थारू संगीतमा मादलका २२ ताल

थरुहटको सबैजसो क्षेत्रमा लट्ठी नाच प्रचलनमा छ । हुर्डुङ्वा नृत्य फूलवार लोककाव्य गायन गरी नाचिन्छ । सखिया नाच थारूहरूको भागवत पुराणमा आधारित छ ।

कार्तिक २२, २०८२

कृष्णराज सर्वहारी

22 rhythms of Madal in Tharu music

What you should know

एआईबाट बनाइएको ‘मान लेनु साथी टुहिन’ बोलको थारू भाषाको गीत यही साता युट्युबमा अपलोड भयो । महेश कुचिलाको शब्द र संगीतमा रहेको यस गीतको भिडियो सर्वत्र चर्चामा छ ।

यसको देखासिकीमा थारू स्रष्टाहरूले आफ्ना गीत धमाधम एआईबाट गाउन लगाइरहेका छन्, भिडियोबिना पनि युट्युबमा अपलोड गरिरहेका छन् । त्यसो त एआईले थारू शब्द सही उच्चारण नगरेको भन्ने बहस पनि सुरु भएको छ । एआईको सहायताले बनाइएका थारू गीतले जेन–जी पुस्तालाई अवश्य आकर्षित गरेका छन् । तर, खासमा यसले थारू मौलिक संगीतको झंकार बोकेको रैथाने संगीत थप ओझेलमा पर्दै गएको छ । 

थारू रैथाने लोकनाच भनेर नवीन विभासले चितवन, नवलपरासी क्षेत्रको लट्ठी नाच आफ्नो युट्युबमा हालेका छन् । सौराहा जाने र त्यहाँको होटलमा एक रात बिताउने जोकोही पर्यटकले ढोलकको तालमा लट्ठी फन्नाउँदै नर्तक, नर्तकीहरू बडो जोसका साथ नाचेको अवश्य हेर्नुभएको होला । अध्येता सुशील चौधरीका अनुसार लट्ठी नाच विशेष युद्धकलासँग सम्बन्धित छ । जंगली जनावर धपाउने र दुस्मनलाई परास्त गर्न अभ्यास गर्दै जाँदा यो नृत्य विकास भएको मानिन्छ । 

नाच्ने ताल फरक छ । यद्यपि थरुहटको सबैजसो क्षेत्रमा लट्ठी नाच चलनमा छ । दाङदेउखुरीभन्दा पश्चिम थरुहटमा ढोलक होइन, मादलको तालमा लट्ठी नाच नाचिन्छ । डफ गीतमा डफ बाजाबाहेक अन्य सबै नृत्यमा मादलको प्रयोग हुन्छ । नृत्यको शैलीअनुसार मन्जिरा, झाल, कस्टार, बसियालगायत बाजाको प्रयोग हुन्छ । विरह गीतमा कुमालेले बनाएको ढुकुर आकारको पिलरु बाजा बजाइन्थ्यो, जुन अब देख्न पाइँदैन । 

पश्चिमा थारू समुदायमा झुमरा, लट्ठी, मुङग्रह्वा, हुर्डुङवा, झर्रा, मघौटा, बर्का, छोक्रा, कठघोरीलगायत नृत्य प्रचलनमा छन् । नयाँ गुरुवा (धामी) बन्न नाचिने अखरिया तान्त्रिक नृत्य पनि छ । यसलाई शिवको रौद्र रूपमा नाचिएको ताण्डव नृत्यसँग तुलना गर्न सकिन्छ । ‘झ्वाङ झ्वाङ नक’ मादलको तालमा गुरुवा बन्न चाहनेहरू नाच्छन् । यससँगै मुख्य गुरुवाले पचरा मन्त्र वाचन गर्छन् । 

२०६२ सालमा यो पंक्तिकार नेपालगन्ज मिडिया सेन्टरमा थारू भाषाको रेडियो कार्यक्रम ‘हमार सहिडान’ कार्यक्रमको उत्पादक थियो । संकलन गरेर ल्याइएको पचरा मन्त्र स्टुडियोमा सम्पादन भइरहेका बेला ‘हमार सहिडान’ कार्यक्रमको नाटक टोलीका सदस्य सोमलाल चौधरीलाई गुरुवा चढ्न पुगेको थियो । मन्त्र बन्द गरेपछि मात्रै उनी बिस्तारै काम्न छाडेका थिए । यसले थारू रैथाने गीत, संगीतको शक्ति सावित गर्छ । 

हुर्डुङ्वा नृत्य फूलवार लोककाव्य गायन गरी नाचिने प्रसिद्ध नाच हो । बर्कीमार अर्थात् थारू महाभारतको बर्का नाच थारू समुदायको शास्त्रीय नृत्य हो । बर्का नाच, लट्ठहवा, 

मुङग्रह्वा, सखिया नाच बर्का पैयाँ खोट (ताल) मा नाच्ने चलन छ । सखिया नाच थारूहरूको भागवत पुराणमा आधारित नृत्य हो । कठघोरी नाचमा बाँसले घोडाको आकार बनाई त्यसलाई काँधमा भिरेर थारू नर्तकहरू मादलको तालमा नाच्छन् ।

हातमा काठको मुङ्ग्रा लिई नाचिने नाचलाई मुङग्रह्वा भनिन्छ । झर्रा नाचमा बाँसको मसिना सिन्काबाट बनाइएको एक–एक मुठा झर्रा दुवै हातमा लिई नाच्ने गरिन्छ, झर्रा आपसमा हिर्काउँदा झर्राउने स्वर आउँछ । त्यसैले झर्रा नाच भनिएको हो । थारूहरूको नयाँ वर्ष माघ (माघी) का अवसरमा नाचिने नाचलाई मघौटा भनिन्छ । मघौटा नाचेबापत घरमुलीले दीपावलीमाझैं ढक्कीमा चामल, खानेकुरा र दक्षिणाका रूपमा नगद दिन्छन् । 

झुमरा, छोकरालगायत नृत्य बाह्रैमास नाचिन्छन् । हाल विभिन्न कार्यक्रममा प्रदर्शनीका लागि लगिने भएकाले अन्य नृत्य पनि बाह्रैमास नाच्न थालिएको छ । झुमरा नाचमा एक मादले, एक वा दुर्ई नाच्ने महिला हुन्छन् । कहिलेकाहीं मनोरञ्जनका लागि सोंगिया (जोकर) पात्र पनि हुन्छन् । छोक्रा/छोकरा भनेको एक अर्थमा केटा हो ।

पुरुष नर्तकहरूले महिलाको पोसाक लहँगा, चोलो, अघरान, चुरा, टिकुली आदि गहना लगाएर विशेष प्रकारको तालमा नाच्ने लोकनृत्यलाई छोकरा भनिन्छ । त्यसो त झुमरा नाचमा पनि पहिले पहिले पुरुष नै महिलाको पोसाक लगाएर नाच्ने गर्थे । झुमरालाई स्थान विशेषअनुसार झुमरी, झुमर, धुमर, धुमरा नाच पनि भनिन्छ ।

थारू समुदायमा ऐतिहासिक महत्त्व राख्ने बर्का नाचमा महाभारतको कथावस्तुलाई समेटेर नाचिन्छ । सबै पुरुष मात्र रहने यस नाच टोलीमा सयभन्दा बढी वा त्यही हाराहारीमा नाच्नेहरू हुन सक्छन् । त्यसैले यसलाई बर्का अर्थात् ठूलो नाच भनिन्छ ।

दसैंको अवसरमा नाचिने यस नाचका लागि आर्थिक भार बढी, तन्त्रमन्त्रको प्रस्ट ज्ञान, धेरै सदस्य र प्रतिबद्धताको जरुरत पर्छ । यो नाच गर्नुभन्दा पहिले गुरुवा (धामी) हरूले विभिन्न थरीका पूजा गर्छन्, बलि चढाउँछन् । बर्का नाचलाई दाङ, जलौराका चन्द्रप्रसाद चौधरीको टोलीले मात्रै जोगाएको छ ।

लट्ठी, बर्का, लट्ठहवा, मुङग्रह्वालगायत नाचमा मादले र नाच्नेहरूले जीउमा रंगीविरंगी कमिज, पिठ्युँमा मयूरको प्वाँख, दुवै काखीमा रातो सप्को, टाउकामा फुन्ना लगाइएको टोपी वा सेतो वा रंगीन पगरी, नाडीमा फुन्ना लगाइएको कण्ठी, घाँटीमा फुन्ना लगाइएको गर्‍याला, कम्मरमा छोटोखाले धोती, खुट्टामा चप्पल या जुत्ता, कम्मरमा ठूलो खाले पेटीमा उनेको घुँघरु र थरीथरीका गहना लगाएका हुन्छन् । मादलेहरूले पनि कम्मरमा विशेष शृङ्गार गरेर मादल भिरेका हुन्छन् । यसले थारू समुदायको परम्परागत पोसाकको पनि प्रतिनिधित्व गर्छ । 

मादलका २२ ताल 

‘थारू संस्कृतिमा कृष्णचरित्र परम्पराको अध्ययन’ (२०७६) शीर्षकमा नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गर्ने क्रममा यस पंक्तिकारलाई थारू गीत, संगीतबारे पनि विशद् अध्ययन गर्ने मौका जुरेको थियो ।

दसैंमा नाचिने सखिया नाचमा २२ खोट (ताल) मादल बजाइन्छ । मेरो कार्यक्षेत्र रहेको दाङको घोराही उपमहानगरपालिकाको राजपुर गाउँका कालीप्रसाद चौधरीले मादलको तालको दस्ताबेजीकरण गर्ने क्रममा १४ खोट मादलको ताल मात्र बजाउन सकेका थिए । उता गाउँमा सामूहिक नाचका क्रममा ७ खोट मात्रै मादलको ताल बजाइएको पाइएको थियो । 

झोङ्नक–झोङ्नक, टोङ घडोनक टोङ, झोङ्नक घिल्डोक नक मादलको ताल सुन्नेबित्तिकै थारू सखिया नाच भन्ने स्वतः बुझिन्छ । सखिया नाचका पूरै २२ खोट बजाउने को होला भनी खोजी गर्दै जाँदा बर्दियाको बह्रैयाताल गाउँपालिका मयूरबस्तीका सुशील चौधरीले गाँठो फुकाइदिए । उनले २२ ताल बजाउँदै त्यस तालको नामकरण पनि गरे । यसको नाम मात्रै सुनेर पनि नाचको शैली थाहा पाइन्छ ।

जस्तो कि चोल बुडी मड पिए अर्थात् हिँड हजुरआमा रक्सी पिउन तालको मादलले बुढाबुढीलाई हौस्याउँछ । हात्तीको हिँडाइ जस्तो लमक लमक, भेडा घुमाउनेदेखि कुखुराको जुधाइसम्म नाचिने ताल छ । एक खुट्टाले उफ्रिँदै लाइनमा छिर्ने, मादले र नर्तकी टाउको जोड्दै नाचिने, नर्तकीलाई लखेट्ने ताल छ ।

त्यस्तै, कानतिर संकेत गर्दै नाचिने, सैनिक परेडझैं नाचिनेदेखि उफ्रिएर कुलो पार गरेजस्तो, छुपुछुपु रोपाइँको शैलीको नाचको ताल पनि छ । उता बन्दुक ताकेझैं, पक्षी उड्दै गरेको शैली अनि परेवा जोडीले माया गरेझैं नाचिने ताल पनि छ सखियामा ।

नेपाली लोकसाहित्यमा पहिलो विद्यावारिधि गरेका दाङका गोविन्द आचार्य दसैं तथा तिहारको अवसरमा नाचिने थारू सखिया, पैंयाको संगीतसहितको गीत श्रवण गर्दा आफूलाई मीठो निद्रा पर्ने गरेको बताउँछन् । उनको भनाइ छ, ‘निद्रा बोलाउने आफ्नो मौलिक रैथाने संगीत फालेर थारूहरूको नयाँ पुस्ता निद्रा बिगार्ने आधुनिक गीत संगीतको लतमा फस्दै गइरहेको देख्दा दुःख लाग्छ ।’

कृष्णराज

Link copied successfully