के पैसा र बैंस एक अर्काका परिपुरक हुन् ? अथवा पैसासँग बैंस साट्ने गर्ने संस्कारलाई मलजल गरेर यो गीतले दिन खोजेको सन्देश के हो ?
केही वर्ष अघिको कुरा हो, ‘भ्रष्टचारीलाई किरा परोस्’ लेखिएको टिसर्ट लगाएर विरोध गर्ने अभियान सुरू भएको थियो । यस्तो ‘श्राप अभियान’का सुरुवातकर्ता थिए- साझा पार्टी खोलेर राजनीति गर्दै अहिले राप्रपामा प्रवेश गरेका नेता तथा पूर्वपत्रकार रविन्द्र मिश्र ।
‘भ्रष्टचारीलाई किरा परोस्’ भन्ने श्राप अभियानका बाबजुद पनि यतिबेला भ्रष्टचार तह-तहमा फैलिएको छ र त्यो सलह किरा जत्तिकै सबैतिर पुगेको छ । विस्मृतिमा पुग्न लागिसकेको यो श्राप अभियान यतिबेर सम्झनुको जस जान्छ, फिल्म निर्देशक दीपाश्री निरौलालाई ।
दिपकराज गिरी र दिपाश्री निरौलाको सिक्वेल फिल्म 'छक्का पञ्जा-५' दसैंको छेक पारेर हलहरूमा सार्वजनिक हुने अन्तिम तयारीमा छ । र त्यसै फिल्मको प्रवर्द्धनका लागि एउटा गीत सार्वजनिक भएको छ, 'ब्रेकअप सङ' । तर यसलाई ब्रेकअप गीत भन्नुभन्दापनि श्राप गीत भन्नु अतिशयोक्ति नहोला ।
सार्वजनिक भएको ५ दिनमै ३० लाख भन्दा धेरै पटक हेरिएको यो गीत अहिले धेरैको मुखै झुण्डिएको छ । यो गीतले पाएको भ्युजकै कारण फिल्मले बटुलिरहेको चर्चा एकातिर छ, तर यसले थपिरहेको चिन्ता भने अर्कोतिर छ । जसमाथि सामान्य टिप्पणी वा एकाध थान फेसबुक स्टाटसमा फरक मत राखेकै भरमा मन शान्त नहुने देखियो ।
धार्मिक समाजमा श्रापको बेग्लै अर्थ छ र त्यसको सम्बन्ध धार्मिक कथाहरूसँग पनि जोडिन्छ । तर कुरा यतिमै सीमित छैन । मनमनै श्राप दिएर वा पोखेर मनको बह पोख्ने शैलीलाई नेपाली समाजको प्रचलन वा विद्रोह, प्रतिकार वा मर्यादित टिप्पणीबाट असहमति दर्ज गराउन नसक्ने नेपाली समाजको शैली मान्न सकिएला ।
केही महिना बन्द भएर हालैमात्र सरकारको ‘निगाहा’मा खुला भएको सामाजिक सञ्जाल टिकटकमा स-साना बाबुनानीहरू एक अर्कालाई धारेहात लगाएर यस गीतमा भिडियो बनाईरहेको देख्दा भने उदेक मात्रै लाग्दैन, यो गीतले हुर्किरहेका बाबुनानीमा के पाठ पढाईरहेको छ भनेर पनि गम्भीर बनाउँछ । अनि प्रेमको अर्थ र त्यसभित्रको अर्थराजनीति र प्रेमसँगै हुर्किरहेको पितृसत्तालाई यो गीतले कसरी प्रवर्द्धन गरिरहेको छ भनेर मिहीन ढंगले केलाउने हो भने झनै चिनिन्त भईन्छ । 
'जेनेरेसन जी' पुस्ताका भाईबहिनीहरूलाई लक्षित गरेर कान्तिपुरको युट्युब च्यानलबाट प्रसारण हुने साप्ताहिक भिडियो कार्यक्रम छ, जेनजी जङ्सन । चाहे उक्त कार्यक्रममा जेनेरेसन जी पुस्ताले अनेकन विषयमा खुला संवाद र छलफल गर्ने क्रममा होस् वा अन्य विभिन्न फोरम र सामान्य कुराकानीमा उनीहरूले आफूले नजिक ठानेर मन खोल्ने व्यक्तिलाई सुनाउने आफ्नो जीवनभोगाइ र अनुभव होस्, के उनीहरूले भोगिरहेको जीवन, महशुस गरिरहेको समाज, आत्मसाथ गरिरहेको स्वतन्त्रता, प्रेम, धोका अनि ब्वाईफ्रेण्ड/गर्लफ्रेण्डको अवधारणा यही गीतले भनेजस्तै होला त ? के आधुनिक पुस्ताका छोरीहरू आफ्नो रहर पूर्तिकै लागि मात्र प्रेमको नाटक गर्छन् ? कि उनीहरू आफ्नो जीवन आफ्नो क्षमताले आत्मनिर्भर भएर बाँच्ने सामर्थ्य राख्दैनन् ? अनि छोराहरू आफैले गरेको प्रेमलाई अविश्वास गरी नाफाघाटाको तुलामा प्रेम र पैसालाई जोखेर तिक्तता मात्रै ओकलेर बस्छन् ?
यो गीतमा त अझै पैसा फिर्ता दिएर बैंस फिर्ता लिने अवधारणालाई पनि अघि सारिएको छ । यो त झनै आधुनिक समाजका निम्ति बेसरम कुरा हो । के पैसा र बैंस एक अर्काका परिपुरक हुन् ? अथवा पैसासँग बैंसको नापोसापो गर्ने संस्कारलाई मलजल गरेर यो गीतले दिन खोजेको सन्देश के हो ?
यो गीतले हुर्किरहेका छोरी पुस्ताको स्वतन्त्रता र उनीहरूको आत्मबल गिराउँछ । जसले प्रेम गरिरहेका छोरीहरू पैसासँग प्रेम साटिरहेका छन् भन्ने भाष्य निर्माण गरिहेको छ । के स्वतन्त्रता र आत्मसम्मानको ख्याल गर्ने अहिलेका छोरीहरू आफूलाई त्यति सस्तो बनाउन लालायित छन् ? अनि के अहिलेका केटाहरूले खर्च गरेरै मात्रै आफ्नो प्रेम टिकाईरहेका छन् त ?
श्राप गीतको सबैभन्दा डरलाग्दो पक्ष भनेको हिंसाको खुलेआम प्रर्वद्धन हो । आँखा पड्कियोस्, ढाड सर्कियोस् भनेर कामना गर्ने अनि मुखमा किरा परोस् भनेर गीतमार्फत् गरिएको कामनाले दैनिन्दनको जीवनमा हिंसालाई प्रर्वद्धन गर्दैन भनेर के दीपकराज गिरी र दिपाश्री निरौलाजस्ता कलाकारहरूले भन्न सक्छन् ? अथवा यो त फिल्मको एउटा अशं मात्रै हो वा कथा नै त्यस्तै छ भनेर यसले समाजको बहुल तह र तप्कामा पार्ने परोक्ष प्रभावलाई कम आँक्न सक्छन् ?
गीतमा प्रेम, प्रणय, घृणा वा मनका बहहरू अनेकन भाव र शैलीमा पोखिएका छन् । आधुनिक गीतको लामो यात्रा हेर्ने हो भने नारायणगोपालदेखि रामकृष्ण ढकालसम्मका गीत नियाल्ने हो भने, सुगम पोखरेलदेखि नविन के भट्टराईसम्मका गीत पछ्याउने हो भने वियोग, शोक, विद्रोह र वा एकालापमा मनको आलाप अनि सुस्केरा र सुसेली अनगिन्ती भेटिन्छ । तर प्रेम र विछोडको चक्रलाई बुझाउन श्रापका बग्रेल्ती शब्दहरू मिसाएर छोरीहरूको आत्मसम्मान र उनीहरूसँगै हुर्किरहेको आत्मविश्वासलाई धुलिसात पार्ने यस्तो गीत र यस्ता गीतमार्फत निर्माण हुने सामाजिक अवरधाणाबारे बेलैमा सचेत हुन जरुरी छ ।
नत्र त हाम्रा छोराहरूले एकदिन धोका दिएकी प्रेमिकालाई भन्नेछन्, तँलाई सम्पत्तिको सनभाका भिकारीले पाओस् । अर्थात् हाम्रा छोरीहरू मनग्गे सम्पत्ति नभएको केटासँग प्रेम गरे वा विवाह नगरे संसारकै दुःखिया मानिस हुनेछन् र उनीहरूको जिन्दगी पिरै पिरको भिरमा बितिजानेछ ।
प्रेममा धोका खाएकाहरुले धेरै गीत लेखेका छन, गाएका छन् । अथवा यसो भनौं प्रेम र धोकाका गीतहरुले नेपाली गीत संगीत समृद्ध नै छ । धेरै वर्ष पहिले नारायणगोपालले नै गाएका थिए, जुन फूल मैले चाहेको थिएँ, कसैले टिपेछ, सौर्न्दय भने त्यो सधैं मेरो आँखामा बसेछ ...। एकदशक भन्दाअघि नै सुक्मित गुरुङले गाएकी थिईन्- धोका दियौं तिमीले कलेजीमा घाउ लाग्यो, विछोडको गोलीले बदनामको दाग लाग्यो .... । तीन वर्ष अघि प्रमोद खरेलले गाएको अर्को गीत छ, धोका दियौं बोलकै । गीतमा भनिएको छ, धोका दियौं तिम्ले, चोट दियौं तिमीले, हिँड्दा हिँड्दै बीच बाटोमै छोड दियौं तिमीले ...। त्योभन्दा पनि अघि गएर खोज्ने हो भने रामकृष्ण ढकालले पनि गाएकै छन्, जिन्दगीले यसरी धोका दियो कि, भाग्य आफ्नो हो ....बुझ्नै सकिन ...।
प्रेम र धोकामा अनेकन गीत लेख्न सकिन्छ । मनको बह पोख्न पनि सकिन्छ । फिल्मको कथालाई मिल्ने र पात्रलाई नचाउने गीत पनि सिर्जना गर्न सकिन्छ । भन्न त मनोरन्जनका लागि लेखिएको गीतलाई यसरी अनेकन कोणबाट ब्याख्या र बहस जरुरी छैन भन्न पनि नसकिने होईन । तर यति मात्रै भनेर कलाकर्मीले समाजलाई के दिईरहेका छन् र उन्नत समाज निर्माणमा उनीहरुको योगदान के हो भन्ने प्रश्नलाई चटक्कै छोडन मिल्दैन ।
भन्न त गीतको अन्तमा केदारप्रसाद घिमिरेले गाली गर्नु सामाजिक अपराध हो भनेर भनेका छन् । तर यस्तो अपराध उनीहरू आफैंबाट भएको छ । जसले हुर्किरहेका छोरीहरूको आत्मविश्वासमा घृणाको बतास चलाएका छन् । जसले हुर्किरहेका किशोरकिशोरीको मनमा प्रेम, सम्बन्ध, विश्वास र जीवनबारे भ्रमको हावा चलाएका छन् । यस्तो हावा जुन वर्षौंसम्म हाम्रा बाबुनानीहरूको मन मस्तिष्कको कोषकोषमा छिर्नेछ । यस्तो हावा जसले पितृसत्ताका पहरेदारहरूलाई मन्द-मन्द खुसी दिनेछ अनि छोरीलाई ठेगान लगाएर नराखेसम्म समाजको ईज्जत सुरक्षित हुँदैन भन्ने भ्रममा बसेका छन् तिनलाई आत्मबल दिनेछ ।
