देशलाई उज्यालो दियो, घर अन्धकार भयो 

गरिबीको दुश्चक्रले धनगढीबाट लखेटिँदै काठमाडौंबाट भारतसम्म पुगेका थिए सुवास, फेरि फर्किएर जापान जाने तयारीमा थिए

भाद्र २८, २०८२

वसन्तप्रताप सिंह

Gave light to the country, darkened the house

बझाङ — ४ वैशाख २०६१ मा बझाङको खप्तडछान्ना गाउँपालिका–७, गोर्खालीगाउँमा जन्मिएका सुवास बोहरा सानैदेखि तीक्ष्ण थिए । गाउँको स्कुलबाट ८ कक्षा पास गरेपछि छोराले राम्रो पढ्न सक्छ भनेर उनका आमाबुबाले सदरमुकामको सत्यवादीमा पढ्न पठाएका थिए ।

त्यहींबाट एसईई पास गरेका सुवासको कानुन पढ्ने धोको थियो । गाउँसमाजमा पनि सबैसँग मिल्ने र सहयोगी स्वभावका उनी भविष्यमा न्यायाधीश बन्ने सपना बोकेर धनगढी झरेका थिए ।

कानुन संकायमा प्लस टु पास गरेका उनले धनगढीकै कैलाली बहुमुखी क्याम्पसमा एलएलबी भर्ना भए तर परिवारको कमजोर आर्थिक अवस्थाले उनको सपनाको बाटो फेरिदियो । ऋणधन गरेर दुई वर्ष धाने पनि कैलालीको बसाइ र पढाइ खर्च पुर्‍याउन परिवारलाई मुस्किल हुन थाल्यो ।

काठमाडौंमै केही काम गर्ने र आफू जापानी भाषा सिक्दै भाइलाई पढाउने भन्दै उनले कानुन अध्ययनको यात्रा त्यहीं टुंग्याए । भाइलाई लिएर काठमाडौं आए । 

काठमाडौंको सुन्दरीजलमा डेरा लिएर बस्दै आएका उनले जापानी भाषा परीक्षा पास गरे । जापान जान पाउने कुराले उनी प्रफुल्ल थिए तर उनको खुसी धेरै टिकेन । जापानको भिसा लागेको केही दिनमै उनका बुबा दीपक बेपत्ता भए ।

गएको २१ चैतमा उड्ने गरी उनको जापानको भिसा आएको भए पनि आर्थिक रुपमा घरको टेको रहेका बुबा नै बेपत्ता भएपछि उनले खर्च जुटाउन सकेनन् । १० लाख रकम अपुग भएपछि उनी जापान उड्न पाएनन् । यो घटनाले विरक्तिएका सुवास भाइलाई आफन्तको जिम्मा लाएर त्यसको केही दिनपछि भारतको बेङलुरु पुगें । 

छोरा विरत्तिएर भारत पुगेको आमा कैली देवीले सहन सकिनन् । उनी गाउँको घर ८० वर्षीया ससुराको जिम्मा छोडेर बेङलुरु पुगिन् । मजदुरी गरेर भए पनि जापान जाने खर्च जुटाउँछु भनेर सुवासलाई काठमाडौं फर्काइन् ।

गएको सोमबार सुवासले बिहानको खाना आफैं पकाएका थिए । कक्षा ८ मा पढ्ने भाइ सन्दीपलाई खाना खुवाएर स्कुल पठाउँदै गर्दा ‘साथी भेटन बजार जान्छु, फर्किन ढिला भयो भने खाजा पकाएर खानू’ भनेर बिदाइ गरेका थिए । जहाँ गए पनि सकभर साँझ बिहानको खाना र दिउँसोको खाजा पकाउन डेरामा फर्किने दाजुलाई सन्दीपले अब कहिल्यै भेट्ने छैनन् ।

संसद् भवन अगाडिको गेटमा गोली लागेर सोमबार सुवासको मृत्यु भएको छ । घाँटीको रुद्रघण्टी छेडर उनलाई लागेको गोली ढाडबाट निस्किएको थियो । आन्दोलनकारीले अस्पताल पुर्‍याउन नपाउँदै उनको ज्यान गएको थियो । 

दाजुको मृत्युको खबर सुनेका सन्दीप डेरामा बेहोसजस्तै अवस्थामा छन् । सहयोगीले चन्दा उठाएर बेङलुरुबाट लखनउ हुँदै काठमाडौं पुगेकी आमा कैलीको झन् बिजोग छ । श्रीमान् बेपत्ता भएको शोकलाई कुल्चिँदै छोरालाई जापान पठाउन भनेर परदेश गएकी कैली पुत्र वियोगको पिडाले गलेकी छन् ।

‘हाम्रो घरको उज्यालो त्यही थियो । त्यसकै लागि भनेर घर छोडेर भाँडा धुन इन्डिया गएँ, शोकविह्वल कैलीले भनिन्, ‘त्यही उज्यालो निभ्यो । मेरो जीवन अन्धकार भयो ।’ गरिबीको दुश्चक्रले धनगढीबाट लखेटिँदै काठमाडौंबाट भारतसम्म पुगेको एक युवाको जापान जाने र परिवारलाई खुसी दिने सपना राज्यको दमनमा परेर अन्त्य भयो ।

‘गरिबी र राज्य एकै पटक दुश्मन भए,’ सुवासका छिमेकी प्रदिप खड्काले भने, ‘त्यो बेला खर्च पाएको भए आज यो दिन देख्नुपर्ने थिएन । म जापान जाने निश्चित भएपछि आमालाई काठमाडौं ल्याउँछु भन्थ्यो । अहिले आफू नै रहेन । परिवारको बिजोग हुने भयो ।’

- विवरणहरू अद्यावधिक गरी सम्पादन गरिएको ।

सम्बन्धित समाचार 

अनि आफन्तहरूको आकाश खस्यो

हामीले नगरे कसले गर्छ भन्थे अभिषेक

वैदेशिक रोजगारीको तयारीमा थिए अभिषेक

आयुषको फ्रान्सको यात्रा अधुरै 

गौरव वृद्ध आमाबुबाका एक मात्र भरोसा थिए

अधुरै रह्यो गौरवको यूके जाने सपना

देशको मुहार फेर्न छातीमै गोली थाप्न तयार दिलनारायण

प्रहरी परिवारमा चोटमाथि चोट

जेन-जी आन्दोलनमा जसले ज्यान गुमाए

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully