तिहारअगाडि गाउँका मतदाताका गुनासा सुन्ने, जवाफ दिने र चुनावी माहोल तयार गर्ने योजना
गुल्मी — चुनाव नजिकिएसँगै गुल्मीका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार जिल्लास्थित दुर्गम गाउँमा मतदाता भेटघाटमा व्यस्त छन् । तिहारअगाडि सुगमस्थलबाट टाढा रहेका टोल र गाउँसम्म पुगेर मतदाताका गुनासा सुन्ने, जवाफ दिने र चुनावी माहोल तयार गर्ने योजनाका साथ गाउँ पुगेका हुन् ।
गुल्मीका संघ र प्रदेश सभाका सबै उम्मेदवार शनिबार एकैसाथ जिल्लाका विभिन्न स्थानमा प्रचार अभियानमा रहेका थिए । स्थानीय तहका केन्द्र स्तरमा प्रचारप्रसार र गाउँटोलमा सम्पर्क कार्यालय खुलिरहेका छन् । गुल्मीमा प्रतिनिधिसभामा पुरानै अनुहारको बाहुल्य छ । प्रदेशसभामा अधिकांश नयाँ अनुहार छन् । त्यसैले उम्मेदवारले पहिलो चरणमा परिचय, प्रचारप्रसार र सम्पर्कका लागि गाउँ र टोलसम्मै पुग्ने योजना बनाएर व्यस्त भएका हुन् ।
गुल्मी प्रतिनिधिसभा क्षेत्र नं. १ का एमाले उम्मेदवार प्रदीप ज्ञवाली शनिबार बिहानैदेखि चन्द्रकोट गाउँपालिकाको शान्तिपुरमा थिए । उक्त क्षेत्रमा सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी सत्यवती गाउँपालिकाको ठूलोलुम्पेकमा छन् । यी दुवै गाउँ सदरमुकाम तम्घासदेखि झण्डै ५० किलोमिटरको दूरीमा छन् । दसैं आसपासमा परेको लगातारको झरीले दुर्गम क्षेत्रका सडक जीर्ण भएकाले उम्मेदवारहरू पैदलै मतदाता भेटघाटमा हिँडेका हुन् । ज्ञवालीसँग एमालेका प्रदेशसभाका उम्मेदवार एमालेका चिन्तामणि पाण्डे पनि गाउँमै छन् । कांग्रेसका भण्डारीसँग गठबन्धनबाट प्रदेशसभामा उम्मेदवार भएका माओवादीका सुदर्शन बराल पनि सँगै गाउँमै छन् ।
क्षेत्र नं. २ का एमाले उम्मेदवार गोकर्ण विष्ट शनिबार दिनभर इस्मा गाउँपालिकाको अमरपुरलगायत बस्तीमा व्यस्त थिए । शनिबार साँझ अबेरसम्म उनी मतदातासित भेटघाटमै थिए । उनीसँगै प्रदेशसभाका उम्मेदवार डिल्लीराज भुसाल पनि छन् । उक्त क्षेत्रमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्री प्रतिनिधिसभाकी उम्मेदवार हुन् । उनी पनि शनिबार रेसुंगा नगरपालिकाको भाडगाउँमा मतदाता भेटघाटमा छन् । उनीसँगै प्रदेश सभामा नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठ उम्मेदवार छन् । उनीहरू भेटघाट सकेर अबेर सदरमुकाम फर्किएका थिए ।
नेताहरू गाउँ केन्द्रित भएपछि सदरमुकाम र सडक छेउका बजारहरू प्रायः सुनसान छन् । सदरमुकाम र ग्रामीण बजारमा चुनावी रौनक देखिँदैन । किसान बाली भित्र्याउन र व्यवसायी तिहारको व्यापारमा व्यस्त छन् । नेताहरू अझै सदरमुकाममा नदेखिएकाले बजार पनि सुनसानजस्तै देखिएको रेसुंगा नगरपालिका–८ लाँकुरी मञ्चका व्यवसायी खगेन्द्र पाण्डेले बताए । उम्मेदवार गाउँ केन्द्रित र पर्चा पम्पलेट, तुल ब्यानर केही नभएपछि गुल्मीमा अझै चुनावी माहोल नदेखिएको एमालेका १ नं. क्षेत्र समन्वय कमिटी संयोजक हिमाल श्रेष्ठले बताए ।
‘अहिले गाउँमा टोल भेलाहरू चलिरहेका छन्, त्यसैले बजार सुनसान छन्,’ उनले भने, ‘कार्यकर्ता तात्दै छन्, तिहारपछि मतदाता तात्न सुरु हुन्छ ।’ चुनावी रौनक बढ्ने बेलामा ग्रामीण बस्ती पुग्ने सडक अझै सुरु हुन सकिरहेका छैनन् । त्यसले पनि बजार र गाउँ टोलमा चुनाव प्रचार गर्दै हिंड्ने सवारी साधन पुग्न सकेका छैनन् । गुल्मीको रुरु गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले दलका उम्मेदवार मत माग्दै गाउँ पुग्न थालेपछि बिस्तारै चुनावी माहोल सुरु हुन थालेको बताए । ‘अहिले हामीले पनि चुनाव केन्द्रित गरेर दसैंमा पानीले बिगारेका सडक मर्मत गर्न थालेका छौं,’ उनले भने, ‘उम्मेदवारहरूले गाउँमै पुगेर आफ्ना कुरा राख्दै र मतदाताका कुरा सुन्दै छन् ।’ नजिकै तिहार आएकाले त्यसपछि मात्र उम्मेदवार, नेता–कार्यकर्ता र मतदातामा चुनावी रौनक सुरु हुने उनले बताए ।
