सुन तस्करीको जालो : दरबारदेखि कांग्रेस–कम्युनिस्टसम्म

पञ्चायतकालमै सुन तस्करी हुन्थ्यो, जहाँ दरबारको भूमिगत गिरोह सक्रिय थियो । प्रजातन्त्रपछि चाहिँ कांग्रेस–कम्युनिस्ट नै तस्करीमा मुछिए ।

आश्विन २५, २०८२

गौरव पोखरेल

Gold Smuggling Network: From Palace to Congress-Communist

What you should know

काठमाडौँ — तस्करमाझ ‘गोल्ड डन’ का नामले चिनिएका चूडामणि उप्रेती ‘गोरे’ ले आठ वर्षअघि केही प्रहरी अधिकारीलाई फोन गरेर आफ्ना समूहका एक सदस्य मारिएको भन्दै शव व्यवस्थापनका लागि सहयोग मागे । हराएको ३३ किलो सुन खोज्न केरकार गर्ने क्रममा करेन्ट लागेर मोरङ, उर्लाबारीका सनम शाक्य मारिएपछि उनले चिनजानका प्रहरीलाई गुहारेका थिए ।

केहीले शवलाई नदीमा फ्याँकेर भाग्न सुझाव पनि दिए, तर उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चाहिँ त्यही सूचनाका आधारमा ‘कोभर्ट अपरेसन’ सुरु गर्‍यो । ‘गोरे’ प्रहरी अधिकारीहरूलाई मामा भन्थे । ‘मामाहरू’ सहयोगको आश्वासन दिँदै पूर्वतिर लागे । जतिबेला काठमाडौंबाट टोली इटहरी पुग्यो, त्यतिबेलासम्म ‘गोरे’ ले सनमको शव धरान पुर्‍याइसकेका थिए ।

प्रहरीसँग संवादको अडियो–रेकर्डमा सुनिएअनुसार, ‘गोरे’ ले शव व्यवस्थापनमा सहयोग गरेबापत २ करोड दिने अफर गरेका थिए । तर, ‘गोरे’ का ‘मामा’ हरूको मनमा अर्कै केही चलिरहेको थियो । तत्कालीन महाशाखा प्रमुख एसएसपी दिवेश लोहनी सुन तस्करीको एउटा ठूलो माछो समात्ने योजना बनाइरहेका थिए ।

‘उनीसम्म प्रहरी नपुगुन्जेल डिल गरिरहने र भेटेपछि समात्ने योजना थियो,’ टोलीका एक अधिकृत दाबी गर्छन्, ‘प्रतिकार गर्न खोजे त्यहीअनुसार जवाफ दिने योजना थियो ।’ तर, ‘गोल्ड डन’ पनि सूचनामा त्यति कमजोर थिएनन्, प्रहरीबाटै ‘इन्काउन्टर’ मा पर्न सक्ने सूचना पाएपछि उनी फरार भए । त्यसपछि गोप्य अपरेसनमा खटिएका प्रहरीको योजना त तुहियो नै, त्यही प्रकरणले साढे चार वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै ३८ क्विन्टल सुन तस्करी भएको खुलासा भयो ।

तस्करी समूहका टेकराज मल्ललाई शव जिम्मा लगाएर ५० लाख र परिवारलाई काठमाडौंमा सेटल गराउने आश्वासनसहित ‘गोरे’ भागेर भारतको आसाम पुगे । प्रहरीले उनलाई फिर्ता बोलाउने अनेक प्रयास गर्‍यो । हत्या गरिएका सनमको शव भएको गाडीमा प्रहरीसमेत बसेर इटहरी आए । डिकीमा शव राखेर एक दिन होटलमा रात बिताए । यद्यपि ‘गोरे’ नआउने निश्चित भएपछि स्कर्पियोलाई इटहरीबाट विराटनगरतर्फ लगियो ।

त्यतिञ्जेल शव भएको गाडी प्रहरीका जवानले नै चलाइरहेका थिए । पछाडि प्रहरीका तत्कालीन डीएसपी प्रजित केसीको गाडी थियो, जब मोरङको पोखरियामा उनीहरू पुगे, एक्कासि केसीको गाडीले शव भएको गाडीलाई छेक्यो । र, उनीहरूले जिल्ला प्रहरी कार्यालय, मोरङको टोलीलाई समेत बोलाए । त्यसपछि थप अनुसन्धान मोरङ प्रहरीले अघि बढायो । तर, जब स्थानीय प्रहरी र आफन्तसँग ‘गोरेले आफूलाई फसाएको’ मल्लले बताउन थाले, त्यसपछि गृह मन्त्रालयमा परिवारले उजुरी दियो ।

के हो ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरण ?

पछि सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बन्यो, ‘गोरे’ सहित अनुसन्धान गर्ने प्रहरी अधिकारीहरूविरुद्ध पनि मुद्दा चल्यो । सुन बरामद नभएपछि सनमको हत्यामा प्रतिवादी बनाइएकाबाहेक सबैले सफाइ पाए, ‘गोरे’ चाहिँ केन्द्रीय कारागार, सुन्धारामा सजाय काटिरहेका छन् । तर, छानबिन समितिले सुन तस्करीका पर्दा पछाडिका नाइके समात्न खोज्दा–खोज्दै बीचमै प्रतिवेदन बुझाउन निर्देशन आयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पौडेल आयोगले थप अनुसन्धान गर्न समय चाहिएको भन्दै प्रस्ताव राख्यो, तर ओलीले प्रतिवेदन बुझाउन निर्देशन दिए । त्यसअघि तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले चाहिँ आफूहरूले ‘ठूलो माछो’ समात्न लागेको उद्घोष गरेका थिए ।

छानबिन समितिका अधिकारीहरूले आफ्नो प्रतिवेदनमा थप अनुसन्धान गर्नुपर्ने २९३ जनाको सूची राखिदिए । त्यसयता त्यो प्रतिवेदन नै गायब छ । पछि एमाले सरकारबाहिर छँदा र माओवादी अध्यक्षको नेतृत्वमा सरकार भएका बेला, प्रतिवेदनको व्यापक खोजी भयो, तर सिंहदरबार र बालुवाटारको कुनै पनि दराजमा प्रतिवेदन भेटिएन । अधिकृतहरूका अनुसार, खासमा ६ असार २०७५ मा व्यवसायी विमल पोद्दार पक्राउ गरेपछि प्रधानमन्त्री ओली असन्तुष्ट बनेका थिए । छानबिन समितिले चाहिँ उनीमार्फत अझै माथिल्लो तहसम्म पुग्न सकिने भन्दै तयारी गरेको थियो ।

Gold Smuggling Network: From Palace to Congress-Communist

३३ किलो सुन छानबिनपछि तस्करीको एउटा ठूलो र्‍याकेट ध्वस्त भयो । र, लामो समय विमानस्थलबाट ठूलो परिमाणमा सुन तस्करी भएन । त्यसपछि तस्करहरूले उत्तरी नाकालाई सुन तस्करीको रुट बनाउन थाले । तर, २ साउन २०८० मा मोटरसाइकलको ब्रेक–प्याडभित्र लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको ६० किलो सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गर्‍यो ।

अनुसन्धानका क्रममा चिनियाँ नागरिकको समूहले बालुवाटार, लाजिम्पाट, नयाँबजार लगायतका क्षेत्रमा गोदाम बनाएर सुन तस्करी गरिरहेको खुल्यो । १९ दिनपछि यो प्रकरणको अनुसन्धान जिम्मा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पायो । अनुसन्धानका क्रममा सुन तस्करीमा संलग्न चिनियाँ नागरिकले राजनीतिक कनेक्सनसमेतका आधारमा संगठित रूपमा तस्करी गरिरहेको खुल्यो । पछि प्रहरी अधिकृतहरूले पूर्वसभामुख कृष्णबहादुर महरा, उनका छोरा राहुल, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका दुई छोरा जितेन्द्र र दिपेन, पूर्वउपराष्ट्रपतिका तत्कालीन विदेश मामिला विज्ञ जीवन गुरुङ, सहसचिव झलकराम अधिकारी, जीवन चलाउने लगायतलाई उन्मुक्ति दिएको आरोप लाग्यो ।

Gold Smuggling Network: From Palace to Congress-Communist

यीमध्ये महरा बाबु–छोरा १० पुस, २०७९ मा दुबईबाट भेपमा लुकाएर ल्याएको साढे ९ किलो सुन तस्करी प्रकरणमा समेत जोडिएका थिए । पछि पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा जाँचबुझ आयोगले सीआईबीका अधिकारीहरूलाई समेत कारबाही सिफारिस गर्दै महरासहितलाई अनुसन्धान गर्न सिफारिस गर्‍यो । सीआईबीको नेतृत्व परिवर्तनपछि कतिपय आरोपी पक्राउ परे, दोस्रो पटक यो प्रकरणमा प्रहरीले मुद्दा अघि बढायो । तर, आचार्य आयोगको प्रतिवेदन भने अहिलेसम्म पूर्णतः कार्यान्वयनमा गएको छैन । एक सदस्य भन्छन्, ‘हामीले थप अनुसन्धान गर्नुपर्ने भनेर अझै थुप्रैका नाम दिएका थियौं, तस्करी रोक्न महत्त्वपूर्ण सिफारिसहरू पनि गरेका थियौं ।’

आखिर कहाँ पुग्यो ३३ केजी सुन ?

छानबिन समितिका अधिकारीहरूका अनुसार, नेपालमा सुन तस्करी पञ्चायतकालदेखि नै हुन्थ्यो । त्यतिबेला तस्करीमा दरबारियाहरूको भूमिगत गिरोह सक्रिय थियो भने २०४६ सालपछि कांग्रेस र कम्युनिस्टको नामसमेत कहिलेकाहीँ मुछिन गयो । पञ्चायतमा राप्रपाका एक नेता ‘सुन बुढा’ का नामले चर्चित थिए । सुनसहित रातो राहदानीमा समातिएका उनले चुनाव लड्दा ‘गाउँमा सबैलाई एक/एक वटा बुलाकी लगाइदिन्छु’ भन्दै प्रचार गरेका थिए । यो पुरानो कथा भए पनि पछिल्लो समयसमेत तस्करीमा नेताहरूका नाम जोडिन छाडेको छैन ।

उच्चस्तरीय सुन छानबिन समितिलाई बयान दिने क्रममा राप्रपाका नेता भुजुङ गुरुङले समेत २०४० सालदेखि नै आफूले सुन तस्करी गरेको खुलासा गरेका थिए । लामो समयदेखि तस्करी छाडे पनि २०६९ सालमा मोहनकुमार अग्रवाल, चूडामणि उप्रेती ‘गोरे’ लगायतलाई भेटेपछि फेरि सुन तस्करी थालेको गुरुङले बताएका थिए ।

नेपाल सुन–चाँदी व्यवसायी संघका अनुसार, नेपालमा दैनिक ४० किलो सुन खपत हुन्छ । तर, राष्ट्र बैंकले वाणिज्य बैंकहरूमार्फत दैनिक २० किलो सुन मात्रै बजारमा पठाउँछ । यो तथ्यांकअनुसार, बजारमा दैनिक २० किलो सुन अभाव हुनुपर्ने हो । तर, बजारमा कहिल्यै सुन अभाव हुँदैन, किन ? सायद अभाव हुनुपर्ने सुन तस्करीबाटै पूरा भइरहेको हुन सक्छ ।

‘सुनको माग जबसम्म बढिरहन्छ, तबसम्म तस्करी रोकिँदैन, बरु शैली फेरिन सक्छ,’ २०७४ मा गठित उच्चस्तरीय सुन छानबिन समितिका सदस्य वसन्तकुमार लामा भन्छन्, ‘त्यसैले सुन तस्करी रोक्न राज्य संयन्त्रकै इच्छाशक्ति चाहिन्छ, हामीले दिएका सुझाव मात्रै कार्यान्वयन हुने हो भने पनि सुन तस्करी धेरै हदसम्म कम हुन्थ्यो ।’

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully