आखिर कहाँ पुग्यो ३३ केजी सुन ?

'सुन बरामद भएका तस्करी प्रकरणमा त मुद्दा कमजोर भएर अभियुक्तले उन्मुक्ति पाइरहेका छन् भने सुन नै नभेटिए यो घटना अनुसन्धानले कस्तो परिणाम देला ?' अनुसन्धान अधिकारी नै सशंकित छन् ।

वैशाख २४, २०७५

जनकराज सापकोटा

काठमाडौँ — हराएको भनिएको अवैध ३३ केजी सुन कहाँ छ, कसले लग्यो ? तस्करीकै क्रममा हराएको सुन खोजी, त्यस क्रममा सनम शाक्यको हत्या र त्यसपछि सुरु भएको सरकारी अनुसन्धानले सुन कसले गायब पार्‍यो भन्ने खोतल्न सकेको छैन ।

विमानस्थलबाटै गायब पारिएको सुनको खोजी गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल संयोजकत्वको विशेष छानबिन समितिले गरिरहेको छ त ?

समितिले २८ प्रतिवादी र ३४ फरार प्रतिवादी बनाएर अदालतमा मुद्दा पेस गरेपछि हराएको सुन पत्ता लगाउने अपेक्षा गरिएको थियो । स्रोतका अनुसार समितिले सुनको रहस्य सुल्झाउन प्रयत्न गरे पनि त्यसमा अपेक्षित सूचना भेट्न सकेको छैन ।

समिति सुनको रहस्यभन्दा पहिला मुद्दा चलाइएका अभियुक्तहरूको बैंकिङ विवरणका अलावा सम्पत्ति विवरण खोतल्ने र त्यसका आधारमा अकुत सम्पत्ति आर्जनको मुद्दा चलाउने तयारीमा जुटेको छ । 


समितिका एक सदस्यका अनुसार अकुत आर्जन र आर्थिक कारोबारको अध्ययनका लागि समितिले राष्ट्र बैंकसँग समन्वय अगाडि बढाएको छ । गैरकानुनी धनआर्जन र अकुत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा अनुसन्धान गर्ने राष्ट्र बैंकअन्तर्गतको समितिका एक सदस्यले भने ३३ किलो सुन तस्करीसँग जोडिएको मुद्दामा गठित समितिले कुनै परामर्श नलिएको बताए । यसबारे राष्ट्र बैंककै उच्च अधिकारीसँग समन्वय गरेको भए आफूलाई थाहा नभएको ती सदस्यले बताए । 


समिति स्रोतका अनुसार सुन तस्करीमा संलग्न भनिएकाहरूको बैंक खातामा ठूलो परिमाणको रकम देखिँदैन । केही सदस्यको बैंक खातामा विभिन्न व्यक्तिबाट थोरैथोरै परिमाणको रकम जम्मा भएको देखिए पनि त्यही मात्रै अकुत सम्पत्तिको दाबी पुष्टि गर्न पर्याप्त देखिँदैन ।

योजनाबद्ध रूपमा अभियुक्तहरूले सम्पत्ति लुकाएको र विभिन्न स्वरूपमा आफन्त र नजिकका मान्छेमार्फत लगानी गरेको देखिन्छ । प्रहरीका एक उच्च अधिकारीले संगठित अपराधमा संलग्नहरूको सम्पत्तिको सही विवरण भेट्नु हाम्रोजस्तो अनौपचारिक र गुप्त अर्थतन्त्र चलायमान मुलुकमा सजिलो नभएको बताए । 


स्रोतका अनुसार सुन तस्करीमा संलग्न केही अभियुक्तले आफ्नो खाताबाट ८/९ लाखका दरले धेरै व्यक्तिलाई रकम पठाएको देखिन्छ । दस लाख रुपैयाँभन्दा धेरै रकम बैंकमार्फत ट्रान्सफर गर्दा स्रोत खुलाउनुपर्ने प्रावधान छ ।

यसरी पठाइएको रकमबारे राष्ट्र बैंक पनि जानकार रहन्छ । सम्पत्तिको स्रोत खुल्ने डर र सम्पत्ति लुकाउनकै लागि केही अभियुक्तले करोडौं रकम त्यसरी विभिन्न व्यक्तिका खातामा पठाएको अनुसन्धान अधिकारीहरूको अनुमान छ ।


समिति स्रोतका अनुसार तस्करीको सुनमा आंशिक लगानी गर्ने राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङको बैंक खाताबाट सबभन्दा धेरै व्यक्तिका नाममा १० लाखभन्दा थोरै रकम धेरैपटक ट्रान्सफर भएको देखिन्छ ।

समितिले गुरुङको बैंक खाता रोक्का गरेर सम्पत्ति जाँच गरेको थियो । उनले एउटै बैंकमा विभिन्न ५ वटा खाता खोलेको, चारवटा खातामा ४ करोड २१ लाख ५० हजार ३ सय ८२ पैसा देखिएको छ भने अस्वाभाविक रूपमा बारम्बार विभिन्न व्यक्तिका नाममा रकमान्तरण भएको छ । 


समितिले अनामनगरमा गोरे भनिने चूडामणि उप्रेतीले अवैध सुन तस्करीको कारोबार गर्न भाडामा लिएको फ्ल्याटमा समेत विभिन्न तीन फरकफरक बैंकको चेक बरामद गरेको थियो । प्रहरीले उक्त फ्ल्याटबाट फेला पारेका दुई चेक र रकम जम्मा गरेको एक रसिदमा दस लाखभन्दा थोरै रकम कारोबार भएको उल्लेख थियो ।

यसबाट पनि बुझ्न सकिन्छ कि दस लाखभन्दा धेरै रकमको कारोबार गर्दा स्रोत खुलाउनुपर्ने नियम छल्न अभियुक्तहरूका दस लाखभन्दा थोरै रकमको कारोबार मात्रै बैंकबाट गरेको देखिन्छ । 


स्रोतका अनुसार अधिकांश रकमको कारोबार गर्न मनी ट्रान्सफर कम्पनीको उपयोग गरेको देखिन्छ । जसले छानबिन समितिलाई अभियुक्तहरूको आर्थिक कारोबार यकिन गर्न अप्ठ्यारो पारिरहेको छ । 


समितिका सदस्यहरूले रहस्यमय तबरमा हराएको सुन कहाँ पुग्यो भन्ने प्रामाणिक सूचनासमेत पाएका छैनन् । सबैजसो अभियुक्तहरूको बयानमा सुन लुटिएको तथ्य खुले पनि लुट्ने व्यक्ति वा समूहको पोल खोलेका छैनन् ।

एक उच्च प्रहरी अधिकारी त बयानमा आधारित अनुसन्धानलाई अदालतले बलियो प्रमाण नमान्ने र सुन खोज्नेतर्फ कमजोर प्रयत्न भइरहेका कारण संगठित सुन तस्करीको मुद्दा कमजोर बन्न सक्ने बताउँछन् ।


अभियुक्तहरूको सम्पत्तिको स्रोत, आर्थिक कारोबारको शैली, सुन खरिदका निम्ति कसरी पैसा जुटाइन्छ र दुबईसम्म त्यो कसरी पुग्छ भन्नेबारे पनि समितिले अध्ययन थालेको छ । समितिले मोरङ जिल्ला अदालतमा पेस गरेको अभियोगपत्रमा पक्राउ परेका र फरार प्रतिवादीहरूको सम्पत्ति रोक्का राख्न अदालतबाट अनुमति लिई कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको छ । 


समितिले प्रतिवादी, परिवारका सदस्यहरू, आपराधिक समूहको नेतृत्व गर्ने र समूहको सदस्य भई आफू र अन्य कोही कसैको नाममा राखेको, अपराध कसुर गर्न प्रयोग गरेको, आपराधिक लाभबाट जम्मा गरेको चलअचल सम्पत्ति अनुसन्धानका क्रममा खोजी गर्ने सिलसिलामा सम्भावित अभिलेख राख्ने निकायसँग समन्वय थालिसकिएको जनाएको छ ।

समितिले प्रतिवादीहरूको घरजग्गाको अभिलेख खोज्न मालपोत कार्यालयलहरू, सेयर सम्पत्ति बुझ्न, सवारी दर्ता बुझ्न र लगानी गरेका कम्पनीहरूको विवरण खोतल्न सम्बन्धित निकायमा पत्राचार गरिसकेको छ । ती निकायबाट माग गरिएको विवरण प्राप्त भएपछि समितिले अदालतमा पेस गर्ने जनाए पनि सबै निकायबाट समितिले सूचना पाइसकेको देखिन्न । 


सुन तस्करीको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार संगठित तस्करीमा आबद्ध समूहका सदस्यहरूले आफ्नो सम्पत्ति लुकाउन विभिन्न तरिका अपनाएको पाइन्छ । अरूको नाममा लगानी गर्ने, मिटर ब्याजमा पैसा लगाउनेजस्ता अभ्यास भइरहेको विगतका अनुभवले देखाउँछ ।

तर प्रस्ट कागजी प्रमाण नहुँदा यस्ता लगानी प्रमाणित गर्न गाह्रो हुने र त्यही छिद्रमा प्रतिवादीहरू खेल्दै आरोपबाट बच्ने गरेको विगतका अनुभवले देखाउँछ । ती सदस्यले भने, ‘यसपाला के हुन्छ, हेर्न बाँकी छ ।’


हराएको ३३ किलो सुन कहाँ छ भन्नेबारे भने समितिका सदस्यहरू नै अलमलमा छन् । अनौपचारिक कुराकानीमा समिति सदस्यहरू ३३ किलो सुनको रहस्यबारे अनेकन अडकल सुनाउँछन् तर त्यसबारे ठोस सूचना उनीहरूसँग छैन ।

महानगरीय अपराध महाशाखाले शाक्यको हत्यालगत्तै थालेको अनुसन्धानमा हराएको भनिएको सुन खोज्न मृतक सनम शाक्यको गर्लफ्रेन्ड भनिएकी निशा सेन ठकुरीको कोठामा छापा मारेको थियो । निशाको कोठामा हराएको भनिएको सुन हुन सक्ने आँकलन गर्दै सई बालकृष्ण सञ्जेलले उनको कोठामा खानतलासी गरेका थिए । त्यहाँ सुन भेटिएन । 


समितिले हराएको भनिएको सुन पत्ता लगाउन भन्दा हत्याको केस सल्टाउन र त्यससँग जोडिएर आउने अन्य तथ्य बटुल्न धेरै समय खर्चेको देखिन्छ । संगठित अपराधमा मुद्दा चलेका अधिकांश सुन तस्करीका घटनामा अदालतले सबुत प्रमाण अभावमा अभियुक्तहरूलाई सामान्य धरौटीमा छाडिदिएको पृष्ठभूमि छ । ‘सुन नै फेला परेका घटनामा त अभियुक्तहरू छुटिरहेका छन् भने हराएको सुन नै नभेटिएको अवस्थामा कसरी मुद्दा बलियो होला ?’ प्रहरीका एक अनुसन्धान अधिकारीले आशंका व्यक्त गरे । 


विमानस्थलबाट बाहिर निस्केपछि सानु बनको स्कुटरको डिक्कीमा सुन राखिएको, अनामनगरस्थित अफिस पुग्नुअगावै बन गायब भएको र दुई मोटरसाइकलमा हेलमेट लगाएर आएका चार जना अपरिचितले उनलाई लिएर गएको भन्नेबाहेक सुन कहाँ पुग्यो भन्ने सूचना खुलेको छैन ।


नखोतलिएको पाटो 

तस्करीको सुन कारोबारमा प्रत्यक्ष संलग्न भनिएका भुजुङले बयानका क्रममा हाडीगाउँस्थित चूडामणि उप्रेतीको सुन तस्करी गर्ने कोठाबारे बताएका छन् । तर उक्त कोठा कहाँ छ ?

अहिले छ कि छैन भन्नेबारे समितिले खोतलेको छैन । त्यो कसको घरको कोठा हो र केका निम्ति उपयोग हुन्थ्यो वा उक्त कोठा बन्द भइसकेको छ भन्नेबारे बयानका क्रममा कसैले बताएका छैनन्, न समितिले नै त्यसबारे खोतल्ने काम गरेको छ । 


समितिसँगको बयानका क्रममा भुजुङले विमानस्थलबाट बाहिरिएको सुन हराएपछि आफूहरूले खोज्ने पहल थालेको, सुन खोज्न चूडामणिलाई दबाब दिएको र सुन खोज्नकै लागि सांग्रिला होटलमा सालो भन्ने डेबिटर डाक्टर भन्ने छिरिङ वाङगेल घले र उनका सवारीचालक फाल्दुङ गुरुङ, चूडामणि र अन्य व्यक्ति बसेर छलफल गरेको बताएका छन् । तर समितिले फाल्दुङ गुरुङ को थिए र उनीसँग उक्त बैठकमा के कुरा भएको थियो भन्नेबारे बयान लिएको देखिँदैन । 


एलबी भन्ने लालबहादुर मगरले पनि बयानका क्रममा सुन तस्करी गर्नेबारे २०७४ पुस २० गतेतिर भएको बैठकमा भुजुङका भान्जो पर्ने फाल्दुङ पनि उपस्थित हुने गरेकोबारे बताएका छन् । चन्दन भन्ने वीरेन्द्रमान श्रेष्ठले पनि बयानका क्रममा फाल्दुङको बारेमा बताएका छन् । उनले विभिन्न समयमा आफुले फाल्दुङले भनेका मान्छेहरूलाई भेटेर तस्करीको सुन दिने गरेको बताएका छन् । 


हराएको भनिएको सुन तस्करीमा एउटी केटी पात्रको भूमिकाबारे चूडामणि उप्रेती, महानगरीय अपराध महाशाखाका सई बालकृष्ण सञ्जेलले समेत चासो राखेको देखिन्छ । मृतक सनम शाक्यको काठमाडौं बस्ने गर्लफ्रेन्ड निशा सेन ठकुरीसँग समितिले बयान लिएको छ । सुन हराएपछि सनम खुसुक्क काठमाडौं आएर गर्लफ्रेन्डसँग बसेको पनि खुलेको छ तर हराएको सुनबारे महानगरीय अपराध महाशाखाले उनको कोठा खानतलासी गर्दा केही भेट्टाएन । 


समितिसँग बयानका क्रममा निशाले बताएकी छिन्, ‘मेरा साथी रमेश श्रेष्ठ, रोशन श्रेष्ठ र आकाश लामा मिलेर सनमलाई लुटने योजना बनाएका रहेछन् ।’ समितिले भने निशाको बयानअनुसार सुन लुट्ने योजना बनाएकाहरूलाई शंकाको घेरामा राखेको देखिँदैन । समितिका एक सदस्य निशाले उक्त सुन लुटने घटना यो ३३ किलोको घटनासँग सम्बन्धित नरहेको र अरू नै प्रसंगमा भनेकाले शंकाको सुई त्यता नसोझ्याइएको बताउँछन् । 


हराएको सुन खोज्न समितिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय अपराध महाशाखासँग समेत सहयोग लिएको देखिँदैन । सुनको खोजीमा समितिले प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागसँग समन्वय गरेको देखिन्छ ।

तर अहिलेसम्म हराएको भनिएको सुन कहाँ छ भन्ने प्रश्नको उत्तर समितिसँग छैन । हराएको भनिएको सुनमा भारतीय लगानीकर्ता रहेको र लगानीकर्ताबीचको बेमेलका कारण सुन लुटिएको हुन सक्ने आशंका गरिए पनि त्यसलाई पुष्टि गर्ने आधार फेला परेको छैन ।

जनकराज सापकाेटा कान्तिपुर दैनिकको अनलाइन पोर्टल ईकान्तिपुर डटकमका सम्पादक हुन् । उनको 'जीवन कतिपय' निबन्ध संग्रह र गैरआख्यान पुस्तक 'कहर' लगायत प्रकाशित छन् ।

Link copied successfully