसंगीतको बगैंचामा रमाइरहे । ८४ वर्षको उमेरमा २६ भदौ २०७४ मा उनी संसारबाट बिदा भए । 

 भेडीखर्के साहिँलाका निम्ति कृष्णचरित्र, रामायण, महाभारत र स्वस्थानी नै पाठ्यपुस्तक बनेका थिए । गाउँबस्तीमा गुन्जिने भजन, कीर्तन, चुड्का, कर्पुटारे भाकालगायतले उनको बालमानसिकतालाई आकर्षित गरेका थिए ।

यस्ता गीत गाएको सुन्नासाथ ती ठाउँमा पुग्ने र गायनकार्यमा आफूलाई लिप्त बनाउने गर्थे उनी । कहिलेकाहीं त गायनकार्यमा संलग्न भएको देखेर पिता तथा अन्य अभिभावकबाट गालीसमेत खाए । उनले डाँडापाखा तथा गाउँबस्तीमा गुन्जिने लोकभजन तथा लोकगीतले पारेका प्रभावका कारण आफूलाई गायनकार्यमा लिप्त बनाएका थिए । 

लोकगीतका विविध विधा गाएर अनुभव सँगाले पनि भेडीखर्के साहिँलाले कर्पुटारे भाका अर्थात् लमजुङे ठाडो भाका गाएर प्रसिद्धि कमाए । कर्पुटारे भाका भन्नेबित्तिकै अहिले पनि देउबहादुर दुरापछि उनकै नाम अगाडि आउँछ । नौ वर्षको उमेरदेखि गाएका भेडीखर्के साहिँलाले जीवनको अन्तिम क्षणमा पुग्नुपूर्वसम्म यही गीतको आराधना गरेका थिए । त्यसैले उनी नेपाली लोकसांगीतिक जगत्मा श्रद्धेय बनेका छन् । 

दीर्घनारायणलाई किन भेडीखर्के साहिँलो भनियो त ? लमजुङको सिल्दुजुरेमा उनका पिताले भेडीगोठमा काम गर्दा रहेछन् । त्यही भेडीखर्कमा भेडा पाल्ने पिताको साहिँलो छोरो भएकाले उनलाई गाउँलेले मायाले भेडीखर्के साहिँलो भनेका रहेछन् । 

 भेडीखर्के साहिँलाले गाएकामध्ये एउटा हो, कर्पुटारे भाका । यस भाकालाई दुरा भाका, लमजुङे भाका, ठाडो भाका, लमजुङे ठाडो भाका नामले पुकारिन्छ । देउबहादुर दुरा, फगे दुरा, पञ्चे सुब्बा, भक्ति दुरालगायतले गाएर लोकप्रिय बनाएका कारण यसलाई दुरा भाका भनिएको रहेछ । दुरा र अन्य जातिका मानिस मिलेर यो भाका प्रत्येक वर्ष शिवरात्रिका अवसरमा लमजुङको करापुटारस्थित महादेव मन्दिर परिसरमा हप्तौं गाइन्थ्यो । त्यही कारण यसलाई कर्पुटारे भाका भनिएको रहेछ । लमजुङ जिल्लामा बढी प्रचलित भएकाले लमजुङे भाका र ठाडो लयमा गाइने भएकाले ठाडो भाका पनि भनिएको रहेछ । 

भेडीखर्के साहिँलाले यो गीत देउबहादुर दुराले गाएको सुनेर प्रभावित भई सिकेका हुन् । देउबहादुरले यो गीत गाउँदा गायनस्थललाई रोमाञ्चयुक्त बनाउँथे रे । उनले यो भाका गाउँछन् भन्ने थाहा पाएपछि भेडीखर्के त्यस ठाउँमा पुगी मन दिएर सुन्थे । देउबहादुरको शेषपछि भेडीखर्केले आफ्नो गला र कलाका माध्यमबाट यसलाई लोकप्रिय बनाए । यस गीतमा दोहोरी खेल्दा उनले धेरैलाई जिते । त्यसैले यस गीतमा यी भेडीखर्केसित दोहोरी गाउन जो–कसैले हिम्मत गर्दैनथ्यो । 

 कर्पुटारे भाकाका गीतको मुख्य संरचना दुई पंक्तिको भेटिएको छ । पहिलो पंक्तिमा २० र दोस्रो पंक्तिमा २० अक्षर हुन्छन् । प्रत्येक पंक्तिको छैटौं, बाह्रौं र बीसौं पंक्तिमा विश्राम लिइन्छ । यी दुई पक्तिका बीचमा तुकबन्दीयुक्त अनेक विवरण जोडिन्छ । भेडीखर्के साहिँलाले गाएको यस गीतको एउटा चरन यस्तो छ– 

त्यै चैतको हुरी, आयो धुरीधुरी, धूलो पर्‍यो नजरैमा

खर काटी सियो

ऐले मलाई घुम्ने सारै धोका थियो

धोबिनीले धोयो

 नगएको पनि, धेरै वर्ष भयो, कर्पुटारे बजारैमा 

यस गीतको गायनमा ‘हे धन्सार यसै मयाजाल’, ‘ए त्यो ठिकै भन्नुभयो’ जस्ता थेगोस्तरीय उपवाक्य पटक–पटक दोहोरिन्छन् । गायनमा पुरुष र महिलाको सहभागिता भयो भने गीत रोमाञ्चक हुन्छ । यस गीतको गायनमा मादल र मुजुरा बाजा बजाइन्छ । यस गीतमा नृत्यको चालामाला अन्यको भन्दा भिन्न हुन्छ । यो नेपाली जगत्मा नौलो संरचना र स्वरूप भएको गीतका रूपमा चिनिएको छ । 

 कर्पुटारे भाका अर्थात् लमजुङे ठाडो भाका लोकगीतको परम्परा हेर्दा देउबहादुर दुराको गायन समय एउटा युग बनेको भेटिन्छ भने भेडीखर्के साहिँलाले गाउन थालेपछि अर्को युग ।

अहिले यस गीतको गायनमा युवायुवती पनि बडो रुचिका साथ लागेका छन् । यस गीतका चर्चित गायक–गायिकाको नाम लिँदा खजे दुरा, देउबहादुर दुरा, भक्ति दुरा, मणिराम दुरा, पञ्चे सुब्बा, अली मियाँ, भेडीखर्के साहिँलो, ज्ञानमाया थापा, उत्तम गुरुङ, बुद्धिमाया गुरुङ, माया गुरुङ, धम्पु दुरा, गौमाया दुरा, शान्ति दुरा, सीता दुरा, ठूला स्वाँराकी कान्छी, राजु परियार, मञ्जु बि.के., रमेश परियार, सन्ध्या परियार, शिला आलेलगायतलाई बिर्सनु हुँदैन । 

यो गीत सुरुमा दुरा जातिका साथै अन्य जातिले गाएको र फैलाएको भेटिन्छ भने त्यसपछि विविध जातिले पनि गाएर अगाडि ल्याएको पाइन्छ । ब्राह्मणले गीत गाउन हुँदैन भन्ने युगमा यस गीतलाई भेडीखर्के साहिँलाले गाएका थिए । गुरुङ, मगर, क्षेत्री, परियार, विश्वकर्मालगायतका लोकप्रतिभाहरूका गलाले यस गीतलाई नेपाली जगत्मा लोकप्रिय बनाए । 

जीवनका अनेक किसिमका आरोह/अवरोह सहेर लमजुङे ठाडो भाका गाउँदै लेकबेंसी गरेका लोकगायक भेडीखर्के साहिँलाले कर्पुटारे भाकालाई लोकप्रिय तुल्याउन अतुलनीय भूमिका निर्वाह गरे । यही महत्त्वबोध गरेर कतिपयले उनलाई ठाडोभाका शिरोमणि भनेर उपाधि प्रदान गरे । लमजुङमा उनको शालिक बनाएर श्रद्धा प्रकट गरे । 

अन्य गायक–गायिकाले यो गीत गाउँदै जाँदा उनको नाम जोडेर श्रद्धा प्रकट गर्छन् । लमजुङमा खोलिएको ‘ठाडो भाका लोककला प्रतिष्ठान’ संस्थाले बेलाबेला कार्यक्रम गरेर देउबहादुर दुरा र भेडीखर्केलाई स्मरण गर्छ । कर्पुटारे भाकाको गायन, वादन र नृत्यबारे तालिम पनि सञ्चालन गरिन्छ । त्यसको परिणाम अहिले ७–८ कक्षाका विद्यार्थीले पनि यो गीत गाएको सुन्न पाइन्छ । 

भेडीखर्के साहिँला आज यस जगत्मा छैनन् तर उनले गाएका गीतहरू समाजमा घन्किरहेका छन् । गायक–गायिका तथा श्रोताले ती गीतप्रति श्रद्धा प्रकट गरेका छन् । भेडीखर्के साहिँला जीवित छन्, अमर छन् ।

कुसुमाकर

Link copied successfully