मनाङका ४ मतदान केन्द्रमा १०० भन्दा कम मतदाता

कूल ७ हजार मतदातामध्ये सदरमुकाम चामेको एउटा मतदान केन्द्र र नार्पाभूमि गाउँपालिकाको ३ वटा मतदाता केन्द्रमा १ सय भन्दा कम मतदाता छन् ।

फाल्गुन १, २०८२

आश गुरुङ

What you should know

लमजुङ — हिमाली जिल्ला मनाङको ४ वटा मतदान केन्द्रमा १ सय भन्दा कम मतदाता रहेका छन् । कूल ७ हजार मतदातामध्ये सदरमुकाम चामेको एउटा मतदान केन्द्र र नार्पाभूमि गाउँपालिकाको ३ वटा मतदाता केन्द्रमा १ सय भन्दा कम मतदाता छन् ।

सिङ्गो नार्पाभूमि गाउँपालिकामा कूल ४ सय ८८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी जीवन कुँवरका अनुसार नार्पाभूमि गाउँपालिकामा ५ वटा मतदान केन्द्र छन् । सबैभन्दा कम ५ नं. वडा कार्यालय भवन फू केन्द्रमा ७८ जना मतदाता छन् ।

यस्तै, वडा नं. ४ स्थित फू आधारभूत विद्यालय भवन केन्द्रमा ८८ जना, १ नं. वडा कार्यालय भवन नार गाउँमा ९९ मतदाता छन् । सदरमुकाम रहेको चामे गाउँपालिका ५ नं. वडा कार्यालय भवन चामेमा ९७ मतदाता छन् ।

मनाङस्थित ४ वटा गाउँपालिकाको कूल २८ वटा वडामा वडैपिच्छे एउटा मतदान केन्द्र छन् । चामेमा एउटा अस्थायी मतदान केन्द्र रहनेछन् । मनाङमा ५ सय भन्दा बढीका २ मतदान केन्द्र छन् । माथिल्लो मनाङस्थित मनाङ ङिस्याङ गाउँपालिका ५, भ्राकास्थित भ्राका आधारभूत विद्यालय भवन केन्द्रमा मनाङमै सबैभन्दा बढी ५ सय ८४ मतदाता छन् । मनाङ ङिस्याङ गाउँपालिकाकै ८ नं. वडा कार्यालय भवन केन्द्रमा ५ सय १६ मतदाता छन् । मनाङमा यो समेत ४ सय बढी मतदाता रहेको ५ वटा केन्द्र छन् ।

कूल ७ हजार मतदाता रहेको मनाङमा महिला ३ हजार ६ सय २३ र पुरुष ३ हजार ३ सय ७७ मतदाता छन् । २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६ हजार ७ सय ७९ मतदाता थिए । अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनको तुलानामा यस पटक २ सय २१ मतदाता थपिएका छन् । थपिएका मतदातामध्ये नयाँ मतदाता र नामसारी गरेर आएका छन् ।

प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले मतदान केन्द्रको निरीक्षण तथा सुरक्षा व्यवस्थापन कार्य भइरहेको बताए । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन कार्यालय, स्थानीय तह, सुरक्षा निकायबीच समन्वयका साथ निर्वाचनको तयारी भइरहेको बताए ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully