शिक्षा पत्रकार समूह कर्णाली प्रदेशले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी लगायतले प्रतिबद्धतापत्रमा हस्ताक्षरसमेत गरेका छन् ।
जुम्ला — जुम्लास्थित तातोपानी गाउँपालिकाका राजनीतिक दलहरुले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दलहरुको प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले निर्वाचनकेन्द्रित गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने भन्दै ५ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
शिक्षा पत्रकार समूह कर्णाली प्रदेशले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी लगायतले प्रतिबद्धतापत्रमा हस्ताक्षरसमेत गरेका छन् । राजनीतिक गतिविधिमा बालबालिका संगठित गर्ने, हडताल, बन्द, चक्काजाम, धर्ना, जुलुसमा प्रयोग नगर्ने, कुनै दलको पक्षपोषण गरेर प्रचार गर्न गराउन नलगाउने, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग पूर्ण रुपमा रोक लगाउने, अनुगमन निरीक्षणमा जोड दिने पनि प्रतिबद्धतापत्रमा उल्लेख छ ।
गाउँमा बालबालिका स्वत: चुनावीसभामा नाच्न र रमाउन चाहने भए पनि अब पूर्ण रुपमा निषेध गर्ने उनीहरुको भनाइ छ । शिक्षा पत्रकार समूह कर्णाली प्रदेशका सचिव विष्णु न्यौपानेले चुनावमा बालबालिकाको प्रयोग र शैक्षिक संस्थाको प्रयोग बढ्न सक्ने भएकोले दलहरुले यसलाई रोक्नुपर्नेमा जोड दिए ।
नेकपाका तातोपानीका अध्यक्ष जक्तिप्रसाद न्यौपाने, एमालेका सचिव दीपकबहादुर रावत र कांग्रेसका वीरेन्द्रबहादुर शाहीले बालबालिकाको प्रयोग पूर्णरुपमा निषेध गर्ने बताए ।
