एकै मञ्चमा ५० कलाकारले गाए गीत

लोकनाथ मनेनको शब्द र धुनमा 'माया त्यो स्वर्गीय १९८४'  क्यान्टाटा सार्वजनिक

कार्तिक २२, २०८१

कान्तिपुर संवाददाता

Songs sung by 50 artists on the same stage

काठमाडौँ — बिहीबार ज्ञानेश्वरस्थित नेपाली इसाइ मन्डली चर्चको हलमा नेपाली सांगीतिक क्षेत्रमा एक ऐतिहासिक कार्यक्रम भयो । इसाइ साहित्य तथा संगीत क्षेत्रका अग्रज स्रष्टा लोकनाथ मनेनको शब्द र धुनमा चालिस मिनेट लामो क्यान्टाटा गीत 'माया त्यो स्वर्गीय-१९८४' प्रस्तुत गरियो । एकैसाथ ५० जनाभन्दा बढी क्वायरले गीत गाएको क्यान्टाटामा स्वर दिन गायक राजु तामाङ अग्रस्थानमा थिए ।

कार्यक्रमको केन्द्र बनेका स्रष्टा लोकनाथ मनेनलाई वरिष्ठ पास्टर रोल्यान्ड रोङगङले दोसल्ला ओढाई तथा पास्टर अशोक मुखिया अभिनन्दन-पत्रले अभिनन्दन गरे । सोही अवसरमा इसाइ साहित्य तथा संगीतका क्षेत्रमा योगदान पुर्‍याएका साहित्यकारहरू रेभ शलोन कार्थक र डा. छत्र पावल सुव्बालगायत ११ जना कलाकारलाई प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले सम्मान गरे ।

प्रमुख अतिथि कुलपति राईले इसाइ साहित्य र संगीतले समग्रमा नेपाली भाषा र साहित्यलाई माथि उठाउनेमात्र नभई आधुनिक शैली भित्र्याउन योगदान दिएको कुरा स्मरण गरे । उनले भने,  'नेपाल प्रज्ञा-प्रतिष्ठान सबै धर्म, जात, भाषा, क्षेत्र, समुदायको साझा प्रतिष्ठान हो । त्यसमाथि नेपाली साहित्य र संगीतलाई माथि लैजान इसाइ क्षेत्रको साहित्यले पुर्‍याएको योगदान हामीले भुल्न मिल्दैन ।'

अर्का अतिथि कवि श्रवण मुकारुङले इसाइ साहित्य र संगीतले नेपाली समाजमा पुर्‍याएको योगदानको प्रशंसा गरे । 'नेपाली संगीतमा क्यान्टाटा विरलै सुन्न पाइन्छ । त्यसमा पनि यसरी सयौं कलाकारले लाइभ गाएर प्रस्तुत गरिएको क्षण नेपाली संगीत इतिहासमा एकाध पटकमात्र भएको छ',  मुकारुङले भने ।

'युनाइटेड नेपाली रिभाइबल चर्च बेलायत' र 'भिनयार्ड स्टुडियो'को आयोजनामा भएको कार्यक्रमको परियोजनकार तथा संयोजक खुपेन सुनुवार रहेका थिए ।

कार्यक्रममा वरिष्ठ संगीतकार कर्म योन्जन, प्रकाश गुरुङ, पूर्ण नेपाली, राजु सिंह,  ओमविक्रम विष्ट, योगेश्वर अमात्य, चलचित्रकर्मी प्रकाश सायमी, गायिका सुक्मित गुरुङ, धनुषा घले तथा कविहरू मिथोच, अमरदीप सुनुवार, इँगिहिपो कोइँचलगायतको उपस्थिति थियो ।

संगीत

कान्तिपुर

Link copied successfully