पलपलमा मैथिली लोक राग

बच्चा जन्मिादा सोहर गाएर खुसी साटिन्छ । खेल्दा–कुद्दाका बेलाको पनि गीत छ । युवा अवस्थामा प्रेमिल गीत गुनगुनाएर स्नेह अभिव्यक्त गरिन्छ । विवाहको हरेक विधिका लागि मैथिली लोकगीत छ । वर्षा ऋतुमा कजरी, फागुनमा फाग, चैतमा चैतावर गीत गाइन्छ ।

कार्तिक २२, २०८२

अजित तिवारी

Palpalma Maithili folk raga

जनकपुर — आदिकाल (सन् ७५०–१३५०) मा बौद्ध तान्त्रिकको दोहा र गीतमा प्राचीन मैथिली शब्द समेटिएको थियो । त्यही कालखण्डदेखि मैथिली भाषामा गीतको रचना गर्न थालिएको भन्ने गरिन्छ । मध्यकाल (सन् १३५०–१७६८) लाई मैथिली लोक रागको स्वर्णिम युग मानिन्छ । 

मैथिली लोककवि विद्यापतिले यही समयमा मैथिली लोकगीतलाई उचाइमा पुर्‍याएका हुन् । उनले ‘देसी बयना सव जग मिठा’ (आफ्नो भाषा सबैलाई मिठो लाग्छ) भन्दै मैथिली लोक भाकालाई जनजिब्रोमा पुर्‍याएका थिए ।

विद्यापतिकै प्रभावले नेपालका मल्लकालीन राजाले पनि मैथिली भाषामा रचना लेखेका थिए । विद्यापतिकै मौलिक रचना वरिपरि मैथिली लोकगीत–संगीतले व्यापकता पाउँदै गएको हो । 

लोक गीत नै मैथिली संगीतको पहिचान बनेको छ । संस्कार र दैनिकीसँग जोडिएको मैथिली लोकगीतमा प्रेम, विरह, सौन्दर्य र भावना पस्किएको हुन्छ । मैथिली लोक गीत पर्व, परम्परा, अनुष्ठान, सामाजिकता र मौसम विशेष छ । सोहर, व्रतबन्धको गीत, सम्मरी, लगन गीत, नचारी, समदाउनी, झुमर, तिरहुति, बटगमनी, फागु, चैतावर, कलार, चाँचर, योग, साँझ, ग्वालरी, मधुश्रावणी, छठको गीत, श्यामा–चकेवा, जट–जटिन र बारमासा मैथिली लोकगीतका मूल कडी हुन् । 

जय जय भैरवी असुरभयाउनी, पशुपति–भाविनी माया ।

सहज सुमती वर दिअ हे गोसाउनी, अनुगति गति तुअ पाया ।।

 विद्यापतिले रचना गरेको यो गीत मिथिलामा अहिले पनि कुनै कार्यक्रमको शुभारम्भमा बजाइन्छ । छठ पर्व र विवाहको गीत गाएर सारदा सिन्हाले क्रान्ति नै ल्याइदिइन् । उनका गीत गुन्जिनासाथ छठपर्व र विवाहको झल्को आउँछ । 

मैथिली लोकगीत–संगीत जनजनमा पुग्नुमा गायक उदितनारायण झा, मैथिल ठाकुर, कुञ्जविहारी, धीरेन्द्र प्रेमर्षि, रूपा झा, सुनील मल्लिक, आभास लाभ, रश्मि रानीको महत्त्वपूर्ण देन छ । गुरुदेव कामतले मैथिली गीत–संगीतमा शास्त्रीय रिदम थपे । शास्त्रीय गीत–संगीत विधामा तराई–मधेशका एक्ला साधक थिए कामत । शास्त्रीय संगीतको कठोर राग मैथिली गीत–संगीतमा भित्र्याएका उनको ‘वित–वित पर लक्ष्मण रेखा, डेंग–डेंग पर आइग’ गीत तराई–मधेशमा विभेदविरुद्धको लडाइँको आवाज नै बन्यो । 

पण्डित अमरनाथ झाले ‘मैथिली लोकगीत’ पुस्तकमा मिथिलामा गीत मानिसहरूको दैनिकी बनेको उल्लेख गरेका छन् । उनले पुस्तकमा लेखेका छन्, ‘मिथिलाको ग्रामीण गीतलाई पुनर्जीवन भने लगन, उत्सव र पर्व–त्योहारले दिएको छ । मिथिलामा संगीतमय पर्व–त्योहार रक्षा बन्धन, तीज, यम–द्वितीया र छठ मुख्य हुन् । काफिलासहित एक ठाउँबाट अर्को ठाउँमा पडाव फेर्दै जाँदा गाइने पुरातन लोकगीत भने मिथिलाको चल्ताफिरता पुस्ताकाल नै हो ।’

मैथिली लोकगीत–संगीतमार्फत समाजको आवाज बोल्ने गायकमा दरिन्छन्, धीरेन्द्र प्रेमर्षि । 

‘हमरे डाला पनपथिया स देवतो पितर पुजाइ छै

कहु यौ बाबु तैयो हमर देह ई कियैक छुआइ छै’ 

(हामीले बनाएका भाँडाकुँडाले नै देवीदेवता पुजिन्छ । भन्नुस् बाबु, तर हाम्रो शरीर किन अछुतो मानिन्छ ।)

 मिथिलामा डोम, चमार र मुसहर समुदायसँग अरू जातिले गर्ने अछुतोको व्यवहारमाथि कडा प्रहार गर्ने यो गीत प्रेमर्षिले गाउँदा जोकोहीलाई पनि झस्काउँछ । ‘मिथिलाको जीवनपद्धति नै गीत–संगीतको धागोमा उनिएको छ,’ प्रेमर्षि भन्छन्, ‘मिथिलामा जन्मदेखि मृत्युसम्म हरेक संस्कार र मनोभावलाई गीतहरूबाटै अभिव्यक्त गर्ने परम्परा छ ।’

उनका अनुसार मैथिली लोकगीत–संगीतले अनेक उत्कृष्ट र निकृष्ट अवस्था र आरोह–अवरोह भोगे पनि प्रेम, विजय, प्रसन्नतालाई रागमय बनाइरह्यो । दुःख, वेदना, बिछोड सहन पनि मिथिलामा गीतलाई माध्यम बनाइयो । ‘मिथिलामा वैदिक समयदेखि नै संगीतको परम्परा थियो ।

पुरोहित वर्गको भूमिकाले संगीतको प्रचारप्रसार हुन्थ्यो,’ प्रेमर्षि भन्छन्, ‘पुरोहितको सामवेदका ऋचा गायनबाट सामगानको परम्परासँगै लौकिक गीत–संगीतमा मिथिला प्रवेश गर्‍यो । सामगानमा पहुँचबाट वञ्चित वर्गले लौकिक परम्पराको सूत्रपात गर्‍यो । संगीतका यी दुई धार छिचोल्दै मिथिलामा गाथा गायनको परिपाटी थालियो ।’

 प्रेमर्षिका अनुसार सलहेस, लोरिक, नैका–बनिजारा, दीनाभद्रीसहित ५० प्रकारका गाथा अहिले पनि मिथिलामा लोकप्रिय छन् । मधेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति रामभरोस कापडी भ्रमर पनि सुरुवाती समयमा मैथिली गीत–संगीत राजा, सिपाही वेदपुराण पण्डितको परम्परा रहेको बताउँछन् । ‘सुरुवाती गीत–संगीतमा प्रजालाई त्यति महत्त्व दिइएन । प्रजाले आफ्नै ढंगबाट गति–संगीतको परम्परा सुरु गर्‍यो,’ उनी भन्छन् ।

 कापडीका अनुसार मैथिलीका प्रत्येक लोकगीत लोक व्यवहारमा आधारित छ । ‘धेरै गीत लोक सम्पदामा आधारित छन्,’ उनी भन्छन्, ‘आफ्नो घर, परिवार र समाजमा हुने शब्द समेटेर गीतका माध्यमबाट आराधना गरिन्थ्यो ।’

मैथिली लोकगीतको सुन्दरता के छ भने यसमा हरेक पललाई झल्काउने रचनाहरू छन् । जन्मदेखि मृत्युसम्मका लोकगीत छन् । बच्चा जन्मिँदा सोहर गाएर खुसी साटिन्छ । खेल्दा–कुद्दाका बेलाको पनि गीत छ । युवा अवस्थामा प्रेमिल गीत गुनगुनाएर स्नेह अभिव्यक्त गरिन्छ । विवाहको हरेक विधिका लागि मैथिली लोकगीत छ ।

वर्षा ऋतुमा कजरी, फागुनमा फाग, चैतमा चैतावर गीत गाइन्छ । श्रम गर्ने समयमा लंगनी र बाटो हिँडिरहेको बेला बटगमनी गाइन्छ । मनोरन्जन र आनन्दका लागि तिरहुति, मान, झुम्मर, बिरहालगायतका लोकगीत छन् । नचारी, वाणी, साँझ, पराती त मैथिली लोकगीतका लोकप्रिय पक्ष छँदै छन् ।

‘धेरैजसो मानिस आफ्नो जीवनमा परिवार र समाजको कल्याण, रोगब्याधिबाट बच्न, पत्नी र पुत्रको कामना र रक्षाका लागि झाल, मृदंग र करताल बजार गहबरमा गीत गाउँछन्,’ सन् २०१५ मा प्रकाशित रऊताही पुस्तकमा लेखिएको छ, ‘मैथिली लोकगीतले मनोरन्जन मात्र दिँदैन, यसले परिवार, समाज र देशप्रतिको कर्तव्य पनि दर्शाउँछ ।’

मधेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति कापडीका अनुसार मैथिली लोकगीत सामाजिक व्यवस्थाअनुसार नै अद्भुत तरिकाले पस्किइएको छ । ‘प्रायःजसो मैथिली गीतमा लोक जीवनको अवस्था र सहजतालाई समेटिएको छ,’ उनी भन्छन्, ‘धेरै लोकगीत त लोप हुने अवस्थामा छन् । यसको संरक्षण गर्न जरुरी छ ।’

दसैं–तिहारका बेला गाइनेबाहेक मैथिली लोकगीत झिझिया लोप हुने अवस्थामा रहेको उनी बताउँछन् । ‘फागुका गीतहरू त लोप नै भइसके,’ उनी भन्छन्, ‘अहिले सुनिने गीतमा मौलिकता देखिँदैन, अपनत्व भाव छैन । मैथिली लोकगीत त जीवनपद्धतिको दस्ताबेज हो । अधुरो गीतमा नाचेर हुन्न । आफ्नो मौलिक गीत हुनुपर्छ ।’

 मैथिली संगीतकार रञ्जन झा अहिले बजारले रुचाइरहेको मैथिली आधुनिक, र्‍याप र हिपहप गीत–संगीतलाई लोकगीत र संगीतसँग जोड्न आवश्यक रहेको बताउँछन् । ‘मैथिली र्‍याप र हिपहपले व्यापकता पाइरहेको छ,’ उनी भन्छन्, ‘धेरैजसो र्‍याप र हिपहपमा मैले नै संगीत दिएको छु । तर, त्यसलाई मैथिली लोकगीत र लोकबाजासँग जोडेर सिर्जना गर्दा पुराना गीत पनि रहन्छन् र नयाँपन पनि पाइन्छ ।’ 

बच्चादेखि नै मैथिली लोकगीत सुन्दै आएकाले त्यसले महत्त्व नबुझेको संगीतकार झा बताउँछन् । ‘मैथिली लोकगीतको कार्यक्रम गर्दा त्यही घिसापिट्टा भनेर आलोचना गरिन्छ,’ उनले भने, ‘तर, लोकगीत र लोक बाजालाई नै टेकेर नयाँ गीत र संगीतको सिर्जना गर्दा मौलिकता झल्किन्छ ।’ 

मैथिलीमा पछिल्लो समय आएको र्‍याप र हिपहप गीत–संगीतले बजार पिटेको छ । मानिया, सन्तोष ओडी र डीके सागरका र्‍याप र हिपहप गीत युवा पुस्ताको रोजाइमा परेका छन् । नेपाल प्रमियर लिग (एनपीएल) को पहिलो संस्करण विजेता जनकपुर बोल्ट्सको गीत ‘सरर र एलौं मिथिलाके शान, हर मधेशीके जान, बौआ जितबे तु केना’ आएपछि मैथिलीमा गाइएका र्‍याप र हिपहप गीत रुचाउन थालिएको छ ।

मानियाको जनकपुर बोल्ट्ससँगै जोडिएको ‘राजाको राज, पानीमे आग, नारी इन सारी एत, खेल खेलाडी एत’ हिपहप गीत पनि चर्चित बन्यो । डीके सागरले केही महिनाअघि ल्याएको हिपहप पनि चर्चामा छ–

‘हमर बोली लगातार, खुकुरीके धार, गर्दनके पार कनि कक विचार,

न त बोरामे प्याक कक सिधे औइपार, सिस्टम हिलाबे बाला यादव सरकार’ ।

यस गीतमा मैथिली र नेपाली भाषा मिसाइएको छ । 

मैथिली र्‍याप र हिपहप गीतमा संगीत दिइरहेका झाका अनुसार समयअनुसार सिर्जना गरिएन भने पछाडि परिन्छ । ‘मैथिली गीत–संगीत १९ को दशकमा पछि परेकै हो,’ झा भन्छन्, ‘विश्वभरि गीत–संगीतमा नयाँपन दिने नाममा संगीतमा सम्झौता र शब्दमा छाडापन पस्किन थालिएको छ । मैथिलीका नयाँ सिर्जना पनि त्यसबाट अछुतो छैन । लोकगीत–संगीतको महत्त्व बुझाउँदै अहिलेको सिर्जनामा त्यसको झल्को दिन सक्नुपर्छ ।’ 

 मधेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति कापडी मैथिली लोकगीतलाई विकृतितिर जान दिन नहुने बताउँछन् । मिथिला विकास कोषका अध्यक्ष जीवनाथ चौधरीका अनुसार मैथिली लोकगीत र संगीतको जगेर्ना गर्न कार्यशाला, महोत्सव, झिझिया उत्सव, समा–चकेवालगायत कार्यक्रम आयोजना भइरहेका छन् । संगीतकार झाले पनि मिथिलाको लोकगीत र संगीतलाई टिकाइराख्न र युवा पुस्तामा फरक स्वाद पस्किन जनकपुरमा भूमि महोत्सव आयोजना गर्दै आएका छन् ।

अजित तिवारी पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully