डिस्को र बारमा पनि रैथाने संगीत गुन्जिऊन् : झुमा लिम्बू [अन्तर्वार्ता]

लिम्बू भन्छिन्- ठूल्ठूला बार र क्लबहरूमा मान्छेले डिस्को म्युजिक मात्रै किन सुन्ने ? हाम्रा रैथाने गीत पनि सुनून् भन्ने हो । यो रैथाने संगीतप्रति हामी संवेदनशील हुनुपर्छ, यो हाम्रो संगीत हो भन्ने विचार मान्छेहरूमा पलाउन थालेको छ ।

कार्तिक २२, २०८२

कान्तिपुर संवाददाता

Let folk music resonate in discos and bars too: Jhuma Limbu [Interview]

What you should know

हाम्रा प्रत्येक समुदाय र संस्कृतिसँग आफ्नै वाद्ययन्त्र छन्, जसमार्फत बजाइने पारम्परिक संगीत नै हो– रैथाने संगीत । असलमा नेपाली दैनिकी हुन् हाम्रा रैथाने लोकबाजा, जसले युगौंदेखि समाज ब्युँझाइरहेका छन्— ढोलक, मादल, नगरा, मुरली, बाँसुरी, तबला, सहनाई, नरसिंगा, दमाहा, डमरू, च्याब्रुङ, सारङ्गी, बिनायो, अरबाज, मुर्चुङ्गा, ढ्याङ्ग्रो, झ्याली, कर्णाल, खैंजडी, ट्याम्को, टुङ्ना, पन्चै, एकतारे, नायखीं, मुजुरा, खीं, डम्फु, टुङ्ना, हुड्का...।

रैथाने संगीतको महत्त्व र नेपालको अवस्थाबारे रैथाने संगीतकी अभियन्ता, संगीतकार र गायक झुमा लिम्बूसँग कान्तिपुरका दीपक सापकोटाले गरेको संक्षिप्त संवाद : 

२१ भदौमा काठमाडौंको ठमेलस्थित एलओडी क्लबमा 'झुमा लिम्बू एन्ड दि रैथाने ब्यान्ड’ को कन्सर्ट थियो, के अब रैथाने संगीत मूलधारमा आएको हो ? रैथाने संगीत सुन्न मान्छेहरू टिकट काटेरै आउने दिन आयो हो ? 

रैथाने के हो ? थाहा होस् सहरियालाई भनेर यस्तो कन्सर्ट आयोजना गरिएको थियो । नेपालकै सबैभन्दा ठूलो क्लब एलओडीमै कन्सर्ट हुँदा त्यसले धेरैको ध्यान खिच्यो । ठूल्ठूला बार र क्लबहरूमा मान्छेले डिस्को म्युजिक मात्रै किन सुन्ने ? हाम्रा रैथाने गीत पनि सुनून् भन्ने पनि हो । टिकट जाँदो रहेछ हौ । यो रैथाने संगीतप्रति हामी संवेदनशील हुनुपर्छ, यो हाम्रो संगीत हो भन्ने विचार मान्छेहरूमा पलाउन थालेको छ ।

यो हाम्रो स्थानीय संगीत हो भनेर रैथाने खाना रोजेजस्तै मान्छे रैथाने संगीत खोज्न थालिसके । जे–जे कुरा छन् हाम्रो, त्यो स्थानीय प्रोपर्टी बाहिर आउन थालेको धेरै समय भएको छैन, बढीमा एक दशक भयो होला । अझ बढीमा ६० दशकको जनआन्दोलनपछि होला । मलाई अहिले लाग्न थाल्यो– रैथाने संगीत मूलधारमा छ ।

अहिले मैले गीत गाएरै भात खाने दिन आएको छ, उति बेला थिएन । प्रायः विश्लेषकसँग कुरा गर्‍यो भने ‘यो हाम्रो रैथाने संगीत एकदम संकटमा छ, संकटउन्मुख छ, गाह्रो छ बाहिर आउन’ भनेको सुन्छु । त्यो उहाँहरूलाई थाहा नभएर हो । त्यति चिन्तित हुनुपर्दैन । हामीले काम गरिरहेछौं ।

रैथाने संगीत यात्रा काठमाडौंबाहेक अरू सहरहरूमा पनि हुँदै छ, तपाईंहरूको उद्देश्य के हो ? 

रैथाने ब्यान्डले सांगीतिक यात्रामार्फत सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ । विभिन्न सहर–गाउँ पुगेर स्थानीय लोक–संगीत— हाक्पारे, पालाम, च्याब्रुङ, घाटु, सोरठी, देउडा, मारुनीलगायत संगीत र नृत्यलाई केन्द्रमा राखेर ब्यान्ड गुन्जनेछ । यस यात्राले गाउँ र सहरको संगीत जोड्छ । संस्कृति र संगीतलाई नयाँ पुस्तामा पुर्‍याउने पनि हाम्रो आशा छ । रैथाने घुमफिर गाउँ–सहरको संगीत र संस्कृति जोड्न पुलका रूपमा उभिनेछ । 

रैथाने भाका, गीत र संगीतलाई कसरी जनजीवनसँग जोडिन्छ ?

रैथाने भाषा त्यहाँको भूबनोटबाट निर्धारित भएजस्तै संगीत पनि भूबनोटसँग सम्बन्धित र प्रभावित हुन्छ । लिम्बूहरूको मूल थलो कहीँ अत्यन्तै भिरालो, विशाल चट्टानले बनेको पहाड र कहीँ समथर छ । हाम्रो हाक्पारेको नोटेसन हेर्‍यौं भने त्यसको संगीत बनोटमा पनि ती ठाउँहरूको प्रभाव भेटिन्छ । लिम्बू भाषाको बनावटबाट र यी जाति कस्तो ठाउँमा बस्छन् भन्ने सजिलै थाहा पाउन सकिन्छ ।

Let folk music resonate in discos and bars too: Jhuma Limbu [Interview]

जस्तै अरू भाषामा तल–माथि, वर–पर चारै दिशाबाट कसैलाई बोलाउँदा ‘यता आऊ’ भने पुग्छ । तर, लिम्बू भाषामा माथिबाट तलकालाई बोलाउँदा ‘येः’ भनिन्छ । तलबाट माथिकालाई बोलाउँदा ‘थाङेः’ भनिन्छ । सम्म ठाउँ अथवा वर–पर बोलाउँदा भने ‘फेरेः’ भनिन्छ । हाम्रो हाक्पारे छ । त्यसमा सप्पै सृष्टि, समाज, सभ्यता छ । अनि जीवन जोडिएन त ?

हामीले रैथाने संगीतको किन जगेर्ना गर्नुपर्छ ?

नेपाल विविध भाषा, संस्कृति, भूबनोट, वनस्पति, जनावर–पन्छीमा गर्व गर्न सकिने मुलुक हो । नयाँ पुस्ताले यो बुझ्नुपर्छ । नत्र इतिहास नामेट हुनेछ । हामी सबैले आपसका भाषा, संगीत र संस्कृतिको अन्तरमनदेखि स्वीकार र त्यसमा गर्व गर्ने अभ्यास गर्नु जरुरी छ । मानव सभ्यतालाई यहाँसम्म ल्याइपुर्‍याउने मुख्य कडीमध्ये कला संस्कृति हो, रैथानेपन हो । अनेक संस्कृति मिलेर एउटा सभ्यता अगाडि बढ्छ भन्ने सबैले बुझ्नुपर्छ । रैथाने हावापानी, माटो भूगोलसँग जोडिन्छ । संस्कृति, भाषा सबै जोडिन्छन् ।

पहिले लोकगीत अथवा लोक संगीत भन्ने कुरा थियो तर रैथाने भन्यो भने त्यसले सबै समेटिन्छ । लोक मात्रैले समेट्दैन, रैथाने चीजहरूमा सबै कुरा समेटिन्छ । तर, लोक र रैथाने छुट्याउने रेखाचाहिँ छैन । हाम्रोमा स्थानीयता अझै खोज्नुपर्ने अवस्थामा छ । संगीत त छ तर नेपाली संगीत कहाँ छ ? त्यो खोज्दा निराश हुनुपर्ने अवस्था छ ।

भाषा त हाम्रै छ तर संगीत अरूको छ । हामीले लोक गुमायौं, आफ्नो पहिचान र आफ्ना कुरा गुमायौं । नेपाली संगीतले आफ्नै मौलिक पहिचान बनाएर विश्व मञ्चमा उभिएको हेर्ने मेरो ठूलो सपना छ । बिस्तारै त्यो दिन पनि आउला, हामीलाई आफ्नै संस्कृति थाहा छैन । त्यो थाहा पाउने मान्छेहरू आउनुपर्‍यो भन्ने हो । 

नेपाली रैथाने बाजाहरू मूलधारमा किन आएनन् ?

नेपालमा भाषा, जातिको संख्या बराबरै बाजा छन् । तर, ती बाजा जातीय र क्षेत्रीय रूपमै सीमित पारिए । बाजा त धेरै छन् तर तिनको पहिचान भएको छैन । नेवारीबाहेक अरू बाजा व्यावसायिक बन्न सकेनन् । बरु मगर समुदायको मादल नेपालैभरि फैलिएको छ । नेपालका बाजामध्ये दर्जनलाई मात्रै मूलधारमा ल्याउने हो भने नेपाली संगीत कति माथि पुग्थ्यो–पुग्थ्यो । 

रैथाने संगीतको अर्थ विस्तार कत्तिको भएको छ ? नेपालीको संगीत साक्षरता कस्तो छ ? 

हामीकहाँ ‘म्युजिक एजुकेसन’ भएन । कोर्समा राखेर शास्त्रीय–लोक–रैथाने पढाउनुपर्ने हो । तर हामीले कहिल्यै त्यसो गरेनौं । तर सौभाग्यवश, हाम्रै पालामा ज्याज स्कुल खुल्यो हो, अनि संसारभरिको म्युजिसियन ठोक्किने ठाउँ पनि भयो । ‘म्युजिक एजुकेसन’ नभएपछि हामीले हाम्रा भाका, गीत, बाजालाई गम्भीर रूपमा लिएनौं । पछिल्लो समय काठमाडौं विश्वविद्यालयमा ‘एथनिक म्युजिक’ पढाइ हुन थालेपछि त्यसकै प्रभावले केही ब्यान्ड जन्मिइरहेका छन् । हामी भर्खर सुरुवातमा त छौं । यसको परिणाम देशले पाउन त्यो अभियान सुरु भएदेखि ५०/६० वर्ष कुर्नुपर्छ । हामी अहिले सुरुवाती चरणमा छौं । 

रैथाने गीत–संगीतमाथि के काम गर्दै हुनुहुन्छ ? 

थुप्रै गर्दै छु नि । एल्बमै आउँदै छ । पहिलाचाहिँ मैले धेरै भाषामा काम गरें, तामाङ वा लिम्बू भाषामै । अब नेपाली भाषामा काम गर्दै छु ।

कान्तिपुर संवाददाता

Link copied successfully