मुक्त हलियाका दुःख उस्तै

कार्तिक ६, २०७९

ज्योति कटुवाल

वीरेन्द्रनगर — वीरेन्द्रनगर–९ का जंकु चौधरी आफ्नो जमिन नहुँदा २० वर्ष देखि जमिन्दार र उनीहरूको घरमा काम गरेर जीविकोपार्जन गर्दै आएका छन् । बालबच्चा पाल्नलाई पनि त्यो पेशा छोड्न नसकेका उनी बताउँछन् । ‘थोरै घरपरिवार भए त ठिकै थियो तर, दिन प्रतिदिन परिवार बढ्दै गएको छ,’ उनले भने, ‘आफ्नो केही छैन, कति जमिनदारको भर भर्नु ?’

वडा १० कै शान्ति चौधरी आफ्नो ४ पुस्ताले हलियाबाटै जीविकोपार्जन गरेको बताउँछिन् । सरकारले २०६५ मा हलियामुक्त घोषणा गरे पनि आफूहरूले मुक्त भएको अनुभव गर्न नसकेको उनले गुनासो गरिन् । ‘कागजमा घोषणा गरे पनि हाम्रो दैनिकी भने उस्तै छ,’ उनले भनिन्, ‘जनता आवास कार्यक्रमले ५ धुर जग्गामा घर बनाइदियो तर १२ जनाको परिवार सानो घरमा कसरी बस्ने ? ’ सरकारले हलियामुक्ति घोषणा गरेको झन्डै डेढ दशक बिते पनि मुक्तिको विकल्प भने गराउन नसकेको जंकु बताउँछन् । ‘उता जमिनदारले तिमीहरू मुक्त भइसक्यौ भन्दै काम दिँदैनन्,’ उनले भने, ‘सरकारले पनि बेवास्ता गरेको छ, कहिलेकाँही त साँझ–बिहानको चुलो बल्न मुस्किल हुन्छ ।’ उनले कतिपयले त अझै पनि बाबु–बाजेले जमिनदारको घरमा काम गर्दा लिएको ऋण पनि अहिले तिरिरहेको बताए । 

मुक्तिपछि झन् आफूहरूले सास्ती पाइरहेको जाजरकोटका मुक्त हलिया अमृत विकले बताए । ‘पहिले हलो जोतेर बरु टन्न खान पाइएको थियो, तर अहिले मुक्ति भन्ने शब्दले जमिनदारले पनि हामीलाई काम लगाउन छोडेका छन्,’ उनले भने, ‘हाम्रो पुनर्स्थापनका लागि सरकारले घर त बनायो, तर ती छाउगोठजस्ता घरमा कसरी बस्ने ?’ भेरी नगरपालिकाकी पार्वती विकले सरकारलाई समस्या सुनाउँदा सुनाउँदा झन् पीडित बनेको बताइन् । ‘समस्या ज्युँकात्यूँ छन्, कति अरुका अगाडि रुने–कराउने हो ?’ उनले भनिन्, ‘हाम्रा समस्याको कार्यान्वयन नहुँदा पीडा थपिएको थपियै छ ।’ उनका अनुसार जाजरकोटमा ४ सय ४१ जना मुक्त हलियामध्ये २ सय १ जनाले मात्र परिचयपत्र लिएका छन् । तर राज्यबाट पाएको परिचयपत्रको केही उपयोग हुन सकेको छैन । 

प्रदेश योजना आयोगका अनुसार प्रदेशभरि १ हजार ९ सय ९ सय १४ जना हलियाको पहिचान भएको छ । २०६५ सालमा हलियालाई मुक्त गरिए पनि अहिले तिनीहरूको अवस्था कस्तो छ भनेर सरकारले खोज्न जरुरी रहेको कर्णाली आयोगका पूर्वसदस्य डा. दीपेन्द्र रोकायाले बताए । ‘सरकारले अहिलेसम्म उनीहरूको अवस्था थाहा नपाउँदा आधारभूत आवश्यताबाट समेत मुक्त हलियाहरू वञ्चित छन्,’ उनले भने, ‘के आन्दोलनले मात्र हलिया चिन्ने हो ? ’ आयोगका अनुसार मुक्त हलियामध्ये झन्डै २९ प्रतिशत दलित र थारू समुदायका हलियाहरू अति विपन्न अवस्थामा छन् ।

आमनिर्वाचन २०७९

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully