शिक्षा, स्वास्थ्यमा सुधार, वन्यजन्तुको त्रास हटाउने, खहरे नियन्त्रण र चितवन जोड्ने हुलाकी राजमार्ग पक्की । हरेक चुनावका बेला बन्ने मुद्दा यिनै हुन् ।
What you should know
ठोरी (पर्सा) — शुक्रबार दिन ढल्दै गर्दा ठोरी गौतमनगरस्थित चोकको चियापसलमा स्थानीय आफ्ना समस्याबारे छलफल गर्दै थिए । चुनावको मुखमा राष्ट्रिय राजनीतिको महत्वमा नपर्ने तर स्थानीयका लागि महत्ववूर्ण विषयमा उनीहरुको चासो थियो ।
पूर्वतिरबाट हुलाकी सडक पिच हुँँदै ठोरी आइपुगेको छ । तर निकुञ्जले अनुमति नदिँदा ठोरीभन्दा पश्चिम अघि बढ्न सकेको छैन । वर्षा लाग्यो भने यो सडक बन्द हुन्छ । ठोरीका स्थानीयहरुको स्वास्थ्य उपचारलगायत अरु सम्बन्ध चितवनसँग बढी हुन्छ ।
गौतमनगरका रञ्जित थापाले चितवनबाट ५५ हजारमा गाई किनेर गाडीमा ल्याउँदै रहेछन् । चितनव राष्ट्रिय निकुञ्जभित्रको कच्ची बाटोमा चितवनबाट ठोरी ल्याउँदै गर्दा गर्भिणी गाई उठ्नै नसक्ने गरी घाइते भइछ । गाई बोकेको गाडी कच्ची बाटोमा उफ्रिँदा उठ्नै नसक्ने गरी गाईलाई असर परेछ । चिया पसलमा त्यही विषयमा चर्चा चल्दै थियो ।
स्थानीय भन्दै थिए, ‘यो हुलाकी बाटो पक्की भएको भए गाईलाई केही हुने थिएन । कच्ची बाटोमा गाडी उफ्रिदा गर्भिनी गाईलाई असर पर्यो ।’
जसरी पनि चुनाव जित्न तम्सिएका उम्मेदवारका लागि एउटा गाई घाइते भएको विषय सानो भए पनि एउटा किसानका लागिचाहिँ होइन । यो समस्या यहाँको विकासको अवस्थासँग जोडिएको छ ।
ठोरी माडी सडक पिच गर्नुपर्ने माग हरेक निर्वाचनको जल्दोबल्दो विषय हो । यसपटकको निर्वाचनमा यो मुद्दा फेरि जागेको छ ।
ठोरी पर्सा क्षेत्र नम्बर-४ को टापुजस्तै गाउँपालिका हो । हुलाकी राजमार्गले वीरगन्जसँग जोडेपछि केही सहज भएको ठोरीमा आधारभूत समस्यासँग भने जुधिरहेको छ । यो आम निर्वाचनमा ठोरीमा आधारभूत समस्याकै मुद्दा प्रमुख रुपमा बनेको छ । हरेक पालिकामा १५ शय्याको अस्पताल बनाउने सरकारको नीति कति अलपत्र परेको छ, नमुना यहाँ देख्न सकिन्छ । बाहिर संरचना बनेको अस्पताल भवन अलपत्र अवस्थामा देखिन्छन् । पिलर मात्र उठाएको ननुना विद्यालयको भवन पनि त्यस्तै छ ।
उत्तर, दक्षिण र पश्चिमको जंगलबाट आउने वन्यजन्तुको आक्रमणको त्रासबाट हरेक दिन यहाँका मानिस गुज्रिने गरेका छन् ।
ठोरी-२ गौतमनगरको चियापसलमा भेटिएका कमल न्यौपानेले ठोरी निर्वाचनको राम्रो मुद्दा बन्ने भए पनि विभिन्न जटिल समस्यासँग जुधिरहेको बताए । ‘१५ शय्याको अस्पताल भवन अलपत्र छ । बिरामीले सेवा पाउन सकेका छैनन् । नमुना विद्यालय भवन सुरु मात्र भएको छ । पश्चिम जाने हुलाकी सडक कच्ची भएका कारण वर्षामा पश्चिमम जान सकिँदैन,’ उनले गुनासो गरे, ‘ठोरी चुनावी मुद्दाचाहिँ बन्छ किनकि यहाँ धेरै समस्या छन् । उम्मेदवार समस्या पूरा गर्ने वाचा पनि गर्छन् तर कहिल्यै पूरा भएन ।’
ठोरी गाउँपालिका स्वास्थ्य संयोजक एवं सूचना अधिकारी रमेशराज थिङले रकम अभाव भएका कारण अस्पताल भवन पूरा नभएको बताए । ‘बजेट अपुग भएका कारण १५ शय्याको अस्पताल भवन पूरा हुन सकेको छैन । हामीले माग गरेका छौं । बजेट आएको छैन,’ उनले भवन नबनेका कारण चिकित्सकसहित आवश्यक स्थास्थ्यकर्मी माग नगरेको बताए, ‘सेवा दिने ठाउँ नभएपछि चिकित्सक माग गरेका छैनौं । सेवा दिन गाह्रो भइरहेको छ । बजेट आएपछि पूरा हुन्छ होला ।’
स्थानीयका अनुसार गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले पालिका अस्पतालको केही सेवा आफ्नो कार्यालय शिवबस्तीमा केन्द्रित गरेका छन् । ‘पालिका अस्पतालको सेवा गाउँपालिका कार्यालय भएको ठाउँमा राखिएको छ,’ स्थानीय रञ्जित थापाले भने, ‘गाउँपालिका अध्यक्षले पालिका अस्पतालका भवन सम्पन्न गरी गौतमनगरबाट सेवा सुरु गर्न पहल गर्नुपर्छ ।’
ठोरीकी सुप्रिता श्रेष्ठले आफूले चुनावका बेला बढी विकासका कुरा सुनेको बताइन् । ‘चुनावका बेला बढी विकासका कुरा गरेको सुन्छु । विकासका कुरा त सधैं हुनुपर्ने हो,’ उनले भनिन् ।
मधेश प्रदेशकै सबैभन्दा पश्चिम सिमानामा पर्ने ठोरीको जनसंख्या पछिल्लो जनगणनाअनुसार २० हजार २९६ छ । तत्कालीन राजा महेन्द्रले २०२१ सालमा काभ्रे, मकवानपुर, धादिङ लगायतका पहाडी जिल्लाका मानिसलाई सारेर ठोरीमा बस्ती बसालेका थिए ।
हरेक निर्वाचनमा ठोरीमा मुख्य चुनावी मुद्दा बन्छन्- शिक्षा, स्वास्थ्यमा सुधार, वन्यजन्तुको आक्रमण नियन्त्रण, खहरे नियन्त्रण र चितवन जोड्ने हुलाकी राजमार्ग पक्की गर्ने । स्थानीयहरुले सामना गरिरहेका मुख्य समस्या पनि यिनै हुन् ।
पर्सा-२ मा पर्ने जननाथपुर नगरपालिकाको हरपुरचोकमा भेटिएका सुभाष चौधरीले पुरानै नारामा विश्वास गर्न नसकिने बताए । खेती किसानी गरिरहेका उनले खेतीपातीका लागि सिँचाइ, मल र बिउको समस्या भोगिरहेको उनी सुनाउँछन् । ‘पुरानै नेताको कसरी विश्वास गर्ने ? हामीले उस्तै समस्या भोगिरहेका छौं,’ उनले हुलाकी राजमार्ग आफ्नै गाउँबाट गएकामा भने उनले सन्तुष्टि व्यक्त गरे, ‘हुलाकी राजमागी पक्की भएपछि भने हामीलाई सुविधा भएको छ ।’
पर्सा-२ कै जिराभवनी गाउँपालिका-२ वसन्तपुरकी चाँदमणि देवी थरुनीको हुलाकी राजमार्गको छेउमा सानो पसल छ । उनको मुख्य पेसाचाहिँ खेतीपाती हो । भन्छिन्, ‘सडक बन्यो । सजिलो भयो । केही काम त भएको छ,’ उनले थपिन्, ‘यसपटक नयाँलाई हेर्नुपर्छ ।’
पर्साको क्षेत्र नं ४ मा २०४८ देखि उम्मेदवार दोहोरिँदै आएका छन् । तुलनात्मक रुपमा भने यो क्षेत्र जिल्लाकै अन्य क्षेत्रको तुलनामा पिछडिएको छ । यस पटक निर्वाचनमा ठूला दलहरुले अधिकांश पुरानै उम्मेदवारलाई दोहोर्याएका छन् ।
कांग्रेसबाट यस पटक उम्मेदवारी दिएका रमेश रिजाल २०४८ सालदेखि निरन्तर यो क्षेत्रबाट उम्मेदवार रहँदै आएका छन् । उनले जनताको समृद्धि, स्वास्थ्य,शिक्षा, सडक पूर्वाधारमा विकास यसपटकको मुख्य चुनावी एजेन्डा रहेको बताए । आफ्नो क्षेत्रमा सामाजिक र धार्मिक स्वतन्त्रता पनि आफ्नो एजेन्डा रहेको उनको भनाइ छ । ‘मैले पहिले पनि गरेको हो । बाँकी काम पूरा गर्न उम्मेदवार भएको छु,’ उनले भने ।
जालिम मियाँ मन्सुरी दोस्रोपटक एमालेबाटै यो क्षेत्रमा चुनाव लड्दैछन् । उनले आफ्नो क्षेत्रका जनताको चाहना स्वास्थ्य, शिक्षा क्षेत्रमा सुधार र विकासको माग रहेकाले आफूले पनि विकासलाई मुख्य एजेन्डा बनाएको बताए । यसका साथै किसानलाई सिँचाइ, स्थानीयलाई शान्ति सुरक्षा, भ्रष्टाचाररहित तथा सुशासन सहितको समृद्ध क्षेत्र, बेरोजगारीको अन्त्य, युवा पलायन रोक्ने जस्ता विषय पनि आफ्नो चुनावी एजेन्डामा रहेको मियाको भनाइ छ । ‘समग्र विकास मेरो मुद्दा छ । त्यसका लागि मेरो प्रतिबद्धता रहन्छ,’ उनले भने ।
रास्वपाबाट पहिलोपटक टिकट पाएर टेकबहादुर शाक्य चुनावी मैदानमा होमिएका छन् । भिष्वा र ठोरी भन्सारको स्तरोन्नति, अधुरो रहेको हुलाकी सडक निर्माण कार्यलाई पूर्णता दिएर पूर्व–पश्चिम राजमार्गसँग जोड्ने, ठोरीलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने आफ्नो मुख्य एजेन्डा रहेको उनले बताए । यसका साथै किसानलाई समयमै मल, बिउबिजन र सिँचाइको व्यवस्था, गण्डक नहरको विभिन्न स्थानमा पुलपुलेसो निर्माण कार्यलाई पनि आफ्नो चुनावी एजेन्डा बनाएको उनले सुनाए ।
नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दिएका जयप्रकाश थारु विगतमा सोही क्षेत्रबाट एमाले उम्मेदवारका रुपमा एकपटक सांसद निर्वाचित भइसकेका हुन् । उनले आफ्नो चुनावी एजेन्डामा ठोरी गाउँपालिका–१ को ढेडु खोला र ठोरी–२ को झिंंगे खोलामा बाँकी रहेको पुल निर्माण गराउने, जिराभवानी गाउँपालिका–१ बलुवाको ओरिया खोलामा पुल निर्माण, जिराभवानी–४ सढीको हडई खोलामा पुल निर्माण, धोबिनी गाउँपालिका–२ घोडदौडपिप्राको ओरिया खोलामा पुल निर्माणलाई समेत चुनावी एजेन्डा बनाएको उनको भनाइ छ ।
छिपहरमाई, कालिकामाई, धोबिनी गाउँपालिका जोड्ने बाटो निर्मा, ठोरीलाई पर्यटकीयस्थलको रुपमा विकास, स्वास्थ्य उपचारका लागि अस्पताल निर्माण, बर्थिङ सेन्टर, स्वास्थ्य संस्थाहरुमा चिकित्सकको व्यवस्था पनि आफ्नो एजेन्डा रहेको थारु बताउँछन् ।
'पर्सा राष्ट्रिय निकुञ्जमा रहेको दुग्धेश्वरनाथ मन्दिरको प्रचारप्रसार, निकुञ्जलाई भारतको वाल्मीकि टाइगर रिजर्भसँग जोडेर भारतीय पर्यटक भित्र्याउने, बेरोजगारी अन्त्यका लागि उद्यमशीलता, औद्योगिकीकरण पनि मेरा एजेन्डा हुन्,' उनले भने ।
सडक, शिक्षा, स्वास्थ्य र भौतिक विकासमै पनि पछि रहेको यो क्षेत्रमा यस पटक कुल मतदाता ९५ हजार २ सय १३ रहेका छन् । कात्तिक १६ सम्म यो क्षेत्रमा ९१ हजार ८ सय ६४ मतदाता रहेकामा फागुन २० सम्म वृद्धि भई ९५ हजार २ सय १३ पुगेको हो ।
यस क्षेत्रका कुल मतदातामध्ये पुरुष मतदाता ५३ हजार ६०, महिला मतदाता ४२ हजार १ सय ४७ र अन्य ६ रहेका छन् । यस क्षेत्रमा ४८ मतदान स्थल र एक सय १४ मतदान केन्द्र तोकिएको छ ।
२०७९ को संसदीय निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका रमेश रिजाल विजयी भएका थिए । उनले ३१ हजार २ सय २४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका जालिम मियाँले २५ हजार ६ सय ७१ मत ल्याएका थिए ।
