काली-कर्णालीको हृदय आवाज : देउडा

कर्णालीपारि भेरी र महाकालीपारि भारतको कुमाउँ–गढवालसम्मको सामाजिक एकता, भाइचारा र सद्भावको कडी हो– देउडा

कार्तिक २२, २०८२

वसन्तप्रताप सिंह

The heart of Kali-Karnali: Deuda

What you should know

बझाङ — खस सभ्यताको उद्गम थलो कर्णाली पश्चिमको मानवीय र सांस्कृतिक संवेदना अभिव्यक्त गर्ने देउडाले यहाँको परम्परागत संगीतमा विशिष्ट स्थान ओगटेको छ । पृथक् स्वर (ध्वनि) र ताल (लय) को संयोजनका कारण देउडाको नेपाली संगीतमा अलग्गै पहिचान छ । साहित्यका नवरस घुलित देउडाका बिम्ब र प्रतीकहरू बहुअर्थी हुन्छन् । 

लोक संस्कृतिका अध्येतासमेत रहेका साहित्यकार हेमन्त विवश केही दशक अघिसम्म देउडा यस क्षेत्रको संगीत मात्रै नभएर जीवन दर्शन र हिया (हृदय) को आवाज भएको बताउँछन् । ‘मान्छेलाई संवेदनशील बनाएर माया, प्रेम, सद्भाव र भाइचारा झल्काउने देउडा विगतमा खुला पाठशालाजस्तै थिए,’ उनी भन्छन् । 

हिमाली कन्दरा र पहाडी खोंचदेखि घाँस, दाउरा र मेलापातमा ठाडी भाकामार्फत गुन्जिने प्रेम र विरहका स्वर हुन् या सयौंको उपस्थितिमा खेलिने सवालजवाफ नै किन नहुन्, देउडाका उपमा र अलंकारहरूले सुदूर भूगोलका स्थानीय जनजीवनका रमाइला र गहन कथा बोकेका छन् । प्रकृतिको मनमोहक चित्रणदेखि लिएर जीवन दर्शन, सामाजिक सम्बन्ध, प्रेम, संघर्ष, आशा र निराशाका भावहरू बुन्ने बलियो माध्यम नै देउडा बनेको छ । देउडाका गीतहरूमा यस क्षेत्रका जनताको प्रकृति प्रेम, भूमिको माया छचल्किन्छ । 

देउडाको मिठास संगीत र नृत्यमा मात्रै सीमित छैन । यो धुन सुदूर र कर्णालीको जीवन मूल्य, काव्य सिर्जना र साझा पहिचान हो । यसमा जीवनका घाउ पनि हुन्छन्, प्रेमका मिठास पनि अनि भविष्यप्रतिको उज्यालो पनि हुन्छन् । जुन हियाको आवाज बनेर संगीतका रूपमा युगौंदेखि गुन्जिरहेका छन् । र, गाउँघरतिर मौखिक इतिहास बनेका छन् । 

The heart of Kali-Karnali: Deuda

ठाउँअनुसार कतै ‘डेउडा’ पनि उच्चारण गरिने देउडा नेपालको कर्णालीपारि भेरी र महाकालीपारि भारतको कुमाउँ–गढवालसम्मको जनजीवनसँग जोडिएको संगीत हो । वनपाखामा एकल रूपमा गाइने देउडा, मेला, पर्व, विवाह र चाडपर्वमा गाइने बाजासहितको नाच र बाजारहित नाचमा समेत गाइन्छ ।

यो समूहमा पुरुष–पुरुष, महिला–पुरुष वा महिला–महिला मिलेर खेलिन्छ । यसरी समूहमा खेल्दा पाइला (स्टेप) मिलाएर गोलाकार घुम्ने गरिन्छ । यसरी घुम्दा एक पाइला पूरा र अर्को पाइला आधा सार्नुपर्ने हुन्छ । डेढ पाइला चालेर डेउडी पार्दै खेलिने भएकाले यसलाई डेउडा पनि भन्ने गरिएको हो । 

देउडामा पनि न्याउल्या, सु, ठाडी भाकाजस्ता फरक भाका र लय छन् । यस्तै पूजा, विवाह, व्रतबन्धजस्ता शुभ अवसरमा गाइने फाग (मंगल गीत), सगुन, माँगल (मांगलिक गीत) का भाका र लय अलग्गै हुन्छन् भने अठवाली (गौरा पर्वमा गाइने गीत), चाँभाई, ढुस्को, धमारी (देवीको जात्रामा गाइने) गीतको लय र ताल भिन्नै हुन्छ ।

The heart of Kali-Karnali: Deuda

झिमकेउडा, पुतला (नारीप्रधान गीत जुन बिसु पर्वमा छोरीहरूले गाउँछन्), हुड्केली (नृत्य), चाँचरी (रोपाइँका क्रममा गाइने गीत), झोडा (देव स्तुति), भाट गीत (भाट जातिले गाउने गीत) को संगीत छुट्टै हुन्छ । लय, स्वर र भाकाहरूमा विविधता भए पनि देउडा यहाँको रैथाने संगीत मात्रै होइन, सामाजिक एकता, भाइचारा र सद्भावको कडी पनि हो ।

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully