२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

के हो ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरण ?

कान्तिपुर संवाददाता

काठमाडौँ — साढे ३३ केजी सुन तस्करी र भरिया सनम शाक्यको हत्या प्रकरणमा मोरङ जिल्ला अदालतले मुख्य आरोपी चूडामणि उप्रेती 'गोरे' सहित ६ जनालाई जन्मकैदको फैसाला सुनाएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले उक्त प्रकरणमा संलग्‍न ६ जनालाई जन्मकैद, १ जनलाई तीन वर्ष र १ जनालाई ६ महिनाको कैद सजाय सुनाएको हो । घटनामा संलग्‍न भएको आरोप लागेका सबै प्रहरीले सफाइ पाएका छन् ।

के हो ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरण ?

२०७४ फागुन तेस्रो साता दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको ३३ केजी अवैध सुन बाहिरिने क्रममा हराएपछि सतहमा देखा परेका घटनाक्रम नै गोरे प्रकरणको सुरुवात हो । तस्करीको सुन ओसारेर भारतीय बजारसम्म पुर्‍याउने मुख्य जिम्मा पाएका मोरङ उर्लावारी घर भएका 'गोरे' भनिने चूडामणि उप्रेतीले सुन खोजीको क्रमलाई तीव्र पारेपछि व्यक्ति हत्याको घटना सतहमा आएको थियो । प्रहरीका अनुसार तस्करीको सुन विमानस्थलबाट लिएर निस्केका सानु बन बाटामै हराएका र सोही क्रममा सुन पनि हराएपछि गोरेले सबैभन्दा धेरै केरकार विमानस्थलभित्र कार्यरत थाई एअरलाइन्सका प्राविधिक कर्मचारी बनलाई नै गरेका थिए । गोरेको निरन्तर धम्की र यातना थेग्न नसकेर २२ माघमा बनले विमानस्थलभित्र गुडिरहेको ट्र्याक्टरमुनि छिरेर आत्महत्या गरे । उनको मृत्युपछि हराएको भनिएको सुनको खोजी झनै अलमलमा पर्‍यो । यही क्रममा गोरे समूहमा रहेर काम गरिरहेका मोरङ उर्लाबारीका सनम शाक्यमाथि गोरेले शंका गरे ।

तस्करीको सुनमा लगानी गरेका भारतीय समूहले हराएको सुन खोज्न भारतीय समूहलाई चर्को दबाब दिएपछि गोरेले आफ्नो समूहमा रहेकालाई बोलाउँदै केरकार गरिरहेका थिए । यही क्रममा गोरे समूहले सनम शाक्यलाई उर्लाबारीको जंगलमा लगेर करेन्ट लगाउँदै यातना दिएका थिए । सोही क्रममा १८ फागुन २०७४ मा सनमको मृत्यु भएपछि तस्करीको सुन हराइरहेको र सोही क्रममा सनमको मृत्यु भएको तथ्य बाहिरिएको थियो । यही घटनाबारे अनुसन्धान गर्न भन्दै महानगरीय प्रहरी अपराध महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनीले डीएसपी प्रजित केसी नेतृत्वको टोली मोरङ खटाएका थिए तर प्रजित नेतृत्वको टिमले मुख्य प्रतिवादी गोरेको नामै उल्लेख नगरी जिल्ला प्रहरी कार्यालय मोरङमा अभियोजनपत्र बुझाएको थियो । गोरेलाई उम्काउन खोजेको र हत्या घटना अनुसन्धानमा त्रुटि रहेको भन्दै सनम शाक्यको घर भएका स्थानीयले प्रधानमन्त्री कार्यालयमा उजुरी गरेका थिए । उजुरीपछि प्रधानमन्त्री कार्यालयको सोझो निर्देशनमा १९ चैत २०७४ मा गृहका तत्कालीन सहसचिव ईश्वर पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले बुझाएको प्रतिवेदनका आधारमा ६३ जना प्रतिवादीविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको थियो ।

संगठित सुन तस्करीमा विमानस्थलमा कार्यरत पूर्वडीआईजी गोविन्द निरौला, विमानस्थलमा कार्यरत एसएसपी श्याम खत्री, सई बालकृष्ण सन्जेल, हवल्दार विष्णु खडका, प्रहरी जवान अमर थापासहित विमानस्थलमा कार्यरत कर्मचारी, सुन व्यापारमा संलग्न आरके ज्वेलर्सका सञ्चालक आरके भनिने राजेन्द्रकुमार शाक्य, व्यापारी विमल पोदारलगायतलाई आरोप लाग्यो । समितिले संगठित तस्कर समूहले विमानस्थलको ग्राउन्ड ह्यान्डलिङमा कार्यरत कर्मचारी, लोडर र प्रहरीको उच्च अधिकारीहरूसँगको मिलेमतोमा गुपचुप अवैध स्वर्ण धन्दा चलिरहेको निष्कर्ष निकालेको थियो । प्रतिवादीहरूको बयानका आधारमा पछिल्लो चार वर्षयता ठूलो परिणाममा नियमित सुन तस्करी भइरहेको उल्लेख गरेको थियो । विशेष समितिले ४ सय २१ पटक विमानस्थल हुँदै सुन तस्करी भएको निष्कर्ष निकालेको छ । जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा पेस गरेको अभियोगपत्रमा सुन तस्करीका मुख्य व्यक्ति भनिएका गोरे भन्ने चूडामणि उप्रेतीको अनामनगरस्थित फल्याटबाट बरामद गरिएका विभिन्न ९ डायरीमा उल्लेख भएको सुन ल्याउने व्यक्तिको नाम, परिणाम, सुन ल्याएको मिति र ल्याउने भरियाको नामसमेत समावेश छ । अभियोगपत्रमा २०१५ को जुलाई यता ५ सय २१ पटक सुन ल्याइएको उल्लेख छ ।

समितिले संगठित सुन तस्करीबारे ७७२ पृष्ठ लामो प्रतिवेदन १६ साउन २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको थियो । प्रतिवेदन बुझेपछि प्रधानमन्त्रीले भनेका थिए, ‘सुन तस्करीसम्बन्धी थप अनुसन्धान पनि निरन्तर हुन्छ ।’ तर प्रधानमन्त्रीले भनेजस्तै न प्रतिवेदन बुझेपछि संगठित सुन तस्करीमाथि थप अनुसन्धान अघि बढायो न गृह मन्त्रालयले नै त्यसबारे थप चासो देखायो । उल्टै साउन ८ मा गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापाले संगठित सुन तस्करीको सञ्जाल ध्वस्त पारिसकेको पुरानो दाबी दोहोर्‍याएका थिए ।

प्रकाशित : आश्विन १९, २०७८ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?