चर्चामा गीत, गुमनाम गीतकार

युट्युबमा ९ करोड ८० लाख पटक हेरिएको ‘सालको पातको टपरी हुनी, नहुनी सल्लैको’ गीतका सर्जक नवराज पन्तको अर्को गीत ‘रैया चाँदीको’ यतिबेला दर्शक/श्रोताको रोजाइमा छ ।

मंसिर १५, २०८१

विमल खतिवडा

Popular song, anonymous songwriter

काठमाडौँ — केही समययता सामाजिक सञ्जालमा निकै चर्चित बनेको गीत हो – ‘रैया चाँदीको / म त बाग्लुङे / मैया मादीको... ।’ फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा समावेश उक्त गीतमा टिकटक, रिल बनाउनेको संख्या बढ्दो छ ।

कुनै गीत हिट हुँदा आमदर्शकले पहिल्यै चिन्ने त्यसमा अभिनय गर्ने कलाकारलाई हो । त्यसका गीतकार, गायक र संगीतकार भने नेपथ्यमै छुट्छन् । 

विजय बराल र अन्जना बराइली अभिनीत फिल्मको यो गीतमा आशिष अविरल र मेलिना राईको स्वर छ । संगीत पनि आशिषकै हो । तर, सबैलाई मन पर्ने थेगो हालेर गीत लेख्ने रचनाकार भने को होलान् ? न दर्शक–श्रोताको चासो रहन्छ, न खोजीनिती नै । 

यो चर्चित गीतका सर्जक हुन्, नवराज पन्त । बागलुङ नगरपालिका–१२ स्थित अमलाचौर बरडाँडाका पन्त यतिबेला अमेरिकाको मेरिल्यान्ड स्टेटस्थित बाल्टीमोरमा छन् । अध्ययनको सिलसिलामा त्यता पुगेका उनीसँग यो गीत तयार पार्दाताकाका रमाइला क्षण अझै ताजै छन् । 

यो गीत डेढ वर्षअघि नै तयार भएको थियो । तर, रेकर्ड हुने मौका जुरेको थिएन । उनलाई गायक तथा संगीतकार आशिष अविरलले त्यसबेला चार दिनमा गीत उपलब्ध गराउन भनेका थिए । गीत लेख्न पर्याप्त समय थिएन । अमर न्यौपानेको उपन्यास ‘सेतो धरती’ तेस्रो पटक पढ्दै गर्दा उनलाई यो गीत फुरेको थियो ।

‘गाडी पार्किङ गरेर बसिरहेको थिएँ, के गीत लेख्ने, कस्तो थेगो बनाउने भनेर सोचिरहेको थिएँ,’ उनले गीतको रचनागर्भ सुनाए, ‘सेतो धरतीकी तारा पात्र झोला बोकेर मादी खोला तरेको प्रसंग थियो, मादी शब्द मिठास लाग्यो, यसलाई गीतमा राख्दा अनुप्रास मिल्छ भनेर दिमागमा राखिरहें ।’ मादीले कास्की र लमजुङको सिमाना छुट्याउँछ । तारा पात्रको विवाह लमजुङमा भएकाले मादी तरेर गएको कुरा ‘सेतो धरती’मा उल्लेख छ । 

एकदिन सामाजिक सञ्जाल फेसबुकमा ‘रैया’ शब्द कसैले प्रयोग गरेको देखेछन्, नवराजले । ‘त्यसपछि रैया चाँदीको, म त बाग्लुङे मैया मादीको भन्ने लाइन दिमागमा आयो,’ उनी भन्छन्, ‘पछि कमेडी हिसाबले नै गीत सिर्जना भयो ।’ उनले आशिष अविरललाई शब्द पढेर त्यही अनुसारको संगीत तयार गर्न भन्दै पठाए ।

‘दुई महिनाअघि नेपाल आएको थिएँ, व्यस्तताले गर्दा गीत रेकर्डका लागि समय दिन सकिनँ,’ उनी भन्छन्, ‘यहीबीच ‘पूर्णबहादुरको सारङ्गी’ फिल्म युनिटले कथा सुनाएपछि गीत फिट हुने भएछ, उहाँहरूले बाग्लुङे शब्द परिवर्तन नगर्ने सर्तमा गीत लग्नुभयो ।’

गीत युट्युबमा अपलोड भएको महिना दिन नपुग्दै एक करोड ३६ लाख भ्युज पुगिसकेको छ । यतिका हिट होला भनेर उनले गीत लेख्दा सोचेका थिएनन् । कस्तो गीत र कसरी लेख्ने भनेर उनले पहिल्यै योजना बनाए । ‘त्यसपछि गीत फाइनल गर्न तीन घण्टा लाग्यो,’ उनी भन्छन्, ‘यो दोहोरी ब्याटल गीत थियो, रेकर्ड ढिला भए पनि राम्रो गीत बन्यो, विदेशतिर बस्ने नेपालीहरूले एकदमै धेरै मन पराइदिनुभएको छु, दंग छु ।’

जताततै यो गीत बज्न थालेपछि उनलाई चिन्नेहरूले दैनिकजसो फेसबुकमा म्यासेज गरेर बधाई दिने गर्छन् । ‘एक महिनामै करोड कट्ला भन्ने त लागेकै थिएन, ५०/६० लाखसम्म भ्युज पुग्ला भन्ने मात्र थियो,’ उनी भन्छन्, ‘थेगो त मलाई एकदमै मन परेको हो, आशिष दाइले यसको म्युजिक सुनाएपछि गीत राम्रो बनेको कुरामा ढुक्क थिएँ ।’ 

‘रैया चाँदीको’ नवराजको पहिलो गीत भने होइन । यसअघि उनको रचना रहेको ‘सालको पातको टपरी हुनी’ सुपर हिट भयो । लोकदोहोरी गीतको इतिहासमै उक्त गीत युट्युबमा सबैभन्दा धेरै हेरिएकोमध्येमा पर्छ । २०७५ असोज १ मा युट्युबमा अपलोड भएको यो गीत ९ करोड ८० लाख पटक हेरिसकिएको छ । कुनैबेला यो गीत विवाह, व्रतबन्ध, मेला महोत्सव जताततै घन्कने गर्थ्यो । 

‘संगीतकार बसन्त थापा सांगीतिक कार्यक्रमको सिलसिलामा बेलायत हुनुहुन्थ्यो, म अमेरिका नै थिएँ, कुराकानीका क्रममा नयाँ खालको गीत गर्नु पर्‍यो भन्ने भयो,’ गीत लेख्नुअघिको कुरा सुनाउँदै उनी भन्छन्, ‘दोहोरी गीतमा पहिला थेगो बनाउन गाह्रो हो, त्यसपछि काममा जाँदा, पढ्दा र कोठामै घोत्लिँदाघोत्लिँदै थेगो मिलाउन थालें ।’ 

तर, सुरुमा यो गीत अर्कै भएर जन्मिएको थियो । ‘मैले गीत लेखेर दिँदा ‘सालको पातको टपरी हुने, हे माया नहुने सल्लैको, तिम्रो माया कत्ति हो कत्ति, हे माया नलाऊ पछि हल्लैको’ भन्ने थियो,’ उनी भन्छन्, ‘बसन्त दाइले संगीत गर्दा ‘हे माया’ प्रायः गीतमा आइरहेको भएर ‘हे बरै’ बनाउनुभयो, जुन गाउँघरमा बोलिने टिपिकल शब्द पनि भयो ।’ गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर छ । 

फरक शैलीको भएकाले यो गीत धेरैको रोजाइमा पर्‍यो । ‘श्रोताले फरक फ्लेवर मनपराउनुहुन्छ भन्ने त लागेकै थियो, यति हिट होला भन्ने लागेको थिएन, गीत त सुपर–डुपर नै हिट भयो,’ उनी खुसी साट्छन्, ‘पहिला–पहिला जताततै यही गीत मात्र बज्थ्यो, सबै उमेर समूहकाले मन पराइदिँदा निकै खुसी लाग्दो रहेछ । गीत युट्युबमा करोड क्लबसम्म पुग्ला भन्ने थियो, तर गीत ९ करोडमाथि पुगिसकेको छ ।’ 

Popular song, anonymous songwriter

नवराजका शब्दमा रेकर्ड भएका प्रायः लोकदोहोरी गीत दर्शक श्रोताको रोजाइमा पर्छन् । उनको रचना रहेको ‘डाँडै फुर्के सल्लो’ कुनैबेला रेडियो र टेलिभिजनमा नबजेको दिन हुँदैन थियो । गीतमा स्वर कुलेन्द्र र विष्णुकै छ । मेला महोत्सवमा गायक कुलेन्द्र स्टेजमा उक्लन नपाउँदै दर्शकदीर्घाबाट यो गीतको फर्माइस आइहाल्थ्यो । 

उनकै शब्दमा तयार भएको अर्को गीत छ, ‘मायालुको सहरमा मेरो गाउँमा घर छ’ । यसले पनि राम्रै चर्चा बटुल्यो । बसन्त थापाको संगीतमा गणेश पौडेल र पूर्णकला बीसीको स्वर रहेको गीत युट्युबमा मात्र ४५ लाखभन्दा बढीले हेरिसकेका छन् । ‘पानपाते ठूली’, ‘मन्जरी’ लगायत नवराजले ६० भन्दा बढी गीत सिर्जना गरिसकेका छन् । ‘मलाई सुरुमा लोकदोहोरी क्षेत्रमा चिनाएको गीत नै ‘डाँडै फुर्के सल्लो’ हो,’ उनी भन्छन्, ‘फिल्मतिर चिनाउने काम भने ‘रैया चाँदी’ ले गरायो ।’ 

अध्ययनका लागि सन् २०१४ नोभेम्बरमा नवराज अमेरिका उडेका थिए । तीन दाजु भाइ र एक दिदीमध्येका कान्छा उनी साथीभाइको संगतले सांगीतिक क्षेत्रमा लागे । परिवारमा उनी बाहेक अरू कोही पनि यो क्षेत्रमा छैनन् । ‘काठमाडौं आएपछि अग्रज स्रष्टाहरूको संगतले यो क्षेत्रमा लाग्न प्रेरणा मिल्यो,’ उनी भन्छन्, ‘अब त संगीतबाट कसरी अलग हुन सकिएला र !'

सांगीतिक क्षेत्र प्रवेशको रोचक प्रसंग पनि छ उनीसँग । ‘म सरस्वती क्याम्पस पढ्दा बसन्त थापा दाइ पनि त्यहीं पढ्नुहुन्थ्यो, उहाँसँग त्यहीबेला चिनजान भयो, पछि गीतकार प्रल्हाद सुवेदी र गायक कुलेन्द्र विश्वकर्मासँग भेट भएपछि धेरै कुरा सिक्ने अवसर पाएँ,’ उनी सम्झन्छन्, ‘रेडियो नेपालमा नवराज लम्सालले सञ्चालन गर्ने कार्यक्रम ‘मधुवन’ खुब सुन्थें । लोकदोहोरी गायक भगवान भण्डारीका गीत निकै मनपर्थे । उनले गाएका गीतको शब्दहरू ख्याल गर्थें ।’ 

साथीहरूको संगत–संगतमै एकदिन उनले विवाहमा दोहोरी गीत गाए । तर, साथीहरूले ‘स्वर छैन, गाएर खान सक्दैनौ’ भने । हियाएर होइन कि बरु हौस्याए, ‘अब गीत लेख्न थाल, प्रयास गर्‍यो भने नहुने के छ ?’ नभन्दै उनी त्यसपछि गीत लेखनतिर डुब्न थाले । ‘काठमाडौंबाट बागलुङ जाँदा दमौलीको पुल तर्ने क्रममा ‘डाँडै फुर्के सल्लो’ गीत फुरेको थियो,’ पहिलो गीत लेख्दाको क्षण सम्झन्छन्, ‘त्यसयता गीत लेखनको क्षेत्रमा सक्रिय नै छु ।’ 

Popular song, anonymous songwriter

सानै छँदादेखि नवराजलाई लोकदोहोरी एकदमै मनपर्थ्यो । रेडियो/टीभीमा बज्ने दोहोरी गीत ध्यान दिएर सुन्ने र हेर्ने गर्थे । ‘बुबाले बीपी कोइराला अतिथि भएको कार्यक्रममा गीत गाएको थिएँ भनेर सुनाउनुहुन्थ्यो, म दंग पर्थें,’ उनी भन्छन्, ‘पछि आफैं यस क्षेत्रमा लाग्न पाएँ ।’ पृथ्वी माविबाट एसएसली दिएका उनले बलेवा बहुमुखी क्याम्पस पैंयुपाटाबाट व्यवस्थापन संकायमा ‘प्लसटु’ गरे । बीबीएस सरस्वती क्याम्पस काठमाडौंमा पढे । त्रिभुवन विश्वविद्यालयबाट २०६७ सालमा एमबीएस गरे । पछि काम गर्दै पढेर एमपीए पनि सिध्याए । त्यसपछि बागलुङमा गएर ‘प्लसटु’ पढाउन थाले । 

यहीबीच पीएचडी अध्ययनका लागि उनी अमेरिका उडे । ‘सुरुमा अमेरिका आउँदा केही समय पढाइ ग्याप भयो,’ उनी भन्छन्, ‘पीएचडी गर्नुभन्दा प्राविधिकतर्फ पढ्दा राम्रो हुने र छिटो काम पाउन सजिलो हुन्छ भन्ने लाग्यो ।’ उनी अहिले लिंकन टेक युनिभर्सिटीअन्तर्गत लिंकन कलेज कोलम्बियाबाट अटो मोबाइल इन्जिनियरिङमा मास्टर्स गर्दै छन् । 

संगीत

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully